~गौतम “उदय”~
चिन्ता थियो कतै, टुक्रेला भन्ने
छिन्नभिन्न हुँदै, पराधीन बन्ने
हिमाल तराई एउटै गरायो
हाम्रो संविधानले
राष्ट्रियता झनै मजबुत बनायो
हाम्रो संविधानले ।
आत्मामा थियो, चुच्चे र चिम्से
ब्यबहारमा थियो, पहाडे मधिसे
सबलाई समान अधिकार दिलायो
हाम्रो संविधानले
फाटेका भाइका आत्मा सिलायो
हाम्रो संविधानले ।
खोजीखोजी भाषाभाषी, बटुलेर जातजाति
न बनायो कोही तल, न बनायो माथि
छुवाछुतको धब्बा मेटायो
हाम्रो संविधानले
६ करोड हात संगै जुटायो
हाम्रो संविधानले ।
त्राहि-त्राहि थियो यहाँ, मुठी सास धान्न
भाइ-भाइ लड्दाखेरि, गैरीखेत छान्न
कस्तो मिलन बिन्दु भेटायो
हाम्रो संविधानले
अशान्तिको बिउ मेटायो
हाम्रो संविधानले ।
शंका थियो, बलिदान के होला भन्ने
रगतले माटो नै, श्रापित बन्ने
शहीदको सपना साकार बनायो
हाम्रो संविधानले
रगतको मूल्य पुरै चुकायो
हाम्रो संविधानले ।
साधनश्रोतको अभाब भै, ठप्प सबै बिकास
अनुदानले बताउँथ्यो, कसको कति प्रभाब
हस्तक्षेपलाई सबक सिकायो
हाम्रो संविधानले
लगानीको बाटो फुकायो
हाम्रो संविधानले ।
केही छैन यहाँ भन्दै, धेरै सन्तति बिदेसिए
जोखिममा पनि परे, उतै घरजाम पनि गरे
देशमा अवसरै-अवसर खुलायो
हाम्रो संविधानले
प्रवासीलाई फिर्ता बोलायो
हाम्रो संविधानले ।
भ्रष्टाचारमा माथि पर्यौं, उन्नतिमा तलैतल
कसैले भने अराजक, कसैले त असफल
भ्रष्टाचारको सिर झुकायो
हाम्रो संविधानले
संसारमा छाती फुकायो
हाम्रो संविधानले ।
गौतम “उदय”/हवाई
(स्रोत : Janaboli )