कथा : हुरी आएको बेला

~दिलीप शाह~Dilip Shah

कवि–कलाकारको भाषामा भन्नुपर्दा आकाशले षोडसीको मुस्कान छरेको छ । बिहानीको सूर्यका लालिमायुक्त किरणहरुले पहाडको थुम्को सिनित्तै नुहाएको छ । थुम्कोबीचबाट खोला छमछम नाच्दै बगेकी छन् । वरिपरिको जङ्गलमा गाई, भैँसी पुच्छर हल्लाउँदै घाँस टिप्नमा मस्त छन् । नजिकैको एैसेलुको झाडीमा खरायोका जोडी कान ठाडा पारी टुक्रुक्क बसेका छन् । लहराहरुमा बॉदरको झुण्ड उफ्रिरहेका छन् । भाले मयूर नाचेर प्रियतमा रिझाउनमा व्यस्त छ । ढुकुर जोडी रुखमा गुँड बनाउनमा तल्लीन छन् ।

थरी–थरीका चराहरुको चिरबिरले वातावरण सङ्गीतमय छ । समग्रमा भन्नुपर्दा दृश्यावली मनोरम र चित्ताकर्षक छ ।

बीच– बीचमा पूर्वबाट बहने मन्द पवनले वातावरण अझ रोमाञ्चक र मनोरम बनाएको छ । अझ यसलाई विस्तार गर्नुपर्दा प्रकृतिको यो अनुपम चित्रलाई क्यामरामा कैद गर्न वा चित्रमा उतार्न कन्जुस्याइन् गर्न नहुने खालको छ ।

यो शान्त, निर्मल, स्वच्छ वातावरणको बीचमा छाया र प्रशान्त खोलाको ढुङ्गामाथि बसेका छन् । दुवैले आफ्ना कपडा घुँडासम्म सारेका छन् र नाङ्गो खुट्टाले पानी चलाउ‘दै छन् । खुट्टा चलाइले पानीमा तरङ्ग उत्पन्न भएझैन् सामीप्यको बसाइले उनीहरुको मनमा एकसाथ कम्पन उत्पन्न भएको छ । कम्पन पारदर्शी हुँदाहुँदै पनि हालसम्म अव्यक्त छ । दुवै एकदम नजिक छन् । जीउको न्यानो र सुगन्ध महसुस गर्दैछन् । तर बोली घाँटीमा डल्लो परेर अट्केको छ । यस्तो किन भएको छ भने दुवै जवान छन् र उनीहरुको छातीभित्र मायाको बीउ अङ्कुरण भएको छ ।

‘यस्तो एकान्त जङ्गलमा मलाई किन बोला’को ?’ छाया हिम्मत बटुलेर गुफा जस्ता गहिरा नीला आँखा नचाउँछे ।

‘त्यो पनि भन्नुपर्छ र ?’ प्रशान्त द्वेअर्थीय भाषा बोल्छ ।

‘म अन्तर्यामी हु‘ र ? अर्काको मन पढ्न सक्ने ।’ ऊ नाके स्वर निकाल्छे ।

‘चिसो बिहानीको हावा स्वास्थ्यवर्धक हुन्छ । तिमीलाई थाहा छैन ?’ ऊ कुरो मोड्छ ।

‘चिसै हावा खानु थियो भने गाउँनजिकैको पीपलचौतारीमा बसे भइहाल्थ्यो नि ।’ ऊ अझै कोट्ट्याउँछे ।

‘भन्नै पर्ने हो त ?’ ऊ छायाको हात पहिलोपल्ट स्पर्श गर्छ ।

‘लोग्नेमान्छेले स्वाङ पारेको सुहाउँदैन हो ।’ ऊ ठुस्किन्दै नखरा पार्छे ।

‘तिमी नरिसाउ ल ! हरपल, हरघडी, सपनीमा, बिपनीमा तिम्रो आकृति मात्र आउ‘छ । दिनमा भोक–प्यास लाग्दैन । रातमा निद्रा लाग्दैन । छटपटी, बेचैनी मात्र भइरहन्छ । तिमीले मायाको भिक्षा दिइनौ भने म त पागलै हुन्छु कि क्या ?’ ऊ गह्रौन् मन बिसाउँछ ।

‘ए, त्यस्तो हुन्छ ? मलाई जिस्क्याउन खोज्या होला ।’ ऊ प्रशान्तको मन छाम्छे ।

‘छाती चिरेर देखाउनु पर्यो त, हनुमान्लेझैँ ?’ ऊ गम्भीर बन्छ ।

‘जिस्केको पो त । जिस्किन पनि नहुने ? मलाई पनि कहाँ चैन हुन्छ र ? तिमीलाई नदेखेको, नभेटेको दिनमा जीउमा घाम लाग्दैन । दिनभरि अलिनो तरकारी खाएझैँ भइरहन्छ । कसैले बोलाए पनि झर्को लाग्छ । अशुभ कुरा मात्रै मनमा खेल्छन् । परेला बन्द हुनासाथ म तिम्रो अँगालोमा पुगिहाल्छु र गफिन थालिहाल्छु— ‘हाम्रो भविष्यको, हाम्रो परिवारको ।’ परेला उघ्रिनेबित्तिकै पुकारा गर्छु— ‘यो रातको समाप्ति कहिल्यै नहोस् । म अघिको सपनीमा जस्तै तिम्रो हातको सिरानीको तकिया बनाएर पल्टिराखुँ । तिमी मेरा जीउका प्रत्येक अङ्ग–अङ्गहरुमा प्यारले काउकुती लगाइराख । प्रेमको बर्सात गरिराख ।’ ऊ लजाउँदै आफ्नो शिर प्रशान्तको छातीमा लुकाउँछे ।

‘तिमीले यति भनेपछि मेरो जिन्दगी पाकेको बेल भयो । भन त छाया, तिम्रा विशेष इच्छा, चाहनाहरु के–के छन् ?’ ऊ सन्तुष्टि ओढ्छ ।

‘मेरा आकाङ्क्षा, चाहनाहरु चट्टानजस्ता कडा र पहाडजस्ता ठूला छैनन् । अति सामान्य छन् जो आम मान्छेले देख्ने गर्छन् । मेरो सपनामा सानो तर चिटिक्कको सफा घर छ । घरको अगाडि आँगन छ । आँगनको बीचमा तुलसीको मठ छ । आँगन गोबरमाटोले लिपेको छ । केटाकेटीहरुले घरभरि, कोठाचोटामा अबोध, निर्दोष हाँसो छर्नेछन् । मैले असल गृहिणी र तिमीले परिश्रमी लोग्नेको उपमा पाउनेछौ । तिमी दिनभरि पसिना चुहाएर लखतरान पर्दै सॉझमा घरको पेटीमा बसेको बेला म तिम्रा कपडा निकालेर मेरो एक हातले तिम्रो निधारको पसिना धोतीको सप्कोले पुछ्नेछु र अर्को हातले करुवाको चिसो पानी तिम्रो अन्जुलीमा खन्याउने छु । तिमी दुई अन्जुली थापेर सिङ्गै एक करुवा पानीले तिर्खा मेटाउने छौ ।’ ऊ पसिना पुछेको र पानी खन्याएको अभिनय गर्छे ।

‘अरु पनि केही …..।’ प्रशान्त थप जिज्ञासा राख्छ ।

‘रातमा म तिम्रो जिउ मिच्न थाल्नेछु । तिमी अनायास मेरो गर्धनपट्टिको भागमा समातेर आफूतर्फ तान्ने छौ र तिर्खाएका तिम्रा ओठहरु मेरो ओठमाथि राख्ने छौ । म पग्लेको धातुजस्तो तिम्रो जीउमा लुट्पुटिन्दै जानेछु । त्यसबेलासम्म म पूर्ण रूपले समर्पित भइससक्नेछु र तिमी मायाको सागरमा बिस्तारै–बिस्तारै डुबुल्की मार्न लाग्नेछौ । म उत्तेजनाले विक्षिप्त हुँदै तिम्रो जीउभरि नङ्ग्राले कोपर्न थाल्नेछु । अन्तमा तिमीले मेरो शरीरका नसा–नसामा मीठो दर्द उत्पन्न गर्नुका साथै विस्फोट पनि गराउनेछौ । विस्फोटमा म चरम सन्तुष्टिको चीत्कार फ्याँक्नेछु ।’ ऊ चेहरा पाकेको गोलभेन्न्डा बनाउँछे ।

‘यहाँनेर मायाको पटाक्षेप त हुने हैन ?’ प्रशान्त शङ्का पोख्छ ।

‘शारीरिक माया भनेको वैवाहिक जीवनको एउटा मात्र पाटो हो, जुनबिना जीवन अधुरो र अपूर्ण हुन्छ । तर यो माया बढीसे बढी साठी वर्षसम्मका लागि होला । त्यसपछि के जिन्दगीमा पूर्ण विराम लाग्ने त ? कदापि होइन । जिन्दगीको उत्तरार्धमा लोग्ने स्वास्नीको माया अझ बलियो र प्रगाढ भएर जान्छ । भावनात्मक सम्बन्ध बढेर जान्छ । लोग्नेस्वास्नी वास्तवममै एक अर्काका अभिन्न अङ्ग बन्छन् । त्यो पनि प्रेम नै हो । तर चोखो, निःस्वार्थ प्रेम । शारीरिक आशक्तिबिनाको प्रेम ।

हो, त्यो बूढो उमेरमा म तिम्रो अर्धाङ्गिनी, सहयात्री हुन चाहान्छु । तिमीलाई आवश्यकताअनुसार तातो–चिसोले सेवा गर्न चाहान्छु । मेरो अनुरोध छ— तिमी मेरो ससानो कुरा ख्याल राख । लोग्नेस्वास्नीबीचमा अथाह मायाप्रीती भयो भने मन सानो कुरामा पनि दुख्छ, फाट्छ, चिरिन्छ भन्छन् । कसैले संरक्षण दियो भने अझ बढी संरक्षण खोज्छ भन्छन् । म पनि मानिसै हुँ । ममा पनि कमजोरी होलान् । अवगुण होलान् । त्यसैले गल्ती गरेको बेला तिमीले मलाई हप्काऊ । गाली गर । हामीबीचमा फाटो आउन नदेऊ । तर मायाले है । होस गर ! खुकुरीले काटेको घाउ पुरिन सक्छ तर मन फाट्यो भने त जोड्ने कुनै मलम हुँदैन ।

स्वभावैले स्वास्नीमान्छेको मन कोमल हुन्छ । नौनीजस्तो हुन्छ । हुन पनि किन नहोस् ? नारीले बॉड्नुबाहेक लिन त जानेकै हुँदैनन् । सानो हुँदा दिदीबहिनी बनेर दाजुभाइलाई स्नेह बान्ड्छिन् । जवान भएपछि लोग्नेलाई स्वास्नी भएर माया छचल्काउँछिन् । आमा भएपछि सन्तानलाई संरक्षक बनेर ममता खन्याउँछिन् । उमेर ढल्केपछि फेरि लोग्नेलाई बैशाखी भएर सहारा दिन्छिन् । यस्तो मन फाट्यो भने कस्तो होला ? भन त ।’ छाया विनीत स्वरमा अनुनय गर्छे ।

‘तिमीले त मलाई अहिले नै बूढो बनाइसक्यौ । त्यस्तो पाप नगर है ।’ प्रशान्त छायाको निधारमा हल्का चुम्बन गर्छ ।

‘अँ, हाम्रो सम्बन्धमा चिसोपन अथवा अविश्वास भन्ने चीजले कहिलै बास नगरोस् । वैवाहिक जीवनमा अविश्वास यस्तो क्यान्सर हो जुन रोगका कीटाणुहरुले चितामा मात्रै बिदा लिन्छन् । त्यो विकराल, उकुसमुकुस स्थितिको कल्पना गर त— सन्गै बसेका छौन्, संवाद छैन । सन्गै सुतेका छौन्, बोलचालसम्म छैन । एउटालाई अर्कोको बोली मन पर्दैन । हिन्डाइ मन पदैन । एउटै ओछ्यानमा सुतेर दीर्घायुको कामना गर्नुको सट्टा मृत्युको कामना गर्नु के उचित होला ? मृत्युको कामना पनि सामान्य हो र ! बम विस्फोटमा परेर अथवा आतङ्ककारीको पन्जामा परी लास क्षतविक्षत भएको । छ्या….. सोचेर पनि जीउमा एक हात लामा कान्डा उम्रिन्छन् ।

मान्छे भनेको शङ्कालु प्राणी हो । त्यसमा पनि लोग्नेमान्छेले स्वास्नीमान्छेलाई निजी सम्पत्ति ठान्छन् । निजी सम्पत्ति भनेपछि आफूले मात्र भोग चलन गर्ने । तर स्वास्नीमान्छे पनि हाड मासुका जीव हुन् । उनीहरुलाई पनि रमाइलो गर्नुपर्छ । मनोरञ्जन गर्नुपर्छ । साथीभाइ, आफन्तसन्ग हन्सिठट्टा, दिल्लगी गर्नु पाप हो र ? यस्तो मौकामा केही गरी शङ्काका कॉडाहरु उम्रिहालेछन् भने पनि आपसी संवाद र छलफलबाट कान्डा निकाल्न सकिदैन र ? किन नसक्नु ? जत्ति पनि सकिन्छ । तिमीले एउटा कुरा सोध्ने । मैले भन्किन्दै जवाफ दिने । तिमी मुख फुलाएर बस्ने । म गर्धन तानेर बस्ने । मैले बोलाउँदा तिमी चलाएको अरिङ्गालको गोलो हुने । म फलामको तातो बिन्ड हुने । भए न क्या सत्यानाश ! बिनासित्तिमा अमूल्य सम्बन्ध चौपट । तिमीले एउटा कुरा जान— लोग्नेस्वास्नी जब राति दुई ध्रुवतिर फर्किन्छन् र रातभरिमा कुनै सुलह हुदैन, तब जान त्यो पारिवारिक जीवनको अन्त हो ।’ छाया कक्षा समाप्तिपछिको थकित मास्टर देखिन्छे ।

‘हैन, तिमीले यति धेरै अनुभव कसरी बटुल्यौ हन् ?’ प्रशान्त छायाको नाकको टुप्पो बटार्छ ।

‘अब मेरो अन्तिम अनुरोध छ । जिन्दगी गुलाफको फूलको डसना होइन, जुन कुरा हामी दुवैलाई थाहा छ । हामी जे सोच्छौन्, त्यो नहुन सक्छ । जिन्दगी समथर बाटोमा हिन्डेको बेला त ठीक छ । तर उकालो ओह्रालो लागेको बेलामा धेरै कुरा बिचार पुर्याउनुपर्ने हुन्छ । बाटामा हिन्ड्दा सन्तुलन बिग्रिन सक्छ । लड्न सकिन्छ । अपाङ्ग हुन सकिन्छ । त्यो बेलामा हामी दुवै निराश, हतास हुनु हुँदैन । सम्झिनुपर्छ— यो त जिन्दगीको तीतो यथार्थ हो । हामीले पचाउनैपर्छ । तिमीले अप्ठ्यारा समयहरुमा एक्लो महसुस गर्नेछैनौ । तिमीसन्ग मेरो आधा शरीर साथमा हुनेछ । जस्तोसुकै विकट अवस्थामा पनि तिमी पलायन हुने वा जिन्दगीसन्ग भाग्ने सोच बनाउने छैनौ किनभने भाग्ने काम कायरहरुले मात्र गर्छन् ।’ छायाको चेहरामा पसिनाका थोपाहरु चम्किन्छन् ।

‘मेरी चन्द्रमा ! मेरी गुलाफ !! तिमीले पढाएको पाठ म गायत्री मन्त्रसरि जप्नेछु ।’ प्रशान्त खित्का छाड्दै छायाको कानको लोती टोक्छ र उनलाई अन्गालोमा कस्छ ।

‘छ्या…..। कस्तो नकच्चरो । बिहा अगाडि ……। नाइ त्यस्तो गर्न हुँदैन के ! लाज लाग्छ के !’ छाया मुक्तकण्ठले खित्का छोड्छे ।

‘ए, लाटी ! कस्तो सपना देख्या ? बाहिर कोठामा हिजो भर्खर सोह्र साइतको लागि आएका बहिनीज्वाइन् सुतेका छन् । सुने पनि के भन्लान् ? मर्न नसकेकी ।’ छायाले आधारातमा खित्का छोडेको सुनेर आमा दबेको स्वरमा गालीका मकै भुट्छिन् र छायातर्फ धारेहात लगाउँछिन् ।

‘ए सॉच्चि ! अपाङ्गहरुलाई त सपना देख्ने अधिकार पनि त छैन । सपना त्यो पनि लोग्ने, केटाकेटी, घर, परिवारको । सपाङ्गहरुको पो हो यो सपना देख्ने नैसर्गिक अधिकार । म त जन्मजात लाटी । त्यसमा पनि अपाङ्ग । भगवान्ले श्रापनै दिनु थियो भने दिमाग पनि शून्य बनाइदिएको भए हुन्थ्यो नि । कस्तो बिडम्बना ! खुट्टा चल्दैनन्, दौड्न मन लाग्छ । कसैले आफूतर्फ हेर्र्दैनन्, मनमा त्यसै पनि काउकुती लाग्छ । यो मनले मीठो खाने भन्छ । राम्रो लाउने भन्छ । आँखा सुन्दर वस्तु हेर्न लालायीत हुन्छन् । मजस्ता अपाङ्गका शरीरमा जवानीका चिह्नहरु नआए हुन्थ्यो नि ! मनले खोजेको मान्छे देख्दा मन उत्तेजित नभए हुन्थ्यो नि ! तर प्रकृतिको लीला । यो सब नचाहन्दानचाहन्दै पनि भएरै छाड्छन् । मेरी आफ्नै जन्म दिने आमाले त मेरा भावना बुझ्दिनन् भने अरूले खै के बुझ्लान् ?’ छायालाई सपना देखेकोमा ग्लानि र हिनताबोध हुन्छ । उनको आँखाको कुनाबाट गाला हुँदै तकियामा लगातार आँसुको भेल बगिरहेको हुन्छ ।

–समाप्त–

साभार : श्रद्धासुमन (कथासङ्ग्रह)

(स्रोत : Nepalikalasahitya)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.