“रुपेशलाई बोलाइस्यो हो हजुरले ?”
मैले मात्र टाउको हल्लाए , हिजो देखि शब्द निकाल्दा भकभकाउन थालेको छु उसको अघि !!शब्दहरु कतै गहिरो ठाउँ बाट उचालेर निकाल्नु पर्ने जस्तो भएका छन् !
“किन बोलाइस्येको ,यति सानो कुरामा त्यति टाढाबाट आयो गयो ,बिचरोलाई नसुनाएकै भए हुन्थ्यो !”
“मान्दै मानेन !” मैले छोटैमा कुरा टुंग्याएँ !
कसरी भनौँ उसलाई यो सानो कुरा हैन भनेर ।डक्टरले तिन महिना छ ,फाइनल स्टेज हो , बिरामीलाई यो कुरा भनेकै राम्रो भन्यो तर सुधालाई सुनाउन आँट आएन । बिस्तारै उसलाई थाहा भइहाल्नेछ , म उसलाई भन्न सक्दिन । उसलाई हेरेँ , हेरिरहेँ आफ्ना आँखाहरुलाई सकेसम्म सुख्खा राख्ने असफल प्रयास गर्दै अनुहार दुब्लाएको थियो तर पनि शालिन थियो सँधै जस्तै कहिल्यै नरिसाउने , कसैलाई हाँस नउठ्ने मेरो जोकहरुमा पनि मुसुक्क मुस्काइदिने । उ उत्तिनै राम्री थिइ , मानौँ उसले आफ्नो सुन्दरता को लागि समय रोक्ने सामर्थ्य राख्छे ।अहँ होइन , सक्ने भए म उसलाई नै भन्ने थिएँ अब समय रोकौँ ,यात्रा रोकौँ अर्को मोडमा दोबाटो आउँदैछ तिम्रो र मेरो साथ छुटाउने ! टिलपिल हुन थालेका आँखालाई अन्ततिर मोडेँ ।
“म चिया खाएर आउँछु तलबाट !”
“हुन्छ दाई त्यतिखेर सम्म म बस्छु !”
भाइले मेरो कुरा बुझ्यो । मलाई थोरै समय चाहिएको छ सामान्य हुनलाई । उ मलाई समय दिन चाहन्छ । तर सामान्य कुरा म अब कहिलै सामान्य हुन सक्दिन । मेरो एक्लो जीवन सुधा बिनाको सामान्य हुन सक्दैन !
“दिक्षा कहाँ छे ?” मैले भाइलाई सोधेँ
“बाहिर !”
उसले मलाई नियाल्दै जवाफ फर्कायो । उ हिजो देखी रोइरहेकी छे ।म उसलाइ नहेरी भर्यांग बिस्तारी ओर्लिएँ । छेउछाउका मलिन अनुहारहरु , भिजेका आँखाहरु नियालेँ । चिनेका आँखा कसैका नपरुन् भनी प्रार्थना गरेँ ।
हिजो निदाउन नसक्दा मैले एकचोटी सोचेँ पनि दिक्षाले धेर रुनु पर्ने हो वा मैले ? फेरि सोचे म किन दाँजिरहेको छु ! म स्वार्थि बन्न पाउन्न , मैले सुधालाई सकेसम्म राम्ररी बिदा गर्नु छ । उसको हात सुमसुम्याएको थिएँ , उ तिस बर्ष अघि जस्तै कोमल थिइ !
“किन नसुतिस्येको ?” उ निदाएकी थिइन
“त्यत्तिकै !”
“बिरामी कुर्न आउनुभएको आँफै बिरामी पर्नुहोला ,प्रेशर पनि लो छ खानपान मिलेको छैन हफ्ता दिन देखी !”
उसले बिस्तारी रोकिँदै रोकिँदै बोलि !उसलाई कसरी भनौँ म अब कहिल्यै ठिक हुन्न । मेरो मुटुको टुक्रा झिक्दैछ भगवानले ।मुटु नै नभए के को प्रेशर ?
“डक्टरले थोरै बोल्नु भनेको छ तिमीलाई सुत अब !”
मलाई उसको हात छोड्न मन लागेन ।
अचानक हात पोल्यो ,गिलासको चिया हातमा धेरै बेर भएछ । सुरुप्प पारेँ !
सुधा चिया मिठो बनाउँछे । बिहानको पत्रिका सुधाको चिया बिना पढ्न रमाइलो हुँदैन थियो ! मैले जहाँ पायो त्यहिँ छोडेको चश्मा पनि कहाँ छ सुधालाई थाहा हुन्थ्यो । यो चिया मलाई तितो लाग्यो अचानक !
“भाइ चिनी हाल्न बिर्सेको हो ?”
“हालेको थियो त दाजु !” चिया पसलेले अचम्म मान्दै मलाई हेर्यो ,
“थपौँ त ?”
“भइगो !” मलाई त्यो चियामा कुनै मतलब थिएन !
दिक्षा थोरै सम्हालिएकी थिइ !
“ आमाको अघि नरो है !” मैले कुनामा लगेर उसलाई सम्झाएँ !
उसले पनि टाउको मात्रै हल्लाई !
“रुपेशले कल गरेको थियो ,कोरिया ट्रान्जिटमा छ रे !”
“नआत्तिइ आइज भनिस् ?”
दिक्षा फेरि झ्याल तिर फर्की ! मलाई थाहा छ उ आँशु लुकाउन खोज्दैछे । म पनि त्यस्तै गर्छु !
“तेरो अफिस जाने बेला भो होला !” मसँग भाइसँग गफ गर्न टपिक्सहरु छैन !
“हुन्छ दाइ म बेलुका आउँछु ।“ उसले आफ्नो हेलेमेट उठायो !बेलुका रुंग्नलाई केटा मान्छे चाहिन्छ दिक्षा सुतेकी छैन तिन दिन देखी आज सुतोस् , निदाउन सकी भने !
“दिक्षा कता गइछे ?”
“तिमी सुति राख न , बाहिर निक्लेकी होली आइ हाल्छे नि !”
“यो स्लाइन कतिन्जेल दिनु पर्ने हो ?” उसले आफ्नो हात हेर्दै प्रश्न राखी !
“ठिक नहुन्जेल !”
सुधा मलाई ज्वरो मात्र आउँदा पनि मेरो निधार त्यहि हातले छाम्ने गर्थी , अनि मलाई सँधै ज्वरो आइराखोस् जस्तो लाग्थ्यो । जो सँग मैले आजसम्म आफ्ना कुराहरु लुकाएको छैन ,आज उसैको मृत्यु म उसँग लुकाउन खोज्दैछु । मान्छे किन यति विवश हुन्छ ? शायद अन्तिम शक्ति कोहि आफूसँग राख्न चाहन्छन् शक्ति सन्तुलनको लागि !
“एक छिन यता आइस्यो न !”
म बिस्तारै उसको छेउमा गएँ । मलाई डर पनि थियो उसले म भित्रको आँशु देख्छे !
उसले मलाई अनायसै अंगालो मारी , सँधै जस्तै न्यानो थियो !
“नढाँटीकन भनिस्यो त कति दिन भनेको छ ,डक्टरले ?
उत्तर दिन कता कता घाँटिमा शब्दहरु अड्किए , चाहेर पनि आँशु रोक्न सकिन । म यो कथाको अन्त्य चाहन्न !!!!
(स्रोत : Sajha.com)