~ध्रुव मधिकर्मी~
कुनैबेला त्यहाँ ढुङ्गाको मूर्ति थियो ।
बाटो छेउको त्यो ढुङ्गालाई मान्छेहरू वर्षौंदेखि पूजा गर्दै आइरहेका थिए । ढुङ्गा चिप्लो र राम्रो थियो । त्यसैले कसैले आकषिर्त भएर त्यसलाई थपक्क स्थापना गरेर पूजा गरिदिएको हुनुपर्छ । निरन्तरको पूजा, फूल, अक्षता र अबीरले गर्दा ढुङ्गा दर्शनीय देखिन्थ्यो । त्यसैले बाटोमा हिँड्नेहरू त्यसलाई यसो ढोगेर, घुमेर र पूजा गरेर जान्थे ।
त्यो बाटो भएर हिँड्नेहरू बिस्तारै बढ्न थाले । समयक्रममा भीडभाड र हतारोले गर्दा त्यहाँ भएको मूर्तिलाई कतिपयले क्रमशः यादै गर्न छाडे तैपनि केही त्यस्ता व्यक्तिहरू अझै छन्, जो ढुङ्गा नजिक पुग्दा स्वभावत यसो घुमेर ढोगेर जाने गर्छन् ।
एकदिन त्यहाँ बाटो फराकिलो पार्नेबारे छलफल सुरू भयो । हिँड्नेहरूको हुल बढ्नाले बाटो फराकिलो र चौडा पार्न आवश्यक पनि थियो । बाटो फराकिलो पार्न ढुङ्गाको मूर्तिलाई पर सार्नुपर्ने भयो । तर मूर्ति सार्ने कुराउठ्नासाथ एकथरिले बाटो बढाउने कुराको विरोध गर्न थालिहाले । तिनीहरू बाटो बरू यतिकै होस् तर मूर्ति सार्न दिन्नौं भन्न थाले । अर्काथरिले मूर्तिलाई हटाउने होइन अझ राम्रो र व्यवस्थित पार्नलाई अलिक पछाडि मात्र सार्ने हो भन्न थाले ।
यसैमा दुई थरिको विवाद परिरहयो । हुँदाहुँदा आक्रोशित एउटा समूहले यो ढुङ्गा त हो नि, पूजा गरेकाले पो मूर्ति भयो, यसलाई हटाएर के हुन्छ भन्ने तर्क गर्न थाले । अर्काथरि पनि कम कट्टरवादी थिएनन् । तिनीहरू मूर्तिलाई नछोइकन बाटा चौडा पार्न सकिने, नभए बाटै मोड्ने कुरा गर्न थाले ।
भोलिपल्ट बाटो छेउमा ढुङ्गा थिएन । कसैले उखेलेर बाटोमा ˆयाकिदिएको थियो । र बाटोमा हिँड्नेहरूले त्यसलाई कुल्चँदै ठोक्काउँदै हिँडिरहेका थिए । अब त्यो ढुङ्गा टुक्राटुक्रा हुँदै माटोमा मिसिंदै गइरहेको थियो ।
बाटो फराकिलो भइरहेको थियो । अब त्यो ढुङ्गाको चिन्ता गर्नेहरू कोही भएनन् ।