~यज्ञश~
काग, कोइली र चीलजस्ता केही चरा छन्, जसका कथा प्राय: आइरहन्छन् । लेखकहरू यिनलाई र यिनका विशेषतालाई विम्ब बनाएर कहिले कसैको तारिफ गर्छन् त कहिले कटाक्ष गर्छन् । यो स्मृतिको कथाचाहिँ हुटिट्याउँको हो ।
हुटिट्याउँको एउटा आफ्नै कथा छ । ठूलठूला फाँटमा आफ्ना पखेटा फैलाएर लामो लामो बेग मारेपछि हुटिट्याउँलाई तीर्खा लाग्छ । र, यो लामो खुट्टा भएको चरा खोलामा पानी खान पुग्छ । आफ्नो उचाइबाट झुकेर पानीमा हेर्दा हुटिट्याउँले पानीमा आकाशको प्रतिविम्ब देख्छ । र, उसलाई लाग्छ, यो पानीमा आकाश खसिरहेको छ ।
आकाश खस्यो भने थिचिएर मरिन्छ भन्ने भयमा हुटिट्याउँ बगरमा आउँछ र उत्तानो पर्छ । आफ्ना खुट्टा आकाशतिर फर्काएर यसले खसिरहेको आकाशलाई रोक्ने प्रयास गर्छ ।
यो स्मृतिको हुटिट्याउँ भने उत्तानो परेर आकाश थामिरहेको थिएन ।
***
कान्छे (मेरो भानिजभाइ, जीवन) र म त्यसबेला तनहुँको साँगेमा चार–पाँच कक्षामा पढ्थ्यौँ । केही महिना दमौलीको बाराही बोर्डिङ स् कुलमा पढेर हामी गाउँ फर्किएका थियौँ । एउटा खोल्साको वारिपारिजस्तो हाम्रो घर थियो । तर, गाई–भैँसी चराउने फाँट भने हाम्रो अलग थियो । हाम्रा गाई–भैँसी सयले र डुँडे जान्थे, कान्छेहरूका कैँडले ।
साँगे खोला तरेर गएपछि आउने विशाल कैँडले फाँटमा कान्छे के–के चीज भेट्टाइरहन्थ्यो । एकदिन फाँटको बीचमा रहेको ठाँटीमा उसले आठ रुपियाँ भेट्टायो । कुनै गोठालोको पटुकीबाट फुस्केर झरेको यो पैसा पाउनासाथ उसले मध्य दिनमा भैँसी घर फिर्ता गरेको थियो । गोठमा भैँसी बाँधेर ऊ मलाई आफ्नो महान् खोजबारे जानकारी दिन आइपुगेको थियो । र, स्कुल जाने सर्ट–पाइन्ट लगाएर म निस्किएको थिएँ ।
केहीबेरमा हामी रचनेको बगरमा बेपत्ताले कुदिरहेका थियौँ, दमौली जान । पृथ्वी नै कटेर अन्तै पुग्न खोजेको मानिसको जस्तो हतारमा म यसरी धेरैपटक दमौलीका लागि कुदेको छु । धेरैपटकचाहिँ फिल्म हेर्न ।
त्यस दिन भने उसले अनौठो चीज भेटेको थियो । यी चराका बच्चा थिए, हुटिट्याउँका बच्चा । फाँटको कुनानेर मसिनो धर्सोजस्तो कैँडले खोलो बग्थ्यो । यही खोलाको छेउमा धान काटेर सिनित्त भएको फाँटमा थियो, हुटिट्याउँको गुँड । एउटा सानो गराको कुनाको गुँडमा थिए, गुच्चाजस्ता हरिया आँखा भएका हुटिट्याउँका बच्चा ।
यो पैसाभन्दा धेरै ठूलो खोज थियो, चमत्कारी आविष्कार थियो । हुटिट्याउँका बच्चा भेटिएको खबर लिएर कान्छे आइपुग्यो । त्यो बेला, चराका बच्चा भेट्दा पोलेर खाऊँ भन्ने उमेरमा हामी पुगेका थिएनौँ ।
सिमसिम पानी परिरहेको थियो, मंसिर–पुसको जाडो बेला । दाजुभाइले निष्कर्ष निकाल्यौँ, यो चिसो पानीमा, फाँटमा त्यत्तिकै छोडियो भने यी बचेरा मर्नेछन् । हामीले यिनको उद्धार गर्नुपर्छ । तर, घरमा थाहा दिनु हुन्थेन । नत्र पानी परिरहेको यो चिसोमा कसैले हामीलाई निस्कन दिने थिएन ।
कसैलाई थाहा नदिई हामी अम्रेनी झर्यौँ । हामी पढ्ने स्कुलको पूर्वपट्टिको फराकिलो बाटोबाट दिनभरि चर्न गएका बस् तुभाउ घर फर्किइरहेका थिए । सिमसिम पानीमा भिज्दै गोठालाहरू झन् छिटो फर्किन खोजिरहेका थिए । हामी भने उल्टो बाटो हिँडिरहेका थियौँ । सबै घर फर्कंदा हामी फाँटतिर जाँदै थियौँ ।
साँगे खोलाको बगिरहेको पानीमा खसेका आकाशका थोपा पनि बगेर गइरहेका थिए । खोलामा पानी परेको देख्दा मलाई जहिले पनि पानी उम्लिएजस्तो लाग्छ । ठूलो राप सहन नसकेर फत्किएको खुदोजस्तो पानी माथिमाथि आउन खोज्छ । आकाशको पानी मिसिइरहेको खोला तरेर हामी उक्लियौँ, कैँडले ।
फाँट निर्जन भइसकेको थियो । जाडोको दिन, त्यसमाथि पानी परेको । यो फाँटमा स्याँठ खाएर कोही बस्नेवाला थिएन । फाँटमा उक्लिएपछि कसैले देख्ला भन्ने डर हामीलाई भएन । बाटोमा भेटिएका गोठालालाई केही जवाफ नदिई हामीले टारेका थियौँ ।
आकाशबाट पानीसँगै अँध्यारोमा झर्ने बेलामा हामी फेरि साँगे खोलामा आइपुगेका थियौँ । यसपालि हामी दुवैका हातमा एक–एकवटा बच्चा थिए, हुटिट्याउँका बच्चा ।
मसिना र मुलायम प्वाँख भएका यी बच्चालाई फाँटको बीचमा देख्दा म अचम्भित भएको थिएँ । अहिलेको बेलाजस्तो भएको भए सायद म कुनै फिल्मको दृश्य सम्झिन्थेँ होला । त्यतिबेला मेरो कल्पनाको यस्तो ढोका खुलेको थिएन । हामी यी निर्दोष बचेराहरूको उद्धार गर्न आएका थियौँ ।
हामीले तिनको उद्धार गर्यौँ ।
सर्टको फेरोले छोपेर अलक्कसँग समाएर हामीले बच्चालाई ल्याएका थियौँ । एउटै डरचाहिँ यिनको माउको थियो । आफ्ना बच्चा टिपेर लगेको देखेको भए यिनको माउले आक्रमण गर्ला भन्ने डर थियो । खोला तरेर वारि आएपछि भने त्यो डर हरायो । यस्तो लाग्थ्यो, मानौँ खोलापारिको फाँट हुटिट्याउँको इलाका थियो, वारिका हामी डनको ।
स्कुल छेउमा एक जना मानिससँग भेट भयो, ती को थिए मलाई अहिले याद छैन । उनले हाम्रो हातमा चराका बच्चा देखे । हामीले उनलाई यी बच्चाको उद्धार गरेको बतायौँ पनि । उनले यसरी चराका बच्चा लिएर नजाओ, यी मर्छन् भने । तर, हामीले पत्याएनौँ । यस्तो चिसो पानीमा रुझे भने पो यी मर्छन्, हामी त यिनलाई न्यानो ठाउँमा लैजाँदै छौँ भन्ने सोचेर हामी खुसी थियौँ ।
यससँगै नयाँ डर जन्मियो । यी बच्चालाई लाने कहाँ ? यिनको उद्धार त गरियो तर यिनलाई राख्ने कहाँ ? घर त लान मिल्दैन । घरमा थाहा भयो भने बेकारमा गाली खाने मात्र होइन, अहिले नै यी बच्चालाई फेरि फाँटमा ल्याएर छोड्नुपर्ने हुन्थ्यो ।
हाम्रो स्कुलको पूर्वपट्टि कान्छेको खेत र बारी थियो । त्यही बारीमा थियो, धन्सार । योभन्दा उपयुक्त सेल्टर अरू कुनै हुन्थेन । हामी हुटिट्याउँका बच्चा बोकेर त्यही धन्सारमा पुग्यौँ ।
केही दिनअघि मात्रै दाइँ गरेर ल्याइएको परालले धन्सार भरिएको थियो । चिसो पानीमा भिजेका यी बच्चालाई हामी न्यायो दिन चाहन्थ्यौँ, त्यसका लागि पराल ठीक हुन्थ्यो । धन्सारको माथिल्लो तलामा पराल ओछ्याएर हामीले गुँड बनायौँ । र, यी चिचचिलाउँदा प्राणीलाई परालको तातोमा छोड्यौँ ।
अनुहारमा एउटा विजयी भाव लिएर हामी घर फर्कियौँ । हाम्रो मिसन सफल भएको थियो । हुटिट्याउँका बच्चा अब परालको न्यानोमा सुरक्षित थिए । हामी पनि घर आएर सिरकको
न्यानोमा छिर्यौँ ।
सिरकको न्यानोमा छिरेपछि होला सायद, मनमा चिसो पस्यो । धन्सारमा कुनै बिरालो वा मलसाप्रो आए भने ? तिनले त बच्चालाई खाइदिन्छन् । फाँटमा पो यिनको रक्षा गर्न यिनका बाबुआमा हुन्छन्, धन्सारमा त कोही हुँदैन ।
भोलिपल्ट बिहानै हाम्रो दुई सदस्यीय पार्टीलाई आफ्नो गल्तीको आत्मबोध भयो । पानी पनि रोकिएको थियो । यसैले हामीले ती बच्चालाई उनकै गुँडमा पुर्याउने निधो गर्यौँ ।
बिहानै धन्सारमा पुग्दा परालको गुँड उस्तै थियो । तर, त्यसमा बचेरा थिएनन् । त्यो परालको उरुंगोमा ती साना बचेरा कहाँ बिलाए, हामीले थाहा पाउन सकेनौँ । धेरैबेर हामीले खोज्यौँ । तर, अहँ ! हिजो ल्याएर छोडेका बच्चा कतै थिएनन् । बिरालो वा मलसाप्रोले तिनलाई आहारा बनाए कि परालको खातमा ती कतै तल पुगे, हामीले थाहा पाएनौँ ।
खास उदासी र डर त्यसपछि बल्ल सुरु भयो । यी बच्चा गए कहाँ ? हिजो हामीलाई देख्ने मान्छेले सोधे भने के भन्ने ? हामीलाई हुटिट्याउँको होइन, मान्छेको डर लाग्न थाल्यो । हामीले फाँटबाट ल्याएका हुटिट्याउँका बच्चाबारे अरूले थाहा पाए भने के भन्ने ? यस्ता डरले पिल्सिएर केही दिन हामी गुम्सिइरह्यौँ ।
***
यतिधेरै जीवजन्तु र चराचुरुंगी सिर्जने प्रकृतिले सबैका लागि छुट्टै नियम पनि बनाइदिएको छ । एउटाको नियम अर्कालाई लगाएर हुँदैन । हुटिट्याउँका लागि आकाश नै सायद आवश्यक थियो । तर, हामीले उनीहरूको आकाशलाई एउटा धन्सारमा ल्याएर सीमित गरिदिएका थियौँ । सीमित आकाशमा मान्छे बाँच्न सक्छ, हुटिट्याउँ होइन । यसैले होला फाँट मासिँदै गएपछि मानिसको बस् ती बढ्दै गएपछि हुटिट्याउँ कराएको आवाज सुन्न छोडिन्छ ।
कहिलेकाहीँ काठमाडौँबाट बाहिर निस्किँदा खोलाको बगरमा हुटिट्याउँ कराएको आवाज सुनिन्छ । अहिले पनि हुटिट्याउँ कराएको सुन्दा मलाई लाग्छ, यो तिनै बच्चा हुटिट्याउँकी आमा हो, जो आफ्ना बच्चा खोज्दै अझै उडिरहेकी छ ।
सायद, यो समाजमा अरू पनि त्यस्ता कति आमा छन्, जो अकारण उठाइएका आफ्ना बच्चाहरूको खोजीमा भौँतारिइरहेका छन् । द्वन्द्वकालमा यो संख्या ठूलो थियो । मलाई बालककालको त्यो अवोध गल्तीको अझै पश्चात्ताप छ । यो कुरा सम्झिइरहेको भए, सायद कान्छेलाई पनि होला ।
अरूको भने म भन्न सक्दिनँ ।
प्रकाशित: मंसिर २८, २०७२
(स्रोत : नेपाल साप्ताहिक)