~मिलन तिमिल्सिना~
पहिले घरमा माटोको चुल्हो थियो, आफैंले बनाएको । माटोको चुल्होमा पनि मज्जैले भाततिउन पाक्थ्यो । एकदिन पल्लो गाउँ जाँदा जहानले आरनबाट ओदान ल्याइन् । ‘माटोकै चुल्हो थियो नि, किन पैसा खर्च गर्नुपर्यो’ मोतीलाललाई ओदान ल्याएको मन परेन । तर जहानको व्यथा उनलाई के थाहा ?
‘आ माटोको चुल्हो एकदिन पोतिएन भने भोलिपल्ट पटपटी फुट्छ । भाँडो पनि नमिल्ने । कहिले यता पुल्टुंग, कहिले उता ढलक्क । अस्ति भाँडो बसाल्ने ठाउँको एउटा डल्लो नै झर्यो, तिउनको कराई घोप्टेर झण्डै मरिएन’ जहानले बेलीविस्तार लगाइन् । त्यसपछि मोतीलालले केही भनेनन् ।
मोतीलालका घरमा अहिले पनि ओदानमै भात पाक्छ । तर घर छोडेर कामको लागि काठमाडौं आउँदा माटोको चुल्हो र ओदानले काम गरेन । दाउरा बाल्नै नपाइने ठाउँमा चुल्हो र ओदानको के काम ? त्यसैले काठमाडौं आउँदा हल्का लुगाफाटासँगै मोतीलाले स्टोभ पनि बोकेर आएका थिए ।
सिरहाका मोतीलाल काठमाडौंमा ज्यामी काम गर्छन् । जहान परिवारसँग उतै गाउँमा बस्न मन त थियो नै । तर के गर्नु ? खेति गर्न जग्गा छैन । जागिर खाउँ पढेको छैन । वल्लोपल्लो घरका साथीभाइ जस्तै विदेश जाउँ भने पैसा हाल्दिने साहु पनि छैन । आफूसँग भएको सीप गाउँमा काम लाग्दैन । हातमुख जोर्ने ठाउँ खोज्दै मोतीलाल काठमाडौं आएको ठ्याक्कै १० वर्ष भयो ।
पिसाब गर्न समेत पैसा लाग्ने काठमाडौंमा टिक्न सक्नु नै ठूलो कुरा । आफूले मात्र खाएर भएन । जहान परिवारलाई पनि पुर्याउनुपर्यो । त्यसैले कमाएको पैसा जोगाउन उनी गाउँकै साथीहरुसँग विष्णुमती किनारको पुरानो घरमा डेरा घरी बस्छन् । घर पुरानो भएपनि कोठाभाडा चार हजार तिर्नुपर्छ ।
पहिले त सातसय रुपैयाँ मात्र थियो । पछि बढाउँदै लगेर चारहजार पुगेको । अहिले नाकाबन्दीले सबतिर भाउ बढ्यो भन्दै घरवालाले अर्को महिनादेखि फेरि हजार रुपैयाँ भाडा बढाउँछु भनेको छ । सुन्दैमा मोतीलालको मनमा ढ्याँग्रो ठोक्न थालेको छ ।
पहिलेजस्तो अहिले सजिलै काम पाईंदैन । पहिले घर बनाउन थालेको ठाउँमा ठेकेदारले काम रोकिएकाले पछि खबर गरौंला भनेको छ । ज्यामी काम पाउन छाडेपछि उनी चटपटे बनाउने साथीसँग बजार हिँड्ने गरेका छन् । साथी चटपटे बेच्छन्, मोतीलालले चाहिँ पानीपुरी राखेका छन् ।
दिनभरी घाममा सडक छेउमा बसेर चटपटे र पानीपुरी बेच्दा पनि गज्जबको कमाई हुँदो रैछ । साथीसँग ओहोरदोहोर गर्दा उनलाई पनि यो पेशाले मन तानेको छ । काम पाइएन भने यही काम गर्नुपर्ला भन्ने उनले योजना बनाइसकेका छन् ।
पानी पुरी र चटपटे खान आउने धेरैले हिजोआज नयाँ सामान बोक्न थालेको मोतीलालले देखे । चारपाटे सानो त्यो सामानको बारेमा उनले साथीसँग जिज्ञासा राखे । ‘बिजुलीबाट भात पकाउन मिल्ने भाँडो रे’ साथीले भने । ‘ओहो अहिले मट्टितेल नभएर स्टोभ बाल्न नपाएको बेला यो भाँडो भैदिए’ मोतीलालले मनमनै सोचे । ‘कति पर्ने रैछ यो चुल्हो ? सस्तोमा पाए त भरेदेखि दालमोठ चिउराको सट्टा भातै खान हुन्थ्यो’ साथीसँग भने ।
मट्टितेल पाउन छाडेपछि उनीहरुले भातको सट्टा दालमोठ चिउरा खाएर सास धान्दै आएका छन् । एक त दाउरा पाईंदैन । पाइहालेमा पनि घरवालाले बाल्न दिँदैनन् । ग्यास सिलिण्डरमा त अहिलेसम्म पकाएको छैन । ग्यास हुनेहरुको पनि हाहाकार छ भन्ने सुनेका छन् । ‘चुल्होको मात्रै ३, ४ हजार पर्छ रे । त्यसमाथि हाम्रो भाँडा मिल्दैन रे’ कसले किन्न सक्छ’ चटपटे बेच्दै गरेका साथीले जवाफ दिए । ‘आ बहिनीलाई भनेर पारीबाट मगाउनुपर्ला, उता सस्तो पाइन्छ कि’ मोतीलालले भने ।
बहिनीको घर भारतीय सीमामा छ । उतै बिहे गरेर दिएको । ज्वाईं र उनका परिवारसँग राम्रो सम्बन्ध छ । यता नेपाल र भारत सरकारबिच खटपट छ भन्ने मोतीलाले सुनेका हुन् । तर भारतीय ज्वाईंसँग खटपट भएको छैन । यसपाली छठमा घर गएको भए भेट हुन्थ्यो । तर गाडी नपाएर जान पाएनन् ।
मधेसमा आन्दोलन गर्नेले हाम्रै लागि आवाज उठाएका हुन् रे भन्ने उनलाई साथीले सुनाएको थियो । तर रत्तिभर पत्यार लागेको छैन । मधेसकै मान्छे कहाँबाट कहाँ पुगिसके । आफ्नो अवस्था जस्ताको तस्तै । मधेसीको अवस्था फेर्छौं भन्ने नेताले आफ्नो अवस्था मात्र फेरे भन्ने मोतीलाललाई लागेको छ ।
आ राजनीतिको कुरा कति सोच्नु । चुल्हो सस्तो पाए त ल्याउनुपर्यो । उनले तुरुन्तै बहिनीलाई फोन गरे । बहिनीले पर्सिको नाइट बसमा पठाइदिन्छु भनिन् ।नभन्दै बहिनीले बिजुलीबाट चल्ने चुल्हो पठाइन् । खोलेर हेर्दा सडकमा मान्छे जोख्न राख्ने घडी आकारको भाँडो जस्तै । भात पकाउने, चिया उमाल्ने, तरकारी पकाउने चित्र लहरै भएका । भात पकाउँदा यो थिच्ने, चिया पकाउँदा यो, उतिखेरै पाक्छ भनेर बहिनीले फोनमा भनेकी थिइन् ।
इन्डक्सन चुल्हो आएको दिन मोतीलाल साथीसँग छिटै घर पुगे । भुईंमा मिल्कीरहेको स्टोभ खाटामुनी घुसारेर सफा गरे । स्याउ बेच्ने अर्को साथीले ल्याएको काठको बाक्सामाथि जतनसित चुल्हो राखे । थोरै चामल राखेर भात भसाले । साथीहरुसँगै बसेर उत्सुकतापूर्वक भात पाकेको हेर्न थाले । उतिखेरै इन्डक्सन चुल्होमा बलिरहेको बत्ती देखिएन । लौ न के भो । यताउती हेरे । ला बत्ती त गएछ । अब के गर्ने ?
आउला नि एकछिनमा भन्दै पर्खेर बसे । नभन्दै एकछिनमा बत्ती आयो । चुल्होमा फेरि अघिजस्तै सानो बत्ती बल्यो । अब त पाक्ने भनेर पर्खंदापर्खंदै फेरि बत्ती गयो । थुक्क के भो फेरि । मोतीलालले झ्यालबाट हेरे ।
ट्रान्सफरमर पड्क्यो रे भन्दै बाहिर खैलाबैला गर्दै रहेछन् । फेरि बत्ती आउने बाटो हेर्दा हेर्दै रात छिप्पियो । भोकले खपिनसक्नु भएपछि मोतीलालले साथीसँग हिजो झ्यालमा राखेको चिउरा झिक्न भने । उनले खाटमुनीबाट दालमोठको पोको खोले । नयाँ चुल्हो हेर्दै चिसो पानी र दालमोठ खाए ।
‘अर्को वर्षदेखि लोडसेडिङ हुँदैन रे प्रधानमन्त्रीले यसै भने भन्थे’ साथीले भने । मोतीलालले टाउको हल्लाए । खै ओढ्ने देउ त भन्दै लम्पसार परेर सुते ।
(स्रोत : Ujyaloonline)