~इन्द्रकुमार श्रेष्ठ ‘सरित’~
बुङमती क्षेत्रमा निर्माणधिन संयुक्त आवास गृहहरूका प्रत्येक कार्यालयहरूमा उसले चहारेको यो दोश्रो पटक हो । तर जति बिन्तीभाउ गरे पनि आज पनि हात लाग्य शून्य नै । कहीं कतैबाट एउटा पनि विज्ञापनको जोहो हुन सकेन । दिनभरिको मिहिनेतस्वरुप सुका मोहरसमेत उठेन । भोक, तिर्खा र थकानले चुर भएर ऊ रत्नपार्क आउने गाडीमा चढ्यो । उसले झट्ट सम्झ्यो —वागबजारका स्टेशनरी पसलका पुनचा साहुले सानो भए पनि विज्ञापन दिन्छु भनेको थिए, हजार रुपैयामात्रैको बिज्ञापन दिए पनि आज दिनभरिको शास्ति अलिकति त कम हुन्थ्यो कि ?
आः अर्को मनले भन्यो— दिन्छु भन्ने त कति छन् कति । तर गएपछि कि त फेरि अर्कोचोटिका लागि बहाना बनाउँछन् कि त व्यस्तताको बहाना बनाउँछन् । कति निर्घिणी भएर हजुर गर्नु रु गाडीको झ्यालबाट आइरहेको चिसो हावाले चेतनराजको मन अलि शान्त भयो । उसलाई थाहा छ, उसको यो पेशामा धाउन त पर्छ पर्छ । किनकि नधाएर अर्को उपाय नै छैन । बिज्ञापन बिनाको साहित्यिक पत्रिका निकाल्ने कल्पना पनि गर्न सकिंदैन । उसको लागि पद, पैसा, परिचय, प्रतिष्ठा र सम्पूर्ण उद्धेश्य नै उसको साहित्यिक मासिक पत्रिका ‘उज्यालो’ हो । यसकै सहारामा ऊ सम्पादक भएको छ, उसको परिचय बनेको छ । मूलतः उसको घरको चूल्हो ‘उज्यालो’ कै कारणले बल्छ । त्यही बलेको चूल्होले उसको परिवारमा उसको, उसकी अर्धान्गिनी शशिकला, दुई छोराहरू रञ्जन र निरञ्जनको पेट भर्छ । साँच्चै भन्ने होभने पैसाको मह्त्व अचाक्कली भएको यो राजधानी शहरमा उज्यालो त उसको परिवारको मेरुदण्ड नै हो ।
रत्नपार्कमा गाडीबाट ओर्लेर धूलो, मैलो र पुरानो देखिने स्कुले झोला बोकेर चेतनराज लखरखर बागबजारतिर लाग्यो । आज पुनचा साहु भेट भैहाले तापनि उसले बिज्ञापन देला जस्तो चाहिं उसलाई लागेको थिएन । तैपनि उसको स्टेशनरी पसलमा पुगेर नाकको डाँडीमा चस्मा मिलाउँदै र नमस्कारगर्दै उसको मन नहाँसे पनि उसले ओंठलाई चाहिं हँसाए हँसाएजस्तो गर्यो । धेरै बेरसम्म त पुनचाले चेतनराजलाई पुछनी नै गरेन । चालीसेले छुनछुन लागेको, दुव्लोपातलो मुहारले जीवनभरि हण्डर खाएको बिज्ञापन गरिरहेको मुहार बोकेको चेतनराजले नआएको खोकी निकाल्दै पसलअगाडि उभिरह्यो । तैपनि पुनचा आफ्नै सुसेधन्दामा लागेर व्यस्त भइरह्यो । अति भएपछि चेतनराजले सुस्तरी भन्यो ।—‘ लौ त पुनचा साउ म लागें । आज तपैं निकै बेस्त हुनुहुँदो रैुच । ’
‘का, ए बाज्या, पख न । टिम्ले भनेको पैसा ट डिन सकेन । आज नाटीको पास्नी । बरु अलिकति हल्वा र पुरी खाुर जाऊ ।’
पुनचा साहुको कुरा सुनेर चेतनराजको भोको पेट बटारिएर हुलुक्क बान्ता होलाझैँ भयो । ऊ केही नबोली त्यहाँबाट फटाफट डिल्लीबजारतिर लाग्यो । उसलाई कतिखेर डेरामा पुगेर खाना पनि नखाई डंग्रङ्ग ओछ्यानमा पल्टिउँझैँ भयो । भोक, तिर्खा, थकाई र ग्लानिले गर्दा सधैं हिंड्ने यो बाटो आज उसलाई कता हो कता लामो लाग्यो । तैपनि जत्ति हिंडदा पनि बाटो छोटिएकै हैन ।
‘हन ए सम्पादकज्यू, कता यतिखेर लमकलमक ?’—एकजना नवोदित कविले कहाँबाट आएर हो चेतनराजको हात झ्याप्पै समात्यो । एकपटक त चेतनराज झसङ्ग भयोभने तुरुन्तै उसलाई झनक्क रिस पनि उठ्यो । के चहिने नचाहिने मान्छे भेट भएको होला बाटबाटै, आफूलाई दिक्क लागेको बेलामा ?
तर नवोदित कविले चेतनराजलाई ज्यान गए छा्ड्ने छाँट देखिएन । उसले चेतनराजलाई बलजफ्ती एक कप चिया खुवायो र चियासँगै ताई न तुईको तीन पेज लामो कविता पनि सुनायो । चेतनराजलाई भाउन्न भएर आयो ।
‘लौ त कविजी, आजलाई छुट्टिउँ । फेरि भेटौंला । चियाको लागि धन्यवाद । ’
‘किन भाग्न खोज्नु भा’ सम्पादकज्यू, मेरो कविता कस्तो लाग्यो ? राम्रो छ ? लौन यसलाई ‘उज्यालो’मा छाप्नु पर्यो । बरु सम्पादकज्यूलाई म यसो चिया खर्च सय पचास पनि टक्र्याउँला नि । ’
चेतनराजको टाउकै फुट्लाजस्तो भयो । —‘हेर्नुस् कविजी, तपाईको कविता असाध्ये उम्दा खालको छ । यसलाई उज्यालोमा हैन कि त मधुपर्क कि त गरिमामा छपाउनुस् । यस्तो स्तरीय कविता जता पायो तेतै छपाउनु हुँदैन क्याः ।’
नवोदित कविको हात झट्कार्दै चेतनराज अगाडि बढ्यो । बाटोमा चिनेको कोही नभेटिउन् भन्ने उद्धेश्यले उसले राति पनि कालो मास्क लगायो । शिरमा भने सधैंझैँ ढाका टोपी छँदै थियो । कसैले चिनेर फेरि रोक्ला कि भनेर उसले टोपी झोलामा कोच्यो । बाटोभरि दायाँबायाँ करिब करिब ऊ दौडिरह्यो ।
डेरामा पुगेर उसले ठूलो श्वास फेर्यो र लुगा नै नफेरि बंगालीको ढिकी लडेझैँ ओछयानमा डंग्रङ्ग पल्टियो । शशिकलाको सोधाईमा उसले खाना नखाने इशारा गर्यो । रञ्जन र निरञ्जन अघि नै सुतिसकेका रहेछन् । कतिखेर ऊ निदायो, उसैले चाल पाएन । आधारातमा व्युँझिदा पेटमा ढाडे बिरालो र डुहुरे मुसाको लडाइँ परिरहेको रहेछ । उसलाई थक्कथक्क लाग्यो । बेलुकी थकाई र दिक्दारीले खान मन लागेन । अहिले भोक समन गर्ने उपाय के होला र ? तै शशिकलाले केही राखेकी छ कि भनेर उसले स्टोभको वरिपरि चियायो । पुरानो डबकामा शशिकलाले उसको जम्मै भाग एकै ठाउँ राखदिएकिरहिछ । उसको मनमा श्रीमतीप्रतिको माया भुलुक्क उम्लियो । श्रीमती त मैले पाएकै हो बा । हेर त, पोइलाई राति भोक लाग्ला भनेर कस्तरी जतन गरेर मेरो भाग जस्तोको त्यस्तै राखिदिएकि रहिछ । उसलाई निदाइरहेकी श्रीमतीलाई मनमा उम्लिरहेको माया व्यक्त गरुँ कि झैं लाग्यो । फेरि सोंच्यो, आः होस् बिचरीको निद्रामात्रै खलबलिन्छ । मन्सुली चामलको अररिएको भात, मस्यौराको चिसो तरकारी र एक टुक्रा प्याज उसले स्वाद लिई लिई खायो र आफ्नो भोकक्षुधालाई मेटायो । खाइसकेपछि एउटा लामो सन्तुष्टिको डकार लिएपछि ऊ पनि श्रीमती नजिकै घुस्रिन पुग्यो । किनभने एउटा कोठाको डेरामा खाट जम्माजम्मी एउटा छ र त्यसमा पुत्रदय रञ्जन र निरञ्जन मस्तसँग सुनिरहेका छन् । स्टोभ नजिकै भइूँमा लाएको ओछ्यामा ऊ पल्टेको मात्र के थियो अचानक उसलाई पेट कट्टी होलाझैँ भयो । आः हैन होला । यो आधी रातमा को शौचालय गइरहन्छ रु फेरि शौचालयमा कहिल्यै पानी हुँदैन । आफैले व्यवस्था गर्नुपर्छ । उसलाई आफैसँग झर्को लाग्यो । मनमनै कामना गर्यो, यो आधी रातमा शौचालय जान नपरोस् । तर पेटले चेतनराजको पुकार कत्ति पनि सुनेन र उसलाई एकपटक, दुईपटकगर्दै पेटले विहानसम्ममा छसात पटक शौचालय पुर्याइसकेको थियो । बिहानीपख शौचालय जानेको ताँती हुन थाल्यो । चेतनराजलाई लाज र डर एकैपटक लाग्यो । पेट कटक्क भएको बेलामा शौचालय जान पाइएन भने त लुगै फोहोर हुने डर हुन्छ । यदि त्यस्तो भयोभने श्रीमती र छोराहरूको अगाडि कसरी मुख देखाउनु रु एउटा शौचालयमा डेराभरिका मान्छेको लर्को हुन्छ ।
‘ल उठ्नुस्, यो जीवन जल पिउनुस् । एक भाँडा स्वाट्टै पिए पनि हुन्छ । मैले अर्को प्याकेटको पनि बना’की छु । बेलैमा खानुस्भन्दा नखाने, आधारातमा उठेर चिसो भात खाएपछि पेट नदुखेर के दुख्छ त रु’—शशिकलाले लोग्नेसामुँ स्नेहालु माया भरिएको नक्कली रिस देखाइन् । चेतनराजले केही नबोली अलि अलिगरेर जीवन जल पिइरह्यो । जीवनजलसँगै शशिकलाले देखाएको स्नेहले ऊ तृप्त भइरह्यो ।
पेट सञ्चो भएपछि पनि चेतनराज तीन चार दिन कतै जान सकेन । कमजोरीले ओछ्यानमा पल्टिएर बस्नुर्दा उसको मनभने भतभती पोलिरहेको थियो । कोठाको भाडा नदिएको तीन महिना हुन लागिसक्यो । भरिसक्ये भरबेटीसँग जम्काभेट नहोस् भनेको बेलामा झन बढी जम्काभेट भइरहन्छ । त्यस्तो बेलामा घोसेमुण्टो लाउनु वा घरबेटीको भाषण सुन्नुको अर्को बिकल्प नै हुँदैन । श्रीमतीले यसो पोतेसोते उनेर दुईचार पैसा जोहो गर्ने प्रयत्न गर्छे । तर महंगीले थिचेको यो शहरमा उसको मिहिनेत हात्तीको मुखमा जिरा प्रमाणित भैदिन्छ ।
दश वर्षअगाडि रामेछापबाट राजधानी आइपुग्दा भाषा र साहित्यको क्षेत्रमा के के न गरुँला, कहाँ न कहाँ उडुँला भन्ने उसको सपनालाई राजधानीले कहिल्यै उकेरो लाग्न दिएन । दिन परदिन उसको सपना ख्याउटिन थाल्यो । तैपनि सपना फुल्ने कुनै उपाय निस्किन्छ कि भनेर ऊ आफ्नो जिल्लाको सभासदकहाँ पुग्यो । तर आवश्वासन बाहेक केही हात लागेन । उसले आफू आबद्ध पार्टीको आफूले चिनेको सबैभन्दा ठूलो नेतासामुँ बिन्ती बिसायो । तर नेताको प्रतिक्रियाले उसलाई स्तव्ध बनायो ।
‘खै, के सायता के गर्ने तपाईलाई रु’—नेताले अलि जंगिएजसरी भन्यो । —‘तपाईमा बैचारिक स्पष्टता नै छैन भन्छन् साथीहरू । त्यसमाथि तपाईको स्वभाव नै ढुलमुले खालको छ भन्ने सुनिन्छ । खै, बैचारिक स्पष्टता र पार्टीप्रति समरपन नभको मान्छेका लागि केइ गर्न सकिन्छ जस्तो मलाईृ त लाग्दैन । ’
‘मलाई सहयोग गर्न नसके नगर्नुस् सर, त्यो सरको खुशी । तर मेरो बैचारिकता र मेरो निष्ठाप्रति शंका नगर्नुस् । चाएको भे’ अन्तरसंघर्ष चर्केको बेलामा पल्लोघरतिर सर्दा मैले पनि ठूलै भाग भेट्नसक्थें । तर आफूले अंगालेको विचार प्रति दृढ र निष्ठावान भएकैले म पल्लो घरमा होइन आज यहाँ छु र तपाईंसँग सयोगको याचना गरिरहेको छु । ’
‘तपाई धेरै बोल्नुहुँदो रै’छ ।’— नेताजी जंगिए ।
‘म धेरै हैन साँचो बोल्छु, कमरेड । माफ पाउँ, कमरेडलाई सत्य कुरा पचेनजस्तो छ । ढुक्क हुनुस्, म यस अघि पनि सयोग मांग्न कइँ गा’थिन र अब उप्रान्त पनि कइँ जान्न । धन्यवाद कमरेड । आज तपाईले मलाई भ्रममुक्त गरिदिनु भो । नेताको आशीर्वाद प्राप्त नगर्ने र गर्न नसक्ने कुनै पनि व्यक्तिले कुनै पनि पार्टीको झोला बोक्नु बेकार रुछ । — ’ झोला बोकेर चेतनराज लमकलमक बाहिर लम्कियो । मस्तिष्क नै शुन्य भएझैँ लाग्यो चेतनराजलाई । माइक्रो बसमा बसेर उसले आफ्नो टाउको थिचिरह्यो । नेताले कार्यकर्तालाई कहिल्यै नचिन्ने । तर त्यही पार्टीले आदर्श, सिद्धान्त र विचारको खेती गर्छ‘ु भन्छ । उसलाई हाँस्न मन लाग्यो । उसलाई थाहा छ पत्रकार संघमा पनि उसको नाम रहन दिने छैनन् । किनभने जुन पार्टी, जुन समूह भए पनि यहाँ सम्पर्क नै बिक्दोरहेछ, चाकरी नै बिक्दो रहेछ । योग्यता, क्षमता र योगदान अमावश्याको रातमा जून हराएझैँ हराउँदोरहेछ ।
खान खाइसकेपछि शशिकलाले धन्दा सिध्याउञ्जेलमा उसले रञ्जन र निरञ्जनलाई गृहकार्य गर्न सघायो । गृहकार्य सक्याएपछि दुई छोराहरू सुतेको उसले हेरिरह्यो । धन्दा सिध्याएर छेउमा बस्न आएकी शशिकलाको हात समातेर चेतनराजले भन्यो । — ‘शशि, अब ‘उज्यालो ’ बन्द गरेर अरु नै केइ काम गर्नु परो । बेपार सेपार गर्नु परो, तिमी के भन्छ्यौ रु’
‘बेपार गर्नलाई त निकै पैसा चाइन्छ नि । हामीसँग पैसा काँ’ छ र रुफेरि अचानक पेसा फेर्ने विचार काँ’ट आयो रु’ शशिकलाको आँखा र मुहारका रेखाहरूमा पनि प्रश्नैप्रश्न थियो ।
‘यो पेसाले नाम त देला तर जीवनभरि अभाव बाएक केइ नदिने भो, शशि । नेतालाई हेरें, पार्टीलाई पनि हेरें, मोर्चालाई पनि हेरें । सप्पै पैसा हुनेकै लागि रुछन् । चाकरी गर्नेकै रुछन् । याँ’ योग्यता, छेमता, योगदान केइ नचाइने रुछ केवल नेताको नजिक हुन जाने पुग्ने र‘छ । ’—चेतनले शिर निहुराएर भन्यो । —‘अन्यथा नठान, पैसाका लागि हामीसँग अरु केइ छैन । तिम्रो त्यो तिलहरि बेचेर आ’को पैसाले सानो चिया पसल खोलौंन । अलिकति थपथाप गर्नका लागि तेइ एउटा कम्प्युटर पनि बेचौं । अरु के के बेच्दा दुईचार पैसा आउँछ, तिमी नै विचार गरन । ’
‘तेसो गर्ने र …र<’—शशिकलाको आँखामा शंसय देखियो ।
‘तेसै गरौं, शशि,’—चेतनराजले आफ्ना कविताहरूको डायरी पुरानो ट्यान्कामा थन्काउँदै भन्यो । —‘जूठा भाँडा माझेर एकपेट खाँदै हाम्रा छोराहरूको भविष्य बनाउँन सकिन्छभने कम्मर कसौं, शशि । नत्र धेरै ढिलो हुन्छ । ’
‘अनि पत्रकारिता… साहित्यप्रतिको तपाईँको मोह…<’—शशिकलाको गला अवरुद्ध भयो ।
‘चिया फिट्दै र जूठा गिलासमाझ्दै भए पनि कविता लेखुँला नै । समय र परिस्थिति अनुकुल भएछभने पत्रकारिता पनि गरौंला । जत्ति नै अभाव खेपेर पनि विचार र्मन नदिन तेइ पार्टीलाई भोट हालौंला । तर अइले भोक नजिती नहुने युद्ध बनेर हाम्रो अगाडि उभिएको छ, शशि’
चेतनराजको कुराले शशिकलाको घाँटीमा केही अडकिएझैँ असजिलो भयो । आँखामा पानी भरिएर आँखाले धमिलो धमिलो देख्न थाल्यो । धेरैबेरसम्म दुवैजना मौन रहिरहे । कसोकसो चेतनराजलाई आफू हल्का भएको अनुभूति भयो । उसले शशिकलाको हात समातेर भन्यो ।—‘शशि, ऊ हेर त, जून निस्केछ । बाइर कत्ति शित्तल छ आऊ न । ’
आज शशिकलालाई चेतनराजको हाउभाउ कसो कसो अनौठो लाग्यो तर रमाइलो पनि लाग्यो । मुसुक्क मुस्कुराउँदै उनी पनि जून हेर्न बाहिर निस्किइन् ।
तरहरा (सुन्सरी) हालः काठमाडौं
(स्रोत : Majheri)