पत्र साहित्य : शंकर लामिछानेलाई पत्र

~शिव भुसाल~

प्रिय शंकर लामिछानेज्यू !

मेरो कोठाको छेउ एक सिकारु बाँसुरीवादक बस्छन्, जसको आलम्बनयुक्त बाँसुरीको मधुर धुनले प्रत्येक दिन पखालिदिन्छ रातको सन्नाटा र स्वागत गर्छ, एक सुन्दर बिहानी घामको।

मलाई राम्ररी याद छ, एक महिनाअघि मलाई त्यो धुन कति सुमधुर लाग्थ्यो र ध्वनिको प्रथम लहरमा नै मेरा कानहरू कसरी ठाडाठाडा हुन्थे। अचेल म यति अभ्यस्त भइसकेको छु त्यो धुनमा कि मलाई ती सिकारु तर प्रतिभावान् वादकको ध्वनिको लहर सुमधुर लाग्न छाडेको छ। कता कता शंकरजी मलाई त्यो ध्वनि कुरूप लाग्न थालेको छ। तपाईंले सोचेझैँ आज परिस्थिति बदलिएको हुँदो हो तर बाँसुरी उही छ, वादक उही छन्, समय उही छ, कोठा उही छ, म उही छु अनि उही छ, मेरो निजात्मक स्पेस।

कुरा यो हो कि, अचेल त्यो ध्वनिले मेरो निद्रा र होस दुवै थोक खराब गरिदिन्छ। न म राम्ररी सुत्न पाउँछु, न त जाग्राम रहेर कुनै सार्थक कार्य नै गर्न सक्छु। मलाई केही दिनदेखि बाँसुरीफोबिया भएको छ, शंकरजी ! फोबियासम्मै चाहिँ नभनौँ क्यार। साँचो कुरा यही हो कि अचेल जब सुत्न खोज्छु, परबाट बाँसुरी बज्छ। जब कलेजका पुस्तक पढ्न खोज्छु, तब फेरि बाँसुरी बज्छ। जब केही लेख्न खोज्छु, तब पनि फेरि बाँसुरी बज्छ र मस्तिष्कमा एक किसिमको बेचैनी पैदा गरििदन्छ। ह्याङ भन्छन् नि, सहरका ठिटाहरू। हो, मलाई त्यही हुन्छ। साँच्चै, शंकरजी ! बाँसुरीको त्यो मधुर धुन पनि अत्यधिक श्रवणका कारण मेरा निम्ति कुरूप र दिक्दार लाग्दो साबित भएको छ। शंकर लामिछानेको लेख पनि सायद नेपाली साहित्यको एक कर्णप्रिय धुन हो। तर, फरक छ, मैले महिनौँदेखि सुन्दै आएको त्यो कर्णप्रिय धुन र युगौँपहिले शंकर लामिछानेले लेखेको लेखमा। शंकर लामिछानेको लेखमा खोइ के छ कुन्नि, दसपटक पढ्दा पनि त्यसको सौन्दर्य अलप हुँदैन।

सायद ती लेख सामयिक छैनन्, ती असामयिक छन्। ती औपचारकि छैनन्, क्याजुअल छन्, त्यस कारण ती प्रिय छन् र सँगसँगै अविस्मरणीय पनि।

………………..

खैर, घडीमा १० बजेको छ र यसपटक बाँसुरी बन्द छ। मैनको प्रकाश, बिटल्स र पिंक फ्लोएडको म्युजिक, शंकर लामिछानेको लेख अनि एक सुमधुर तर अरोमान्टिक साँझ। मेरा निम्ति यो सम्भोगको चरमतृप्तिभन्दा कम छैन। शंकरजी ! मलाई तपाईंको फ्यान बन्नु थिएन। यसैले त तपाईंको ठूलो फ्यान बन्न पुगेछु। मलाई तपाईंको लेख पढ्नु थिएन। यसैले त सबभन्दा बढ्ता तपाईंलाई नै पढ्न पुगेछु। मलाई तपाईंका बारेमा केही लेख्नु थिएन। यसैले त नितान्त निजात्मक स्पेसबाट तपाईंलाई यो पत्र लेख्ने दुस्साहस गर्दै छु। मेरा निम्ति केही चीज सुनियोजित थिएन। मेरा निम्ति सब थोक दुर्घटना थियो- साहित्य, शंकर लामिछाने, कविता, निबन्ध, स्तम्भ र प्रेम सब थोक। तर, शंकर लामिछानेका लागि लेख लेख्नु कुनै दुर्घटना थिएन। सायद बाध्यता थियो। किनभने, उसलाई शंकर लामिछाने हुनुको धर्म निभाउनु थियो। जसरी आगोले निभाउँछ बल्ने धर्म अनि जसरी पानीले निभाउँछ, आगो निभाउने धर्म। सायद मैले पनि शंकर लामिछानेको पाठक बन्नुको धर्म निभाउँदै छु वा भनौँ निभाउन खोज्दै छु।

शंकर लामिछानेलाई म यो देशको गहना मान्दिनँ। कारण, गहना सिर्फ आलम्बनको वस्तु हो र हो कृत्रिम सौन्दर्यको एक विरूप प्रतीक। शंकर लामिछाने कृत्रिम होइन। उसको भाषा, शैली र उसका निजात्मक अनुभूति र बौद्धिकता आलम्बन होइनन्। ऊ फगत एक इन्टरप्रेटर हँुदो हो तर उसको रचनागर्भमा जुन अपार मादक सौन्दर्य छ, म त्यसलाई कसरी नजरअन्दाज गरूँ। युगौँदेखिको एक कालजयी आवाजलाई म कसरी कृत्रिम आलम्बनयुक्त सौन्दर्यचेतसँग तुलना गरूँ! दुनियाँले धिक्कार्नेछ, शंकरजी मलाई।

अर्धमुदित नयन र डुब्न लागेको घामको कथा। यो लेखमा शंकर लामिछाने कति रयिालिस्टिक छ। कति मार्मिक छन्, उसका शब्दहरू। कति मार्मिक छ, उसले वर्णन गरेको गोरेटो। कति व्यापक छ, उसको प्रयोगधर्मिता। उसले किन लेख्यो, पोलियोले ग्रस्त एक बालकको कथा। किन कोट्याउन खोज्यो, अस्तित्वको कुरा! किन लेख्न चाह्यो निस्सार जिन्दगीको एक अविस्मरणीय शिलालेख। किन कोर्‍यो, शब्दको एक विशाल र सुन्दर इमारत। उसलाई म के भनौँ, शब्दको डिजाइनर भनौँ वा भनौँ एक कुशल आर्किटेक्ट। उसले सायद जीवन बुझेको छ, अझ भनौँ जानेको छ, अझ सटीकताका साथ भनौँ, उसले जीवनका सबै आयाम राम्ररी भोगेको छ। उसका कालजयी रचनाहरूको उद्गमस्थल के हो? अध्ययन र बौद्धिकताको करामत हो, जीवनभोगाइ र अनुभूतिहरूको प्रतिफल हो, वा हो- एक सशक्त काव्यहृदयको एक अनमोल उत्पादन। साँच्चै शंकर लामिछानेको पछाडि को छ, जसले उसलाई बनाइरहेछ, विशेष? उसको पछाडि को छ, जसले उसलाई बनाइरहेको छ, महान्। उसको पछाडि को छ, जसले उसलाई बनाइरहेको छ, साँच्चैको शंकर लामिछाने।

शिरीषको फूलमा उसको भूमिकाले कत्रो चाँद थपेको छ? कहिलेकाहीँ म आफैँसँग प्रश्न गर्छु, सिंगो शिरीषको फूल महान् हो वा शंकर लामिछानकोे भूमिका। मलाई लाग्छ ऊ जादुगर हो वा उसँग किंवदन्तीमा भनिएजस्तो मिदास टच छ र जुन चीजलाई उसले छुन्छ, त्यसलाई उसले साहित्यिक सुनमा बदलिदिन्छ।

किन सधैँ शंकर लामिछाने विदेशी लेखकको कुरा गर्छ? किन सधैँ विदेशी लेखकको नक्कल गर्छ र उसले चोरी गरेको सहर्ष स्वीकार गर्छ र आफैँलाई नंग्याएर भन्छ- म लेखक होइन, फगत एक इन्टरप्रेटर हुँ? सायद उसलाई लेखक बन्नुको धर्म थाहा छ। सायद उसलाई लेखक बन्नुको मर्म थाहा छ। सायद उसलाई लेखक बन्नुको बाध्यता थाहा छ। यसैले त ऊ लेखक भएको दाबी गर्दैन। यसैले त ऊ महान् लेखक हो।

तर, लेखक शंकर लामिछानेको पछाडि पनि कसैको पिता शंकर लामिछाने हुँदो हो। निबन्धकार शंकर लामिछानेको पछाडि कसैको पति शंकर लामिछाने हुँदो हो। उसको महान् सिर्जनशक्तिको पछाडि उसका वैयक्तिक जिम्मेवारी र बाध्यताहरू लुकेका हुँदा हुन्। एकल साधक शंकर लामिछानेको पछाडि पनि उसको ठूलो समाज हँुदो हो, समाजका रंगीन सपनाहरू हुँदा हुन्, ती सपना सजाउने लोभलाग्दा आँखाहरू हुँदा हुन्। उसलाई ती सबै कुराको किन ख्याल भएन? ख्याल भए पनि किन उसले नजरअन्दाज गर्‍यो र जिउन चाह्यो फकिरको जिन्दगी। किन ऊ असामाजिक प्राणी बन्न पुग्यो? कि ऊ एक्लो भयो? किन उसको वैयक्तिक आवरण यति जर्जर भयो? किन?

शंकर लामिछानेका निम्ति यी सबै प्रश्न झुर कोटीका थिए होलान्। तर, मलाई लाग्छ, यी शब्दहरू अतिशयोक्ति थिएनन्, बढाइचढाइका दस्तावेज थिएनन्। कारण, ती सबै भावनात्मक गर्भको परििधबाट टपक्क टिपेर ल्याइएका थिए। एक महान् लेखकका लागि उसकै सामुन्ने उसको प्रशंसाका दुई शब्द भन्नु सायद उसको निम्ति सबभन्दा ठूलो अन्याय हुँदो हो। त्यस कारण मैले लेखक शंकर लामिछानेप्रति अन्याय गरेँ होला। पिता, पति वा भनौँ व्यक्ति शंकर लामिछानेमाथि प्रश्न गर्नु सायद मेरो पाठकीय अधिकार पनि थिएन होला। शंकरजी, तपाईंका लागि ती प्रश्नले अर्थ राख्छन् या राख्दैनन्, थाहा छैन। तर, उसका पाठकका लागि ती प्रश्नले खास अर्थ राख्छन्।

यसर्थ, यो सबै आलम्बनलाई मेरो पाठकधर्म ठानिदिनुहोला।

धन्यवाद !

तपाईंको पाठक
शिव भुसाल

प्रकाशित: वैशाख २८, २०७१

(स्रोत : नेपाल साप्ताहिक)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in पत्र साहित्य and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.