यो निर्जीव खाल्टोमा
शिशिरले पात खाएपछी
घामले माटो चुसेपछी
चैते कुइरो दिउँसै लाग्दा
म अझै सम्झन्छु लालबन्दी ।
यी खोक्रे बोक्रे दुनियाँमा
परीधानी यो राजधानिमा
कोइ घाम छेक्ने क्रिम लाउँछन ।
गर्मिमा बाउला सर्ट लाउँछन
मलाई प्रेम छ यो सँग
यसको चुम्बनले कालो बन्दा
म अझै सम्झन्छु लालबन्दी ।
हरियो परीयो देख्दा
डाँडाकाँडाबाट हेर्दा
थानकोट काटेका हावा
मेरै जस्तै लाग्छन ।
कालोकत्रा र सिमेन्टी गन्धको बानी छ
तर हर बर्षाती सुगन्धी माटोमा
म अझै सम्झन्छु लालबन्दी ।
अब त धेरै घुमे सुइ यी नाडिमा
तर बर्षाती ननिलिएका बाडिमा
भुलबस फस्दा
खुल्ला खुट्टा माटोमा पर्दा
सिरसिरे पानीमा जबरजस्ती रुज्दा
बर्षाती बिन्दु आँखामा पर्दा
म अझै सम्झन्छु लालबन्दी ।
कहिले काँही बांगेटिंगेका डाँडामा
बचेँकुछेका अली अली वन देख्दा
भित्र भित्र अझै भित्र सघनता खोज्न
मन लाग्छ ।
जान्दा जान्दै बाटो भुल्दा
अपरिचित रुखहरुका माझ
एक्कासी सानो भयले त्रासी बन्दा
म अझै सम्झन्छु लालबन्दी ।
तिमीलाई रिस उठ्ला लालबन्दी !
तर म अझै छु तिम्रो बन्दी
ति पशुपती डुल्दा
पितृले सन्तान डुलाउँदा
सन्तानले पितृ डुलाउँदा
आश्रमी वृद्धवृद्धा देख्दा
ती वृद्ध शरीरलाई सहारा
दिउँ दिउँ लाग्छ ।
तै तिमीलाई सम्झन्छु
मेरो पञ्चतत्व तिमी हौ
म डुलेँ वा तिमीले डुलायौ
म खेलेँ वा तिमीले खेलायौ
म हाँसे वा तिमीले हँसायौ
म सुतें वा तिमीले सुतायौ
मलाई बोक्ने काँध तिनै हुन
ती जिर्ण हुँदा
म भावनाले जिर्ण शहरमा छु
भरिभराउ तर रित्ता शहरमा छु
बिशालु शहरमा छु
तर आशा छ तिम्रो लागि केही ल्याउनेछु ।
सिमेन्टी जंगल मेरो जेल हो
एउटा ढोका र दुई झ्यालमा छ संसार
त्यँहाबाट देखिने दृश्य विश्वो हो
ती पुरापुरा कृतिम छन
त्यो देखिने फुल पनि
यी जेलनेलले जक्डिएर स्वतन्त्र
हावा चुस्न मन लाग्दा
म अझै सम्झन्छु लालबन्दी ।
तिम्रो छिमेकी भएर बग्ने
बागमतीलाई बलात्कार गर्ने
शहरमा छु म
तिम्रो काखमा जिउँने काला
बर्णे सन्तानलाई तिरस्कार गर्ने
शहरमा छु म
हो, मलाई रिस उठ्छ
कुन्यु राखेर सिँहदरबार जलाउँ झै लाग्छ
तर बुझ्छु तिमी शान्तिप्रिय छौ
कोमल , ममतामयी छौ
सत्तासपनाबादिले चौकी हान्दा
तिमी डराएको अनुभब छ मलाई
तिमी काँपेको अनुभब छ मलाई
तिमीसँगै काँपेको मन र शरीर हो मेरो
तिमी रोएर कराएको अनुभब छ मलाई
तिमीसँगै रोएको अनुभब छ मलाई
सानै भएपनी दियो र नामै भएपनी
शान्तीको गीत गाउँदा
ती मण्डला घुम्दा
सिँहदरबार यसो हेर्छु
तिम्रा निबेदनपत्र झ्यालबाट फालिन्छन
तिमीलाई थिचेर,कुल्चेर उठेका
महल पड्काउँ झै लाग्दा
म तिम्रै अनुहार सम्झन्छु लालबन्दी !
0 0 0
November 2, 2012
(स्रोत : रचनाकारको ब्लगबाट सभार )