~भ्लादीमिर भिसोत्स्की~
अनु. ज्ञान बहादुर छेत्री
धेरै वर्ष अघिदेखि नै
श्यामवर्ण विशालकाय जंगली हाती
भारतवर्षका अरण्यहरुमा
स्वच्छन्द विचरण गर्दथे ।
तिनीहरुको बथानमा किनहो
एउटा थियो श्वेतवर्ण हाती ।
उसका आँखा थिए उदास
शान्त स्वभाव, विवेकशील र खानदानी
आफ्ना साथीहरु बीच
बेग्लै थियो उसको पहिचान ।
यो त्यस समयको कुरा हो
जब मेरो सम्मानमा
भारतवर्षका राजाले
एउटा हाती भेट चडाए ।
“मलाई यो हाती किन ?”– मैले सोधें,
“किनकि हाती हुन्छन दिलदार । ” —उनले भने ।
हातीले झुकेर मलाई गर्यो अभिवादन
अनि मैले पनि उसलाई सलाम गरें किनभने हाती
असलमा थियो श्वेतवर्ण हस्तिनी
शब्द थिए मेरा शान्त र सद्भावनाका ।
हातीमा सवार, परिदेश भारतवर्षमा
भ्रमण गर्दा बहुतै शानदार लागेको थियो
कहाँ कहाँ पुगें अनि
सुख-दुखका सहभागी भयौं हामी ।
यस्तो पनि भयो कि गुनगुनाउँदै
कसैको छानाका छेउबाट जाँदै थियौं
त्यसबेला छानाबाटै हाम फाले महिलाहरु
भत्काउँदै लाजशरमका पर्खालहरु
भन्नै पर्छ कि श्वेतवर्ण हाती
अलिक बढी नै लयात्मक थिई ।
दुनियाको नक्सा तपाईँले देख्नुभएकै छ भने
अवश्य जान्नु भएको होला
भारतवर्षमा बग्दछिन पावन गंगा
अनि आम-रसको स्वाद चाख्दै
म र श्वेतवर्ण हाती
आत्महारा भएर डुलिरह्यौं गंगातटमा ।
भोक, तिर्खा, निद्रा, स्वास्थ्य
सबै त्यागेर डुलिरह्यौं तटमा
अनि मलाई भन्यो, “तिम्रो सेतो हाती
आफ्नो बथानमा मिसियो वनमा ।“
अनि उसको बिना म भएँ धेरै दिनसम्म उदास
अनि फेरि भारत-नरेशबाट
उपहारमा पाएँ
श्वेतवर्ण हाती ।
सजावटी छडी थियो
जो बनेको थियो हातीका दाँतले ।
सुनेको छु घरमा सातवटा हाती हुनु ठुलो शकुन हो
हाम्रो दुर्भाग्यलाई यसले परै पन्छाउँछ ।
तर बेस हो श्वेतवर्ण हाती स्वच्छन्द विचरण गरुन साथीहरुसँग
भलै नहोस मेरो शकुन, त्यसको परवाह गर्दिन ।
(रुसी कविता Песня про белого слона(The song of the white elephant)को नेपाली अनुवाद)