कथा : सैनिक पोसाक

~धनश्याम ‘पथिक’~

Ghanashyam 'Pathik'

जब दीपावली नजिकिन्छ किशोर छँदा नाटक खेलेको सम्झिहाल्छु । त्यतिबेला गाउँमा नाटक हुन्थ्यो । त्यो वर्ष ‘खबरदार’ नाटकको मुख्य भूमिकामा मैले अभिनय गरेको थिएँ । मेरो अपोजिटमा थिई- पार्वती । नाटकमा उसको नाम परी थिया र मेरो श्री । त्यसपछि कहिल्यै नाटक खेल्नु परेन । किनभने जिन्दगी नै नाटकभन्दा कम भएन । दिनैपिच्छे खेलेपछि नाटक खेल्न के आवश्यक र ?

साँझ छिट्टै पर्छ कात्तिकमा । अँध्यारो ह्वात्तै बढ्छ । सयपत्री र मखमली आँगनैभरि फुल्छन् । उमेरकै कारण होला हाँसो खुसी मनैभरि । लोभलाग्दो बिहानी अनि अँधेरी पनि रमाइलो । दीपको पर्व, उज्यालोको पर्व, झिलमिलको पर्व । रात पनि दिन जस्तै लाग्ने ।

दमकको ढुकुरपानी उच्च माविको प्रांगणमा लक्ष्मी पूजाको दिन हामी सधैं नाटक देखाउँथ्यौं । हाम्रै गाउँको प्रगतिशील युवा क्लबबाट तर यसपालि नाटक देखाएनन् रे । त्यसो त गत सालकै नाटक मलाई खल्लो लागेको थियो । मैले खेलिन पनि । पार्वती नभएर । यसपालि म नै यता खाडीमा छु । गाउँमा पनि सबै भेला भएनछन् । को कता को कता, कसरी भेला हुन् ? खल्लो छ तिहार भनेर अस्तिको दिन त हो आमाले फोन गर्नुभएको । साँची, अहिले पार्वती कहाँ छे होली ? के गर्दै होली ? म खबरदार नाटककै समयमा पुग्छु ।
साँच्चै जीवन्त अभिनय गर्थी— पार्वती । हेरिरहूँ लाग्ने । बोली पनि ठ्याक्कै मिलाउँथी अभिनयसँग । सबैलाई मोहित पार्थी, लठ्याउँथी । त्यसैले त दीपावलीको एक महिनापछिसम्म उसको प्रशंसा हुन्थ्यो गाउँघरमा ।

दुई दिन रिहर्सल गरेपछि पार्वती आउनै छाडी । नाटकका निर्देशक राम दाइ आफंै गए लिन उसको घर । अहँ, पार्वती आइन । पर्वतीका बा–आमाले पनि गाउँको नाटक हो जा भने रे । यत्रो वर्ष त खेलिस्, यसपालि किन नखेल्ने ? भन्दा पनि पार्वतीले टेरिन ।

भोलिपल्ट म आफंै गए, पार्वतीको घर–आँगन बढार्दै थिई । मलाई देख्नासाथ बढार्न छोडेर टुल ल्याइदिई, बस्न ।

‘नाटक खेल्न किन नआएकी ?’ मैले बस्दै सोधे ।

‘यत्तिकै ।’

‘बीचमा छोड्नु राम्रो होइन ।’

‘थाहा छ ।’

‘अनि किन छोडेको त ? केही समस्या भएभन्दा हुन्छ । अरूलाई भन्न नसके मलाई भन ।’

ऊ केही बोलिन ।

पिलिक्क मलाई हेर्दै पुन : बढार्न थाली । म छक्क परें । यस्ती त होइन यो । के भएछ ? मनमनै कुरा खेलाएँ र एउटा अस्त्र फालें, ‘ल ठीकै छ । नखेल्नेलाई किन कर लगाउनु र ? तर आफ्नै गाउँको नाटक, सबैले प्रशंसा गर्थे । राम्रो मान्थे । हामीले पनि विश्वास गर्‍यौं । हाम्रै गल्ती त होला नि । अब बीचमा अरू कोही खेल्न पनि मान्दैनन् । यसपालि नाटक देखाउन पाइँदैन पनि होला ।’

पार्वती आँगन बढार्दै मेरो टुल नजिकै आइपुगेकी थिई, रोकिई । म बोल्दाबोल्दै रोकिएँ । एकछिन दुवै जना मौन भयौं ।

‘निस्ताको रोल मलाई दिने भए खेल्छु ।’ लामो सास फेरेर बोली पार्वती अनि फेरि बढार्न थाली । म के गरौं–गरांै भए । के बुझे–बुझे आफंै गद्गद् भए । किनभने निस्ता मेरो अपोजिट भएर रिहर्सल गर्दै थिई ।

बढार्दा–बढार्दै पार्वतीले मलाई पुलुक्क हेरी । मैले सम्हालिँदै भने ‘ठीकै छ । म एकचोटी राम दाइलाई भन्छु नि त ।’

म उठे ।

‘जान लागेको ? चिया खाएर जाऊ न ।’

पार्वतीले रोक्न खोजी । मैले भर्खर खाएको भने । हिँड्नै लाग्दा पार्वतीका बा–आमा पनि आइपुग्नुभयो । साथमा उसको सानो भाइ पनि । पार्वतीका बाले पनि चिया खाएर जान कर गर्नुभयो । मलाई भित्रभित्रै केही भैरहेको थियो । बस्नै सकिन, हतारको बहाना बनाएर बाटो तताएँ ।

म सरासर राम दाइको घर गएँ । पार्वतीले भनेका सबै कुरा भने । राम दाइ एकछिन घोरिए । ऊ जस्तो राम्रो अभिनय गर्ने केटीलाई कुनै न कुनै रोल दिनैपर्छ जस्तो गरेर गम खाएँ । ‘भरे बेलुका विचार गरौंला’ रामदाइले यसो भने पछि म घर लागेँ ।

आजको दिन मलाई संसारकै लामो दिन लाग्यो । मनभरि कुरा खेले । घरी बिछट्ट आनन्दका कुरा खेले त घरी शंकास्पद । जे होस्, दिन ढल्नु थियो ढल्यो । साँझ पर्‍यो । म नाटक रिहर्सलतिर हानिए ।

म पुग्दा पार्वती पनि पुगिसकेकी थिई । रोल पनि साटिएछ । अब निस्ताको रोलमा पार्वती, मेरो प्रेमिका । म भित्रभित्रै गद्गद् थिएँ ।

चाहना मेरो पनि । उद्देश्य मेरो पनि । मन मेरो पनि । मुटु मेरो पनि । माया मेरो पनि । रहर मेरो पनि । जे सोचेको थिएँ पुग्यो । जे चाहे पाएँ । यसपालिको दीपावलीलाई सलाम मेरो । आखिर पार्वतीको पनि चाहना त रहेछ नि । घुक्र्याएर भए नि पुरा गरी । जे होस्, मप्रतिको माया देखाएरै छोडी । यो पो हो त माया । यस्तो पो हुन्छ त माया तर म हुस्सू, बुद्धू । राति अबेर सम्म यस्तै सोच्दा–सोच्दै भुसुक्कै भएछु ।

म नाटकको रिहर्सल सकिएपछि पार्वतीलाई घर पुर्‍याउन जान्थें । बाटो एउटै परेर । बाटोमा निकै पटक सोधें पनि रोल किन फेरेको भनेर ? अहँ उसले सही उत्तर दिइन । यत्तिकै भनेर कुरा मोड्थी । त्यो राति फेसबुकमा भेट हुँदा पनि यही कुरा सोध्थँे । उसको मनमा के छ, थाहा थियो तर जिस्क्याउन मन लागिरहने । उसले भने स्माइली मात्र पठाई । १ बजेसम्म च्याट गर्दा नि उसले मेरो प्रश्नको उत्तर दिइन । धेरै कर गर्दा नाटकै नखेल्ली भन्ने डर पनि नभएको होइन । मलाई सबै कुरा भन्ने पार्वतीले यो कुरा भनिन । स्कुल हुँदै बाह्र क्लास सम्म सँगै पढिँदैछ, जस्तै गोप्य कुरा नि भन्थी । तर अहँ, खास उत्तर दिनै चाहिन पार्वतीले । त्यसपछि म पनि गम्भीर भएँ । यस्ता कुरा म जिस्क्याएर म आफ्नो प्रेम हलुका पार्न चाहन्नथेँ ।

नाटक राम्रो भयो । फेरि पार्वतीकै चर्चा चल्यो । उसको अभिनयका अगाडि सबै फिक्का । रङ नहालेको चियाजस्तो तर नाटक सँगसँगै अर्को कुरा नि चल्यो गाउँघरमा– पार्वती र मेरो बारेमा । त्यसो त पहिलेदेखि नै अलि–अलि चलेकै थियो तर यसपालि हुरी–बतास झैं चल्यो । जोडी राम्रो छ देखि नाटक खेल्नुको राज यो पो रहेछसम्म तर उसको र मेरो घरका सबै मौन छन । केही भनेका छैनन् हल्लाका बारेमा । भनुन् पनि के र ? हाम्रो नमिलेको नै के छ ? उमेर, जात, मन, तन, कुल घरान सबै मिलेकै छ । त्यसमाथि म एक्लो छोरो ।

आफै खिसिक्क मुस्कुराए ।

भाइटीकाको दिन । पार्वती र उसको भाइ दिदीको घर सुरुङ गए, टीका लगाउन ।

भोलिपल्ट,
सात बजेतिर चियासँग सेलरोटी खाँदै थिए अचानक ढुङ्गा लाग्यो । किटिक्क । गुलियो सेलरोटी अमिलो भयो । चियाको तातोले पनि मज्जाले पोल्यो । पार्वतीका बा घरमा आएका थिए । भन्दै थिए, पार्वती दिदीको घरबाट राति भागिछे । उसका बा जात नमिल्ने सेनाको अफिसरसँग भागेको भनेर उफ्रन थाले । केही सहयोग गर्न मेरा बुवासँग अनुरोध गर्न लागे । मेरा बा, गाउँघरलाई परेका बेला सहयोग गर्थे । बिचरा उनी आत्तिँदै मेरो घर आइपुगेका थिए । पार्वतीको बुवाको भन्दा मेरो हातल बिग्रियो । सिँढी चढेंं र आफ्नो कोठा छिरें । क्वा–क्वा रुन मन थियो मलाई, तर गालासम्म झरेका आँसु मात्र पुछे । पार्वतीलाई फोन लगाएँ । स्विच अफ भन्यो । तीनपल्ट भन्दा धेरै गरिन् ।

‘म सेनामा भर्ना हुन चाहन्छु ।’ एसएलसी पास हुँदा पार्वती बारम्बार भन्थी, ‘मलाई सेनाको पोसाक साह्रै मनपर्छ ।’

सम्झिएँ, आफैं सेनामा भर्ना हुने लामो बाटो हिँड्न छाडेर उसले सेनाको पोसाक लगाउनेलाई श्रीमान् रोजिछे ।

प्रकाशित: मंसिर १५, २०७२

(स्रोत : कान्तिपुर – साप्ताहिक)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.