~भूपिन व्याकुल~
छुक्छुक्–छुक्छुक् छुटिरहने जीवनको लिक समात्न कुनै स्टेसन ताकिरहेका हजारौँ यात्री बोकेर मिथिला एक्सप्रेस कलकत्ताबाट रक्सौलतिर दौडिरहेछ रफ्तारमा । रेल यात्रामा मलाई सधैँ आफ्नो मनको रफ्तार नाप्न मज्जा लाग्छ । रेल छुट्नुभन्दा धेरै अघि छुटिसक्छ मन । रेल रोकिएको स्टेसनभन्दा धेरै अघि पुगिसक्छ मन ।
सामुन्ने बर्थमा क्याण्डी क्रस खेलिरहेको कवि निमेष निखिललाई भन्छु, ‘ए निमेष, चितवन फर्किएपछि कुनै सार्वजनिक पर्खालमा कला सिर्जना गर्ने सपनाले सताइरहेछ । तँ के भन्छस् ?’
‘भन् न निमेष, कसो होला ?’ म कोट्याएरै सोध्छु उसलाई ।
‘गजब हुन्छ । तँ चितवनमा चित्र कोर, म हेटौँडा रंगीन बनाउँछु ।’ आफ्नो ब्रान्डको मुलायम बोली र चोसो निकालेर निमेष मलाई हौसाउँछ ।
चितवन फर्किएको दुई दिनपछि सगुन टेन्ट हाउस छिरेँ गजलकार प्रभाकर पण्डितलाई भेट्न । कलकत्ता यात्राका कुरा भए । मैले प्रभाकर पण्डितसँग पर्खालमा कला सिर्जना गर्ने सपना सुनाएँ । सन २०११ मा अमेरिकाको बाल्टीमोरमा यसरी नै कलाले सिंगारिएका पर्खालहरू देखेर यताका पर्खालमा कला सिर्जना गर्ने सपनाको बीजारोपण भएको थियो । अचम्म भो, उहाँले सहयोगको पहिलो बोली लगाइहाल्नु भो । म आत्तिएँ ।
कवि कुनामा कवि ईश्वर कँडेलसँग यही कुरा गरेँ । दोस्रो बोली आइहाल्यो । म अझ आत्तिएँ । एक मनले भन्यो, ‘ला फसिस् अब ।’ अर्को मनले चुनौती स्वीकार गर्न आदेश दियो ।
अक्षर समूहको बैठकबाट ‘पर्खालमा कला अभियान’ पारित भएपछि फेसबुकमा राख्यौँ । प्रयास नेपालका अमर घिमिरे, कवि सुमन घिमिरे, गायकर संगीतकार सहन प्रधान, कवि सरिता तिवारी, एच लामा, द्वारिका नेपाल आदिबाट सहयोग रकम जुटिहाल्यो । अक्षर समूहकै साथीहरूबाट सिड मनी जम्मा गर्यौँ । देश विदेशबाट सहयोगका निम्ति हातहरू बढ्न थाले । लाग्यो, अभियानको अवधारणा नयाँ भएकाले यसले धेरैलाई आकर्षित गर्यो ।
यद्यपि गतिलो कला सिर्जना गर्ने सीप हामी कविहरूसँग कहाँ हुनु ? अभियानले कुशल चित्रकारहरूको मेहनत माग गथ्र्यो । अब कसलाई पो भन्नु ? हामी अर्को तनावमा फस्यौँ । आफैले छानेको तनाव । अनायास चित्रकार मनिष हरिजनलाई सम्झिएँ, जसलाई मैले गाउँको स्कुलमा पढाउने अवसर पाएको थिएँ, जो अहिले युवावयमै चर्चित कलाकार बनिसकेका छन् ।
म दुनियाँको त्यस्तो अभागी गुरु हुँ, जसले आफ्नो विद्यार्थीसँग गुरुदक्षिणा मागेको छ । मनिषलाई फेसबुक सन्देश लेखेँ, ‘पर्खालमा कला सिर्जना गर्ने सपना छ । के तिमी सहयोग गर्छौ ?’ मनिष खुसी भए । दुई दिनपछि उनले फोन गरे, ‘छ जना चित्रकार लिएर म चितवन आउनेछु सर । यो आर्टिस्टहरूको दायित्व पनि त हो ।’ हामी खुसीले गद्गद् भयौँ ।
मनोदशा पूरै कलामय भयो । पर्खालको खोजी गर्न थाल्यौँ । चितवनका सार्वजनिक पर्खालहरू यसअघि कहिल्यै यसरी नापजाँच गरिएन । लाग्थ्यो, पर्खालहरू लाहुरे हुने लाममा उभिएका गोर्खे ठिटाहरू हुन् र हामी गल्लाहरू आँखाको फित्ताले तिनीहरूको लम्बाई र छातीको नाप लिइरहेछौँ । हामी अग्लो, फराकिलो र धेरैले देख्ने पर्खालको खोजीमा थियौँ, तर अधिकांश पर्खाल होचा ? जिल्ला प्रहरी कार्यालयको पर्खालको लागि निवेदन दियौँ । भर पनि पर्यौँ तर अन्तिम समयसम्म पनि सम्पर्क नगरेर जिप्रकाले हामीलाई निरास बनायो । मनले धेरै चित्रहरू कल्पेर पनि जिप्रकाको पर्खालमा कुनै तुलिकाघात नहुने निश्चित भयो । तीन पटक अनुरोध गरेर धर्ना दिएपछि मुस्किलले जिल्ला विकास समितिको पर्खाल उपलब्ध भयो । हामी अब सपनाको नजिक पुग्यौँ ।
चित्रकारहरूले पहिले पर्खालमा सेतो रंग पोते । चित्र निर्माणका लागि पर्खाल तयार भयो । अनि हामीले बल्ल प्रमुख अतिथि खोज्न थाल्यौँ । ठूला पद र प्रतिष्ठाका मानिसबाट धेरै कामको उद्घाटन भए देशमा । कैयौँ कामहरू बिग्रिए, भ्रष्टाचारको भारीले हल न चल भए, थला परे । हामीले उद्घाटनका लागि कथित ठूलो मान्छे खोज्न जाँगर लगाएनौँ । मेडिकल रोडमा ग्राहक खोजिरहेका पचपन्न वर्षीय रिक्सा चालक राजेन्द्र सिंहलाई लिएर आए अमर घिमिरे । उनलाई नै कार्यक्रमको प्रमुख अतिथि बनायौँ । सिँहले अप्ठ्यारो मान्दै ब्रस पक्रिए, रंगमा चोपे र पर्खालमा गाढा रातो रंगको स्ट्रोक दिए । हामीले ताली बजायौँ ।
त्यसपछि दुई दिन लगाएर काठमाडौंबाट आएका मनिष हरिजन, रामबहादुर ठाडा, लक्ष्मण श्रेष्ठ, अमृत सुनारी मगर, दिनेश थापा, आसुतोष श्रेष्ठ, प्रदीप राईले पर्खालको उत्तरी छेउ र चितवनका लालकाजी लामा, प्रकास थापा, डी बराल, तमबहादुर पुन, राज कुनार चन, टिकाराम मानन्धर, माया थापा, सावित्री मगर, राम भट्ट र सागर कार्कीले दक्षिणी छेउ सम्हाले । पर्खालभरि रंगहरूको तुलिकाघात सुरु भयो । रंगहरूको संगीत सुरु भयो, हामीहरू झुम्न थाल्यौँ ।
उत्तरतिर बहुरंगिन दुनियाँमा राज्यका वञ्चनामा परेर ब्ल्याक एन्ड ह्वाइट जीवन बाँचिरहेकी नेपाली महिलाको अनुहार बन्दै थियो, दक्षिणतिर भत्किएको पर्खालबाट आमाको हात समाउँदै स्कुल छिरीरहेको बालकलाई हेरिरहेका सडक बालबालिका उभिन थाले । रिक्सा चलाइरहेको चित्रमा मैले राजेन्द्र सिँहको अनुहार देखेँ, जो सर्लाहीबाट आएर स–साना सपना पूरा गर्न संघर्ष गरिरहेछन् । हेर्दाहेर्दै नारी पुरुषको हातले थामिरहेको पृथ्वीमा एउटा रुख हुर्कियो, त्यसमा पृथ्वीले भोगेको ग्लोवल वार्मिड्ंको प्रभाव पर्यो र आधा रुख सुक्यो । माया थापाको उक्त कला हेर्ने क्रममा मैले संरक्षण कविता आन्दोलनसँग जोडिएको अनुभव गरेँ ।
पर्खाल अघि जम्मा भएका केटाकेटीहरूले रंग र कुचि खोसाखोस गर्न थाले । उनीहरू पनि कला भर्न चाहन्थे । उनीहरूका लागि पनि हामीले खाली ठाउँ उपलब्ध गरायौँ । जब उनीहरूका कलिला हातले पर्खालमा जथाभावी रंग पोत्न थाले, फेरि संगीत बज्न थाल्यो । एकदम आनन्ददायक थियो त्यो नजारा । के थाहा उनीहरू भोलीका कलाकार पो हुन् कि ?
कार्यक्रम स्थलमा हामीलाई आफ्नो कलेज र स्कुलका पर्खालहरूमा कला सिर्जना गरिदिन अनुरोध आउन थाले ।
दोस्रो दिन कलाकार रामबहादुर ठाडाको नेतृत्वमा जिविसको गेटमा विशाल कला बन्यो । राप्तीको कञ्चन पानीमाथि डुब्न लागिरहेको घाम । तल नदीमा डुंगा खियाइरहेको माझी । त्यो कलाले सबैलाई सम्मोहित तुल्यायो । बटुवाहरू चकित परे । रफ्तारमा कुदेका सवारीहरू घच्याक्क रोकिन्थे । हामीलाई कला क्षेत्र दुर्घटनास्थल बन्छ कि भन्ने त्रास भयो ।
दुई दिनमा चौधवटा चित्र बने । पर्खालको अनुहार बदलिएर त्यसमा गजबको चमक र सौन्दर्य थपिएको थियो । कमजोर कला सिर्जना गर्नुभन्दा पर्खाललाई यथास्थितिमा छोडिदिनु राम्रो हो । हामी बच्यौ । त्यहाँ सन्देशसहितका जीवन्त चित्रहरू बने । कवि समालोचक मित्र संगीत श्रोताले पाब्लो पिकासोको उद्धरण सम्झाए, ‘पर्खालहरू गरिबका नारा लेख्ने उपयुक्त स्थल हुन् ।’
विश्लेषण गर्दा पाउँछु, कलाका विशिष्ठ अर्थहरूमा समाज, जनता र समयका नाराहरू नै अभिव्यक्त भएका हुन्छन् । कुनै विशिष्ट विचार वा सन्देशको प्रवाह साहित्यको झैँ कलाको पनि धर्म हो । यसले कुनै पार्टी वा कविलाको नारा मात्र नबोक्न पनि सक्छ । जसरी जनता कुनै पार्टी, धर्म, सम्प्रदाय आदिका कार्यकर्ता भएर पर्खालमा नारा लेख्न स्वतन्त्र छन्, त्यसरी नै पार्टी, धर्म, सम्प्रदाय आदिका कार्यकर्ता नबनी कला सिर्जना गर्न पनि स्वतन्त्र छन् । उपन्यासकार उमा सुवेदीको मेसेज पाएँ, ’भूपीनजी कति ठूलो र लोभलाग्दो उपद्रो मच्चाउनुभएको ?’ जवाफ लेखेँ, ‘वास्तवमा यो उपद्रोको सिंगो जस कलाकारहरूलाई जान्छ । हामी त माध्यम बनेका मात्र हौँ ।’
मलाई सधैं लागिरहन्छ कि हाम्रो देशमा सिर्जनात्मक रुपमा फरक सोच्नेहरूका लागि त्यति अनुकूल पर्यावरण छैन । एउटै ठाउँमा अनावश्यक भीड छ । सबै एउटै क्षेत्रमा लुँडो परेर बसिरहेका छौँ । मारामार गरिरहेका छौँ । शक्ति र पैसा आर्जन गर्न क्षमता नहुँदा नहुँदै सबैलाई जुनसुकै तिगडम अपनाएर भए पनि राजनितिक पार्टीको शीर्ष पदमा पुग्नु छ कि डाक्टर बन्नु छ कि बोर्डिङ स्कुल खोल्नु छ ।
अभियानमा लाग्ने क्रममा मैले सोचेँ, हामीले ठूल्ठूला योजनाहरूका बारेमा धेरै सोच्यौँ । समाजमा कोही त हुनुपर्छ जो कसैले ध्यान नदिएर छुटेका कामहरूमा आफूलाई समर्पित गरोस् । सभ्यताको समग्र विकासमा यही बढी महत्वको हुन सक्छ । पर्खालमा कला अभियान यसैको सुरुवात हो । हामी त यस्तै सामान्य कामहरू गर्छौं । तिहार पछि फेरि थप कला सिर्जना गर्नेछौँ, अरू सहरहरूमा पुग्नु त छँदैछ ।
प्रकाशित: कार्तिक ८, २०७२
(स्रोत : कान्तिपुर – साप्ताहिक)