~हरि थापा~
वीरमानले सकी नसकी बैशाखीको सहाराले सिंढी उक्लिएर निधारमा आएको पसिना पुछ्दै चौतारीमा बिस्तारै सुस्तायो । भन्ज्यांगको चौतारीमा बगेको सितल हावाले उसको पिडा अलिकति भए पनि कम भयो । थकाई मेटाउने क्रमसंगै उसले पारीको क्षितिजमा आँखा टोलाऊदै आफ्ना अतित सम्झन थाल्यो ।
उसबेला सदरमुकाममा कम्पनीका गल्लाहरुले भारतीय सेनामा भर्ना लिन आउँदा उ खुसीले खुब नाचेको थियो । छनौटमा छाती तन्न्काउँदै लाइनमा उभिएको थियो उ पनि । गाउँको जवान, खाईलाग्दो केटो, सेनामा भर्ती हुने छनौटमा पर्यो । उसलाई अहिले पनि सम्झना छ,उसको बिदाइमा बाबुआमा लगायत सिंगो गाउँ रुंदा पनि उसले भारतीय सेनामा जागिर खान हाँसी हाँसी इष्टमित्र त्याग्दै आफ्नो सुन्दर गाउँ छोडेको थियो। उसको सपनाहरू सुन्दर थिए। साहुको ऋण तिर्ने,राम्रो घर बनाउने,बिहे गर्ने,बाबुआमालाई सुखसंग पाल्ने,साथीभाईहरुसंग रमाइलो गर्ने आदि आदि । यीनै सपनाहरु साकार पार्न उ विदेश भासीयो ।
भारतीय सेनामा हुँदा वीरमानले बुट बजार्यों,छाती तन्कायो,चिसो राइफल बोकेर दिनरात उनीहरुको सिमानाको सुरक्षा गर्दै रह्यो । भोक भनेन,निन्द्रा भनेन,परिवार भनेन,आफ्नो गाउँ देश भनेन। सबैले बहादुर भन्थे,गार्हो साँगुरो काम लगाउथे । उ फूर्तीका साथ गर्थ्यो । दिन वित्दै गए ।एकदिन गाउँबाट खबर आयो,” बा साह्रै बिरामी छन्,मुख हेर्न तुरून्त घर आएस् ” सापलाई बिन्ती गर्यो,विदा पाएन । बाको अनुहार सम्झदै रुँदै बस्यो । बा बिते,उसको जहाज नै बित्यो ।
केहि वर्षको अन्तरालमा आमाको त्यही हाल भयो । लडाईंमा जानु पर्ने भएकोले वीरमानले छुटी पाएन। आमा पनि मुखै हेर्न नपाई बितिन्। सानो हुँदा आमाले काखमा सुताएर दन्तेकथा भनेको सम्झ्यो। उसको छाती चिरीएर आयो,मुटु फुटेर आयो,संसार अध्यारो भयो । उ बिरानो भयो संसार देखी । कुन साईतमा भर्ती भएछु भनेर आफैलाई धिकार्न थाल्यो । जागिर छोडौं आफू,श्रीमती र नाबालक छोराछोरीको बाच्ने आधार टुट्ने,नछोडौं पिडा र आत्मग्लानीले पिरोली रहने । यस्तै विवशतामा चिसो राइफल समाएर पल्टनमा परेड खेल्दै बस्यो विचरा वीरमान ।
एकदिन एका बिहानै कमाण्डरले उर्दी लगाए । उ फेरि लडाईंमा जानुपर्ने भयो । कारगीलको लडाईंमा । एक थोपा रगत रहेसम्म भारतको रक्षा गर्ने कसमलाई फेरि सम्झाए कमाण्डरले । “यस् साप ” भन्दै चिसो राइफल र गोली गट्ठा सहित् सीमा सुरक्षाको लागि अघि बढ्यो वीरमान । लडाईं घमासान भयो । भारतको माटोको टिका लगाएर वीरमान दुश्मनसंग जाईलाग्यो । धेरै दुश्मनलाई तातो गोली पिलायो वीरमानले । बन्दे मातरम,जन गणमन आदि भन्दै जाईलाग्यो वीरमान दुश्मनसंग । गोली,बारुद र बमले प्रलय भयो,हाहाकार,कोलाहल भयो । भिषण युद्ध भयो । अग्रपंतिमा लडिरहेका वीरमानलाई दुश्मनले निशाना बनाए,शक्तिशाली बम् हाने । दुर्भाग्य,वीरमान रणभूमिमा गर्ल्याम्म ढल्यो ।
वीरमान तन्द्राबाट आँतिदै ब्युँझियो । आफ्नो वैशाखी समाउदै सम्हालियो । हो,त्यही कारगिलको युद्धमा उसले आफ्नो दाहिने खुट्टा गुमाएको थियो । युद्धबाट फर्केपछि कमान्डरले उसलाई “तिमी सेनामा जागीर खान अनफिट छौ ” भन्दै झिटीगुन्टा र वैशाखी उपहार दिएर घर फर्काएका थिए । सम्झिदा आत्मग्लानी हुन्छ उसलाई । भारतीय सेनामा परेड खेल्दा बजारेको बुट अहिले आफ्नै छातीमा बजारेको जस्तो लागिरेहेको छ वीरमानलाई । जुन देश र जनताको रक्षाको लागि सोह्र वर्ष सम्म आफ्नो रगत, पसिना बगायो आज त्यो देशले बिना कारण नाकाबन्दी गरेर भूकम्प र बाढी पहिरोबाट थालिएका आफ्नो देशको जनतालाई भोकभोकै मार्दैछ । आफ्ना पुर्खाले मृत्युवरण गरि आर्जेको भूमि अतिक्रमण गरेर खाइरहेको छ ।
वीरमानले सम्झदै गयो । आफ्नो देश / सुन्दर गाउँ सम्झयो,बा आमा सम्झयो,आफ्नो परिवार / साथीसंगी सम्झयो,पल्टन सम्झयो,लडाई सम्झयो,अनि आफ्नो अपाङ्ग शरिरलाई सम्झयो । अनि भक्कानो परेर रुन थाल्यो,आफ्नै छातीमा मुड्की हान्दै धिक्कार्न थाल्यो । सम्झ्यो, मैले भारतीय सेनामा हुँदा बजारेको बुट,रगत र पसिना आफ्नै मातृभूमिमा बगाएको भए कम्तीमा मेरो शरीरले,रगत र पसिनाले आफ्नो जन्मभूमिको माटो त स्पर्श गर्न पाउने थियो । उसलाई झन् झन् रुन मन लाग्यो,,पश्चाताप लाग्यो,रगत तातेर आयो ।
ओहो ! पारी डाँडामा घाम डुब्नै लागेछन । वीरमान घर फर्कन वैशाखी सम्हाल्न थाल्यो । नुनको थैलो काँधमा राखेर बिस्तारै बाटो लाग्यो । वीरमानले सम्झदै गयो,घरमा श्रीमती गुन्द्रुकमा हाल्न नुन कुरेर बसेकि होलि । नाकाबन्दीले गर्दा गाउँमा नुन सम्म पाउन गाह्रो भैसक्यो । उसको घरमा मट्टीतेलको टुकी नबालेको दुइ महिना नाघी सक्यो । सल्लाको दियालो बालेर काम चलाएको छन् सबैले । ग्यास र पेट्रोल त उसको गाउँलाई चाहिएको छैन । किनकि त्यहाँ विकास भन्ने जन्तु पुगेकै छैन । नुन र मट्टीतेल पाए कन्दमुल खाएर पनि जीविका हुन्थ्यो भन्ने सोच्छन वीरमान लगाएत गाउँलेहरू ।
वीरमान घर पुग्दा झमक्कै साँझ परेको थियो । घर त के हुनु थियो र ! सानो कटेरो थियो,त्यो पनि भूइंचालोले भत्काईदियो । यसो मान्द्रो हालेर आकाश छोपेकाछन् वीरमानले । उसकी श्रीमती झिक्रा बालेर ताप्केमा ढिंडो ओरल्दै थिई । बाले पसलबाट चक्लेट ल्याईदिन्छन भन्ने आसमा अवोध छोराछोरी गुन्द्रीमा निदाईसकेका थिए ।
श्रीमानको निन्याउरो अनुहार देखेरे श्रीमतीले भनिन् ” पीर नगर बुढा,हाम्रा पनि त कुनै दिन सुखका दिन आउलान नि,दुख पछि सुख आउंछ भन्छन ।”
आमाको स्वरले ब्युझिएर पाँच वर्षको छोराले आँखा मिच्दै भन्यो ” बा जहिले पनि सुख पाईएन भन्छौ,म ठूलो भए पछि हाम्रै देशको नेपाली सेनामा जागीर खाएर जहाँबाट भए पनि सुख खोजेर ल्याईदिन्छु नी,हुँदैन र भन्या ? पीर नगर बा ।”
वीरमान र उसकी श्रीमती फूलमाया निस्तब्ध भए,अबोध बालकको सुख खोजेर ल्याइदिने कुरा सुनेर ।
२ मङ्सिर २०७२
(स्रोत : Ekoshi)