~जिष्णु सुवेदी~
निलकान्तलाई नातिले कम्प्युटर किन्न भनेर साठी(साठी हजार खर्च गरेको एकदम मन परेको थिएन । नातिले कम्प्युटरको बट्टा खोल्नासाथ त्यँहि पुगिहाले ।
“ए यहि हो कम्प्युटर भनेको । के के न होला भनेको त, टेलेबि जस्तै त र’ैछ नी ।”
“कहाँ श्रीखण्ड कहाँ शखरखण्ड, हजुरबा पनि के भा । कम्प्यूटर र टिभि उस्तै रे । हा ….हा हा ” नातिले कम्प्युटर आएको रमाइलोमा हजुरबालाई उल्यायो ।
“के गर्छ यसले ? त्यहि सिनेमा हेर्न मिल्ने त होला नि, हैन ?”
“सिनेमा हेर्ने रे ? सिनेमा हेर्नेमात्र है’न, यसबाट जे गर्न पनि मिल्छ ।” नाति चाँहिले फुर्ति लगायो ।
निलकान्तलाई चाँहि अचम्म लाग्यो, हन जे पनि गर्न मिल्ने भन्छ भाँडो त टेलेबि भन्दा फरक छैन त । “हैन त्यसले सही माल त उठायो के त्यसले ? अलि हडबडे छ । तँ आफूपनि जानु पर्छ नि किन्न ।” नातिले कुरा नखाएकाले बुढामान्छेले छोरासँग शंका पोखे ।
“म भन्दा जान्ने उहि छ । राम्रै बुझेर त ल्यायो होला नि । ”
“खै है । त्यत्रो औधि पैसा खन्याएको छ ।”
“ह्या हजुरबा पनि कस्तो गनगने मान्छे । ” कम्प्युटरका तारहरु जोड्न सकेर नातिले लामो सास फेर्दै गुनासो पोख्यो ।
हजुरबाले जम्मा(जम्मि १६ नलागेको नातिको कुरा पत्याउन सकेनन् । त्यहाँ बस्यो भने झन छटपट्टि हुन्छ भनेर बजारतिर लागे ।
बजारमा चिया खाँदा जसमानसँग पनि उनले त्यहि गुनासो गरे । नातिले कम्प्युटर चाहियो भनेर पैसाको नाश ग¥यो, आजकलका केटाहरुको रहरपनि के(के मा हो के(के मा, जे पनि पैसाको खोलो नबगाई नआउने आदि आदि ।
जसमान ब्रिटिश लाहुरे हुँदा देश विदेश घुम्या हुनाले निलकान्त भन्दा अलि उदार थिए केटाकेटीहरुको रहरको मामिलामा । उनले सम्झाए कम्प्युटर नभई नहुने चिज हो क्यारे भनेर ।
“हैन गर्छ के त्यसले ? टेलेबि छँदै छ नि घरमा, सिनेमा हेर्नलाई । ” बुढामान्छेले जसमानको कुरा पनि खाएनन् ।
“हो हो ….. हँसाउनु भयो बाजेले ।” जसमान चियापसलनै थर्काउने गरि हाँसे । “कहाँ कम्प्युटर, कहाँ टिभि ।” जसमानको हाँसो बडो गजबको थियो । उनी नहाँसी कमै बोल्दथे । उनको रातोपीरो शरीर पनि हाँसेर नै भएको भनेर उनी सबैलाई हाँस्न सल्लाह दिन्थे ।
“हैन के गर्छ त त्यो कम्प्युटर ले ?
“खै के गर्छ त मैले पनि राम्रो मेसो पाएको छैन, तर त्यसले जे पनि गर्न सक्छ अरे ।”
“जे पनि गर्न सक्छ ? ”
“खै त्यसै भन्छन् ।”
“ल बाजे पनि भरे देखि नातिसँग कम्प्युटर सिक्नुहोस । याँ मेरो चिया पनि बनाइदिन्छ कि सोध्नु’स है ।” चियापसलकी साहुनीले कटाक्ष गरिन् ।
“हो हो हो ….. ” जसमानले फेरि हाँसो निकाले । “म त खान्न है त्य’ल्ले बना’को चिया । मलाई त साहुनीकै हातको चाहिन्छ ।” जसमानले साहुनीलाई जिस्काए ।
घर फर्केपछि निलकान्त सिधा नातिको कोठामा पुगे । नाति त्यहि कम्प्युटरमै चलिरहेको रहेछ ।
“हजुरबा ल आउनुहोस तपाँइको फोटो हेर्न । ” उनलाई देख्नासाथ नातिले बोलाइहाल्यो ।
उनले फोटो हेरे । नाथे फोटो राख्न किन्या हो यो कम्प्युटर ? उनले अझै चित्त बुझाउन सकेका थिएनन् ।
“खै यसले अरु के के गर्न सक्छ मलाई देखा त । जसमानलेपनि जे पनि गर्न सक्छ भन्थ्यो । ”
“यी हजुरबाको फोटो राखिहाल्यो नि । ”
“नाथे फोटो राख्नलाई त्यत्रो ढुकुटी रित्ताएको हो । ”
“ह्या हजुरबा दिक्क नलगाउनु न । जाबो साठी हजारको पनि कत्रो लोभ गरि’रा नी । ” नाति केटा फनफनीदै आफ्नै काममा व्यस्त भयो ।
“हजुरबालाई राम्रोसँग देखाइदे न त के गर्न सक्छ भनेर । खालि अघिदेखि त्यँहि झुण्डेको छ, झुण्डेको छ ।” आमा चाँहिले पनि झपारिन् । उनलाई पनि हजुरबालाई देखाउने निहुँमा त्यो कम्प्युटरले के गर्न सक्ने र‘ैछ भन्ने बुझनु परेको थियो ।नातिसँग बस्दै गएपछि बुढामान्छेलाई कम्प्युटरको रहर बढ्दै गयो । कार त के साइकल पनि नकुदाउने मान्छेले नातिसँग कार कुदाउन सिके , ए गाँठे तासनै खेल्न मिल्ने रै’छ उनले एकदिन जसमानलाई कम्प्युटरको बारेमा बुझाए । तर सात(आठ दिन पछि पनि जाबो त्यतिको लागि के कम्प्युटर चाहियो त उनले बुझन सकेनन् । नातिलाई फेरि कचकच गरे । झण्डै एक लाख नै पो परेको त । हजुबाले नातिलाई फेरि एकपटक पैसा बराबरको महत्व देखाउन भने ।
“खै मैले भेउ नपाएको हो कि लाख खोल्सा प¥या हो मलाई चाँहि चित्त बुझेन है । ” उनले छोरासँग पनि गुनासो गरे ।
“अहिलेको जमानामा कम्प्युटर भएन भने पछाडि परिन्छ भन्छ, उसैले जानोस ।” बाउचाँहिले पनि त्यो पैसाले घरको भित्ता प्लाष्टर गरौंला भन्ने सोचेका थिए, छोराको ढिपीको अगाडि केहि नलागेर मात्र हुन्छ भनेका थिए ।
त्यो दिन सुर्यग्रहण परेको थियो, दिनभरी केही खानु नहुने । बजारतिर झ¥यो भने चियाको तलतल लागिहाल्छ भनेर बुढामान्छे घरै बसिरहेका थिए । “ल यी हेर्नुस हजुरबा कम्प्युटरबाट संसार देखिन्छ भन्ने कुराको नमुना । ” नातिले उनलाई बोलायो । “आज सुर्यग्रहण हैन ? यी अहिले संसारको जुन कुनाबाट ग्रहण राम्रोसँग देखिन्छ, त्यहाँबाट जस्ताको तस्तै खिचेर देखाइरहेको छ ।” उसले कम्प्युटरमा एकछिन खोजखाज पारेर इन्टरनेटबाट सुर्यग्रहण प्रत्यक्ष प्रसारण भइरहेको साइटमा लगेर देखायो । बुढामान्छे साँच्चैको दङ्ग भने पहिलो पटक परे । “ए होइन मोराहरुले गरेका रहेछन् ।” उनलाई जसमानलाई सुनाउने खसखस भयो, बजारतिर लागे ।
जसमानलाई उनले बढाई(चढाई कम्प्युटरको बखान सुनाए । जसमानले ए हो र भन्दै दङ्गपर्दै सुनिरहे । “ए आकास पाताल सबै हेर्न मिल्ने रैछ, ल बाजे त्यसो भए भरे गएर नातिलाई यो संसारबाट कहिले छुट्कारा पाइने रै’छ सोध्नुहोस है । ” जसमानले हो हो गर्दै बुढामान्छेका लागि भरेलाई काम दिए । जसमानसँग गफको धुनमा निलकान्तले पनि चिया सुर्काइहालेछन् । “ज्या आज ग्रहण भरे ननुहाई नखाँउला भनेको बिर्सिएर खाइहालेछु ।” बुढामान्छे थक्क(थक्क गर्दै घर फर्किए ।
घर गएर नाति घर नआउन्जेल पर्खिएर बसे । आउनासाथ कम्प्युटरमा लगेर लु मलाई तेरो कम्प्युटरले म कति बाँच्छु भन्न सक्छ कि सक्दैन देखा भनेर अह्राए । नातिले किन नसक्नु भनेर फुर्ति लगायो, फटाफट गुगल खोल्यो डेथटाइम भनेर खोज्यो अनि ल तँपाईको जन्ममिति भन्नुस त भनेर सोध्यो । अनेक भर्नु पर्ने रैछ कहाँ जन्मेको, उचाई कति, तौल कति, बिवाह कहिले गरेको, छोरा छोरी कति आदि । भरिसक्नासाथ नाति चाँहिले जिस्कायोे “ल हजुरबा तँपाइको मिति आइपुगेछ, एक बर्ष भित्रमा पो भन्छ । कति पैसा छ सबै मलाई दिइहाल्नुस है ।” नाति गलल हास्दै कम्प्युटरमा बस्यो ।
आ यो संसारबाट कहिले छुट्कारा पाउने भन्ने सोचे पनि बुढामान्छेलाई त्यति छिटै मरिहाल्छु भने जस्तो लागेको थिएन । भर्खर कति ६५ बर्ष त भयो नि । अझै १०(१५ बर्ष बाँच्छु जस्तो लागेको थियो उनलाई । उनलाई असाध्य पिर प¥यो । बेलुका खाना पनि रुचेन, निन्द्रा पनि परेन । बिहान पनि सँधै भन्दा १ घण्टा बढीनै पुजापाठमा बसे, तर मन डुलिरह्यो । कम्प्युटरले १ बर्ष भन्यो तर बुढामान्छेलाई एक हप्ता पनि टिक्दिन कि जस्तो लाग्यो ।
उनलाई त्यसपछि खानापिनामा रुचि भएन, बजारसम्म जाने हिम्मत पनि भएन । सदा सर्वदा एउटा अजङ्गको कालो छायाको सन्त्रासमा उनले बिताउन थाले । अँध्यारोमा सर्लाक(सुर्लुक भयो कि लौ मलाई लिन आएछ काल भनेर उनी काम्दथे । छोरा बुहारी ले पनि हैन बालाई के भयो भनेर सोधे । के भयो भनुन्, भएको केही छैन तर बुढामान्छे फत्रक्कै गले जस्तो देखिए ।
हप्ता दिन जस्तो पछि एकदिन जसमान टुप्लुक्क आइपुगे । “हो हो हो …. हन बाजेलाइ सञ्चो भएन कि क्या हो ?” जसमानको घर थर्किने हाँसोले अलिकता उज्यालो ल्यायो उनको अनुहारमा ।
“हैन सञ्चै छ । ” उनले कुरा लुकाउन खोजे । एक मन त जसमानलाई सबै भन्दिउँकी जस्तो लागेको थियो, तर कुराको मेसो नपरिकन उनले सुनाउन सकेनन् ।
“खै बाजे त आधा जिउ हुनुभएछ गाँठे यो २(४ दिनमै । ” जसमानले निलकान्तलाई राम्रोसँग नियालेर हेर्दै भने । “हैन अनि के परेर हो त घरमै गुुम्सिनुभएको ? हो हो हो ….कि नातिको कम्प्युटर चलाएर बस्न थाल्नु भयो ?”
“नातिको नातिले नै चलाउछ, म बुढोलाई मर्ने बेलामा के को रहर ?” निलकान्तले लामो खुइःय काढे ।
“हो हो हो …..के को मर्ने बेला नि अहिले । पनाति खेलाउनु पर्छ बाजे पनाति ।”
“खै कम्प्युटरमा त त्यस्तै देखायो । अब एक बर्ष भन्दा उँभो लाग्दैनस भन्छ । ”
“हन बाजेको कम्प्युटरले जोखाना पनि हेर्छ ? ”
“हेर्दो रै’छ त भन्नु प¥यो अब ।”
“ए ल त मेरो पनि हेर्नुप¥यो । कति बाँच्ने रै’छ यो ज्यान । ल त बाजे नातिलाई बोलाउनुस् त ।”
निलकान्त र जसमान नातिको कोठामा गए ।
“हो हो हो … ए बाबु तिम्रो कम्प्युटरले त जोखाना हेर्छ अरे । ल देखाउ त मलाई, म कति बाँच्ने रै’छु ? ”
“ए जसमान काकालाई पनि के को चिन्ता अहिले मर्ने बाँच्ने को ?” नातिले कम्प्युटर चलाउँदै जिस्काउन खोज्यो ।
“हो हो हो … के कुरा गरेको बाबु ? अहिले मर्ने चिन्ता कहाँ लागेको छ, ताल परे अझै बिहे गर्ने सुर छ । हो हो हो … ।”
नाति केटाले जसमानको नालिबेलि सोध्न थाल्यो । बिहे गरेकोमा चाँहि जसमानले ’लु लु त्यो कम्प्युटरलाई बिहे गर्ने इच्छा अझै छ, मिल्छ मिल्दैन, मिल्छ भने केटी खोज्दिनु भन त’ भनेर सबैलाई हँसाए । नातिचाँहिले मिल्न त मिल्छ तर लाहुरमा कमाएको डलर माग्छ भनि दियो । हो हो हो गर्दै जसमानले लामो जिब्रो काढे ।
सबै नालीबेली भरे पछि ल काकाको मर्ने बाँच्ने जोखाना तुरुन्त हेर्दे दे त कम्प्युटर भनेर नातिले किबोर्डमा ट्वाक्क हिर्कायो ।
“यी आयो ल हेर्नुस । ” नाति केटाले स्क्रिन तिर देखायो ।
“हन बाबु के आयो यो ? सबै अंग्रेजीमा पो छ त । अनि यो मुर्कुट्टा चाँहि को नि ?” जसमानले कम्प्युटरको स्क्रिनमा देखिएको चित्रलाई देखाउदै सोधे ।
“हे हे हे ….कम्प्युटरले त काका त एक बर्ष अगाडि नै मरि सक्नु भयो पो भन्छ । यो मुर्कुटा चाँहि उमेर सकिएको देखाउने चिन्हमात्र हो । ” नाति केटाले अथ्र्यायो ।
“हो हो हो … हो हो हो । म त मरिसकेको पो भन्छ, यो मुला कम्प्युटरले । ” जसमान मुर्छा परौंला जस्तो गरेर हाँसे ।
“हत्तेरिका, यस्तो नाथे जिनिसमा पनि पैसा खर्च गर्ने ।” निलकान्तले नातिलाई हप्काए ।
“ह्याँ हजुरबा पनि त्यो त कम्प्युटरमा रमाइलो गर्ने खेल पो हो त, साँच्चैको हो र ? त्यसको लागि कम्प्युटर किनेको हो र थोरै ?” नातिले खेल भने पछि पो निलकान्त झसङ्ग भए ।
“ए खेलमात्रै हो ?”
“अनि के त ?” नाति ओठे जवाफ फर्काएर कम्प्युटरमा मस्त भयो ।
निलकान्त र जसमान बजार तिर लागे । निलकान्तले बजारमा मिठाई किनेर जसमानलाई खुवाए ।
“अनि बाजे यो मिठाइचाँहि के खुशीमा नि ?” जसमानले सोधे ।
“हो हो हो … मेरो नातिले कम्प्युटर किनेको मा । ” निलकान्तले जसमानको हाँसोको नक्कल गर्दै जवाफ दिए ।
फेव्रुअरी २१, २००४