पुस्तक समीक्षा : खबुज — बाख्री कम्पनी, बाख्रीकै जुनी

~देवेन्द्र भट्टराई~

समाल– यो ठाउँ भनेको कतारको राजधानी दोहाबाट एक सय किलोमिटरपूर्वमा पर्ने समाल मरुभूमि हो, जहाँबाट पारि बहराइन झलमल्ल देखिन्छ । तर, जति आँखा तन्काए पनि मरुभूमिको आँगन मात्रै देखिने Bookcover - Khabuj - Benyaaminठाउँमा कहाँ, कता, कुन दिशा पर्छ, खुट्याउन हम्मे छ । यो सुदूर एकान्तमा भेटिए, लमजुङ थानसिङ गाउँका समबहादुर विश्वकर्मा ।

समबहादुर खाडी छिरेको ठीक १० महिना भयो । गाउँको एक चुरौटेमार्फत वसुन्धरास्थित एउटा म्यानपावर एजेन्सीलाई ९५ हजार रुपियाँ ख्वाएर उनी यता छिरेका हुन् । “तर, म आफू कहाँ छु, यो ठाउँको नाम के हो– केही पनि पत्तो छैन,” २२ वर्षे समबहादुर बाख्राबाख्रीको हूलमाझबाट बोल्दै थिए । गाउँमा भने उनका ६० वर्षे बा सूर्यबहादुर, श्रीमती विन्दु र तीनमहिने छोरो धिमेश छन् ।

चुरौटेले भने अनुसार कतारी दोकानमा सब्जीको काम गर्न समबहादुर यता आएका हुन् । “आठघन्टे ड्युटी हो, ओभरटाइम छ, सुरुमा साढे पाँच सय तलब भनेको थियो,” सुरु भइसकेको गर्मी र हावामा उभिएर समबहादुरले सुनाए, “अहिले ड्युटीको कुनै ट्याम छैन, ओभरट्याम पनि छैन, पहिले तोकेको तलब पनि सुक्खा छ ।”

हो, समबहादुर विक यो दुरोदेशको गोठमा एक्लै छन् । उनका जिम्मामा दुई सय बाख्रा, ६० वटा कुखुरा, तीन सयवटा परेवा र एउटा दुहुनो गाई छन् । यो गोठका अरबी मालिक दिनहुँजसो यता आइरहन्छन्, पशुपक्षीको खान्की लिएर । समबहादुरलाई शहरबाट खबुज पनि तिनैले ल्याउँछन् । यो मरुभूमिमा सागसब्जीको कुरा के गर्नू ? सितन जे भेटिन्छ, त्यसैसँग खबुज खान्छन् सम । “कम्पनी भनेर आइयो, बाख्री कम्पनी पो रहेछ,” भेडीगोठमा छिर्दै गरेका समले भने, “बिहान उठ्नासाथै मान्छेको अनुहार हैन, बाख्रा हेर्न थाल्नुपर्छ ।”

जीवन कतिसम्म एकान्तिक र पट्यारलाग्दो छ भने समबहादुरले आफ्नो जिम्मामा भएका दुई सय बाख्रामध्ये साना पाठापाठीको मौलिक नेपाली नाम पनि राखेका छन्, जो समले नाम काढेर बोलाउँदा छेउछाउ आउने गर्छन् । रुसी कथाकार एन्टोन चेखवको ‘ग्रिफ’ कथा त समबहादुरलाई थाहा छैन तर सम स्वयंमा भने ग्रिफ कथामा आफ्नो घोडासँग संवाद गर्न रुचाउने बूढो पात्र ग्रिगोरी पेट्रोभजस्ता भेटिए । “यो मरुभूमिमा,” समबहादुर भन्छन्, “कतै केही कुरा बोल्न मन लागेमा, केही सुनाउन मन लागेमा यही सेते (पाठो)का छेउमा आउँछु र कुरो गर्न थाल्छु ।”   

***
उपर्युक्त संवाद झन्डै पाँच वर्ष पुरानो हो, जुन बेला कतारी रेगिस्तानी भूमिमा समबहादुर भेटिएका थिए । समबहादुरजस्ता दर्जनौँ पात्र त्यो रेगिस्तानमा थिए, जो बाख्री कम्पनीमा काम गर्थे र ‘बाख्राकै जुनी भो हजुर’ भन्दै निकै आतेशको दैनिकीमा भिडिरहेका हुन्थे । रेगिस्तानमा तात्तिएको बालुवा मात्रै हुँदैन, चिसिएका सम्बन्धका अनेक कथा पनि हुन्छन् । धेरैजसो नेपाली आमाबाबुले अहिलेसम्म पत्तो पाइनसकेको ‘खाडी’को दुनियाँमा अझै कति धेरै छोरा कटमरिएको पिलोकै नियति लिएर बाँचिरहेका छन्, न सास न लासको स्थिति ।

रेगिस्तानका थुप्रै समबहादुरसँगको उठबस सम्झना मन–मस्तिष्कबाट हट्न नसकिरहेका बेला अहिले एकालाप गर्दै आएका छन्, नजिब । भारत, केरलाका यी नवयुवकसँग जोडिएको सास्तीपूर्ण खाडी–कहानी त्यत्तिकै विदारक लाग्छ । सपनाधारी नेपालीको सास्तीपूर्ण कथा कुनै डरलाग्दो सिनेमाको पटकथाझैँ रेगिस्तानमा अझै छाएकै छ । पात्र फेरिएका होलान् तर कथा उही छ । भारत, केरलका पात्र नजिबको आत्मलापझैँ ‘दु:खबाट उम्कने उत्तम उपाय, आफूले भन्दा बढी दु:ख भोगेका अरूको कथा सुन्नू ।’

मलयालम भाषाका लेखक बेन्यामिनको २००८ मा प्रकाशित आडु जिविदमको नजिकको भावानुवाद हुन्छ– बाख्री जुनी । यो समानअर्थी गोट डेजका नाममा अंग्रेजी संस्करण आइसकेको छ । अहिले त्यही गोट डेजको नेपाली संस्करण खबुज पाठकमाझ आएको छ, जहाँ नजिबले सयौँ नेपाली दाजुभाइको खाडी जिन्दगीको सही प्रतिनिधित्व गरेको छ । जवाहरलाल नेहरु विश्वविद्यालयका उम्दा छात्र दिनेश काफ्लेले गरेको यो अनुवाद मरुभूमिको तातो अनुभव नगर्नेका लागि पनि विचार–मन्थनको तातो खुराक हो ।

खबुजभित्रको कथा दोहोर्‍याउँदै यहाँ भनिरहनुको अर्थ छैन । ‘जस्तोसुकै दु:ख पनि खप्न सकिन्छ, त्यो दु:ख साट्नलाई आफूसँग कोही छ भने’ भनेरै भेडाबाख्रालाई निकटस्थ बनाएको क्षण र उनीहरूसँग दु:ख (यदाकदा क्षणिक सुख पनि) साट्न थाल्दाको क्षणले आँखैसामु धेरै खालका तरंग उब्जाइरहेको हुन्छ । खबुजमा नजिबको पोचक्करी रमणी (बाख्री)सँगको संसर्ग कति आवेश र ऐँठनमाझ भएको छ, त्यो पढ्दा न ‘विचरा’ भन्न सकिन्छ, न ‘क्याबात् !’ भन्ने ठाउँ छ । यस्तै निसासमा कतारको जमेलियादेखि समाल र अलखोर मरुभूमिमा भेडीगोठ रुँगेर बसेका नेपाली र भारतीय गोठाला कहिले ‘बाख्री करणी’को अभियोगमा समातिएका हुन्थे ।

कहिले सुडानी मालिकले ‘स्त्री गधा’ करणी गर्दाको सनसनीखेज बयान आँखैमा उत्रिरहेको हुन्थ्यो । कहिले त्यही भेडीगोठ छेवैको खोरबाट एउटा कुखुरा हराउँदा अथवा आसपासमा दुइटा परेवा मरेको भेटिँदा ‘भिसा क्यान्सिल’ गराउँदै रातारात ‘डिपोर्ट’ गरिएका नेपाली गोठालाको रुवाबासी सुन्न सकिन्थ्यो ।

‘खबुज’मा मूलपात्र नजिबले आफ्नो हुनेवाला छोराछोरीको नाम कल्पेका थिए– नबिल र सफिया । भेडीगोठका तीनवटा नाइके बाख्राको नाम राखिदिएका थिए– ललिता, रागिनी र पद्मिनी । समबहादुरले आफ्नो सपनीमा आइरहने एक मात्र छोराको नामसँग मिल्दो लाग्ने पाठालाई ‘सेते’ भनेर वात्सल्य पोखेझैं । खबुज पढ्दै जाँदा खबुजकै एउटा पोको, एक–दुई बोतल पेप्सी/कोक अथवा सुलेमानी (ब्ल्याक–टी) लिएर समालतिरको कुनै भेडीगोठ यात्रामा गोठाले मित्र भेट्न निस्किएझैँ अनुभूति यतिखेर भइरहेको हुन्छ ।

कतारको दोहा एयरपोर्टमा उत्रिएपछि एकैचोटि कुनै अनकन्टार र दिशा पहिल्याउनै नसकिने मरुभूमिमाझ लगेर छाडिएका शोभाकान्त लामिछाने (हाल ओमान)को कथा–व्यथा फेरि दोहोर्‍याउँदै नजिब पात्रमा प्रतिछायाँ बनेर आएको छ । त्यही मरुभूमिबाट रातारात भागेर सहर छिरेको अर्को युवक दोर्जे शेर्पाको भगौडा–नियति (रनवे वर्कर) पनि नजिबसँग मिल्दोजुल्दो छ । (खाडीको कतारमा मात्रै हरेक महिना पाँच सयभन्दा बढी नेपाली भगौडा कामदारले घरफिर्तीका लागि प्रहरी/अदालतका प्रक्रिया पूरा गरिरहेका हुन्छन् ।)
***
खबुज पढिसकेपछि के लाग्छ भने केरलावासी एउटा कामदार नजिबको खाडी–नियति जति दुर्दान्त छ, त्यति हुबहु बयान पुस्तकमा छैन । खाडी अनुभव कहिल्यै नगरेका, रेगिस्तानी तातो बालुवा नछोएका र भेडीगोठमा गोठाले–साथीहरूसँगै उठबस गरेर तिनको मूर्छना/संवेदना छाम्न नपाउनेका लागि खबुज साँच्चिकै मरुभूमि–आत्मकथा हो । तर, त्यो खाडीको तातो पानी पिइसक्नेका निम्ति खबुजमा धेरै कुरा जोडिन बाँकी छ ।

आफ्नो गाउँघर, स्वास्नी, छोराछोरी, बाआमा सम्झेर सपनीमा ऐँठन बेहोर्ने कामदारको विशेषत: मरुभूमि–नियति यसमा जीवन्त बनेर आएको छैन । (कतारमा मात्रै हरेक वर्ष मृत्यु बेहोर्ने औसत तीन सय नेपाली कामदारमध्ये डेढ सयभन्दा बढी यही ‘ऐँठन’का कारण ‘सुतिरहेकै अवस्थामा मर्ने’ गरेको
पाइएको छ ।)

मलयालम हुँदै अंग्रेजीबाट नेपालीमा भावानुवाद चरणमा आएको खबुज (यो आफैँमा भावानुवाद शीर्षक हो, अनुवाद होइन)मा व्याख्या वा प्रसंगले अन्यथा नलाग्ने अरू भाव मिलाउन सकिन्थ्यो भन्ने लाग्छ । लेखक बेन्यामिनका हकमा पनि साउदीको कुनै मरुभूमि बाख्री–कम्पनीमा बसेर आएको नजिब ‘स्टोरी–टेलर’ मात्रै थियो, लेखकको आफ्नै अनुभव र अनुभूति यो होइन । नजिबको यो अटोबायोग्राफी होइन, बायोग्राफी मात्रै हो । यसकारण पनि कतिपय सन्दर्भ र शब्दार्थमा मूल लेखक स्वयं पनि अलमलिएका हुन सक्छन् ।

रेगिस्तानी जगत्मा बालुवामा फल्ने गुलियो फल खजुरको स्वाद, चिसोपानीको तिर्सनामा बालुवामुनि गाडेर राखिने माटाको गाग्रोसँगको आत्मालाप र सुरुमा एजेन्टले देखाएको सर्त अनुसारको घर फिर्ने दिनको ‘काउन्टडाउन’ मात्रै पनि हृदय छियाछिया पार्ने खालको हुन्छ । बालुवाको ढेरमाझ ‘जंगलको बास’ (मरुभूमिमा उम्रने तीनपाते झारलाई पनि जंगल भनिन्छ) गर्नेहरूको यो कहानी नेपालीमा भावानुवाद भएर आइसकेपछि ठ्याक्कै ‘नेपालीपना’ अनुभूत गराउन सकिन्थ्यो कि ? किनभने, बाख्रा–कम्पनी र बाख्रे जिन्दगीको पीडाबोध एउटा केरले (भारतीय)को मात्रै होइन, नेपाली, बंगलादेशी, श्रीलंकाली र केही पाकिस्तानीसहितको खाडीमा फलेफुलेको यो ‘दक्षिण एसियाली साझा नियति’ हो । साँच्चै सामूहिक–सास्तीको कथा यहाँ छ ।

अरबी जगत्बारे जानकार कोही पाठक छ भने ठीकै छ । तर, खबुजको चर्चा र व्याख्या सुनेरै पुस्तक पढ्न चाहने कोरा पाठकले ‘हिमार’, ‘मुख माफी इन्ती’, ‘आदि अबियाद’, ‘अस्वाद’, ‘जोहुर’, ‘सुबही’ आदि दोहोरिएर आउने शब्दको अर्थ खोज्न कहाँ जाने ? सायद यसको अर्थ अनुवादक काफ्लेलाई पनि थाहा नहुन सक्छ ।

पुस्तकमा जे जसरी अरबी शब्दको उच्चारण राखिएको छ, त्यो पनि धेरै सही छैन । कतारवासी अरबी शब्द/भाषाका जानकार करिम बक्स मियाँका अनुसार खबुजमा भनिएजस्तो मजबुस र ‘कब्सा’ होइन, खब्सा (अरबी भात) हो । ‘अर्बब’ होइन, अरबाब (मालिक) हो । ‘मुतैया’ होइन, मुतौवा (धार्मिक गुरु) हो । ‘मग्रिब’ होइन, मगरिब (सन्ध्याकालीन) हो । शब्दार्थ पनि नदिइएको र उच्चारण पनि सही नलेखिएको यो अवस्था पाठकका निम्ति स्वभावत: निकै चुनौतीपूर्ण बनेको छ । अर्कातिर, अनुवाद अथवा सम्पादनले कहीँकतै भने भाषाविद्समेत टोलाउने गरी अलौकिक भाषा जोडेको छ, जस्तो : ‘बलकबलक बल्किरहेको हात झुन्ड्याउँदै मरुभूमितिर दगुरेँ ।’ (पृ ७३)

खबुज पढिरहेका बेला धेरैपटक समबहादुर र शोभाकान्तको सम्झना हुन्छ । संसारकै धनी र प्रतिव्यक्ति आयका आधारमा ‘टप टेन’मा पुगेका अरब मुलुकहरू आज आफ्नो भूमिमा रोजीरोटी खोज्दै आउने दक्षिण एसियाली कामदारका हकमा ‘चरम दासता’ लादिरहेका छन् । यो लुकेको र लुकाइएको कथाबारे न जेनेभाको मानव अधिकार उच्चायोगले बोल्छ, न अमेरिकी अथवा युरोपेली अधिकारवादीले बोल्ने आँट देखाउँछन् । कसैले सुनोस्/नसुनोस्, बरू लेखक बेन्यामिन र उनीजस्तै केही लेखक/पत्रकारले यो दासताको कथा बाहिर ल्याएका छन् ।

खबुज पढिसक्दा धनुषा, सोनिगामा–५ का निरसु ठाकुरको नियति सम्झना हुन्छ, जो शुक्रबारे कम्पनी छुट्टीका दिन कतारको बिस्मिल्लाह चोकमा तमाखु र पानपराग बेच्न आउने गर्थे । ‘कार्पेन्टरी’ काम भनेर गाउँले दलालले खाडीतिर पठाएका उनी ‘लेबरी’ काममा परेका रहेछन् । त्यसको शोधभर्ना गर्न उनी फुर्सदमा पानसुपारी/तमाखु बेच्ने रहेछन्, त्यो पनि लुकीछुपी ।

“खाडी कस्तो रहेछ त निरसु ?” दुई–चारपटकको भेटघाटमा दोस्ती भएपछि मैले सोधेको थिएँ । ती निरसुको जवाफ यत्तिका वर्षपछि पनि मैले भुल्न सकेको छैन, नजिबको नियति पढेर निरसु झनै मनमस्तिष्कमा छाएका छन् । ३६ वर्षे लक्काजवान निरसु भन्थे, “जिएछी कि मरैछी, हुक्कुर–हुक्कुर करैछी ।” अर्थात्, बाँचेको छु कि मरेको छु थाहा छैन । तर, सास भने चल्दैछ ।

खबुज
लेखक    : बेन्यामिन
अनुवाद     : दिनेश काफ्ले
प्रकाशक    :    फाइन प्रिन्ट
पृष्ठ    :    १६४
मूल्य    :    २५० रुपियाँ

प्रकाशित: आश्विन १३, २०७२

(स्रोत : कान्तिपुर – नेपाल साप्ताहिक )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in पुस्तक समीक्षा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.