कथा : म कहाँ मरेको छु र ?

~राजन थापा~

‘लौ लौ अबेर नगरौँ, भरे अबेर हुन्छ’ मेरा मलामी हतार गरिरहेका छन्् । मलाई भने तुलसीको मोठ छेउमा टाउको दक्षिण, खुट्टा उत्तर पारेर सुताएका छन्् । एउटा पातलो कपडा ओढाएका छन्् । टाउको छेउमा अगरबत्ती बालिदिएका छन्् र वातावरण सुवासमय भएको छ । मेरा आफन्त रोइरहेका छन् । कराइरहेका छन् । कोही मेरा गुणको चर्चा गरिरहेका छन् । बाँचुञ्जेल मेरा अवगुण मात्र देख्नेले मरेपछि मेरा सबै गुणमात्र देखिरहेका छन् । ‘यति छिट्टै मर्ने मान्छे त होइन । भगवानले पनि राम्रै मान्छेलाई मात्र चाँडै लैजान्छ । विचरा आँखामा हाल्दा पनि नबिझाउने, साह्रै जाति ।’

के–के हो के–के ? मलामी आउने क्रम जारी छ । कोही पुरेत खोज्न कुद्दै छन् त कोही हरियो बाँस खोज्न । कोही लाहा भुट्दैछन् त कोही शंख बजाउँदैछन् । घाट लैजाने तयारी हुँदैछ । म आँगनको एक कुनामा बसेर आफैँलाई घाटमा लैजान लागेको दृश्य हेरिरहेछु । जसलाई हिजो म भन्थेँ, त्यो म त मेरो आत्मा रहेछ र म जसलाई माया गर्थेँ, त्यो केवल मेरो शरीर रहेछ । यसबेला म बाँचेको र शरीर मरेको छ । हिजोसम्म मेरा आफ्ना र आफन्त अनि शुभचिन्तकले मलाई हैन म रुपधारण गरेको मेरो शरीरलाई माया गरेका रहेछन् । ख्याल गरेका रहेछन् । म आफैँले पनि मेरो शरीरलाई माया गरेको रहेछु । म को थिएँ र किन आएँ अहिले बुझ्दैछु । म हिजो पनि एउटा आत्मा रहेछु र आज पनि शेष आत्मामै रहेँ । म कहाँ मरेको छु ? तर के गर्ने यी बाँचेकाहले मलाई मरेको ठानी रुवाबासी गरिरहेका छन् ।

म सबैलाई देखिरहेको छु । छुन खोज्छु र बोल्न खोज्छु तर सुन्दैन कसैले । मलाई मर्न र बाँच्नुमा केही फरक छैन किनकी म त सबै देखिरहेकोछु र सबैसँग पहिले जस्तैगरी रमाइरहेकोछु । एउटा भौतिक शरीर पो छैन मेरो । आत्मा त मसँगै छ । बाँच्नेहरुले पो मलाई बिर्सेछन् किनकी जीवित हुँदा आत्माको वास्ता हुने र मरेपछि शरीरको ।

बिस्तारै मेरो लास हरिया बाँसमा कसिँदैछ । यसबेला सबै दुःखी देखिँदैछन् । हिजोका मेरा दुश्मन, शत्रु पनि शोकाकुल भएजस्ता देखिन्छन् । मलाई सत्तोसराप गर्ने पनि भावुक देखिन्छन् ।

यसबेला सबैभन्दा भावुक र पीडित मेरी प्रेमिका अनामिका देखिन्छे । ऊ पनि मेरो मृत्यु संस्कारमा मलामी जान आएकी छे । म उसको नजिक जान्छु र छुन खोज्छु तर उ भक्कानिएकी छे । भित्रभित्रै रोइरहेकी छे र कसैलाई आफ्नो प्रेमको अवसान भएको कुरा खुलेर व्यक्त गर्नसकेकी छैन । म भने एकतमास सबै दृश्य हेरिरहेको छु । मेरी अनामिका जस्तो लगाए पनि सुहाउने आज एकरत्ति सुहाउँदी लागिरहेको छैन । किन हो कुन्नि मलाई उसको बढी माया लागेर आयो । म उसलाई सँगै लिएर जान चाहन्छु । चिच्याउँछु, कराउँछु तर अहँ उसले सुन्ने हैन । विचरी अनामिका, म जीवित हुँदा बेहद माया गर्थेँ । मलाई एउटा नकाटेको चिठ्ठा थिई अनामिका । मैले उसलाई मनभर माया दिएर आफू उसमा समर्पण गरेको थिएँ तर, उसले मेरो त्यो मायालाई वास्ता गरेकी थिई वा बेवास्ता मलाई कहिल्यै थाहा भएन तर मलाई ऊ मेरै हो लाग्दथ्यो । मप्रति नै समर्पित छे जस्तो लागेको थियो । नभनेकी मात्रै त होला भन्ने ठानेको थिएँ । तर आज एक्लै छु म र ऊ पनि एक्लै छे । हिजो जस्तै ।

आज म उसलाई देख्छु तर उसले म भनेर मेरो लाश मात्र देखिरहेकी छे । हरेक दृश्यमा मैले अनामिकालाई देखिरहेकोछु र अनामिकाको दृश्यबाट म हराइसकेको छु । एकहोरो शंख बजिरहेको छ र मलाई सेतो कपडाले बेरिसकिएको छ हरियो बाँसमा । अब पुरेतले केही विधिहरु गरेपछि मलाई घाटतर्फ लाने छन् र म हेर्दाहेर्दै खरानी हुनेछु । तब मेरो आत्मा एक्लो हुनेछ । म उनैलाई पछ्याउँदै आउन सक्छु कि सक्तिनँ थाहा छैन । एकपटक मर्ने हो । मरेको छु । बाँचेकासँग छुट्टिएर एक्लै वन बुट्टामा बस्ने होला यो आत्मा । भौतारिँदै ।
मेरो आत्मारुपी मन चसक्क भयो । अब म मेरी प्रेमिकाको साथमा रहन नपाउँने भएँ भनेर । कलेज पढ्दा भेट भएको थियो अनामिकासँग । गुलाबी रंगको कुर्ता, सेतो सुरुवाल र सेतै सलमा अत्यन्तै खुलेकी थिई । कपाल लामो थियो र एक फन्को फनक्क माथितिर बटारेर बाँधेकी हुन्थी । गोलो, बाटुलो अनुहार थियो र चिउँडोमा सानो खत थियो । हाँस्दा खोपिल्टो पर्ने देब्रे गाला साँच्चै मनमोहक लाग्दथ्यो उसको त्यो रुप । यति राम्री केटी जीवनमा पहिलोपटक देखेको थिएँ ।

म पहाडबाट आएको गाँउले केटो । खुट्टामा हात्तीछाप चप्पल । जडौरी पाइन्ट र सर्ट मेरो आङमा कतै मिलेका थिएनन् । त्यो समयमा उसलाई मन पराएको थिएँ । उसले के गर्दथी थाहा थिएन । हातमा २ वटा कुटको गाता भएको कापी बोकेर उसको पछि लाग्थेँ र उसको नजिक हुन खोज्थेँ । ऊ भने तर्की तर्की हिँड्थी । ऊ केटी साथीको संगतबाट छुट्दिन थिई र छुट्नेबित्तिकै आफ्नै घर पुग्थी । प्रेम भन्ने चीज कस्तो अव्यक्तताबाट सुरु हुन्छ र कहिलेकाहिँ अव्यक्ततामै अन्त पनि हुँदोरहेछ ।
दुईटै आत्माले चाहँदा चाहँदै पनि प्रेम अनायस गुम्न पुग्दोरहेछ । यस्तो कठिन परिस्थितिबाट म पनि गुज्रिरहें । उनलाई के हुन्थ्यो मलाई थाहा नहुने । साँच्चै म कति माया गर्थेँ उनलाई तर आज ऊ मेरो मृत्युको खबर सुनेर दौडेर अव्यक्त प्रेमको खातिर आँशुको बलिदानी दिन आइपुगेकी छे । चिउँडोमा हात राखेर सुँक्कसुँक्क गरिरहेकी छे । सबैको ध्यान मेरो लाशमाथि र म मरेको प्रति भएकाले ऊ को हो ? र किन रोई कसैलाई मतलब थिएन ।

मैले कलेजको एउटा कार्यक्रममा भनेको थिएँ ‘जब तिमीलाई कसैले धेरै चाहन्छ, त्यतिबेला तिमीले बुझ्न सक्दिनौ, जब तिमीले बुझ्न थाल्छेउ त्यतिबेला धेरै ढिला भइसकेको हुनेछ र ऊ तिमीबाट धेरै टाढा भइसकेको हुनेछ । फेरि तिम्रो जीवनमा आउनै नसक्ने गरी ।’ त्यो तिमी तिनै अनामिका थिइन् र कसै म स्वयं थिएँ । उसले विद्यार्थीको अघिल्लो पंक्तिमा बसेर मलाई नै सुनिरहेकी थिई । मनमा के लिएकी थिई, मलाई कहिल्यै भनिनँ । मैले त्योबेला भनेको थिएँ, ‘तिमीभन्दा पहिला म मरेँ भने मर्नुभन्दा पहिले १ चम्चा पानी पिलाइदिनु, समसान घाटमा जलाउनु भन्दा पहिला १ थोपा आँशु झारी दिनु है प्रिय, तिमीलाई शुभकामना छ ।’
यसरी मैलै जिन्दगीदेखि साह्रै बिरक्तिएर त्यो भनाइ राखेको थिएँ । उसले कति बुझी या बुझिनँ, थाहा भएन तर आज हामीबीच समयले निकै खाडल बनाइदियो । निकै ढिलो भयो अब ।

म अनामिकालाई धेरै माया गर्थेँ र थाहा भयो विचरी अनामिका पनि मप्रति हुरुक्कै हुँदिरैछे । अनामिकाको त्यति राम्रो आँखाबाट आँसु बगिरहेको छ । सब मलाई हेरिरहेका छन् । म अनामिकालाई हेरिरहेको छु । आज म मरिसकेको छु र म मरेकोमा ज्यादै खुसी पनि छु । म मरेर दाम्लोबाट फुकेको गाई, सर्पको मुखबाट उम्केको भ्यागुतो र जेलबाट छुटेको कैदी जस्तो भएको छु । मेरा आफन्त एकतमास रोइरहँदा म भने खुसी भएको क्षण सायदै यही होला ।

दृश्य हेरेर मलाई पटकपटक जन्मन र मर्न मन लाग्यो । वास्तवमा मान्छे कहाँ मर्दोरहेछ र मेरो शरीरमात्र मरेको छ । म सब देखिरहेछु तर पनि यस्तो नाथे शरीर छाड्न मानिस किन डराउँछ ? यतिखेर मेरो लास कति शान्त छ । रेडियोबाट नारायणगोपालको ‘म मुर्दा भएको तिमी आज हेर’ गीत बजिरहेको सुनिन्छ । मृत्युमा के मिसिएको हुँदैन ? मरेको मान्छेको अनुहारबाट मायाका किरण निस्कन्छ । त्यसैले मृत्युमा माया हुन्छ । करुणा निस्कन्छ । त्यसैले सबै मेरा आफन्त रोइरहेका छन् र बिलौना गरिरहेका छन् । मलाई भने यो संसारको कुनै तनावरहित मानिस कोही छ भने ममात्र छु, जस्तो लागिरहेछ ।

मेरो लासको डोली घाटतर्फ लगिंदैछ । मलाई जलाउन । कसैले मेरो डायरीमा जतनसाथ राखेको मान्यता हुमागाईले लेखेको एउटा गजलको कागज अनामिकालाई दिइरहेको छु । त्यहाँ लेखिएको थियो ‘भोलि बिहानैको समाचार हुनेछ मेरो लास तिमिलाई उपहार हुनेछ । पक्कै यादहरुले सताउन खोज्ला, आँसुहरुको वर्षात लगातार हुनेछ । म हुनेछैन तिम्रो साथमा तर पनि तिम्रा अधुरा सपना साकार हुनेछ । कोही अंगाल्नै पर्ने समय आइदेला भनन प्रिय तिम्रो के विचार हुनेछ ? तिमी रोउला सायद अरु रमाउलान् मलामीलाई आगो लगाउन हतार हुनेछ ।

(स्रोत : Ruprekha)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.