कथा : मिस्टेरियस गर्ल

~दीपक सिञ्जाली~Deepak Sinjali

संयुक्त राष्ट्रसंघको सुरक्षा कार्यक्रमअन्तर्गत पाल्पा जिल्लाको उत्तरी गाउँमा स्ट्रेटजी प्लानिङ्का लागि जाँदै थिएँ।

पोखराबाट बुटवलको बस समातें। बाउन्न सिटको लामो हरियो बसको ढोका खलासीले ढक्ढकाइरह्यो।

‘भाइ, कति बजे पुग्छ पाल्पा?’

‘छ बजेसम्म’ उसले भन्यो।

‘म छ बजेसम्म आइपुग्छु होला’ तानसेनमा रहेकी सहजकर्ता सरस्वतीलाई म्यासेज पठाएँ। केहीछिनमा म्यासेजको रिप्लाई आयो– आइ एम वेटिङ।

पाल्पा आर्यभञ्ज्याङमा मलाई ओरालेर गाडी बुटवलतिर हुइँकियो। म अर्को बस समातेर तानसेनतिर उक्लिएँ।

तानसेन नेपालका रमणीय ठाउँमध्येको हो भन्ने सुनेथें तर तानसेनको सुन्दरता देख्न पाएका थिएनँ। तानसेन पुग्दा लाग्थ्यो–डाँडाहरुको घनचक्करभित्र पूराना धर्मग्रन्थका महाभारत पर्वतहरु छिपेर अद्भूत सौन्दर्यको नालीबेली पस्किरहेका छन्।

तानसेन बसपार्क ओर्लेपछि ननभेज रेष्टुरेण्टमा गएर सरस्वतीलाई फोन गरे। उनी दश मिनेट भित्रमा आउने भइन्।

उनको नाम सरस्वती पाठक हो। फेसबुकमा फ्रेण्ड एड गरेपछि प्रोफाइल हेरेको थिएँ। पोखरा युनिभसिर्टीमा स्नाकोत्तर अध्ययन गरिरहेको लेखेकी थिइन्। काम गर्ने ठाउँ ‘पास्टर हाउस‘ लेखेकी थिइन्। पास्टर हाउसको मतलब बुझेको थिइनँ। पास्टर शब्द भएकाले क्रिश्चियनको संस्था होला भन्ने अनुमान गरेको थिएँ।

उनको प्रोफाइल पिक्चरको एउटा कमेन्टमा ‘वान पिस गर्ल’ लेखिएको थियो। आँखीभौंको माथिल्लो भाग भिन्न प्रकृतिले उठेको देखिन्थ्यो। जो गालामा परेको डिम्पल जस्तो सुहाउँदो निधारको आकर्षण बनेको होस्। सबैले फेसबुकमा ‘ब्यूटिफुल‘ तस्बिर राख्ने गर्छन्। त्यसमा पनि प्रोफाइल पिक्चर झन राम्रो हुन्छ। सायद, उनको पनि त्यही त्यस्तो फोटो हो जसमा मान्छे भन्दा फोटो सुन्दर देखिएको होस्।

सरस्वती परैबाट मुस्कुराउँदै आइन्। उनले पनि फेसबुकमा मेरो कुण्डली जानी सकिन् होला। सायद, प्रोफाइल पिक्चरमा मेरो रुपको हिसाबकिताब गरिकन मलाई ठ्याक्कै पारिन्।

बरु उनको रुपमा मैले गरेको हिसाबकिताब भने फेल खायो। उनी त मेरो अड्कलभन्दा धेरै राम्री थिइन्।

‘नमस्कार, आइ एम सरस्वती पाठक।’

‘नमस्कार।’ मैले हात जोडें। ‘हेण्डसेक‘का लागि हात बढाएँ।

उनले दुवै हातले हेण्डसेक गरिन्। तब मैले संकोच मान्नुपर्ने थिएन, ‘इङ्लिस गर्ल‘ जो भेटाएको थिएँ।

तानसेन पुग्नु मेरो जिम्मा थियो। तानसेन पुगिसकेपछि के गर्नुपथ्र्यो त्यो सरस्वतीको जिम्मा थियो। हामीले काठमाण्डू टु तानसेन च्याटमै योजना र जिम्मेवारी बाँडफाँड गरिसकेका थियौं।

‘आउनुस्। आजलाई बस्नेको व्यवस्था होटलमा।’

हिँडाएरै होटल पुर्‍याइन्। ‘श्रीनगर होटल एण्ड लज’ लेखिएको होर्डिङ् बोर्डलाई भित्रबाट लाइटले टिलिक्क टल्काइएको थियो। अध्याँरोमा छिप्पिदै थियो। हामी होटल छिर्‍यौं। रात छिप्पिएकाले मनमा खुलदुली बढेको थियो– यिनी कहाँ बस्लिन्?

काउण्टरबाट चाबी लिएर हामी भर्‍याङ् उक्लियौं। उनको हातमा पनि कोठाको चाबी देखेपछि मेरो खुलदुली मेटियो।

मेरो हातको चाबीमा ३०२ लेखिएको थियो उनको चाबीमा ३०६।

बाथरुममा केहीबेर भुलेपछि फ्रेस मूड लिएर निस्किएँ। उनी बाहिर मेरो वेटिङमा थिइन्। हामी खाना खान डाइनिङ् रुममा झर्‍यौं।

‘म भेजिटेरियन। तपाई के के लिनुहुन्छ ?’ उनले प्रस्ताव गरिन्।

‘आफू त नन भेज। जात जनाइदिउँ न, जे छ त्यै।’

‘यहाँ ब्रोइलर पाइन्न, गिरीराज पाइन्छ’ अर्को टेबलबाट वेटरले भन्यो।

‘हुन्छ, त्यै ल्याऊ।’ वेटर सानै थियो। सम्मान जनाउनु पर्ने ठानिनँ।

हामी एउटै टेबलमा फेस टु फेस हुने गरी बस्यौं। मलाई केही अफ्ठयारो महसुस भइरहेको थियो। खल्तीबाट मोबाइल झिकें, टाइम हेरें फेरि मोबाइल खल्तिमै हालें।

‘खासमा अरुलाई खानु चाँही हुँदैन है’ उनले मौनता तोडिन्।

म अलमलिएँ।

‘मतलब, मासु खानु हुँदैन’ उनले आफै अर्थ लगाइन्।

‘म पनि भेजिटेरियन थिएँ। एकपटक लेबनान कार्यक्रममा जाँदा मासु नखाइ भएन। त्यहाँ सबैभन्दा पौष्टिक र सस्तो चिज मासु मात्रै हुन्थ्यो। जब खाइयो त खाइयो अनि किन बाँकी राखूँ भनेर छोडिएन’ मैले बेलिविस्तार लगाएँ।

‘हा हा…, पा’को कुरा के छोड्नु त।’

उनको व्यङ्ग्य तिखो भएर आयो। केहीबेरको भेट पनि यस्तो भई दिइसक्यो– प्याच्च भनिहाल्ने।

दुवैको खाना आयो। मेरा लागि ननभेज आइटम अर्को खेपमा वेटरले ल्याइदियो।

‘सर लिएँ’ उनले भनिन्।

उनी फटाफट खान थालिन्। म उनलाई हेरिरहें। खानाभन्दा बढी मेरो ध्यान उनीतर्फ सोझियो। कस्ती केटी होला– लाज पटक्कै छैन। मैले दुईतीन गास के हालेको थिएँ उनले भाग सिध्याइसकिन्।

‘सरी सर, खाने बेला गफ गर्ने मेरो ह्याबिट छैन।’

‘त्यै त तिमी त सुपरफास्ट’ मैले भनें।

उनी फिस्स हाँसिन्। हाँसेकै बेला उनको आँखिभौमाथि झन् अनौठो आकृति बन्यो। कति सुहाको गाँठे।

‘अनि तपाई चैँ टोर्टोइज।’

मैले टाउको उठाएँ। उनी मज्जाले हाँसिन्। आफूभन्दा ठूला मान्छेलाई पनि जिस्क्यकादिने कस्तो ह्याबिट उनको?

‘भन्या मात्र, मन दुखाउन पाउनु हुन्न’ उनी फेरि बोलिन्।

‘तिमी कुम्भकर्ण। एकै गासमा स्वाहा’ मैले पनि ठठ्ठा गरें। मैले ठठ्ठा गरेको स्वाँङ त्यति मिलेको थिएन।

हात धोएर भर्‍याङ् चढें। उनी काउण्टरतिर लागिन्।

‘सर, लिनुस्’ हातमा ल्वाङ, सुपारी, सोँप बोकेर आइन्।

‘मलाई सुपारी मन पर्दैन’ सुपारी पन्छाएर सोँप मात्रै उठाएँ।

‘खानु खानु नत्र अहिले मासु गनाउँछ।’

उनको वाक्यले फेरि घोच्यो।

झनक्क रिस पनि उठ्यो। मासु गनाए पनि नगनाए पनि उसलाई के चासो ? मेरी श्रीमती त होइन ताकि रातभर मसँगै मासु गनाएको श्वास लिँदै टाँस्सिएर सुत्नु परोस्।

‘गनाए आफैलाई गनाउँछ। कोही साथमा भए पो कसैलाई गनाउला भन्ने डर हुन्थ्यो’ मैले भनें– ‘हैन त?’

‘हो हो, त्यो त तपाई कै अधिकार।’

तेस्रो तला आएपछि हामी छुट्टियौं। म कोठा नं. ३०२ मा छिरें, उनी ३०६ मा। यी दुई कोठाका बीचमा अरु दुई कोठा थिए। ३०४ नम्बरको कोठा चाँही कहाँ पथ्र्यो ? या थिएन। मेसो पाइएन।

ढोकाको चुकुल लगाएँ। दिनभरिको थकान हराउँदै थियो। ओछ्यानमा पल्टिएँ।

कस्ती केटीसँग भेट भयो। बुझ्नै नसकिने। न लाज न संकोच, न त आदरसम्मान। एकमद मिस्टेरियस गर्ल।

‘सर’ उनैले ढोका ढक्ढकाइन्।

ढोका खोलें। उनी भित्र आइन्। मेरै ओछ्यानमा बसिदिइन्।

सर्ट खोलेको थिएँ र माथिल्लो भागमा सेन्डो मात्रै थियो। तल पाइन्ट खोलेर कटनको क्वार्टर पाइन्ट लगाएको थिएँ। धन्द बचें, क्वाटर भए नि लाउन भ्याएको थिएँ नत्र स्ल्याक्स मात्रै मेरो नाइट ड्रेस हुन्थ्यो। आफूलाई सुरक्षित ठानें। मलाई अप्ठ्यारो महसुस भयो। मेरा तिघ्राका काला रौंहरु लपक्कै देखिएका थिए।

‘सर बस्नु न। एक्लै बोरिङ् होला भन्ने लाग्यो। गफ गरौं भनेर आ’को’ उनले भनिन्।

अप्ठ्यारो सिरानीनिर बसें।

‘सरलाई सक फिलिङ भए त जान्छु।’

‘हैन हैन, बस।’ उनी गइहाल्लिन् झैँ हतारिएर रोकें।

उनले मलाई घोरिएर हेरिन्। जुधाउन नसकेपछि मैले आँखा ढोकातिर फर्काएँ।

पर्पल कलरको कोरियन पाइन्ट लगाएकी थिइन्। फराकिलो थाइ सलक्क एउटै अनुपातमा दुब्लाएर तिघ्रा खिरिलो बनेको उनको तल्लो भागको आकृति थियो। माथिल्लो भाग लामो र स्याम्पूको विज्ञापनमा देखाइने जस्तो सिल्की कपालबाट सुरु भएर स्लिम बोडीमा सकिएको थियो। फेशन च्यानलमा आउने क्याटवाकका यूरो–अमेरिकन मोडल पनि यस्तै हुन्छन्।

उनी झन् आडैमा सरिन् र खितिति.. हाँसिन्। हामी आम्नेसाम्ने भयौं। आँखा जुधे।

‘सरको वाइल्ड कभर’ उनले भनिन् र मेरा तिघ्राका रौँ हेर्दै झन् खित्खिताइन्।

सक फिलिङ भइरहेथ्यो। झन् उनले वाइल्ड कभर भनेपछि म लाजले भुतुक्कै भएँ।

‘नजिस्काऊ, तिम्रो पनि होला। बाहुनीहरुको त हुन्छ पनि’ मैले भने।

‘मेरो त छैन।’

‘हेरुम् ?’ हेरिहालुलाझैँ म घोप्टो परें।

‘ल हेर्नु’ खुट्टा मेरा अघि तेर्सादिइन्।

‘पाइन्ट हटाउ।’

‘टाइट छ, यहाँभन्दा माथि सर्दैन।’

उनको तिघ्रा हेर्ने रहर पाइन्टले तुहाइदियो। म टाउको उठाएर दुरुस्त रहेँं तब लाज हराएर ढुक्क बनें। उनी खुट्टा तल झारेर सिधा भइन्।

‘के गर्नु माथिबाट खोलेर देखाउन भएन’ उनी जोकिङको शैलीमा फिस्स हाँसिन्।

म पनि हाँसे। के भनूँ भनूँ भयो। परिस्थितिलाई बोल्ड बनाउन ‘खोलेनी हुन्छ’ भन्नै आँटेको थिएँ। भनिन्। हामी फेरि सँगै हाँस्यौं।

‘तिम्रो छुट्टै नाम राख्देको छु’ मैले भनें।

‘के?’

‘भन्दिन भो। यू विल एंग्री।’

‘भन्नू, रिसाउँदिन।।’ केटाकेटी शैलीमा जिद्दी गरिन्।

‘इङ्लिस गर्ल’ मुखबाट फुत्किहाल्यो।

‘ए, म रफ भएँ भनेर’ रिसाएर उनी बाहिर निस्किन लागिन्।

हात समाएर रोकें। उनले सुरु गरेको रोमान्समा यो मेरो पहिलो प्रयास थियो।

‘तिम्रो स्ट्याण्डर्ड जो छ त्यो युरोपियनहरुको जस्तो छ। सो, यू आर इङ्लिस गर्ल।’

उनी मुस्कुराइन, नशालु आँखा मतिर तेर्साएर। उनी मेरो बाहुमा आउन हतारिएझैँ लाग्यो। मैले समातेको हात छोडिसकेको थिइनँ। मनमा यस्तो पनि भइरहेको थियो कि उनलाई तानेर हग गर्दिऊँ। यदि त्यस्तो मौका मिस गरियो भने रिग्रेट हुन्छ होला।

अचम्म तब भयो जब उनी आफैं मेरो काखमा आएर बसिदिइन्। उनी आफै रेडी भएपछि म पनि के कम हुनु।

एकैदिनको सम्बन्ध पनि पुरानो सम्बन्ध जस्तो मिक्स भइदियो। केटाले चाहे वर्ष दिन केटीले चाहे एकैछिन भनेको त साँच्चै हो रहेछ। तर, हामीलाई अति हुनबाट सुरक्षाको साधनले रोक्यो।

उनी गएपछि झन् कुतकुति सुरु भयो। अश्लिल फिल्म हेरेर ओछ्यानमा पल्टेजस्तो। सरस्वती मधेशतिर लु आए जसरी आइन्। एकचोटी हपक्क पारेर गइन् पनि।

अर्कोदिन बिहानै महेन्द्रा जिप चढेर गाउँतिर लाग्यौं। हामीले दुई गाविसमा दुई दिनको प्रोग्राम सेट गरेका थियौं। पहिलो कार्यक्रममा नै एक घण्टा ढिला भयौं। स्थानीय ग्रामीण कफि कृषि सहकारी संस्थाले समन्वय गरेकाले व्यवस्थापनमा भने झमेला भएन। साँझ अबेरसम्म कार्यक्रम चल्यो। कच्ची सडकमा जीपको उफ्राइ र कार्यक्रमको दौडधुपले ज्यादै थाकेका थियौं। मभन्दा अझै सरस्वती हैरान थिइन्। कार्यक्रमभरि नै यताउता उनी धेरै चल्नु परेको थियो।

सहकारीका सबै सदस्यहरु मिलनसार र जागरुक रहेछन्। कार्यक्रम भरि हाम्रा कुराहरुमा खुब चाख दिए। रणनीति कार्यान्वयनको प्रथम चरण अध्ययन गर्नु हाम्रो उद्देश्य थियो। तिनीहरुले त्यसमा पूरा सहयोग गरिदिए। साँझ परिसकेकाले कहाँ बस्ने भन्ने पिरलो भइरहेको बेला सहकारीका अध्यक्षले आफ्नै घरमा बस्ने प्रस्ताव ल्याएपछि हामी उनीहरुप्रति झन् कृतज्ञ भयौं।

खाना खाइसकेपछि आँगनमा दुई वटा कुर्सी राखिदिए। थकानले लखतरान भएका थियौं। कतिबेला सुत्न पाइएला भएको थियो। तर सुत्ने कुनै तरखर थिएन। जहान धेरै थिए। बिहान हामीसँगै जीपमा आएका बच्चाहरु पनि त्यही थिए। अध्यक्षका नाति रहेछन्। छोरा, बुहारी र नाति सहरबाट आएका रहेछन्।

‘गाह्रो सारो के कस्तो हुन्छ’ अध्यक्षले भनें। उनी छेउमै उभिएका थिए। हामी दुवैले उनको अर्को वाक्यलाई पख्र्यौं।

‘नानीहरु एउटै कोठामा सुत्नु पर्ने भो। आजै छोराबुहारी आए।’

बुढाले कुरा सकाउने बित्तिकै मैले गोप्य खुसी मनाएँ। सरस्वती केही संकोच मानेझैं आलटाल गर्न लागिन्।

‘नानी मसँग सुते पनि हुन्छ’ भान्छाबाट अध्यक्षको बुढी बोलिन्।

‘हैन हैन, हामी त्यहीँ सुतौंला। तपाईंलाई कति सताउनु’ सरस्वतीले जवाफ दिइन्। उनको जवाफ ती बुढीका लागि मात्रै नभएर मेरा लागि पनि थियो।

‘बरु कता होला? थकाइ लागेको छ म त सुतिहाल्छु’ मैले भनें।

‘माथिल्लो तला बाबु’ अध्यक्षले कोठा देखाइदिए। बुहारीले हाम्रो कोठामा बत्ति बालिदिइन्।

‘जाम्, किन ढिला?’ उठ्नै लाग्दा सरस्वतीको कानमा सुटुक्क भनें।

कोठामा सबै भारी बिसाएपछि त्यहि हिजोकै नाइट ड्रेसमा हातखुट्टा धुन तल झरें। त्यहि बेला सरस्वती आइन्। ढोकामै हाम्रो भेट भयो।

‘धेरै खुसी मनाउनु पर्दैन’ मेरो कानमै उनले कानेखुसी गरिन्।

रात छिप्पिदैं थियो। जति थकाई भए पनि निद्रा परेन। एक त तल्लो तलामा नातिबज्यैको हाँसो उच्च थियो त्यसै निद खल्बलाइदिने। अर्को आडैमा बोल्ड सरस्वती थिइन्, अंग्रेजी किताब पढिरहेकी। मचाँहि मृग कुरिरहेको शिकारी बाघजस्तो, अनि के आँखा झिम्कियोस्।

‘बत्ति मार्न पाए हुने निद परेन’ मैले भनें।

‘नार्इं, बत्ति बालेरै सुत्ने’ उनले आँखाको इशारामा खुच्चिङ् देखाइन्। ‘सिरकले मुख छोपेर सुत्नु न।’

‘त्यो त हो तर त्यसो गर्न मिल्दैन।’

‘किन ?’

‘हेर्नु परो नि।’ मैले हातको इशाराले उनलाई देखाउँदै भनें। उनी हास्दिइन् मात्रै। अनि किताबमै घोरिन थालिन्।

केही समयपछि बिजुली गयो। उनले किताब पछारेको सुनेँ।

‘हा हा..’ उनलेसम्म सुन्ने गरी बिस्तारै हाँसे।

‘बोरिङ’ उनले भनिन्।

‘अब चाँहि निदाउँछु’ मैले सिरक गुटुमुटु पारें। कोल्टो फिर्किएँ। बिजुली गएपछि नातिबज्यैको हाँसो पनि रोकियो।

मेरो सिरक तानियो। मैले हातले छामें। सरस्वती सिरकभित्र घुर्सिइन्।

उनको त्यो हर्कतले कोपनहेगन होटलकी वेटरहरुको याद आयो। त्यहाँका वेटरले वेटरको अलावा यौन व्यवसायपनि सँगै चलाउँछन्। मैले सरस्वतीको अनुहार पनि तिनीहरुसँग दाज्न थालें। तर सरस्वतीको जस्तो बोल्डनेस चाँहि ती वेटरहरुमा थिएन।

अर्को दिन बिहान सबेरै अर्को गाविस हिँड्यौं। त्यहाँ समन्वय गर्ने गतिलो संस्था नभेटाएपछि हामी आफैले मेनेजमेन्ट गर्ने भयौं। बाटोमा केही समय कसरी काम गर्ने भन्ने सल्लाह भयो। तब एउटा योजना बेनेपछि हामी साइलेन्ट भयौं।

मैले आफ्नो आँखा निकै चलाख बनाएको थिएँ। यदि कतै मेडिकल देखियो भने भरेका लागि सुरक्षाको साधन किन्नुपर्ला भन्ने इरादा जो मनमा थियो।

‘तिमीले मलाई फसायौ’ मैले भनें।

सरस्वती अघिअघि हिँडिरहेकी थिइन्। फर्केर हेरिन्। ‘मैले फसाएँ ? खुब।’ उनले भनिन्।

‘हो त। खास कुरा पाको छैन। आधाआधा कुरामा भुलाइरहेकी त छौ।’

‘जाने पाइन्थ्यो नि। नजानेसी के? योर विक्नेस सर।’ खिसी गरेँझैं बोलिन्।

नभन्दै अगाडि हेल्थपोष्ट भेटियो। तर भर्खर आठ बजेकाले बन्द थियो। त्यही हेलथपोष्टकै डाक्टरले मेडिकल पनि खोलेका रहेछन्।

‘आज चाँहि मिस गर्दिन ऊ हेर अगाडि।’ मेडिकल तिर देखाउँदै मैले भनें–साधन किनेर ल्याउँछु।’

‘आई, सरलाई लाज लाग्दैन। हामी त कार्यक्रमका लागि पो आएका हौं, रोमान्स गर्न आ’झैँ गर्नु हुँदैन है। सरले त्यस्तो कुरा किन्दा अरुले के भन्लान्?’

म हच्किएँ। तर म त्यति विधि चाहिँ हच्किएको थिइन ताकि मैले इरादा बदल्दिऊँ। म मेडिकल गएँ। सरस्वती बाटोमा मलाई पर्खिइन्।

त्योभन्दा अझै परको गाविसमा हामीले कार्यक्रम सेट गरेका थियौं। करिब एघार बजेतिर एउटा प्राथमिक विद्यालयमा पुगेर प्रधानाध्यापकसँग कुरा गर्‍यौं। शुक्रबार परेकाले दुईबजे पछि स्कुलको कोठा र फर्निचर दिन उनी मञ्जुर भए।

हाम्रो कार्यक्रम ढिला सुरु भएकाले साँझ झमक्कै भएपछि सकियो। त्यो रात बस्नको हेडसरले एउटी दिदीकोमा पठाइदिए। उनी एकल महिला रहिछिन्। सात कक्षा पढ्ने छोरा रहेछ। सासुससुराहरु पनि कोही थिएनन्। उनको घरमा केही सजिलो अनुभूति भइरहेको थियो।

सरस्वती ती दिदीसँगै भान्छातिर लागिन्। उनको छोरा खेलेर भर्खर घर आएको थियो। आउना साथ कोठामा छिर्‍यो। अनि एकैचोटी खानेबेला निस्क्यो।

उनको छोरा र म तल्लो तलामा सुत्ने भयौं। सरस्वती दिदीसँगै माथिल्लो तलामा सुत्ने भइन्।

एकचोटी त ठुलै सक खाएँ। बिहान इज्जतै नसम्झि किनेको पनि काम नलाग्ने भयो। जति नै सक भए पनि आफूलाई सम्हालें। धारामा गएँ।

खाएको भाँडा लिएर सरस्वती पनि धारामा आइन्। मलाई हेरेर हाँसिन्। निन्याउरो मुख लाएर उनलाई हेरें।

‘सर कस्तो लाग्यो ?’ उनले भनिन्।

‘कतै तिम्रो चाल त होइन?’

‘होइन, मलाई त मन थ्यो।’

‘त्यसो भए…।’ म बोल्दाबोल्दै रोकिएँ। ‘हामी सँगै सुतम्’ भन्न मन थियो तर भनिन्।

‘सर।’

म उनीतिर फर्किएँ।

‘बिहान किनेको मलखादमा फाल्दिनू’ उनले जिस्काइन्।

‘नाई, काम लाग्छ। अर्को दिन आउँदैन र?’ मैले उनको मुहारमै हेरेर भनें। त्यसो भन्दा उनले के फिल गर्थिन् त्यो म जान्न चाहन्थे।

‘तपाईको डिजायर स्ट्रोङ भएन होला। सो अनसक्सेस हुनुभो।’

‘डिजायर कति छ ? खोलेर देखाउन मिल्ने’भा देखाइदिन्थे।’ मैले भने।

‘भोलि पूरा गर्दिन्छु सरको डिजायर, स्योर।’ यसपाली भने उनले ढुक्क बनाइदिइन्।

‘बट।’ उनले भनिन्। स्योरलाई फेरि कन्फ्यूज गराइदिइन्। म उनको अर्को वाक्यको प्रतिक्षा गरेँ।

‘त्योभन्दा पहिला सरले एउटा प्रोमिस गर्नु पर्छ।’

‘प्रोमिस’ मैले प्रोमिस गरें।

‘यसरी होइन। म एक ठाउँमा लान्छु। त्यहाँ एउटा प्रोमिस गर्नुपर्नेछ। देन, ह्वाट यू वान्ट ? आइ एम रेडी।’

‘ओके। आइ विल प्रोमिस फर यू।’

प्रोमिस गर्छु त भनें तर रातभर निद्रा परेन। कस्तो प्रोमिस गराउने होली? मन निकै छटपटियो। सेक्स भनेपछि प्रायः केटीहरु विवाह गर्नुपर्ने प्रोमिस गराउँछन्। सायद, त्यही हुन सक्थ्यो। खयर, जे होस् उनको बोल्डनेसमा रमाउनु छ भने प्रोमिस गर्नैपर्ने हुन्थ्यो। विहे गर्नै परे नि गर्छु भन्ने एक मनमा थियो। यस्ती राम्री केटी पाउनु मेरो पनि भाग्यकै कुरा थियो।

शनिबार, जिपबाट तानसेन झर्‍यौं। दुई दिनको कार्यक्रम सफल भएको थियो। सोचेजस्तै गरी रिपोर्टको खेस्रा पनि स्पोटमै बनाएको थिएँ। त्यसैलाई सफ बनाएर पनि राम्रो रिपोर्ट तयार हुन सक्थ्यो।

‘मलाई श्रीनगर घुमाइदेऊ’ मैले भनें।

‘हुन्छ, तर बेल्कातिर। सनसेटमा ब्युटिफुल सिन देखिन्छ।’

‘ओके।’

खाना खानका लागि श्रीनगर लज मै गयौं। पहिलो दिनको पेमेन्ट पनि गर्‍यौं। फर्केर पे गरौंला भनी बाँकि राखेका थियौं।

‘सर, अब पास्टर हाउस जाम्।’ सरस्वतीले भनिन्।

‘पास्टर हाउस भनेको के हो ?’

‘माई होम।’

‘बट, तिम्रो प्रोफाइलमा त ‘वर्क एट पास्टर हाउस’ थियो त’ मैले भनें।

‘या, मेरो घर पनि र अफिस पनि त्यही हो। पास्टर हाउस इज माई स्मल वल्र्ड।’

ट्याक्सी लिएर पास्टर हाउसतिर लाग्यौं। उनको पास्टर हाउस सहरको भीडभन्दा अलिक पर बारीमा रहेछ। बाटोमा पास्टर हाउस जाने वे देखाइएका बोर्डहरु बिजुलीको पोलमा टाँसिएका थिए।

खासमा पास्टर हाउस के थियो? यदि उनको घर मात्रै भएको भए उनको घर जाने वे किन देखाइएको होला? अचम्म त यो थियो कि उनीभन्दा पनि उनको घर र अफिस झन् मिस्टेरियस लाग्दै थियो।

गेटमा पुगेपछि गार्डले गेट खोलिदियो। उनी त हेवी सेक्युरिटीमा बस्दीरहिछिन्। हामीले ट्याक्सी गेटबाटै फिर्ता गरिदियौं। पास्टर हाउस त भव्य विल्डिङ् पो रहेछ। तह तह मिलाएर एकै लहरमा उभ्याइएका विल्डिङ्हरु कति आकर्षक देखिएका थिए भने जहाजबाट क्वालालम्पुरको दृश्य हेर्दा गगनचुम्बी घरका दृश्यजस्तो।

‘इट्स योर होम ?’ मैले सोधें।

‘या सर, मेरो मात्र होइन। हाम्रो घर। हामी सबैको।’ उनले भनिन्।

सबभन्दा छेउको विल्डिङ्बाट लहरै बच्चाहरु निस्किए। कोही अग्ला थिए कोही होचा तर सोह्रवर्षभन्दा माथिका सायद कोही थिएनन्। बरु आधाजस्ता बच्चाहरु अपाङ्ग थिए।

सबैले ‘सरस्वती दिदी’ भनी एकै साथ चिच्याए र हामीलाई चारैतिरबाट घेरे। पछाडिबाट सेता वस्त्रमा ‘सरस्वती’ भन्दै महिलाहरु निस्किए। सरस्वतीले सबैसँग मेरो परिचय गराइदिइन्। सानाहरुले मलाई नमस्कार गरे। ठुलाहरुलाई मैले नमस्कार गरें।

परिचय सकिएपछि दुई महिलाले आदारसाथ मलाई भित्र लगे र गेष्टरुममा बसाए। चिसोतातोमा मैले तातो रोजेपछि एकैछिनमा टी टेबलमा तातो कफी आइपुग्यो। कफी खाइसक्दा पास्टर हाउसका बारेमा केही कुरा मैले उनीहरुसँग सोध्न पाएँ।

खासमा पास्टर हाउस क्रिश्चियनहरुले खोलेको अनाथ, अपाङ्गहरुको सेवा घर रहेछ। क्रिश्चियन खोलेको भएपनि सबै समूदायका बालबालिकाहरुलाई त्यहाँ अनुमति रहेछ। तर सोह्र वर्ष या एसएलसी पास भएपछि भने त्यहाँ नराखिने रहेछ।

कसैलाई उच्च शिक्षाका लागि बाहिर रिफर गर्ने त कोहीलाई आउटसाइडर भोलिन्टियरको रुपमा काम गराइने रहेछ। आउटसाइडर भोलिन्टियरको रुपमा सरस्वती पनि एक रहिछिन्।

कफि खाइसकेपछि दुई महिलाले मलाई सभाहलमा पुर्‍याए। हामीभन्दा पहिल्यै त्यहाँ बालबालिकाहरु यथास्थानमा आसिन भइसकेका थिए। सरस्वती बच्चाहरुलाई केही सिकाइरहेकी थिइन्। म गएपछि सबैले तालीले मेरो भव्य स्वागत गरे।

मलाई चियरमा बसाएपछि ती दुई महिला पछाडिको बेञ्चमा बसे। मेरो अपोजिटमा अरु महिलाहरु क्रमैसँग बसेका थिए। मलाई ती महिलाको पदसोपान छुट्याउन गाह्रो भएन। सरस्वती रोष्टममा थिइन्, मलाई हेरिरहेकी।

म जिल्ल थिएँ। त्यहाँ के प्रोग्राम थियो? मलाई किन गेष्ट जस्तो बनाएर बसाइयो? अलमलमा परेको थिएँ।

ह्याण्ड माइकको आवाजले हल गुञ्जियो। रोष्टमबाट सरस्वती बोल्न थालिन्ः

‘आज पास्टर हाउसमा गेष्टको रुपमा ‘संयुक्त राष्ट्रसंघ खाद्य सुरक्षा’ कार्यक्रमका नेपाल प्रमुख देवेन्द्र पराजुलीज्यू हुनुहुन्छ। पास्टर हाउसमा बालबालिकाहरुका लागि गुणस्तरीय खाद्य अन्तर्गत उहाँले रासन आपूर्ति गरिदिने प्रमिस गर्नका लागि यहाँ आउनु भएको हो।’

उनको आवाज हलभरि घन्कियो। तब म धड्कन रोकेर अगाडि आउनै लागेको मेरो भविष्य सोच्न थालें। उनका लागि मैले यस्तो प्रमिस गर्नुपर्ला भन्ने सोचेको थिइनँ। सरस्वतीले मेरा लागि रोष्टम खालि गरिन्।

म रोष्टममा उभिएँ। रोष्टममा उभिनु मेरो बाध्यता थियो। तर मैले प्रमिस गर्न हुन्छ कि हुँदैन? भन्ने विमर्श नगरिकनै प्रमिस गर्न तम्सिएँ।

रोष्टममा म ज्यादै नर्भस भएँ। सरस्वती पनि मलाई हेरिरहेकी थिइन्। तर मैले गर्वसाथ पास्टर हाउसका लागि रासन उपलब्ध गराउने वचन दिएँ। तालीको गड्गडाहट पुरै हलभरि गुञ्जियो। मलाई पनि अचम्मैको फिलिङ् भयो। कसैका लागि केही गर्दा अरुको कृतज्ञताले यति ह्याप्पी भइदोँरहेछ भन्ने कुरा बुझ्दैं थिएँ।

मैले रोष्टम छोड्दा तालीको आवाज रोकियो तर आडैमा सरस्वतीको एउटा ताली भने बजिरहेको थियो। उनी मलाई हेरेर मुस्कुराइन्। मलाई यसपालीको उनको हाँसो अनौठो लाग्यो। म पनि मुसुक्क हाँसे।

कार्यक्रम सकिएपछि फेरि ती महिलाहरुसँगै म गेष्ट रुममा आएँ। बाटोमा एउटी महिलाले भनिन्, ‘सरस्वती त हाम्रो मुटु हो। यिनी नभए हामी पनि रहने थिएनौ। हाम्रा लागि ज्यान दिन्छिन्।’

मैले पनि सोचें– हो सरस्वतीले यिनीहरुका लागि ज्यान दिन्छिन्।

म साइलेन्ट थिएँ। मेरा अङ्गहरु पनि साइलेन्ट भए। बोल्ड सरस्वती पाठकसँग म लज्जित भएँ।

‘जाम सर।’ सरस्वती ढोकामा उभिन आइन्।

हामी गेटबाट निस्कियौं। उनले प्लाष्टिकमा केराहरु ल्याएकी रहिछिन्। बाटोमा हिँड्दै केरा खायौं। केरा सकिएपछि केराका बोक्राहरुले भरिएको प्लाष्टिकको पोको सरस्वतीले मलाई थमाइदिइन्।

मैले झोला खोलें। हिजो विहान किनेको सुरक्षाको साधन निकालेर त्यहि पोकामा हाले। अलि पर ग्रिन कलरको डस्टबिनमा पोका फाल्दिएँ। सरस्वती फेरि हाँसिन्।

‘सर, अब चाँइदैन र ?’ जोकिङको शैलीमा उनले भनिन्।

‘म आजै काठमाडु जान्छु’ मैले भने।

सायद, मैले पास्टर हाउस छोड्दा उनको बोल्डनेस प्रतिको एट्रेक्सन पनि त्यहि छोडेको थिएँ।

उनी बसपार्कसम्म मलाई पुर्‍याउन आइन्। म बस चढेपछि हामी छुट्टियौं। उनी पर पुग्दासम्म हेरिरहें। आँखाबाट ओझेल परेपछि उनलाई राखिदिएको नाम चेन्ज गरे– देवी सरस्वती पाठक।
उनी साँच्चै देवी नै थिइन्।

प्रकाशित मिति: शनिबार, आषाढ ५, २०७२ ०९:३७:३८

(स्रोत : Setopati)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.