~हरिमाया भेटवाल~
तिमीसँग तिम्रो लोग्ने छ, छोराछोरी छन्
मसँग म र मेरा सपना मात्र छन्
म, दिनमा पनि सपना भेट्न दगुर्छु
त्यसैका लागि पसिना बगाउँछु
पूरा हुँदा रमाउँछु
पूरा नहुँदा पूरा गर्नतिर लाग्छु
मलाई न लोग्नेको माग, न छोराछोरीको आशा
न बुहारी हुनाको वर्तन र बाध्यता ।
म उडान भर्दा सपनाको
तिमी पानी भर्दै हुन्छौ गाग्रीमा
म माया बाँड्दै हुन्छु मुर्झाएका मनहरूमा
तिमी माया साट्दै हुन्छौ बाध्यताको प्रेमीमा
तिमीलाई डर अनि भर परिवारको
मलाई चिन्ता अनि चासो समाजको
फरक यही तिमी र ममा ।
म सबैको हुन खोज्छु
कुँडिएका मनहरू धुन खोज्छु
तर, तिमी भन्छौ एकको मात्र हुनु
मेरो लक्ष्य चन्द्रमा छुने
तिम्रो दैनिकी एकान्तमा रुने
म देख्छु तिमी पखेटा काटिएर
पिँजडामा छटपटाउँदै बाँचेको
जवानी, रहर र सपनालाई कैद गरी साँचेको
मझैँ स्वतन्त्र भएर तिमी कहिले बाँच्न सकौली !
म चराझैँ उडान भर्छु
तिमी चंगाझैँ कसैका हातमा हुन्छौ
म खोलाझँै बहँदा
तिमी कुवाझैँ हुन्छौ
म हावामा कावा खाँदा
तिमी उड्न नसकी, भित्रभित्रै रुन्छौ
तर पनि भन्छौ मलाई
‘अविवाहित किन ?’
अब, म भन्छु तिमीलाई
यतिविघ्न पीडाको पहाड बोकी
तिमीचाहिँ विवाहित किन ?
(स्रोत : नेपाल साप्ताहिक ४९१)