~देवेन्द्र भट्टराई~
समाल– यो ठाउँ भनेको कतारको राजधानी दोहाबाट एक सय किलोमिटरपूर्वमा पर्ने समाल मरुभूमि हो, जहाँबाट पारि बहराइन झलमल्ल देखिन्छ । तर, जति आँखा तन्काए पनि मरुभूमिको आँगन मात्रै देखिने ठाउँमा कहाँ, कता, कुन दिशा पर्छ, खुट्याउन हम्मे छ । यो सुदूर एकान्तमा भेटिए, लमजुङ थानसिङ गाउँका समबहादुर विश्वकर्मा ।
समबहादुर खाडी छिरेको ठीक १० महिना भयो । गाउँको एक चुरौटेमार्फत वसुन्धरास्थित एउटा म्यानपावर एजेन्सीलाई ९५ हजार रुपियाँ ख्वाएर उनी यता छिरेका हुन् । “तर, म आफू कहाँ छु, यो ठाउँको नाम के हो– केही पनि पत्तो छैन,” २२ वर्षे समबहादुर बाख्राबाख्रीको हूलमाझबाट बोल्दै थिए । गाउँमा भने उनका ६० वर्षे बा सूर्यबहादुर, श्रीमती विन्दु र तीनमहिने छोरो धिमेश छन् ।
चुरौटेले भने अनुसार कतारी दोकानमा सब्जीको काम गर्न समबहादुर यता आएका हुन् । “आठघन्टे ड्युटी हो, ओभरटाइम छ, सुरुमा साढे पाँच सय तलब भनेको थियो,” सुरु भइसकेको गर्मी र हावामा उभिएर समबहादुरले सुनाए, “अहिले ड्युटीको कुनै ट्याम छैन, ओभरट्याम पनि छैन, पहिले तोकेको तलब पनि सुक्खा छ ।”
हो, समबहादुर विक यो दुरोदेशको गोठमा एक्लै छन् । उनका जिम्मामा दुई सय बाख्रा, ६० वटा कुखुरा, तीन सयवटा परेवा र एउटा दुहुनो गाई छन् । यो गोठका अरबी मालिक दिनहुँजसो यता आइरहन्छन्, पशुपक्षीको खान्की लिएर । समबहादुरलाई शहरबाट खबुज पनि तिनैले ल्याउँछन् । यो मरुभूमिमा सागसब्जीको कुरा के गर्नू ? सितन जे भेटिन्छ, त्यसैसँग खबुज खान्छन् सम । “कम्पनी भनेर आइयो, बाख्री कम्पनी पो रहेछ,” भेडीगोठमा छिर्दै गरेका समले भने, “बिहान उठ्नासाथै मान्छेको अनुहार हैन, बाख्रा हेर्न थाल्नुपर्छ ।”
जीवन कतिसम्म एकान्तिक र पट्यारलाग्दो छ भने समबहादुरले आफ्नो जिम्मामा भएका दुई सय बाख्रामध्ये साना पाठापाठीको मौलिक नेपाली नाम पनि राखेका छन्, जो समले नाम काढेर बोलाउँदा छेउछाउ आउने गर्छन् । रुसी कथाकार एन्टोन चेखवको ‘ग्रिफ’ कथा त समबहादुरलाई थाहा छैन तर सम स्वयंमा भने ग्रिफ कथामा आफ्नो घोडासँग संवाद गर्न रुचाउने बूढो पात्र ग्रिगोरी पेट्रोभजस्ता भेटिए । “यो मरुभूमिमा,” समबहादुर भन्छन्, “कतै केही कुरा बोल्न मन लागेमा, केही सुनाउन मन लागेमा यही सेते (पाठो)का छेउमा आउँछु र कुरो गर्न थाल्छु ।”
***
उपर्युक्त संवाद झन्डै पाँच वर्ष पुरानो हो, जुन बेला कतारी रेगिस्तानी भूमिमा समबहादुर भेटिएका थिए । समबहादुरजस्ता दर्जनौँ पात्र त्यो रेगिस्तानमा थिए, जो बाख्री कम्पनीमा काम गर्थे र ‘बाख्राकै जुनी भो हजुर’ भन्दै निकै आतेशको दैनिकीमा भिडिरहेका हुन्थे । रेगिस्तानमा तात्तिएको बालुवा मात्रै हुँदैन, चिसिएका सम्बन्धका अनेक कथा पनि हुन्छन् । धेरैजसो नेपाली आमाबाबुले अहिलेसम्म पत्तो पाइनसकेको ‘खाडी’को दुनियाँमा अझै कति धेरै छोरा कटमरिएको पिलोकै नियति लिएर बाँचिरहेका छन्, न सास न लासको स्थिति ।
रेगिस्तानका थुप्रै समबहादुरसँगको उठबस सम्झना मन–मस्तिष्कबाट हट्न नसकिरहेका बेला अहिले एकालाप गर्दै आएका छन्, नजिब । भारत, केरलाका यी नवयुवकसँग जोडिएको सास्तीपूर्ण खाडी–कहानी त्यत्तिकै विदारक लाग्छ । सपनाधारी नेपालीको सास्तीपूर्ण कथा कुनै डरलाग्दो सिनेमाको पटकथाझैँ रेगिस्तानमा अझै छाएकै छ । पात्र फेरिएका होलान् तर कथा उही छ । भारत, केरलका पात्र नजिबको आत्मलापझैँ ‘दु:खबाट उम्कने उत्तम उपाय, आफूले भन्दा बढी दु:ख भोगेका अरूको कथा सुन्नू ।’
मलयालम भाषाका लेखक बेन्यामिनको २००८ मा प्रकाशित आडु जिविदमको नजिकको भावानुवाद हुन्छ– बाख्री जुनी । यो समानअर्थी गोट डेजका नाममा अंग्रेजी संस्करण आइसकेको छ । अहिले त्यही गोट डेजको नेपाली संस्करण खबुज पाठकमाझ आएको छ, जहाँ नजिबले सयौँ नेपाली दाजुभाइको खाडी जिन्दगीको सही प्रतिनिधित्व गरेको छ । जवाहरलाल नेहरु विश्वविद्यालयका उम्दा छात्र दिनेश काफ्लेले गरेको यो अनुवाद मरुभूमिको तातो अनुभव नगर्नेका लागि पनि विचार–मन्थनको तातो खुराक हो ।
खबुजभित्रको कथा दोहोर्याउँदै यहाँ भनिरहनुको अर्थ छैन । ‘जस्तोसुकै दु:ख पनि खप्न सकिन्छ, त्यो दु:ख साट्नलाई आफूसँग कोही छ भने’ भनेरै भेडाबाख्रालाई निकटस्थ बनाएको क्षण र उनीहरूसँग दु:ख (यदाकदा क्षणिक सुख पनि) साट्न थाल्दाको क्षणले आँखैसामु धेरै खालका तरंग उब्जाइरहेको हुन्छ । खबुजमा नजिबको पोचक्करी रमणी (बाख्री)सँगको संसर्ग कति आवेश र ऐँठनमाझ भएको छ, त्यो पढ्दा न ‘विचरा’ भन्न सकिन्छ, न ‘क्याबात् !’ भन्ने ठाउँ छ । यस्तै निसासमा कतारको जमेलियादेखि समाल र अलखोर मरुभूमिमा भेडीगोठ रुँगेर बसेका नेपाली र भारतीय गोठाला कहिले ‘बाख्री करणी’को अभियोगमा समातिएका हुन्थे ।
कहिले सुडानी मालिकले ‘स्त्री गधा’ करणी गर्दाको सनसनीखेज बयान आँखैमा उत्रिरहेको हुन्थ्यो । कहिले त्यही भेडीगोठ छेवैको खोरबाट एउटा कुखुरा हराउँदा अथवा आसपासमा दुइटा परेवा मरेको भेटिँदा ‘भिसा क्यान्सिल’ गराउँदै रातारात ‘डिपोर्ट’ गरिएका नेपाली गोठालाको रुवाबासी सुन्न सकिन्थ्यो ।
‘खबुज’मा मूलपात्र नजिबले आफ्नो हुनेवाला छोराछोरीको नाम कल्पेका थिए– नबिल र सफिया । भेडीगोठका तीनवटा नाइके बाख्राको नाम राखिदिएका थिए– ललिता, रागिनी र पद्मिनी । समबहादुरले आफ्नो सपनीमा आइरहने एक मात्र छोराको नामसँग मिल्दो लाग्ने पाठालाई ‘सेते’ भनेर वात्सल्य पोखेझैं । खबुज पढ्दै जाँदा खबुजकै एउटा पोको, एक–दुई बोतल पेप्सी/कोक अथवा सुलेमानी (ब्ल्याक–टी) लिएर समालतिरको कुनै भेडीगोठ यात्रामा गोठाले मित्र भेट्न निस्किएझैँ अनुभूति यतिखेर भइरहेको हुन्छ ।
कतारको दोहा एयरपोर्टमा उत्रिएपछि एकैचोटि कुनै अनकन्टार र दिशा पहिल्याउनै नसकिने मरुभूमिमाझ लगेर छाडिएका शोभाकान्त लामिछाने (हाल ओमान)को कथा–व्यथा फेरि दोहोर्याउँदै नजिब पात्रमा प्रतिछायाँ बनेर आएको छ । त्यही मरुभूमिबाट रातारात भागेर सहर छिरेको अर्को युवक दोर्जे शेर्पाको भगौडा–नियति (रनवे वर्कर) पनि नजिबसँग मिल्दोजुल्दो छ । (खाडीको कतारमा मात्रै हरेक महिना पाँच सयभन्दा बढी नेपाली भगौडा कामदारले घरफिर्तीका लागि प्रहरी/अदालतका प्रक्रिया पूरा गरिरहेका हुन्छन् ।)
***
खबुज पढिसकेपछि के लाग्छ भने केरलावासी एउटा कामदार नजिबको खाडी–नियति जति दुर्दान्त छ, त्यति हुबहु बयान पुस्तकमा छैन । खाडी अनुभव कहिल्यै नगरेका, रेगिस्तानी तातो बालुवा नछोएका र भेडीगोठमा गोठाले–साथीहरूसँगै उठबस गरेर तिनको मूर्छना/संवेदना छाम्न नपाउनेका लागि खबुज साँच्चिकै मरुभूमि–आत्मकथा हो । तर, त्यो खाडीको तातो पानी पिइसक्नेका निम्ति खबुजमा धेरै कुरा जोडिन बाँकी छ ।
आफ्नो गाउँघर, स्वास्नी, छोराछोरी, बाआमा सम्झेर सपनीमा ऐँठन बेहोर्ने कामदारको विशेषत: मरुभूमि–नियति यसमा जीवन्त बनेर आएको छैन । (कतारमा मात्रै हरेक वर्ष मृत्यु बेहोर्ने औसत तीन सय नेपाली कामदारमध्ये डेढ सयभन्दा बढी यही ‘ऐँठन’का कारण ‘सुतिरहेकै अवस्थामा मर्ने’ गरेको
पाइएको छ ।)
मलयालम हुँदै अंग्रेजीबाट नेपालीमा भावानुवाद चरणमा आएको खबुज (यो आफैँमा भावानुवाद शीर्षक हो, अनुवाद होइन)मा व्याख्या वा प्रसंगले अन्यथा नलाग्ने अरू भाव मिलाउन सकिन्थ्यो भन्ने लाग्छ । लेखक बेन्यामिनका हकमा पनि साउदीको कुनै मरुभूमि बाख्री–कम्पनीमा बसेर आएको नजिब ‘स्टोरी–टेलर’ मात्रै थियो, लेखकको आफ्नै अनुभव र अनुभूति यो होइन । नजिबको यो अटोबायोग्राफी होइन, बायोग्राफी मात्रै हो । यसकारण पनि कतिपय सन्दर्भ र शब्दार्थमा मूल लेखक स्वयं पनि अलमलिएका हुन सक्छन् ।
रेगिस्तानी जगत्मा बालुवामा फल्ने गुलियो फल खजुरको स्वाद, चिसोपानीको तिर्सनामा बालुवामुनि गाडेर राखिने माटाको गाग्रोसँगको आत्मालाप र सुरुमा एजेन्टले देखाएको सर्त अनुसारको घर फिर्ने दिनको ‘काउन्टडाउन’ मात्रै पनि हृदय छियाछिया पार्ने खालको हुन्छ । बालुवाको ढेरमाझ ‘जंगलको बास’ (मरुभूमिमा उम्रने तीनपाते झारलाई पनि जंगल भनिन्छ) गर्नेहरूको यो कहानी नेपालीमा भावानुवाद भएर आइसकेपछि ठ्याक्कै ‘नेपालीपना’ अनुभूत गराउन सकिन्थ्यो कि ? किनभने, बाख्रा–कम्पनी र बाख्रे जिन्दगीको पीडाबोध एउटा केरले (भारतीय)को मात्रै होइन, नेपाली, बंगलादेशी, श्रीलंकाली र केही पाकिस्तानीसहितको खाडीमा फलेफुलेको यो ‘दक्षिण एसियाली साझा नियति’ हो । साँच्चै सामूहिक–सास्तीको कथा यहाँ छ ।
अरबी जगत्बारे जानकार कोही पाठक छ भने ठीकै छ । तर, खबुजको चर्चा र व्याख्या सुनेरै पुस्तक पढ्न चाहने कोरा पाठकले ‘हिमार’, ‘मुख माफी इन्ती’, ‘आदि अबियाद’, ‘अस्वाद’, ‘जोहुर’, ‘सुबही’ आदि दोहोरिएर आउने शब्दको अर्थ खोज्न कहाँ जाने ? सायद यसको अर्थ अनुवादक काफ्लेलाई पनि थाहा नहुन सक्छ ।
पुस्तकमा जे जसरी अरबी शब्दको उच्चारण राखिएको छ, त्यो पनि धेरै सही छैन । कतारवासी अरबी शब्द/भाषाका जानकार करिम बक्स मियाँका अनुसार खबुजमा भनिएजस्तो मजबुस र ‘कब्सा’ होइन, खब्सा (अरबी भात) हो । ‘अर्बब’ होइन, अरबाब (मालिक) हो । ‘मुतैया’ होइन, मुतौवा (धार्मिक गुरु) हो । ‘मग्रिब’ होइन, मगरिब (सन्ध्याकालीन) हो । शब्दार्थ पनि नदिइएको र उच्चारण पनि सही नलेखिएको यो अवस्था पाठकका निम्ति स्वभावत: निकै चुनौतीपूर्ण बनेको छ । अर्कातिर, अनुवाद अथवा सम्पादनले कहीँकतै भने भाषाविद्समेत टोलाउने गरी अलौकिक भाषा जोडेको छ, जस्तो : ‘बलकबलक बल्किरहेको हात झुन्ड्याउँदै मरुभूमितिर दगुरेँ ।’ (पृ ७३)
खबुज पढिरहेका बेला धेरैपटक समबहादुर र शोभाकान्तको सम्झना हुन्छ । संसारकै धनी र प्रतिव्यक्ति आयका आधारमा ‘टप टेन’मा पुगेका अरब मुलुकहरू आज आफ्नो भूमिमा रोजीरोटी खोज्दै आउने दक्षिण एसियाली कामदारका हकमा ‘चरम दासता’ लादिरहेका छन् । यो लुकेको र लुकाइएको कथाबारे न जेनेभाको मानव अधिकार उच्चायोगले बोल्छ, न अमेरिकी अथवा युरोपेली अधिकारवादीले बोल्ने आँट देखाउँछन् । कसैले सुनोस्/नसुनोस्, बरू लेखक बेन्यामिन र उनीजस्तै केही लेखक/पत्रकारले यो दासताको कथा बाहिर ल्याएका छन् ।
खबुज पढिसक्दा धनुषा, सोनिगामा–५ का निरसु ठाकुरको नियति सम्झना हुन्छ, जो शुक्रबारे कम्पनी छुट्टीका दिन कतारको बिस्मिल्लाह चोकमा तमाखु र पानपराग बेच्न आउने गर्थे । ‘कार्पेन्टरी’ काम भनेर गाउँले दलालले खाडीतिर पठाएका उनी ‘लेबरी’ काममा परेका रहेछन् । त्यसको शोधभर्ना गर्न उनी फुर्सदमा पानसुपारी/तमाखु बेच्ने रहेछन्, त्यो पनि लुकीछुपी ।
“खाडी कस्तो रहेछ त निरसु ?” दुई–चारपटकको भेटघाटमा दोस्ती भएपछि मैले सोधेको थिएँ । ती निरसुको जवाफ यत्तिका वर्षपछि पनि मैले भुल्न सकेको छैन, नजिबको नियति पढेर निरसु झनै मनमस्तिष्कमा छाएका छन् । ३६ वर्षे लक्काजवान निरसु भन्थे, “जिएछी कि मरैछी, हुक्कुर–हुक्कुर करैछी ।” अर्थात्, बाँचेको छु कि मरेको छु थाहा छैन । तर, सास भने चल्दैछ ।
खबुज
लेखक : बेन्यामिन
अनुवाद : दिनेश काफ्ले
प्रकाशक : फाइन प्रिन्ट
पृष्ठ : १६४
मूल्य : २५० रुपियाँ
प्रकाशित: आश्विन १३, २०७२
(स्रोत : कान्तिपुर – नेपाल साप्ताहिक )