~निर्मल ज्ञवाली~
सुचौ, चाइनाको सानो शहर । फान्कुन टोल । बिहान ७ बजे ।
मस्त निद्रामा सुतिरहेको म बाहिर ठुलो कोलाहल मच्चिएको थाहा पाएपछि जुरुक्क उठ्छु ।
“के भएछ ? कतै आगो सागो त लागेन ?” एक्लै भुन्भुनाउँछु, “केहि भएको भए त भाग्नु पर्यो नि ! ज्यान त जोगाउनै पर्यो !”
यसो झ्याल खोलेर तल गल्ली तिर चियाउँछु । मान्छेको भिड छ । यस्तै १०-१२ जना जति होलान् । हुन त यी चाइनिजहरु सल्लाह गरेको कि हल्ला, कसैलाई थाहा हुँदैन । जोड जोडले चिच्याएर बोल्छन् ।
चुरोट सल्काउँछु । “ह्या जे सुकै होस् ! समस्या त हाम्रा आफ्ना पनि छन् नि !” शान्त हुने कोसिस गर्छु ।
चुरोटको धुँवा एक सुरले आकाश तिर फ्याँक्दै झ्यालको कापमा आड लगाएर बस्छु । र बेला बेला यसो तल चियाउँछु ।
“त्यो त चुंग जस्तो छ त !” हातमा केहि समान बोके जस्तो, भिडको बिचमा उभिएको रातो टिसर्ट लगाएको मान्छे चुंग हो जस्तो लाग्छ । उसको जीउडाल र हाउभाउ हेरेर परबाट नै उसलाई म ठम्याउन सक्छु ।
सुचौ शहरमा आए देखि चुंग मेरो मिल्ने साथी भएको थियो । तर उ तिन महिना देखि हराईरहेको थियो आफ्नो श्रीमती र भर्खर जन्मेको बच्चा छोडेर ।
“यति बिहानै आएर हल्ला पो गर्न थालेछ । के भयो यसलाई ?” चुरोटको ठुटो झ्यालको डांडीमा ठोस्छु । र डस्टबिनमा फाल्छु । अनि सिढी बाट तल ओर्लन्छु ।
१४ तल्लाको घर छ, एउटा लिफ्ट पनि छैन । साला चाइनिजहरु ! बुद्दी त चाक मै हो यिनको । झनक्क रिस उठ्छ । हरेक दिन यो सिढी चढ्दा र झर्दा एक पटक चाइनिजले मेरो सराप पाएकै हुन्छन् । चुंग यो घरमा बसेको नभए म उहिले अर्को ठाउँ सरिसक्थें । सस्तो भएर मात्रै पनि त भएन नि !
***
तिन महिना अघि ।
हामी सबै जना हस्पिटलमा थियौं । एउटा खुसियाली थियो हामी माझ । मेरो मिल्ने साथी चुंगको पहिलो बच्चा जन्मदै थियो । डेलिभरी रुम बाहिर हामी सबै कौतुहलताका साथ कुरेर बसिरहेका थियौं ।
“गोंक्सी ! शी नान बाओबाओ ।” चाइनिज नर्सले बाहिर आएर निरस भावमा भनी ।
म त एक्कस्सी तर्सिएँ । लाग्यो, बर्बादै भएछ । नर्सले निन्याउरो पाराले भनेकि थिइ ।
तर यता चुंग खुसीले उफ्रिन थाल्यो । “बधाई छ ! छोरो जन्मियो ।” उ नर्सले भनेको कुरा दोहोर्याउदै थियो । मैले बल्ल बुझें ।
कहिलेकाहीं त यी चाइनिजहरु कृत्रिम डल जस्ता लाग्छन्, हाँस्दा पनि रुंदा पनि कुनै इमोसन नै छैन अनुहारमा । ढुंगाको मुर्ति जस्तो । छोरा जन्मिएको खबर सुनाउँदा नर्समा अलिअलि खुसीको भाव त आउनु पर्ने हो नि !
तर चुंग भने अलि फरक थियो । मलाइ यो चाहिं चाइनाको एउटा सच्चा मानव हो भन्ने कुरामा कुनै शंकै थिएन । उ खुसीले उफ्रदैं थियो, “छोरो जन्म्यो । छोरो ।”
नेपाल, भारतमा मात्र छोरोको यत्रो मोह होला भनेको चाइनामा पनि उस्तै रैछ ! म गम खाँदै थिएँ । मान्छेको मन जहाँ गएपनि त्यस्तै ।
हामी सबै हतारिंदै भित्र पस्यौं ।
तर जब उसले छोराको अनुहार हेर्यो उसको अनुहारमा एक्कासी कालो बादल मडारिन थाल्यो । बेडमा उसकी श्रीमती एक तमासले अर्को तिर फर्केर रुँदै थिई ।
लाग्यो, अब कहानीमा ट्वीस्ट आयो । पक्कै छोरो जन्मने बित्तिकै माथि गएको हुनुपर्छ !
कन्फर्म गर्न नजिकै गएर हेरें । उ त हात खुट्टा चलाउँदै थियो ।
तर एउटा कुरा भने अचम्मको थियो, छोरो त हाँडी जस्तो कालो पो थियो !
बाउ आमा दुवै हिउँ जस्ता गोरा, छोरो चाहीं अँगार जस्तो कालो !
मलाई त हाँसौ कि रुवौँ भयो । त्यो हाँडीको अनुहार हेरेर त जोड जोडले हाँस्न मन लागेको थियो, तार्कासुर हाँसे जस्तो । तर हाँसिन ।
यता चुंगका बुढाबुढी मुर्छा पर्दै थिए । सायद उसको ठाउँमा म भएको भए पनि यस्तै हुने थिएँ होला ।
साँच्ची, यस अघि मैले जिन्दगीमा कालो चाइनिज देखेको थिइन । र, सुनेको पनि थिइन ।
***
उनीहरुको जिन्दगीमा क्षणिक खुसी संगै तनाव र वेचैनीले पनि प्रवेश गर्यो ।
हस्पिटलबाट घर गएको दिन उनीहरु रात भर झगडा गरे ।
म एकै छिन सुनें । अनि आफ्नो कोठा तिर फर्कें । अब त्यसमा मैले बोल्न मिल्ने कुरा केहि पनि थिएन । उसैकी बुढी कुनै कोइला खानीमा पोल्दा पोल्दै उछिट्टीएको हप्सीसँग सुतेकी पो थिइ कि?
मलाई त त्यो हाँडीको अनुहार सम्झेर अझै हाँसो छुटीरहेको थियो । कालो पनि कस्तो निख्खर कालो ! कुनै मिसावट नै छैन । टिलिक्क टल्कने । जोनी लिभरलाई पनि जितेछ ।
सोच्दै थिएँ, त्यसको दाँत कस्तो आउँछ होला ? सेतो आए त ठिकै छ, दाँत पनि उ जस्तै कालै आयो भने अँध्यारोमा त ठ्याक्कै हराउँछ त ! नेपाल त लानै नहुने भो, दिनमा १२ घण्टा लोड सेडिंग हुन्छ । कोठामा दिउँसै हरायो भने कसरी खोज्नु?
अझ जब स्कुल जान थाल्छ, त्यसपछि अरु केटाकेटीले के भन्लान् ? गोरा चाइनिजहरुको बिचमा एउटा कालो डल्लो । ‘भुत आयो ! भुत !!” भन्दै स्कुलमा सबै केटाकेटीको भागा भाग हुने होला । क्लासमा बसिहाल्यो भने पनि उसको छेउँमा को बस्छ होला ? जो बस्छ रात भरि सपनामा पनि तर्सिने होला ।
मलाई त यो सबै दृश्य सम्झेर हाँसो उठ्यो । कोठामा एक्लै बसेर पेट मिची मिची हाँसे ।
अर्को अचम्मको कुरा के पनि थियो भने त्यो हाँडीको वर्ण मात्रै कालो, तर अनुहार त ठ्याक्कै चाइनिज जस्तै थियो । चिम्सा आँखा, थेप्चो नाक, पातलो ओठ, गोलो अनुहार । त्यसको अनुहास सम्झ्यो कि झन् हाँसो उठ्यो । आयो कहाँ बाट यो ?
मेरो लागि मजाक भएर के गर्नु, उनीहरको फ्यामिलीमा एउटा गम्भीर तनाब फैलियो ।
***
उनीहरुको वास्तविक घर डाटोंगमा थियो । जुन चाइनाको एउटा गाउँमा पर्थ्यो । उनीहरु एउटै गाउँमा हुर्किए । लभ पर्यो, बिहे गरे । सुनौलो भविष्यको खोजीमा शहर आए । अब यतै घर लिने र स्थायी बसोबास गर्ने मनसाय थियो । दुवै मेहनत गरेर पैसा जम्मा गर्दै थिए ।
अर्को समस्या के पनि थियो भने, चाइनाको शहरमा एउटा भन्दा बढी बच्चा जन्माउन पाँइदैन । त्यसैले छोरा नजन्मेला कि भन्ने तनाब दुवै लाइ थियो ।
छोरा त जन्मियो तर कसैलाई मुख देखाउन नमिल्ने मकै भुट्ने हाँडी जस्तो !
नखाउँ भने दिन भरिको शिकार, खाउँ भने कान्छा बाउको अनुहार । नेपाली उखान यी चाइनिजलाई ठ्याक्कै मिल्यो ।
चुंगलाई अब छोरा कालो भएको मात्र पिर भएन कि उसकी श्रीमती माथि नै शंका लाग्यो । उसलाई लाग्यो यो सबै यसले अरु कुनै काले संग सुतेको कारणले हो । सोचेंर निराश भयो । लाग्यो, अब घर नै भताभुंग भयो । सबै सपनाहरु खरानी भए ।
राती एक बजे तिर उ मेरो ढोका ढकढाक्याउन आयो ।
“काजी, तैंले मेरो बुढीलाई कोही अफ्रिकनसंग हिडेको देखेको थिइस् ?”
उ पसिनै पसिना भएको थियो । लाग्थ्यो, एकदमै हतारमा छ ।
आफ्नो साथीलाई यस्तो रुपमा देख्दा उदेक लागेर आयो । सोचें, “सादी बर्बादी भन्थे, हो रैछ । यो विहे गरेपछि मान्छे कति लफडामा फाँस्छ है ! एकपछी अर्को समस्या थपिंदै जाने ।” आफु एक्लो भएको सम्झेर पनि आनन्द लागेर आयो ।
अर्काको दुख देख्यो कि आफुसंग तुलना गरेर खुसी भइहाल्ने मान्छे को जात ! के गर्नु समाजबाट सिकेकै त्यहिं हो |
“हेर तँ यहाँ बस्न लागेको पनि दुई बर्ष भईसक्यो । तँ प्राय दिन भर घरमै हुन्छस् । तैंले मेरो कोठामा कोहि आउने जाने गरेको देखेको थिइस् ?” उ रिसाउँदै एकोहोरो भएर भन्दै थियो |
मेरो छाला पनि कालो भएको भए त चुर्लुम्मै डुब्ने रैछु आज ! यसले एकै चोटमा यहीं सिध्याउँथ्यो होला मलाई । यिनीहरुको कोठा नजिक भएको विदेशी मै थिएँ ।
जिन्दगीमा पहिलो पटक गोरो भएकोमा गर्व महसुश भयो । हिन्दी फिल्ममा हिरोइनहरु हिरो भनेको त ब्ल्याक, टल एण्ड हेन्डसम हुनुपर्छ भन्थे । आफुलाई पनि केटा भनेको त कालै हुनुपर्छ जस्तो लाग्थ्यो । तर त्यो हाँडी जस्तो कालो पनि होइन ।
म अक्क न बक्क भएर टाउको हल्लाउँछु ।
हिजो सम्म कति मिलेर बसेका जोडीहरु हेर आज आफ्नै प्रेमिकालाई उ यस्तो आरोप लगाउँदै छ ।
“हेर, म यसै भताभुंग भए, उसै भताभुंग । म कसैलाई छोड्दिन । प्लिज तँ मलाई हेल्प गर । म बौलाई सकें ।”
उ एक्कासी रुन थाल्यो ।
अब यो पागल हुन्छ, मैले चाल पाईसकेको थिएँ । मैले केहि गर्नै पर्ने थियो ।
उसको हात तानेर खाटमा बस्न इशारा गर्दै भनें, “हेर, मेडिकल्ली हेर्ने हो भने यस्तो हुनुमा उ अरुसंग सुतेकै हुनु पर्छ भन्ने छैन । तिमीहरु दुवै मध्ये कसैको पुर्खा कालो भयो भने बच्चा यस्तो हुन सक्छ । यसमा तैले शंका नै गर्न मिल्छ भन्ने छैन ।”
“र, तेरो छोरोको अनुहार फेरी ठ्याक्कै तिमीहरुकै जस्तो छ |” मैले यसो कुरा मिलाउँदै भनें । खासमा भन्ने हो भने भर्खर जन्मेको बच्चाको अनुहार मलाई आलुको डल्लो जस्तो लाग्छ । केहि कुराको सेप बनेकै हुँदैन, कहाँ कोसँग मिल्छ खुट्टयाउन सक्नु !
तर, म यहाँ मेडिकल डाक्टर पढिरहेकोले उ मलाई विश्वास गर्थ्यो । हेल्थ सम्बन्धि केहि समस्या भयो कि पहिले सिधैं म कहाँ आउँथ्यो ।
कहिले बुढीको पिरड भएन के गर्ने भन्न आउथ्यो । कहिले छिटो भयो भन्दै आत्तिएर आउँथ्यो । कहिले कुन कन्ट्रसेप्टिभ राम्रो हुन्छ भन्थ्यो ?
एक दिन त बुढी प्रेग्नेनेट भएपछि छोरा हो कि छोरी यसो हेरेर पत्ता लगाइदे न भन्दै आइपुगेको थियो । पछिसम्म पनि दुबैले मलाई बार-बार त्यहीं प्रश्न सोधे । पछी इन्टरनेटमा हेरेर आमाको पेटको सेप गोलो खालको भयो भने छोरो हुन्छ भनेर लेखेको छ भन्देको थिएँ । त्यो कुरा उनीहरूकोमा अलिअलि मिलेको थियो । त्यो दिनबाट उनीहरु मसंग झनै खुसी हुन थालेका थिए । कति पटक त डिनरको लागि पनि बोलाउथें ।
उ एकैछिन टोलाएर बस्यो ।
“हेर, अहिले तैंले आवेशमा आएर केहि नगर । यो पुर्खाको जीनको कारणले पनि हुन सक्छ ।” मैले उसलाई सुझाउदैं भनें, “र यदि तलाईं तेरो बुढी माथि शंका नै छ भने त्यसको एउटा उपाए छ । बच्चाको डी.एन.ए टेस्ट गर्ने । तर त्यो सारै महँगो छ । यहाँ हुँदैन । सांघाई जानुपर्छ ।”
उ मलाई ट्वाल्ल हेर्यो र उठेर गयो ।
त्यस दिन पछि उ लापता भयो ।
अर्को दिन बिहान बुढी आएर राती देखि घरमै आउनु भएको छैन भनेपछि मैले थाहा पाएँ । उ मेरो कोठा बाट उठेर अन्त कतै गएछ ।
***
“म यसलाई घरमा राख्दै राख्दिन ।” चुंग कराउँदै थियो । उसको हातमा तिन महिनाको छोरो थियो ।
वरिपरी मान्छेहरु उसलाई रोक्न खोज्दै थिए । उसकी बुढी मौन रहेर चुंगलाई हेर्दै थिई । सायद उ पनि मौन स्विकृती जनाउदै थिई ।
म अल्लमल्लमा परें । खासमा भएको के रैछ? यत्रो दिन कहाँ हराएको रैछ चुंग ? अनि अहिले के गर्न खोज्दैछ ?
मलाई शान्त भएर बोलेको बेला त चाइनिज भाषा बुझ्न हम्मे-हम्मे पर्छ । अब यो झगडा कसरी बुझ्नु?
लियांग छेउमा उभिएर चुरोट तान्दै थियो । उ चुंगको साथी, त्यहीं घरमा बस्थ्यो । कहिलेकाहीं चुंगकोमा गएको बेला आक्कल झुक्कल भेट पनि हुन्थ्यो ।
म छेउँमा गएर उभिएँ । अर्को चुरोट सल्काएँ ।
“नि हाओ” मैले लियांगलाई हेलो भनें ।
“के गर्न खोजेको उसले ?” मैले चुंगतिर बताउँदै भने, “कहिले आइपुगेछ उ? मैले त थाहै पाइन ।”
“भर्खरै आएको रे ! आफ्नो र बुढीको गाउँ गएछ । शाखा सन्तान भेटेछ । वितिसकेका खान्दानको फोटो पनि हेरेछ । बा, आमा, हजुरबुवा, हजुरआमा सबैलाई सोधेछ । उनीहरुको शाखा सन्तानमा कोहि कालो थिएन रे !” लियांग भन्दै गयो ।
“उनीहरुलाई थाहा हुनुभन्दा अघि कोहि हुनसक्छ नि ! जीन भन्ने कुरा पुस्तौं पुस्ता सम्म रहिरहन्छ ।”
लियांग अलि रिसाएर भन्यो, “तपाईंले कहिल्यै कालो चाइनिज देखेको छ? वाइयात कुरा । चाइनिज कालो हुँदैन जानिराख्नुस् ।”
“सरी, मैले त यत्तिकै सोधेको ।”
उ अलि शान्त देखियो ।
“अनि त्यसपछि के भएछ ?”
“त्यसपछि उ इमिग्रेसन अफिसमा गएछ । त्यहाँ उसका मामा काम गर्छन् । एक बर्ष अघि देखि कोहि अमेरिकन, अफ्रिकन काला मान्छे यो शहरमा पसेका छन् भनेर सबै फाइल पल्टाएर हेरेछ । दुइ हप्ता लगाएर सबै फोटो र फाइल हेरेछ । त्यस्तो कोहि मान्छे शहरमा आएकै छैन । यो सानो शहरमा को आउँछ जान्छ सबै रेकर्ड हुन्छ । अझ चाइनामा यस्तो कुरा एकदमै कडा छ । तर कोहि भेटेनछ ।”
मलाइ आश्चर्य लाग्यो । मान्छेलाई एउटा कुराले कति सम्म पिरोल्न सक्छ है !
उमाथि दया लागेर आयो ।
“अनि अब के गर्ने भयो त?”
“त्यहीं टेन्सन भएको छ दुबैलाई । उनीहरु यो कालो बच्चाले गर्दा एक अर्कालाई गुमाउन पनि चाहदैनन् ।”
भिड अलि शान्त हुदैं थियो । मैले बुझ्ने र बोल्ने कुरा त केहि थिएन । यिनीहरु अब के गर्छन् भन्ने कुराको कौतुहलता मात्र थियो ।
“अनि यो ठाउँमा फेरी दुइटा बच्चा जन्माउन पाइदैन । एउटै मात्र सन्तान, त्यस्तो कसरी स्वीकार गरुन बिचाराहरु?” लियांग चुरोटको ठुटो खुट्टाले कुल्चदै भन्यो । र, अन्तिम धुवाँ आकाश तिर उडायो । धुवाँ बटारिंदै माथि गयो र हावामा विलिन भयो ।
कुरा सहि नै थियो । एउटा छोरो त्यो पनि त्यस्तो कसरी स्वीकार गरून बिचाराहरु ? सरकारले पनि किन यस्तो नियम लगएको होला | सायद अर्को बच्चा जन्माउन पाउने भए यिनीहरु यस्तो टेन्सनमा आउने थिएनन् होला | मलाई त दोष त सरकारको पो लाग्यो !
अन्तिममा भिड शान्त भयो । सबै छेउछाउँ तिर लागे ।
चुंग र उसकी बुढी छोरो बोकेर सिधै अगाडि गल्ली तिर हानिए ।
***
साँझ, यो टिभीहरुको समाचारको विषय बन्यो । सबै च्यानलले अप्रत्याशित घटना भन्दै प्रकाशित गरे । मैले सबै समाचार स्पष्ट त बुझिन । यति थाहा पाएँ, यो समस्या राष्ट्रिय विषय बन्यो ।
अर्को दिन सबै पत्रिकाहरुमा हाँडीको फोटो आयो । एकै छिन त्यसलाई हेरेर म मरीमरी हाँसे, “हाँडी त पपुलर भयो यार !”
आफैलाई हेरेर रिस पनि उठ्यो । बच्चालाई हेरेर म खिल्ली उडाउदै थिएँ । म कस्तो भावना नभएको मान्छे? तर के गर्नु, त्यसको अनुहार नै त्यस्तै छ । जोनी लिभरलाई हेरेर इन्डिया हाँसे जस्तो आज यो हाँडीलाई हेरेर पुरै चाइना हाँस्यो होला । फेरी हाँसो उठ्यो ।
दिउँसो दुई बजे तिर ।
चुंग र उसकी बुढी लुखुर लुखुर हिंडेर आउँदै देखिए । म युनिभर्सिटी जानको लागि चुरोट तान्दै घरबाट निस्कदै थिएँ ।
के बोलुं, के नबोलुं भयो ।
तै पनि पुरानो साथी सोध्नै पर्यो ।
“के निर्णय गर्यौ त ?”
चुंगले निराश स्वर बनाएर भन्यो, “हामीले बुझाएर आयौं?”
“कसलाई ?” म अचम्ममा परें ।
“चाइनिज सरकारलाई” उ अलि उत्तेजित भएर भन्यो, “कालो चाइनिज पनि हुन्छ भनेर तपाइँले कहीं सुन्नु भएको छ । न पहिले कुनै बंशमा थियो, न अहीले छ, न भविष्यमा हुनेछ ।”
उ रिसले दारा किट्दै थियो । लाग्थ्यो, उसको रिस अब आफ्नी बुढी र आफ्नो बंश माथि नभएर सरकार र माथिको भगवान उपर छ ।
हामीले सिधै गएर छोरो उनीहरुको हातमा थमाएर भन्यौं, “यो हाँडी हामीलाई चांहिदैन तिमीहरु नै राख । तिमीहरु नै अनुसन्धान गर ।”
(स्रोत : रचनाकारको ब्लगबाट सभार)