~विप्लव ढकाल~
केही थाहा नपाए जस्तो गरेर
यताउता पल्याकपुलुक हेर्दै
महिला शौचालयभित्र पस्छ साला !
र भित्तामा
आफ्नै लिङ्गको चित्र बनाएर
चोरबिरालो झैँ
चुपचाप बाहिर निस्किन्छ !
यति साइको छ यो बोको !
संविधानसभाका पर्खालहरुमा
कि गल्र्स होस्टेलको
ढोकैमा गएर पिसाब फेरिदिन्छ !
‘धुम्रपान निषेध’ लेखिएको
ब्यानरमुनि बसेर
सुइँ सुइँ उडाइदिन्छ
धूवाँको चङ्ग !
कि जूवाघरमा हिँडेका
युवतीहरुलाई सिटी बजाउँछ
र ‘आइ लभ यु’ लेख्दै हिँड्छ
सडकको शिरमा !
यति विकृत छ साला !
आफैसँग हार्दा हार्दा
केही नलागेपछि
कि साप्ताहिक अखबारका युवतीहरुको
कागजको पेन्टी
र बिकिनी च्यातिदिन्छ
कि आफ्नै पेन्टको देब्रे खल्तीमा
सुटुक्क हात छिराउँछ
र खेलाउन थाल्छ जीवनको सिक्का !
तराईका मधिसेहरुलाई हप्काई हप्काई
सुनजस्ता सुन्तलाहरु खोसेर खाइदिन्छ !
कि पहाडका बाहुनहरुको टुपीमा
सुटुक्क झुन्ड्याइदिन्छ
कागजको पुच्छर !
कसैलाई छोडेन यसले
महिला, पुरुष वा समलिङ्गी भन्दैन !
कालो, गोरो वा रङ्गभेद विरोधी भन्दैन !
आदिवासी, जनजाति केही भन्दैन !
सरकार भन्दैन, विद्रोही भन्दैन !
कि हातमा एसिडको बोतल बोकेर
भ¥याङको अन्तिम खुट्किलोमा बस्छ
र मिनिस्कर्ट लगाएर माथि उक्लिने
युवतीहरुलाई चिहाएर हेर्छ !
साला पागल !
कि हिउँमा मुती मुती
एउटै हरफमा लेखिदिन्छ—
आफ्नी भूतपूर्व प्रेमिका
र सरकारको नाम !
किनभने ऊ
सरकारदेखि डराउँदैन
नेता, पत्रकार
र पुलिसदेखि डराउँदैन
लाज सरम केही छैन
कानुनको डर छैन
‘यो पशुको राज्य हो’
भन्दै हिँड्छ साला !
सरकारलाई
‘जनावरको साथी’ भन्दै हिँड्छ !
कि खटिरै खटिरा भएको
कुनै रोगी भैँसीको मः मः खाएर
कि त कुनै युवाकविजस्ता
सहस्र झिँगाहरुले फुल पारेको
बासी पाउरोटी
र फिक्का चिया खाएर
ऊ आफूलाई मनपर्ने नारा लगाउन
बिहानै सडकमा उत्रिन्छ
र बेलुकी कुनै
सस्तो भट्टी पसलमा पसेर
पुराना चप्पल,
मोजा र सेफ्टीप्याडहरु
उसिनेर बनाएको लोकल रक्सी पिएर
गड्यौलाझैँ घस्रिँदै
घरमा फर्किन्छ
र देश जस्ती आमालाई पिट्न थाल्छ !
साला !
युगौँदेखि यो बोकाले
यसरी नै रुवाएको छ इतिहासलाई !
……………
(स्रोत : मधुपर्क, वि. सं. २०७२ वैशाख)