~चन्द्र गुरुङ~
हिँडिरहेको एउटा मस्त घाम
मध्याह्न दिन, चिप्लिझर्छ धरहराको निधारबाट ……
घामसँगै लडिझर्छन् उज्यालाहरू
दुर्धटनाग्रस्त बन्छन् आशाका किरणहरू ।
हेर्दाहेर्दै
अन्धकारको साम्राज्य फैलिन्छ
अस्त–व्यस्त दृश्यहरूको भीड लाग्छ
अतास र हाहाकारको संयुक्त जुलुस निस्किन्छ ।
हर धडकनले दुःख गाइरहेको यसपल
थाम्नु छ एउटा भुइँचालो मुटुभित्र ।
चारैतिर
विनाशको ताण्डव मच्चिन्छ
समय लरखराउँदै हिँड्छ
चोटग्रस्त बन्छन् थुप्रै सुनौला सपनाहरू
सलबलाइरहन्छन् अकाल मृत्युहरू
जीर्ण आँखाले गुमाउँछन् आफ्ना जवान ज्योतिहरू
मनभित्र फुटिरहन्छ सन्तापको ज्वालामुखी ।
यस बेवारिस वर्तमानमा
थाम्नु छ एउटा भुइँचालो मुटुभित्र ।
यहाँवहाँ
निरीह अनुहारहरू घोचिरहन्छन् मनमस्तिष्कमा
चिन्ताग्रस्त निधारभरि फैलिन्छ निराशा
बागबगैँचातिर रुन्छ फूलको उदासी
हावा संगीतविहीन बन्छ
हिमाल–पहाड भत्किएको पहिचान ओढेर बस्छन्
खुट्टाहरू अन्योल कवाज हिँड्छन् ।
यस भग्नावशेष परिवेशमा
थाम्नु छ एउटा भुइँचालो मुटुभित्र ।
र,
छातिभित्र सपनाहरू उजाडिएको समय
पीडाग्रस्त आकाशमा ताराहरू उज्यालो उदाएकाछन्
साँझमा ढलेको थकित घाम
बिहान क्षीतिजमा सुन्दर सजिएको छ
दुःखको पहाडमाथिबाट चियाउँदै छ चकिलो जून
झरीमा रुझ्दै विश्वासको चरी
गीत गाउँदै छ मनको कौसीमा ।
चारैतिर,
जोश–जाँगर जुरमुराउँदै छ
आशा मुस्कुराउँदै छ
विश्वास बौरिँदै छ ।
घण्टाघर अप्ठ्यारो समय बोकेर उभिएको छ !
भत्किएको घरको थुप्रोबाट जीवनहरू मुस्कुराउँदै निस्किरहेका छन् ।
भोक र प्यासलाई मात दिँदै
धूलोले पुरिएको धर्तीबाट आशाहरू उठ्दैछन्
सहयोगी हातहरूको चहलपहल छ
साथ दिने खुट्टाहरूको ओहोरदोहोर छ
चर्किएका मनहरू जोड्न विशाल सागर उर्लिएको छ ।
यस सुन्दर चित्रमा भर्नु छ–
आँट नभत्किएको रंग
आकाङ्क्षा नमेट्टिएको रंग
रहर नहराएको रंग
इच्छा नमास्सिएको रंग
भरोसा नढलेको रंग
र, जीवनको विश्वासिलो रंग ।
थुप्रै जीवन शिर उठाउँदै पुनः हिँड्न खोजिरहेछन्
यिनकै लागि
थाम्नु छ एउटा भुइँचालो मुटुभित्र ।
(स्रोत : EGkabita)