कथा : पश्चातापको पीडा

~अम्बिका जोशी~

मुटुको धड्कन एक्कासी बढ्न थाल्यो । टीका अनि फूल माला पहिरिएर विदाइको हात हल्लाउँदाआँखाभरि आँशु टप्किएको थाहै भएन उसलाई । त्यो उमंग, त्यो रोमाञ्चकता, त्यो उज्यालो भविष्यको सुन्दर सपना सबै सबै एक्कासी बिलाएको अनुभूति भयो । वाक्य फुटेन अनि शब्द बिच बाटोमै अड्कियो । आमा बुवा दाजुभाइ दिदी बहिनी नाता गोता साथी सँगी सबै अश्रुपूर्णआँखा र भारी मनका साथ विदाइका लागि उपस्थित हुँदा डाँको छोडेर रून मन लाग्यो । तर पनि उसले आफूलाई सम्हाल्ने कोसिस गरिरही । जब आमाले,“ नानी परदेशको ठाउँ, बोली भाषा, चालचलन, रहन सहन, खानपिन सबै नौलो होस बिचार गरेर काम गरेस् । मलाई त सारै डर लागिरहेछ” भन्दै रून थालिन् उसको पनि धैर्यको बाँध टुट्यो ।  संसार चकमन्न भयो । आमालाई च्याप्प अंगालो मारी र रून थाली तर केही बोलिन । तल्लाघरे माष्टर काकालाईसम्झी । उनले बारम्बार सम्झाउने नाटक गर्दै भनेका थिए, “ नानी विदेशको काम तिमीले सोचे जस्तो सजिलो कहाँ छ र ? धेरै दुःख छ नानी विदेशमा । तैपनि विदेश जान्छु नै भन्छौभने सबै कुरा बुझेर मात्रै जाऊ । मैले थाहा पाए अनुसार जसको भर परेर तिमी विदेश जान तयार छौ उ त्यति भरपर्दो मान्छे होइन । जानु अघि त्यो मान्छे अनि कामको प्रकृति बारेमा राम्ररी बुझेर, केही सीप सिकेर मात्र जानू । नत्र दुःख पाइन्छ नानी ।”

कत्रो डाहा गर्छन् हो तल्लाघरे माष्टर काका ? हाम्रो उन्नति प्रगति त देख्नै नचाहने । नाताले पो काका । के गर्नु नाता मात्रले ? वास्तवमा उनी मेरो हितका मान्छे होइनन् । पोहोर भाइलाईविदेश पठाउँ भन्दा बालाई कुट्न मात्रै बाँकी राखे । “भर्खर एस.एल.सी. पास भएको छोरो । क्याम्पस पढाउन छोडेर विदेश पठाउँछु पो भन्छौ । किन बुद्धी विग्रेको तिम्रो ? मेरो पनि त हक छ नि उसमा । म जान दिन्न” भन्दै बालाई खुब हकारे । खुब हुन्छ उनको हक ? खै त उसको फी तिरिदिएको ? भर्ना हुँदा जाबो अलिकति सहयोग गरे समाजमा फुइँ लाउनलाई । हाम्लाई थाहा छैन र ? उनी भन्दा हामी माथि जान्छौं भनेर अनेक तिकडम गरेको हामी बुझ्दैनौ  भन्ठान्या छन् ? उल्टै बहिनी भन्दै सहयोग गर्ने बिचरा ती टाढाबाट आएका दाइलाई आरोप पो लाउँछन् बा । हैन तिनको के खाइद्या छ हाम्ले ? तिनीसँग कुनै सहयोग माग्या छैन । तिनलाई के को टाउको दुखाइ भन्या ? उनी पो हाइ स्कूलका माष्टर । खुरूखुरू महिनै पिच्छे तलब बुझ्छन र मोज गर्छन् । हामी चाहिं सधैं त्यही खेती किसानी मात्रै गर्नु ? रिस गर्नुको पनि सीमा हुन्छ नि । गैराघरे ठूल्दाइ पनि त गतिला छैनन् । काकाकै मुखमा मुख मिलाएर कुरा गर्छन् । यस्तै हुन् आफन्त भनाउँदाहरू ।

बिचरा कति टाढाका ती दाइ भगवान बनेर आएका छन् हाम्रो घरमा । कति मिठो बोलि बचन । कति सहयोगी भावना । नाता सम्बन्धले त को नै पो हुन् र उनी हाम्रा ? मेरो नागरिकता बनाउन पनि सहयोग गरे । कति पैसा खुवाएर मेरो चार वर्ष उमेर बढाएका अरे नत्र विदेश जान पाइन्न भनेर । मेरो भाइले किन वर्ष बढाएको भनेर सोध्दा भनेको उनले । कति चाँडै हाम्रो पीरमार्का बुझेका । पासपोर्ट पनि उनैले बनाइदिए । नत्र म गाउँकी अनपढ केटी कसरी गर्न सक्थे यो सब काम ? आफ्ना भनाउँदाहरूको चाला त्यस्तो छ । जे होस् अब म विदेश जान्छु , टन्न पैसा कमाउँछु र मेरो रिस गर्नेहरूको शीर निहुऱयाइ दिन्छु । मैले त्यहाँ घाँस दाउरा गर्नुपर्दैन रे, भारी बोक्नु नि पर्दैन रे । बस् घरमै बस्यो, घर भित्रकै काम गऱयो, मीठो मीठो खायो, टन्न पैसा कमायो, आहा । कस्तो रमाइलो जिन्दगी । जाबो घर भित्रको काम गर्न मलाईके को दुःख । यस्तो विधी दुःख त सहेकै छु । टन्न पैसा भएपछि राम्रा केटाहरू पनि त पछि लाग्छन नि । म त धैरै केटाहरू मध्येबाट राम्रो केटा छानेर बिहा गर्छु । म रूनु हुन्न । के म दुःख पाउन जान लाग्या हो र ? उसले मन बलियो पारी । आफन्तहरूबाट टाढिनुपर्दाको पीडालाईपन्छाएर सुन्दर सपनाको संसारलाई च्याप्प अंगालो मारी र सबैबाट ओझेल परी ।

यो सब सपना जस्तै लाग्दै छ उसलाई आज । चलचित्रका दृष्यहरू जस्तै एक एक गरी नाच्दैछन् उसको मानसपटलमा । मुटु फुट्ला जस्तै छ । घर मालिकको शारिरीक र मानशिक यातना असह्य बन्दैछ । हिजो हातबाट खसेर एक गिलास फुट्दा टाउकै फुटाए पापीहरूले । मैले जानाजान फुटाए जस्तो । ऎया कति दुख्दै छ अझै । जतिबेला पनि गिद्दे दृष्टिले हेर्छ त्यो साहुको छोरो भनाउँदो पनि । अस्ति भर्खर पनि बल्ल बल्ल उसको पञ्जाबाट फुत्किएँ ।  बच्चा खेलाउँदै गर्दा म निदाएँ अस्ति । भकुर्नु भकुरे मलाई । म पनि त मान्छे हो नि । के मलाई अल्छी लाग्दैन र ? राम्रोसँग सम्झाए भैहाल्थ्यो नि । मैले कहिले पो अटेर गरेकी थिएँ र उनीहरूलाई ? झर्केर मात्र बोल्छन जतिखेर नि पापीहरू। के गर्नु आफू केही बोल्न सक्दिन । यिनीहरूको बोली सिकेको भए मनका कुराहरू त भन्थे । मान्छे त हुन् अलिकति त बुझ्थे होलान् । कहिलेकाहिं त माया पनि देखाए जस्तो गर्छन् । घरको काम सबैतिर उस्तै त होलानि भन्ठानेकी । यसको घर भित्र पस्दा त सगरै खसे जस्तो भयो नि । आम्मामामा । जे कुरा पनि मशीनबाटै₋ खाना पकाउनेदिख लुगा धुने सम्म । म कसरी चलाउनु त्यो ? कहिल्यै देख्या सुन्या भए पो । चलाउन नजाने कुट्छन, गाली गर्छन् । राम्रोसँग सिकाए पनि त हुन्थ्यो । के के त भन्छन् म बुझ्दिन । झनै जोडले कुट्छन् । हे भगवान मलाई यिनीहरूको बोली त सिकाइदेऊ । यिनीहरूको चालचलन र व्यवहार सिकाइदेऊ । नत्र म बाँच्न सक्दिन भगवान रातदिनको मानसिक र शारिरीक पीडाको पहाड उचालेर । लैजाऊ मलाई पनि आफैंसँग । म कुन मुख लिएर घर जानु । घर जाउँ भन्दा पनि सबै कागजात उही साहू भनाउँदो सँग छन् । मागौं भने उल्टै मार्ला भन्ने डर ।

म पापिनी मेरा भगवान जस्ता काकालाई गाली गरें । उनले त मलाई सम्झाएकै थिए नि । मेरै रीस गर्छन् सोचें । मलाई सधैं आफ्नै छोरी जस्तै व्यवहार गर्थे । मैले किन बुझिन उनको कुरा ? उनको सुझाव मानेर बोली भाषा, चाल चलन, कामको प्रकृति बुझेर केही सीप सिकेर यहाँ आएको भए यति दुःख त पाइँदैन थ्यो होला । गू गोबर छुट्ट्याउन नसक्दा यस्तो भयो । मेरो पनि के दोष म गाउँकी अबोध नारी । आफूले कहिल्यै त्यस्तो छलकपट जानेको भए पो । त्यो दाइ भनाउँदोले मीठो बात गर्दा पत्याएँ । केही दुःख हुँदैन । केही परे मलाई भन्नु भन्थ्यो । पहिला त मीठा कुरा गर्थ्यो नि फोनबाट पनि । जब मलाई अप्ठ्यारो परेको सुनाएँ फोनै उठाउँदैन राक्षस । त्यसको कहिल्यै भलो नहोस् । अहिले पो थाहा पाएँ₋ उसले त म जस्ता धेरै गाउँका दिदी बहिनीहरूलाई ललाई फकाई विदेश पठाउँछ अरे पैसा कमाउन । पाप पनि लाग्दैन । कलिजुग त हो । जो गर्छ पाप उसकै फलिफाप । कसलाई दोष दिनु मेरो कर्मै यस्तो । दुःख मात्रै लेखेको रहेछ । गरिबलाई त सपना देख्ने अधिकार पनि छैन । जे होस् अब म यहाँ बस्दिन । एक बस्दिन दुइ बस्दिन । मर्छु बरू । यसरी रातदिन मरेर बाँच्नु भन्दा त एकै पल्ट मर्नु जाति । होइन किन मर्नु ? मेरो घर छँदैछ । बा आमा छँदैछन् । घरै जान्छु । घर जान पो कहाँ सजिलो छ र त्यो पापीले नछोडे सम्म । होइन अस्ति भर्खर मात्र तीन जना मेरै साथीहरू भागेर गए भन्ने सुनेकी । हामी जस्ता पिडीतहरूलाई घर पठाइदिने अड्डा छ रे₋दूतावास भन्छन् सायद । त्यहाँबाट पनि भनेको समयमा त के जान पाइएला र ? कोही त धेरै  समयदेखि  त्यहीँ छन् रे । जे सुकै होस् म त्यहीँ जान्छु, रून्छु कराउँछु । जसरी पनि म घर जान्छु जान्छु । बरू घरमै गएर दुःख गर्छु । बा आमा सँगै बस्छु । मास्टर काका सँग माफी माग्छु ।

यति सोच्दा सोच्दै भक्कानिएर रून थाल्छे ऊ । कसैले सुन्ला कि भन्ने डर । रून पनि लुकेर रूनु पर्ने । तर आज उ दृढसंकल्पित छे, आफ्नै सुन्दर सपनाहरूको मलामी बन्दै उही पुराना दुःख कष्टहरूलाई अंगाल्न भए पनि स्वदेश फर्कने, आफ्नो गाउँ फर्कने, आफ्नो घर फर्कने । भागेरै भए पनि । अलिकति राहत महसुस गर्छे । तर अझै सुँक्सुकाहट रोकिएको छैन, अश्रु वर्षा थामिएको छैन, मुटुको धड्कन बढिरहेकै छ फुट्ला झैं गरी ।

अम्बिका जोशी
नेपाली राजदूतावास, कुवेत

(स्रोत : Aaphnai-paribesh)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.