त्यो बेला हामीलाई ज्यूँ ज्यूँ गरेर खान मात्र पुग्थ्यो । कुन्नि कहाँबाट हो अन्न पात आउँथ्यो, अलिकति बर्ष भरीको लागि पुग नपुग र कमाउने मेरा बाबु एक जना मात्र भएको र खाने धेरै भएकाले बर्ष टार्न जहिले पनि ‘धौ, धौ’ पर्थ्यो । आमा कसरी टार्थिन् होला, म अहिले छक्क पर्छु । काम सघाउपघाउको निम्ति आमालाई कर्णेल कहाँबाट बोलाउँथे र म पनि आमाको पछि लागेर पुग्ने गर्थें त्यहाँ । घर फर्केर आउँदा आमाको पोको निकै गर्हौं हुन्थ्यो मैंले उचाल्नै नसक्ने । घर आएर आमाले फुकाएर देखाउँथिन् बालाई सधैं र त्यहाँ आमाको घर खर्चलाई चाहिने अनगिन्ति चिजहरु हुन्थे।
कर्णेलको धरमा पस्दा मलाई जहिले पनि डर लाग्थ्यो । कानसम्म जुँगा पुगेका बाघमुखे, कर्णेलको ह्वान्द्रे स्वर सुनेर सातो जान्थ्यो । जहिले पनि आमासँग जाँदा कर्णेल ‘माहिली बजै! यो तिम्रो छोरो मेरा छोरा सँगै बस्ने गरि देऊ भन्दा मान्दिनौ तिमी’ भन्ने गर्दथे र आमाले ‘हुन्छ’ भनि देलिन् भन्ने डरले म त्राहीत्राही हुन्थें । त्यो बेला आमा किन ‘हुन्छ’ भन्दिनथिन् या बा सँग आएर किन छलफल गर्दिनथिन् ? त्यो म भन्न सक्दिन । शायद कर्णेलको भनाई र गराईमा कहीं तालमेल खाँदैनथ्यो, त्यसैले उनलाई कर्णेलको भनाइ प्रति विश्वास हुन्नथ्यो क्या र ।
कर्णेल्नीप्रति मेरी आमाको सारै ठूलो श्रद्धा थियो । मेरो घरको भरअभर कर्णेल्नीले जहिले पनि बुझी दिन्थीन् र आमालाई विषम परिस्थितिमा जहिले पनि मद्दत गर्दथिन् । त्यही कुरालाई बुझेर होला–मेरा बाले आमालाई कर्णेल्नी कहाँ गएर सघाउपघाउ गर्नमा कुनै आपत्ति गर्दैनथें, नत्र त खान नपाए पनि खानदान भन्ने घमण्ड त मेरा बाबु पनि लिन्थे । कर्णेलका दुई छोरा र दुई छोरी उमेरमा म भन्दा २/४ बर्ष जेठा कान्छा । उनको सम्पत्ति प्रशस्त थियो। मौजा थियो मध्य मदेशमा, पहाडको एउटै पाटो नै सिङ्गो उनको बिर्ता थियो, राजधानीकै काँठबाट बर्षभरीलाई पुग्ने अन्न पात आउँथ्यो र सहरकै घर वरिपरी ५०/६० रोपनी जग्गा थियो । कर्णेल आफैं बहाली थिए। चाडबाड, दशैं तिहारमा काँठ, पहाड वरपरबाट आउने कोसेली पात नै थुप्राका थुप्रा हुन्थे । कोही लिएर आओस् या नलिई आओस् कर्णेल्नी कसैलाई पनि रित्तो हात पठाउँदिनथिन् । उनी भन्थिन् “आफू कहाँ आशा गरेर आएपछि रित्तो हात कसरी फर्काउने ? यो घरको आफ्ना पूर्खाको ईञ्जत जाँदैन र ?
कर्णेल्नीका माइतीपट्टिका कुरा सुनेर सबै छक्क पर्थे । म त बुझ्दनथें त्यो बेला तर अहिले मलाई पनि आश्चर्य लाग्छ। उनकी आमा बाहरि निस्कदा एउटा जन्ती नै अघि पछि हुन्थ्यो रे । देउताथान जाँदा पनि मानिस बाटो छाडेर उभिन्थे रे ! कर्णेल्नीका मात्रै पनि माइतीमा बुबु थिई रे, धाई थिई रे, नानी थिई रे, सुसारे नै मात्र पनि कति कति रे । माइतीका कुरा नहेरेर घरमा मात्र हेर्दा पनि नोकर चाकर प्रशस्त थिए । भान्से बजै थिईन्, पूजा कोठे बाजे थिए, वैठके थियो, सयस थियो, अर्दली थिए । नोकर चाकरको गोठै थियो । कर्णेल्नीले लगाएको लुगामा एउटा सानो दागसम्म पनि हुँदैनथ्यो । उनको साथमा हमेशा खाने मसला भरिएको चाँदीको पान बट्टा हुन्थ्यो र मलाई गयैपिच्छे त्यही पान बट्टाबाट मसला हातमा दिन्थीन् कर्णेल्नी। त्यही मसलाको लोभले पनि म कर्णेल्नी कहाँ जान मन मराउँथें।
कर्णेलले मलाई ‘सानो बाजे’ भनेर सम्बोधन गरे पनि कर्णेल्नीले सधैं नै नाम लिएर नै बोलाउँथिन् मलाई। शायद बाजे भन्दा मैंले चित्त नबुझाएको देखेर होला उनले त्यसो गर्ने । ८ बर्षको थिएँ म त्यो बेला, केही कुरा बुझ्ने केही नबुझ्ने । चित्त बुझे या नबुझेको भाव मेरो अनुहारमा छर्लङ्ग देखिन्थ्यो होला । त्यसैले मेरो चित्त दुखाउन चाहन्नथीन् उनी तर उनको १३ बर्षको जेठो छोरोलाई ‘किन हो कुन्नि?’ मलाई दुःख दिन आनन्द लाग्थ्यो र आमाको आँखा छलेर मलाई चिमोटी रहन्थ्यो। म कर्णेल्नीलाई त केही भन्दिनथें, बरु आमालाई सुनाउँथे। आमा भन्ने गर्नु हुन्थ्यो – “मेरै छेउमा बसी रहनु नि त । किन जानु पर्यो त उसको नजिकै ?’
आमाले भने जस्तै सधैं आमाको नजिकै बसी रहन कहाँ सक्थें र म केटा केटी ? खेल्नै पर्योभ, कुरा गर्ने पर्योर। ९ बर्षको जेठी र ६ बर्षकी कान्छी छोरी भने असाध्यै मिल्थे म सँग। त्यसमा पनि कान्छी चाहीं । शायद दौंतरी ठानेर होला । तीन बर्षको कान्छो छोरो धेरै जसो धाई कहाँ नै हुन्थ्यो । दाजु दिदी सँग उसको पारा पनि मिल्दैनथ्यो। आमा कहाँ आउँदा ऊ आफ्नी आमाको काँखमा बसेर ट्वाल्ल मलाई हेरी रहन्थ्यो या खेल्ने कुरा लिएर मलाई खेल्न बोलाउँथ्यो।
आम्दानी गर्ने काम कर्णेलको थियो र भित्र घर चलाउने काम कर्णेल्नीको । जेठो छोरो अलि उदण्ड थियो, अरु छोराछोरी सानै थिए। ठूली छोरी अलि गम्भिर जस्ती। पढ्ने कुरामा पनि स्वभाव अनुसार थिए छोराछोरी। परिवार सुखी नै थियो जस्तो लाग्छ।
एक दिन पुक्लुक्क मरे कर्णेल । ४० बर्ष मात्र नाघेका कर्णेलको उमेर त कुनै मर्ने उमेर थिएन तर कालको अगाडि त्यो उमेरको गिन्ती भएन। उर्दीबाट फर्केर आएपछि लुगा फेरेर यसो ओछ्यानमा पल्टिएका, पल्टिएको पल्टिएै भए रे ।
“धर्मात्मा रहेछन् कर्णेल ।” – मेरी आमा भन्नु हुन्थ्यो – “न आफूले दुख पाए, न कसैलाई दुःख दिए। त्यस्तो मरण पो मरण।”
मेरी आमाले मात्र होइन, शायद धेरैले त्यसो भने होलान् । मरिसकेपछि बखान गर्दा के पो बिग्रन्छ र ? मरेपछि कुकर्मीलार्इै त सन्त बनाउन मिल्छ भने कर्णेल त आफ्नो आचरणमा रहेका, आफ्नो व्यवहार गरी खाएका मानिस ।
कर्णेल मर्दा कर्णेल्नीले ठूलो रुवाबासी गरिनन् । बगेका बलिन्द्र आँशु धारा पुछ्दै सबै काम आफूले नै अराउपराउ गरिन्, लाशलाई आफ्नै हातले पुजेर उठाउन लगाईन् । उनको धैर्यलाई धेरैले सर्हाशनी गरे, कतिले कुरा पनि काटे ।
लोग्ने मरेपछि घर भित्र, बाहिर दुईटै काम कर्णेल्नीको थाप्लोमा आई लाग्यो । ल्याएको थन्क्याउनु र चलाउन मात्र जानेकी थिईन् उनले । ल्याउने काम नौलो मात्र होइन असजिलो समेत भयो उनको निम्ति । पहिले कर्णेलको धाक थियो, रवाफ थियो, तिर्ने पनि डराउँथ्यो, बेलैमा लिएर आउँथ्यो । अब त तिर्ने पनि आनाकानी गर्न थाल्यो । जेठो छोरो बाबु हुन्जेल बाबुको डरले स्कुल गई टोपल्थ्यो, ट्युसन मास्टरको अगाडि बसिदिन्थ्यो । बाबु मरेपछि त्यही पनि छोडी दियो । गुलेली, चङ्गा, पौडीबाट उक्लिएर शिकार, बल्छी, पिकनिक र ट्रेकिङपट्टि शुरु गर्यो्। कमाई खानु पर्ने भएको भए त यिनै शौख नै उसका कमाइका साधन हुन सक्थे तर बाबुबाजेको सम्पत्तिमा रजाइँ गर्नेको यी शोखले आफू नाङ्गिने र अरु मोटाउने मौका पाए । बुहारी आएपछि सप्रन्छ कि भनी ठानेर छोराको बिहे गरिदिइन् तर लोग्नेको व्यहोराले आजित भएर बुहारी काँखको छोरो च्यापेर माइती गएर बसे पछि उनको त्यो सपना पनि भङ्ग भयो ।
के हो धन ? सधैं एकै ठाउँमा ओहिर्याबई राखे समुद्र हो, कतै बग्न न दिएर थुनिएर राखे पोखरी हो र सधैं एकै ठाउँबाट बगाई मात्र राखे खडेरीको कुवा हो । कर्णेल के मरे ! तिर्नेहरुलाई दशैं पल्टियो। उठ्तीपुठ्ती गर्न कर्णेल्नी जाऊन् भने घरको इज्जत जाने घरबाट बाहिर कहिल्यै ननिस्केकी आइमाइले घर छोड्दा । नजाऊन् जेठो छोरो न गर्ने, कान्छो नसक्ने। छोरीहरूको त कुरै भएन । आखिर विस्तारैविस्तारै मौजा बेच्न थालिन् जसले जे दिन्छ त्यही भाउमा । आम्दानी घट्दो थियो, खर्च बढ्दो थियो । आश गर्ने र वास गर्ने घटेका थिएनन्। कान्छो छोरोको पढाई खर्च झन् झन् बढ्दो थियो। छोराछोरीको विहेले उनको ढाड भाँची सकेको थियो । जेठा छोरोको अत्तोपत्तो थिएन। उनको खर्चको समस्या देखेर एक दिन मैंले भनेथें – “कर्णेल्नी साहेव ! यी नोकर चाकर आसे गाँसे किन पाल्नु पर्योै अब ? विदा दिए पनि त हुन्छ। ”
कर्णेल्नीले भनिथिन् – “आफ्नो आसपासमा बसेकालाई विदा दिने हो भने खानदानको के इञ्जत रह्यो र ?”
मैंले सहयोग गरिदिन खोजेँ तर म पराया घरको मानिस। त्यो घर प्रति जति सुकैं स्नेह र माया भए पनि मेरो दायरा सीमित थियो।
एक दिन कर्णेल्नीकी कान्छी छोरीले भनी – “राजन! यो घरको सँघार भित्र बसिरहनु पर्योर भने म बौलाउने छु । कही फँयाक्न नै भए पनि मलाई लिएर जाऊ ।”
शायद मेरो माया थियो होला ऊ प्रति । मैंले अस्विकार गर्न सकिन ।
सामाजिक नियम उल्लघन गरेर मैंले कर्णेल्नीकी छोरी टिपेर हिंडे पछि म त्यति सजिलै घर फर्कन अवश्य सक्दिनथें । मैंले समयलाई खपाउन सक्नु पर्थ्यो र मैंले सम्पत्ति पनि कमाउन सक्नु पर्थ्यो । मैंले प्रयास गरें, सब किसिमका प्रयास र मेरी पत्नी र भाग्यले मलाई सधैं नै साथ दिए। पन्ध्र बर्ष पछि म घर फर्के सम्पत्ति, स्वास्नी र दुइ छोरा छोरी लिएर । आमाले आँशु खसालेर स्वागत गरिन्, बाबुले हर्षित भएर। मेरो घर परिवारलाई मैंले आधुनिक बनाए, व्यवसायको विस्तार गरें । अब त म कर्णेल्नीको जुवाइँ भन्न लायक भई सकेको थिएँ र कसैले पनि मलाई आरोप लगाउन सकेन । पहिलो त मानिसलाई समयले सबै विर्साई सकेको थियो र जसले बिर्सन सकेका थिएनन् तिनीहरुलाई मेरो सम्पत्तिको धाकले मुखबुजो लाइदियो । फलतः मेरो र मेरी पत्नीको सम्मानमा कुनै खोट देखिएन।
कर्णेल्नीसँग नाता जोडिएको म र मेरी स्वास्नी अपराधी अनुहार लाएर छोरा छोरी सहित उनको अगाडि पुग्यौं । त्यति लामो समय पछि नातिनातिनी र वैभव बोकेर आएका छोरीजुवाइलाई उनले अस्विकार गर्न सकिनन् । आफ्नी छोरी त यसै पनि उनले माया मार्न सक्ने थिइनन् र म पनि उनीद्धारा मन नपराएको व्यक्ति त थिइँन । खालि यसरी छोरीले भागिदिंदा र सधैं आवतजावत गरेर विश्वास दिलाएको एउटा जात नमिल्दोले लगी दिंदा समाजमा उनको बेइञ्जती भएको थियो र त्यसलाई समाजले सम्झुन्जेल उनले हामीलाई माफी दिन गाहारो थियो। समाजको स्विकृत भई सकेपछि उनलाई त्यसमा कुनै आपत्ति भएन । त्यसमा पनि अरु छोराछोरीभन्दा सम्पन्न जुवाइबाट छोरीले दुःख पाई भन्ने गुनासो पनि हुन सक्दैन्थ्यो । हाम्रो उपस्थितिको स्विकारोक्तिमा उनले केवल यति मात्र भनिन् – “जे भयो भलै भयो। तिमीहरुको राम्रो भयो।”
आएकै दिन बितेका कुरा गर्दै मेरी आमाले भनिथिन् – “तिमीहरु हिडेंपछि म कर्णेल्नी कहाँ गएर रोएँ। उनीले यति मात्रै भनिन् – ‘नरुनोस् माहिली बजै। यसमा तपाईको के दोष ? राजन पनि खराब त होइन। तर उसले अरु के गरोस् ? उनीहरूको भलो होस् – यही चिताउनु पर्छ हामीले।”
“छोरा छोरी के के गर्छन् नि?” – मैंले सोधेथें आमालाई । आमाले जवाफ दिइन् – “जेठोले उडाउन मात्र जान्यो । पढ्न पनि सकेन । कहिले जोगी भएर बिदेशिन्छ । कहिले भोगी भएर सहर भरीका भट्टी पसलमा रक्सी खाएर हिंड्छ । कान्छोले त पढ्यो लेख्यो । बैंकमा ठुलै पदमा जागिरे छ । धनीकी छोरी बिहे गर्यो् । सम्पत्ति पनि धेरै पायो तर स्वास्नी सँगै आमालाई राख्न सकेन । त्यसैले छुट्टै बसेकी हुन् बुढिया।”
“के हुँदो रहेछ र सम्पत्तिले पनि ? त्यत्रो मौजा सकियो, पहाडको जग्गा हिड्यो । काँठको अन्नपात आउने जग्गा जसले सक्यो त्यसैले उछिन्यो । सहरकै घरबारी पनि बिकेर गयो। तिनै छोराछोरी भनेर हुरुक्क भइन् उनी। कत्रो सोखबाट माग्ने स्थितिमा पुगिन् उनी । अहिले हेर त । जेठो त जेठै भयो, कान्छोले त हेर्नु पर्ने । कम माया गरेकी थिइन् बुढियाले । तिनैको पढाई, तिनैको बिहेदानमा सबै सिध्याईन् । अहिले त उनलाई त्यो छोरी समेतले पनि हेर्दिन ।” – मेरी स्वास्नीले नसुन्ने गरी मेरी आमा बर्बराइन्।
मैंले आमाको मन बुझ्न बिस्तारै भनें – “उनलाई म कहाँ ल्याएर राख्न कसो होला?”
आमाले शङ्का साथ जवाफ दिइथिन् – “सक्छौ तिमीहरु त्यसो गर्न र ? उनले पनि मान्लिन् र ? सके त बेसै हो। मर्ने बेलामा केही सुख त पाउने थिइन् होला ।”
मेरी आमालाई कर्णेल्नीप्रति पुरै सहानुभूति थियो । यस्तै सहानुभूति थियो कर्णेल्नीको मेरी आमाप्रति कुनै बेला । कालान्तरले एक अर्कालाई उल्टने स्थितिमा ल्याए पनि जरुरत पर्ने कर्णेल्नीलाई मेरी आमा सहयोग गर्न सक्दिनथिन् चाहेर पनि । समाजको एउटै डोरीले बाँधिएर बसेका यी दुई स्वास्नीमानिस आफ्नो भूमिका उल्टाउन सक्दैनथे । नाताले गर्न मिल्ने भएकाले मेरो प्रस्तावले मेरी आमालाई केही सन्तोष दिएको थियो ।
मेरा दाजुभाईसँग बसेका मेरा आमाबाबु म सँग बस्ने पक्षमा थिएनन्। जति सुकै असल भए पनि कर्णेल्नीकी छोरी उनीहरुकी बुहारी भएर बुहार्तन खप्ने छैन भन्ने उनीहरुलाई थाहा थियो । त्यसैले बुहारीकै आग्रहमा पनि उनीहरु मेरो घरमा बस्न तयार भएनन् र म बाट जो बाहिरी सहयोग हुन्थ्यो यसबाट नै उनीहरु सन्तुष्ट थिए।
एक दिन मैंले मेरी स्वास्नीलाई भनें – “तिम्री आमालाई यही हामी कहाँ नै राखुँ न ?”
जीवनमा पहिलो पल्ट मेरी स्वास्नीले विरोध गरी – “हेर्न सक्ने सम्पन्न छोरो हुदाहुँदै हामीले किन राख्ने ?”
हेर्न सक्ने, राख्न सक्ने छोरा छोरी त थिए तर कोही पनि कर्णेल्नीलाई साथमा राख्ने थिएनन् । सबैलाई आफ्नो परिवार प्यारो थियो र कर्णेल्नीको उपस्थितिले परिवार खलबलिने डर थियो सबैलाई । मेरी स्वास्नीको भनाइले मेरो मन मानेन र मैंले विरोध गरें ।
“छोरा जत्तिकै तिमी पनि त छोरी हौं नि ।”
“छोरालाई जत्तिकै मलाई के दिनु भयो र आमाले ?”
“केही नदिए पनि दुधको लाम्टो त चुस्न दिनु भयो ।” – आमाप्रतिको मेरी स्वास्नीको भनाइ मलाई असाध्यै खट्कियो र मैंले तिखै शब्द प्रयोग गरें । मेरी स्वास्नी केही बोलिन ।
एक दिन कर्णेल्नीलाई मैंले भनें “यसरी बस्नु भएन एक्लै । के पर्छ ? के पर्छ ? छोरा छन्, छोरी छन्। कसै कहाँ बसे पनि त हुन्छ ।”
“बसे त हुन्थ्यो तर बस्न सक्ने ठाउँमा अटिनँ । अट्न सक्ने ठाउँमा बस्न सकिदैन । त्यसैले एक्लै ठीक छ ।” – उनले कसैलाई पनि दोष न दिई मेरो सल्लाह अस्विकार गरिन्।
“हामी कहाँ बस्नोस् त्यसो भए ।” – मैंले प्रस्ताव राखें।
कर्णेलनीले दृढ स्वरमा जवाफ दिइन् – “राजन बाबु ! जसलाई जुवाइ भनेर आजसम्म समाजमा सम्बोधन गरेकी छैन म त्यहाँ कुन नाताले बसूँ । पाल्नु पर्ने छोरोले साथमा राख्न सकेन । कन्यादान दिएकी छोरीले ‘आऊ’ सम्म भनिन । जसलाई ‘एक टुक्रा मासु कुहिएर झर्योद नै’ भनेर समाजमा आफ्नो नाक राखेंथें उसकहाँ म अटाउँछु कसरी ? तपाईको जत्रो ठूलो छाती त मेरो पनि छैन र मेरी छोरीको पनि छैन। त्यसैले म एक्लै ठीक छु।”
मेरो भन्ने कुरा केही भएन तैपनि छोराछोरी र समाजले थाहा नपाई मैंले बाहिरी सहयोग गरी रहें । असम्पन्नताले उनलाई यति जर्जर बनाएको थियो कि त्यो सहयोगलाई उनले पनि अस्विकार भने गरिनन् ।
मैंले एक दिन सधैं कर्णेल्नीको उपचार गर्ने डाक्टरलाई सोधे – “कस्तो छ उनलाई ?”
डाक्टरले भन्यो – कहिले कहीँ म आफैंलाई अचम्म लाग्छ – कसरी बाँचेकी छन उनी ? के रोग पो छैन उनलाई ? ‘परिश्रम नगर्नोस्’ भन्यो’ टेर्दिनन् उनी । कुन दिन पुर्लुक्क ढल्छिन् अनि उठ्दिनन् बुढीया !”
एक दिन बिहानै समाचार आयो – ‘गइन् रे बुढिया।’
म दौडँदै आमा कहाँ गएर सुनाएँ। त्यो सुनेर आमाले भनिन् – “हिजो मात्र मैंले बजारमा भेटेकी। धर्मात्मा थिइन् बुढिया। सजिलैसँग गइछन्। कसैलाई दुःख पनि दिइनन्। गुहुमुतमा पनि डुबिनन्।”
आमा र म पुग्दा घरबेटी कुरेर बसेका थिए। म आएको देखेर उनले लामो सास फेर्दै भने – “ल बाबु, बल्ल ढुक्क भयो। मरे तपाईलाई जिम्मा दिनु भन्नु भएथ्यो कर्णेल्नीले। लौ जिम्मा लिनोस् अब।”
मैंले सोधें – “कति खेर जानु भयो?”
“बिहानी आफैंले ढोका खोलेको – भन्छे मेरी घरबुढी। प्राण जान कतिबेर लाग्दोरहेछ र? ” – घरपटिले दार्शनिक भएर जवाफ दिए।
जीवनभर आफ्नो भन्न नसके पनि मरे पछि आफ्नो लाश मेरो जिम्मा लगाएकी छन् कर्णेल्नीले र मैंले ‘कर्णेल्नी मरिन् है’ भनेर उनका छोरा छोरीलाई समाचार दिनु छ, नातेदारलाई समाचार दिनु छ र सिङ्गै समाजलाई पनि समाचार दिनु छ।
काठमाडौ
२०५८। ३ । १३
(स्रोत : रचनाकारको ब्लगबाट सभार)