~बिकास आचार्य~
उन्नाइस पुरा भएर बिस लाग्ने बित्तिकै इशालाई परिवारका जेठा–बाठाहरु अनी छरछिमेकका महिलाहरुले बिहेको उमेर भयो भनेर जिस्काउन थालेका थिए । साथीसंगीले पनि बाँकी राखेका थिएनन् । बिहे गर्नु पर्छ भन्ने कुरा पनि कहींकहींबाट आइरहन्थ्यो । पल्लो घरकी छिमेकी दिदिले उसलाई भेटेपिच्छे गाँउमा आफ्नो मामाको छोरा उसलाई जोडी मिल्ने खालको छ भनेर जिस्काउने पारामा बिहाको प्रस्ताव राख्थिन । घरमै पनि बुढी भै सकेकी हजुरआमा गम्भीर मुद्रामा उसलाई बिहाको लागि उक्साउने गर्नु हुन्थ्यो । त्यो मर्ने बेलामा नातिनीको बिहा हेरेर मर्ने वहाँको प्रवल इच्छा हुन सक्थ्यो । तर कालले वहाँको यो इच्छा पुरा हुन दिएन । पोहर साल मात्रै एक हफ्ताको बिरामीले गर्दा वहाँले जीवनको बाटोमा आफुलाई अगाडि डोर्याउन सक्नुभएन । मन भरी नातिनिको बिहे हेर्ने इच्छा दबाएर हजुरआमाले संसार छोड्नु भयो ।
आज बिहान रेडियो स्टेशनमा काम गर्न जान तयार हुँदै गर्दा आमा आएर त्यस्तै कुरा गर्न थाल्नु भएको छ । वास्तवमा इशा श्रींगार त्यती गर्न नरुचाउने नै हो । आज पनि मात्र आँखामा गाजल लगाएर ऐना सामु कपाल कोर्दै बसेको बेला आमाले उसलाई भन्नु भएको कुराले उसलाई अचम्म लागेन ।
“कती सारो नक्कल पार्नु परेको हो यसलाई ।”
कपाल कोर्दै गर्दा आमाले भन्नु भयो ।
“कहाँ नक्कल पारेको छु आमा , घर बस्दा पो जस्तो भएर बसे पनि भयो बाहिर जाँदा त अली सफा सुघ्घर हुनै पर्यो नि । अली कपाल पनि कोर्नै पर्यो । त्यती मात्र त गरेको छु नि । ” उसले स्पष्टिकरण दिइ ।
“हो नि अब तँ पनि ठूली भइस्, मंसिर देखी त चौबिस बर्ष लागिस नि । तेरो पनि अब बिहे गर्ने उमेर भयो ।” आमाले केश मुसार्दै भन्नु भयो ।
“धत आमा पनि १ अरुले त जिस्काउँथे नै अब तपाईं पनि त्यस्तै कुरा गर्न थाल्नु भयो ।” उसले जवाफ फर्काइ । तर बिहाको कुरा आमाले नै गर्दा भने उसको मुख रातो भयो । उ रोमान्चित भइ । एउटा नौलो तरंग शरीरको सम्पूर्ण अवयवमा रक्त संचार सँगै प्रवाह भयो ।
“तेरो दाईलाई पनि तेरो बिहाको चिन्ता छ । आमा, अब बहिनी ठूली भइ भनेर बिहान मलाई भन्दैथ्यो । ” दाई पनि उसको बिहा गर्न हतार गर्दैछ भनेर आमाले घुमाएर भनेको उसले बुझीहाली ।
उसको दाई उ भन्दा झण्डै चार बर्ष जेठो हो । घर सम्हालेको छ । सानै उमेर देखी व्यवहारले थिचेकोले होला उसलाई जहिले पनि घर अनी परिवारको नै ज्यादा फिक्री हुन्छ ।
इशालाई उसको बाबाको त्यती सम्झना छैन । बाबालाई सम्झन खोज्दा मानसपटलमा हो कि जस्तो एउटा धुमिल छाँया मात्र आउछ । आमा भन्नु हुन्थ्यो उ मात्र दुई बर्षकी हुँदा निर्दयी बिधाताले उसको शिरबाट बाबाको हात उठाइ लगेकोथ्यो । आमाले नै दाजुबहिनीलाई बाबा समेत भएर हुर्काइ बढाइ आजको अवस्थामा ल्याउनु भएको थियो । एउटी महिलाले ठुलो हिम्मतका साथ छोराछोरीलाई पढाई लेखाइ लायक बनाउनु भएको थियो । इशा यसै कारणले आमालाई कहिले दु:ख हुने कुरा गर्दिन थिइ । झन उसको दाई त बुझ्ने भए पछी देखी नै परिवारको प्रमुख व्यक्ती भएको थियो । सानै उमेरमा ठूलो काम गर्न उसले कहिले हिम्मत हारेको छैन । आय आर्जन देखी परिवारको सबै जिम्मेवारी दाईले नै लिएको छ । सँगैका साथीभाईले जीवन रमाइलो गरेर बिताइ रहँदा पनि उसलाई घरव्यबहारले नै फुर्सद हुँदैन । त्यैपनी त्यसैमा रमाइरहेको छ उसको दाई । हुन पनि त हो नि परिवारको साथमा जुन मजा छ, आमा र बहिनीको खुशीमा जुन सन्तुष्टी छ त्यो अरु केमा छ र ?
आफ्नो दाईको यो जिम्मेवारी र परिवारलाई भरथेग हुन्छ भनेर इशाले पढाई सँगै पत्रकारितालाई पनि अगाडि बढाइरहेकी छे । अरु धरै केही गर्न नसके पनि आफूलाई चाहिने खर्च उ आफंै कमाउँछे । कहिले काहीं साह्रोगाह्रोमा घरमा पनि सहयोग गर्न सकेकी छे । स्थानिय रेडियोमा रेडियो पत्रकारको रुपमा उ काम गर्छे । एउटा छापा पत्रिकामा पनि उसले समय दिइरहेकी छे । महिलाहरु कम नै आकर्षित भएको यो क्षेत्रमा उसलाई सबैले चिन्छन । काम सिकाउने धेरै छन , उसलाई पनि अझ धेरै सिकेर पत्रकारिताको जगतमा नाम कमाउने धोको छ । स्नातक अध्ययनरत इशा आफ्नो भबिष्य आाफै उज्ज्वल बनाउन कुनै कसर बाँकी राख्न चाहन्न । मिहेनती र मिलनसार स्वभाव भएको कारण कसैलाई पनि उसको आलोचना गर्ने मौका मिलेको छैन ।
सधै बिहान खाजा खाएर रेडियो स्टेसन जाने उसको दैनिकी नै भइसकेकोले आज बिहान पनि उ तयार हुने क्रममा आमाले उसको बिहाको प्रसंग घुमाएर निकल्नु भएको थियो । आमाको मन न हो बढेकी छोरीको सधैं चिन्ता हुन्छ । एउटा गतिलो केटो खोजेर बिहे गर्दिन पाए ढुक्क हुन्छ भन्ने उसको आमाले मात्र हैन, हरेक आमाहरुले सोच्ने गरेका हुन्छन । दाईले पनि उसको बिहेको चिन्ता गर्दै छ भनेर आमाले भनेपछी उसले पनि आमालाई भनी –“दाईको बिहे पो पहिले गर्नु पर्ने हो त , भाउजु आएपछी तपाईंलाई पनि दिन भरी साथी हुन्छ नि ।”
“मलाई साथीको अहिले आवश्यकता छैन, म त छरछिमेकका महिलाहरु सँग कुरा गरेर, अनी घरकै काम धन्दा गरेर दिन बितेको पत्ता पाउँदिन । ” आमाले भन्नु हुँदै कुरा थप्नुभयो “ मलाई तेरो दाईको भन्दा पनि तेरो बिहेको चिन्ता छ । लोग्नेमान्छेको पनि चिन्ता लिएर हुन्छ , उनिहरु आफंै सक्षम हुन्छन ।”
आमाको कुरा इशालाई पटक्कै चित्त बुझ्दैन । उसलाई महिलाहरु कुनै कुरामा पुरुषहरु भन्दा कमजोर छन भन्ने लाग्दैन । समाजको महिलालाई हेर्ने दृष्टिकोणमा अझै परिवर्तन नआएकोमा उसलाई बिद्रोह गर्न मन लाग्छ । महिलाहरु कै क्षमता माथि महिलाहरुले नै प्रश्नचिन्ह खडा गरेको देख्दा उसलाई अझ दु:ख लाग्छ । उसलाई पुरुष प्रधान समाजको यि सबै कुराहरु चित्त बुझ्दैन । तर आमा सँग तर्क गर्नु बेकार देखेर उसले कुरा टुंग्याइदिंदै भनी–
“लौ छ पो बजी सकेछ, जती छिटो गर्दा पनि जहिले ढिलो हुन्छ अब म हिंडे है आफ्नो काममा । ”
“भरे फर्कदा बेलुकालाई सब्जी लिदै आउनु है ” आमाले पैसा झिकेर उसलाई दिदै भन्नु भयो ।
“ल– ल” भनेर पैसा आफ्नो पर्समा हालेर उ घरबाट निस्की ।
००००
रेडियो स्टेशन पुग्दा झन्डै सात बज्न लागेको रहेछ । अन्य सहकर्मीहरु फ्रन्ट डेस्क अगाडिको सोफामा बसेर चियाको चुस्की लिदै गफिदंै थिए । यो जाडो महिनामा तातो चिया सँग गफ चुट्न पाउँदा सबै जनालाई रमाइलो हुँदो हो । इशालाई पनि त्यहाँ चिया पिउँदै कुरा गर्ने मन त नभएको हैन तर अहिले सात बजेको समाचार तयार गरी बाचन समेत गर्नु पर्ने भएकोले सरासर स्टुडियो भित्र छिरी । बिहानको समाचार त्यती मिहेनत गर्नु नपर्नाले उसलाई पन्ध्र मिनेट समय काफी थियो । हिजोको समाचारमा थपघट गरी बनाउँदा एकैछिनमा तयार भईहाल्ने । त्यो गर्न पनि उसले बेर लगाइन । समाचार तयार भए लगत्तै सात बजेकोले उसले त्यसलाई बाचन गर्ने कार्य पनि पाँचसात मिनेट मै सकेर फ्रन्ट डेस्क तर्फ लागि । साथीहरु सबै आ–आफ्नो घर परिवारको कुरा गर्दै समय कटाउँदै रहेछन । उक्त समयमा त्यहाँ भएका महिलाहरुमा उ मात्र अबिबाहित , बाँकी सबै छोराछोरीका आमाहरु थिए । सबैलाई उसले दिदी भन्ने गरेकी थिई । एक हुल महिलाहरुलाई गफ गर्न कसले पछी पार्ने । सबैले आफ्नो शयनकक्षको कुरा देखी घर, छिमेक र टोल सम्मको कुरा निकाल्दै रहेछन । कसको घर राम्रो , कसको परिवार असल इत्यादी सबै कुरा त्यहा खोतलिदै थियो । त्यसै बेला उ त्यहाँ पुगेकीले स्टेशन म्यानेजर दिदीले पनि उसलाई देखाउँदै भनिन –
“अब इशाको पनि छिट्टै बिहे खान पाइयोस है ।”
म्यानेजरको कुरा भुँइमा खस्न नपाउँदै सबैले थपथाप गरेर उसलाई जिस्काउन थाले ।
“हो अब बेला पनि त भयो नि ।” पहिलो साथी बोलिन ।
“हेर न बिहेको कुरा गर्ने बित्तिकै कसरी मस्केकी ।” दोस्रीले उसलाई गिज्याइन् ।
“आजकलको जमानामा केटीहरुले आफैं केटा रोजेका हुन्छन , तिमीले पनि रोजेकी नै होलाउ नि हैन इशा ?”
अर्कीले प्रश्न गरिन् ।
“हो, हो माया प्रेममा त फसी हाल्छन नि । पहिलेको जस्तो छ र अहिले । जमाना फेरिएर कहाँबाट कहाँ पुगिसक्यो ।”
चौथीले पनि इशाको कसैसँग प्रेम सम्बन्ध भएको छ भन्ने आशंका ब्यक्त गरिन् ।
भरखरै एउटा प्लास्टिकको कुर्सी तानेर त्यहाँ बस्न पुगेकी उसलाई एकैपल्ट सबैले यसरी बिहेको कुरा गर्दा एकाएक रिस पनि उठ्यो । अनी आफू भन्दा जेठी दिदिहरुले त्यसो भन्दा लाज पनि लाग्यो । त्यसैले उसको मुहारमा रिस र लाजको मिश्रित लाली चढेको थियो । उसले आफूलाई केटाकेटीले खेल्ने पुतली भएको महसुस गरी । जसरी सानो छँदा उसले पुतली खेलमा पुतलीको पढाई अनी त्यसको आफ्नै खुट्टामा उभिन सक्ने अवस्था केही बिचार नगरि एकै पल्ट बिहे गरिदिन्थी त्यसरि नै अहिले उसलाई ति सबै कुराको मतलब नगरि घर परिवार देखी साथीसंगी सम्मले बिहे गर्नु पर्छ भनेर भन्न थालेका थिए । आज बिहान मात्र पनि अफिस आउने बेलामा आमाले उसलाई बिहे गर्नु पर्छ भनेको सम्झना गरी । यहाँ पनि सबै सहकर्मीहरु बिहे भन्दै उसकै पछी लागेका छन । आमाले भने अनुसार दाई पनि उसको बिहेको लागि चिन्तित छ ।
के उसले बिहे गर्नै पर्ने हो त ? उसको मनमा बारम्बार उठ्ने प्रश्न फेरी एकपल्ट उसको सामुन्ने तेर्सियो ।
“के सोच्न थाल्यौ इशा ?” म्यानेजर दिदिको सोधाईले उसलाई सोचको अवस्थाबाट बहिर ल्यायो ।
“केही हैन दिदी ।” उसले म्यानेजर दिदिलाई जवाफ दिंदै अरु सबै तिर हेरेर थपी –
“ तपाईंहरुलाई मेरो बिहेको के खाँचो । म बिहे गरुम कि नगरुम तपाईंहरुलाई किन खसखस लागेको ?”
यसो भन्दा उसले बनावटी रिस देखाएकी थीई ।
“यो केटीको रिस त नाकको टुप्पोमा नै छ । यसलाई केही भन्नु हुदैन ।” भन्दै सबै जना आ–आफ्नो काम तिर लागे । उ भने त्यही कुर्सी अली घाम आए तिर तानेर बसी । उसको दिमागमा कुराहरु क्रमिक रुपमा समुन्द्रको छाल जस्तो आउने जाने गर्न थाल्यो । उसले बिहेलाई त्यती महत्व दिएकी थिईन । एक दिन बिहे गर्नु पर्छ भन्ने यथार्थ सँग परिचित भएता पनि अहिले नै उसको बिहे गर्ने उमेर भइसकेको छ भन्ने उसलाई लागेको थिएन । घरपरिवार देखी साथीहरु सम्मले बिहेको हतियारले उसलाई प्रहार गर्न थालेको उसले अनुभव गरी । बिहे गर्नु पर्छ भन्ने सोचले उसको दिमागमा प्रबेश गरेर खेल्न थाले पछी उसले क्रमश: आफ्नो जीवनमा नजिक भइ ठोक्किएका पुरुष लिंगीहरुलाई सम्झन थाली । चलचित्रको पर्दामा जस्तो उसको जीवन पुरानो दिनमा फर्केर चल्न थाल्यो ।
धेरै पहिले , उ पाँच छ बर्षकी मात्र हुँदा स्थानिय बैंकमा काम गर्ने कर्मचारीको एउटा सानो परिवार पल्लो पटिको छिमेकीको घरको तल्लो तलाको कोठामा भाडामा बस्न आएको थियो । परिवार भनेको बैंकको त्यही कर्मचारी , उसकी श्रीमती र त्यस्तै सातआठ बर्षको उनिहरुको छोरा थियो । समयको गती सँगसँगै केही दिन भित्रै उसको त्यो केटा सँग राम्रो मित्रता गाँसिएको थियो । उनिहरु सँगै धुलो ,माटो , ढुंगा सबै खेल्ने गर्थे । ईट्टाले वरीपरी छेकेर घर बनाउँथे , त्यती बेला पाइने बट्टावाला खैनीको खाली बट्टामा बालुवाको भात पकाउने , झारपातको सागसब्जी पकाउने खेल उनिहरुको प्रिय थियो । त्यस बाहेक उसको त्यो साथी काठको सानो सानो टुक्रालाई गाडी बनाएर खेल्ने गर्दथियो । अनी सब भन्दा बिशेष खेल हुन्थ्यो पुतलीको बिहे ।
यो सबै सम्झदा उसको मन भावुक भएर आयो । अली अली रुन मन लागेको जस्तो भएर आयो । तीन बर्ष त्यो परिवार त्यहां बसेर कर्मचारीको सरुवा सँगै अर्को शहर पुगेको थियो । उसले त्यो केटाको अनुहार सम्झन खोजी , कसै गरे पनि दिमागमा त्यो अनुहार आएन । नाम सम्झन खोज्दा पनि बिबेक हो कि बिक्रम हो ठोकुवा गर्नु उसलाई गार्हो भयो । उसले सोची अचेल उसको तो बालसखा कहाँ छ होला ? अनी उसको चै बिहे भएको छ कि छैन होला ?
बाल्यकालको यो केटा साथी पछी त्यस्तो कुनै केटाहरु उसको साथी भएनन् । उ आफंै पनि अली ठूलि हुदंै गएपछी केटाहरु सँगको बोलचाल र खेल्ने क्रम घटाउँदै लगेकी थिई । सामान्य बोलचाल हुने केटाहरु थोरै भएता पनि कोही सँग गहिरो मित्रता भएन । उ आठ कक्षामा अध्ययनरत हुँदा उसलाई कुनै केटाले प्रेम पत्र लेखेको कुरा पनि आज उसले सम्झी । प्रेमपत्र उसकै नाममा लेखिएको थियो तर कसले लेखेको हो त्यो उसले थाहा पाइन । लेख्ने केटाले किन हो आफ्नो नाम लेखेको थिएन । कसैले उसको किताबकापी हाल्ने झोलामा त्यो पत्र हालिदिएको थियो । त्यो बेला उसलाई उक्त पत्र पढ्दा कताकता काउकुती लागेको थियो । कसैले उसलाई मन पराउँछ , सागर भन्दा गहिरो माया गर्छ भन्ने थाहा पाउँदा उ रोमान्चित भएकी थीई । तर उक्त पत्र लेख्ने केटाले त्यस पछी न कहिले अर्को पत्र लेख्यो न कहिले प्रकट भएर उसको सामु आयो । उसको जीवनबाट पुरुषको यो अध्याय पनि त्यसै हराएर गएको थियो ।
बिहे गर्नु तर को सँग ? को हुने होला उसको सपनाको राजकुमार ? यो प्रश्न निरन्तर उसको दिमागमा खेल्न थाल्यो । बिगत उसको मनको एक कुनामा चलचित्र झंै आउन थाल्यो । एसएलसी परिक्षाको अन्तिम दिन देखेको एक जना केटा जसले उसको मनलाई तरंगीत बनाइदिएको थियो , उसैलाई सम्झन पुगी । एसएलसी परिक्षाको अन्तिम दिन थियो । परिक्षा सकेर एक हुल केटीहरु सँग स्वतन्त्रताको अनुभूती सँगै घर फर्कदै गर्दा बिपरित दिशाबाट एउटा केटा उनिहरु तर्फ आउँदै थियो । उ पनि अर्को सेन्टरबाट परिक्षा दिएर आउदैं गरेको भनेर चिन्ह गार्हो थिएन । हतासमा देखिन्थ्यो , छिटो छिटो पाइला चाली रहेको थियो । क्षणभर मै उनिहरुको नजिक आएर अगाडि गई पनि हाल्यो । अरु साथीहरुले त्यो केटालाई देखे देखेनन तर उसले राम्ररी नै देखी । सामान्य रुप रंगको त्यो केटाको हिडाईमा स्वाभिमानको अडान देखिन्थ्यो भने चेहरामा महत्वकांक्षाको एउटा अनौठो छाप थियो । एक हुल एकसेएक सुन्दरी केटीहरु आफ्नो नजिक देख्दा पनि उसको नजरले तिनिहरुलाई कुनै महत्व दिएन ।
त्यस दिन घर पुगेर धेरै बेर सम्म इशाले त्यो केटालाई सम्झिरही । उसले धेरै केटाहरु बाटोमा देखेकी थिई तर यो पहिलो थियो जसले केटीहरु तर्फ हेर्ने कोशीस सम्म गरेन । उसको आँखा अगाडि ति सब केटाहरुको अनुहार आयो जो केटी देख्ने बितिकै ईशारा गर्ने , मुखबाट बिभिन्न आवाज निकालेर जिस्काउने वा जबर्जस्ती ठोकिन आउँथे । उसलाई यो केटा बेग्लै लाग्यो । नौलो स्वभावको यो केटा प्रतीको सानो आकर्षण उसको मनमा अंकुरित भए झैं उसलाई अनौठो अनुभूती भयो । त्यस रात ननिदाउन्जेल सम्म उसले त्यो केटा सम्झिरही । उसको हिंडाइ , अनुहार र समग्र शरीरले उसलाई रोमन्चित बनाइ रह्यो । जीवनमा पहिलो पल्ट उसको यही रात मधुर भएको थियो ।
त्यस पछी उसले त्यो केटालाई कहिले कँही पनि देखिन ।
हो, त्यो केटा जस्तो सँग हो भने चै म बिहे गर्छु भनेर उसले मनमनै भनी । अनी भित्रभित्रै लजाइ , तर त्यो लाजले बाहिर सम्म उसको गाला रातो बनाउन सफल भयो ।
प्रकाशित: भाद्र ३०, २०७२
(स्रोत : कान्तिपुर – साप्ताहिक)