कथा : पत्रकार, प्रेमिका र डिसहोम

~योगेश ढकाल~Yogesh Dhakal

‘तपाई सोच्नेमात्रै हो, केही गर्नुहुन्न’ ठ्याक्कै ६ महिना बितेछ । उनले यसो भन्दै आ’को । ‘अंग्रेजी पढ ।’ ‘फ्रेञ्च भाषा सिक ।’ ‘पीएचडी इन्रोलको तयारी गर । ‘भावना, कल्पना, आशा, क्षणिक आनन्द र उत्तेजनाका पांग्राले थोरै माइलेज दिन्छ । मिटरमा गन्ती गरेर माइलको जीन्दगी चल्दैन ।’

न्यानो आंलिगनमै कहिलेकाँही भन्थिन् । ‘समयको चिप्ल्याइले यहाँसम्म आइपुगेको जीन्दगी माइलमा नापेर पनि त पुग्दैन ।’ म सोच्थें । ‘भाव उत्तेजनाको गन्थन होइन यो, कुनै हालतमा मिडियामा बस्दिँन तिम्रो कसम ।’ यस्तै भनेर सम्झाइरहेँ ।

पत्रकारिताको छालमा हेलिएँ, अहिलेसम्म छाडेको छैन । किनारा लाग्न खोजेको हो । छालले किनाराभन्दा मझधारमै हुत्याउँछ । न छोड्न सकेको । न गर्न सकेको, घिस्रिएको मात्रै ।

‘सायद तपाईलाई काँचको पर्दाबाट संसार नियाल्दा सिर्फ आर्दश, भावना र भावावेशमा यसो भन्दैछे भन्ने लाग्ला । रंगहीन जीवन रसविनाको कागतीको खोस्टाजस्तै त हो नि । चिम्म गर्दा मष्तिस्कमा आउने रंगीन चित्रको आकार प्रकार र सपनाबारे कल्पिनोस् एकैछिन ।’ हिजो उनले फेसबुकको इनबक्समा लामो म्यासेज लेखेकी रहिछन् । ‘जीवनका रंगीन सपना, कल्पनासंगै मन फुकाएर रुन चाहन्छु । धित पुर्‍याएर आँसु बगाउन चाहन्छु । पेटभरिको पीडा ओकल्न चाहन्छु । तर, पाउँदिन । किनभने निरर्थकको म्याराथुन यात्रामा तपाई निस्किनु भएको छ । क्षितिज छुने सपनामा । तर,तपाईलाई थाहा छैन, म्याराथुनको लँस्ट प्वाइन्ट र क्षितिज । फगत दौडाई मात्र छ ।’

उनको चाहना र अपेक्षाले निथु्रकै भिजेको छु, साउने झरीले झै । निरन्तर चुटिएको छु,असिनाले झै । सपना पनि सिऊसिऊ गर्दैछन् पुषको ठण्डीमा ओंतविनाको गोठका वस्तुजस्तै । थाहा छ, चोटैचोट, अभावैअभाव र पीडैपिडामा जीवन सप्तरंगी बन्दैन । म कसलाई सुनाऊ जीन्दगीका रामकहानी ? उनलाई ? बाआमालाई ? दाजुदिदीलाई ? अहँ सक्दिँन, कसैलाई सुनाउन ।

०००००

शुक्रबार, रातको ११:३० बजे ।

मोबाइल बज्यो । ‘सायद बैठकबाट कसैले समाचार दिन लाग्यो कि ?’ सोंचे । होइनरहेछ । उनैले फोन गरेकी रहिछन् । फेसबुकमा म्यासेज गरेपछि दुई दिनसम्म पुरै सम्र्पकविच्छेद थियो । उपदेश भनौं या वास्तविक कथन । जे भने पनि उनलाई दिने जवाफ थिएन मसँग । हिम्मत पनि भएन । र, रिप्लाई गरेको थिइँन । त्यसैले पनि उनी साँच्चै केही भन्ने मूडमा थिइन सायद । मोबाइल बिजी राख्न मिल्थेन, भित्रबाट सूचना आउथे बेलाबेला । अर्कातिर उनको मूड अफमा रिसिभ गर्न ठीक ठानिँन । काटेँ ।

फेरि मोबाइलमा म्यासेज टोन बज्यो । उच्चस्तरीय राजनीतिक समिति र असन्तुष्ट दलहरुको बैठकमा सहभागी नेताको म्यासेज रै’छ । पढेँ । बैठकको केही सूचना थियो । ‘सहमतिमा आजै हस्ताक्षर हुने । सहमतिको बुदाँ ड्राफ्ट हुँदै ।’ न्यूज ब्रेक गरियो । टिभीमा लाइभ दिएँ । लाइभमा भन्दिँए ‘ ढीला गरी आज नै सहमतिमा हस्ताक्षर हुदैँछ । हस्ताक्षरले राजनीतिक स्थिरताको संकेत गर्छ । र, दलहरु जिम्मेवार बन्न थालेको पुष्टि पनि गर्छ ।’ अरु च्यानलका साथीहरुले न्यूज पठाएकै रै’नछन् । उनीहरुलाई न्यूज रुमबाट दबाब आएछ । मलाई पो सोध्न थाले । सूचना भन्दिँए । बैठक टुंगेको थे’न ।

०००००

हामी रिपोर्टर आईसिसी भवनको राष्ट्रिय बाणिज्य बैंक छेऊको गेटमै जोडिएको चिया पसलमा थियौं । चिया पसल भन्नुमात्रैको । दिउरेमा उम्लिन्थ्यो चिया । कहिलेकाँही लोग्नेप्रतिको आक्रोश पनि चियाझै उम्लिन्थ्यो ती सेती दिदीको । ‘हात्तीभन्दा हल्ला ठूलो’ राजनीति व्यंग्य गर्दा दिल खोलेर हाँस्थिन् दिदी । दिनभरि दारु धोक्ने श्रीमान् पालेकै थिइन् । सरकारी स्कूलमै सही, दुई छोरा पढाएकै थिइन् ।

आइसिसीमा बैठक हुदाँ राति १२ बजेसम्मै बस्छिन् हाम्रै लागि । सेती दिदीको चिया पसल बिहान चाँही बेस्सरी चल्छ । ५ बज्न नपाउंदै आउँछिन् । र, बस्छिन् साँझसम्मै । कस्तरी खटिएर काम गरेकी होलिन् । सोच्छु कहिलेकाँही । मेरो पनि खटाइ कम हो र ? बिहान ११ बजेतिर अफिस पुगेको मान्छे राति १/२ त त्यसै पनि बज्छ । कहिले त झिसमिसमै कुद्नुपर्छ । फरक यति हो, सेती दिदीले जिन्दगी नगदमा चलाएकी छन् । मैले उधारोमा ।

शुक्रबार पनि चियाको कपसँगै घण्टाहरु कट्दै थियो हाम्रो । चुरोटको धुवाँसँगै रातका प्रहरहरु उड्दै थिए । मेरो पेटमा चारो नपरेको बिहानको खानासँगै हो । टाढा जाने अवस्था थिएन । नेता निस्केलान् । बाइट छुट्ला । चिन्ता थियो । नढाँटी भनुँ ? ‘नेता छुट्ने भन्दा रित्तो खल्ती बानेश्वर चोकसम्म डोर्‍याउन सक्थेन । त्यही दुई कप कालो चिया र एक खिली चुरोट धानिन्थ्यो होला खल्ती टकटक्याउँदा ।’

०००००

रातको ११: ४५ भइसकेको थियो ।

टिभीमा लाइभ रिपोर्ट सकियो । अनि उनलाई फोन गरेँ । फोन काटिन् । ‘आई एम एट मिटिड, आई कल यु लेटर ।’ म्यासेज सीधासिधी व्यंग्य थियो । असन्तुष्ट दलसँग संयन्त्रका दलका नेताहरुको वार्ता भै’राथ्यो । आज ठोस निष्र्कष आउँछ भन्दै थिए नेताहरु । हट न्यूज बन्नेवाला थियो । म्यासेज आयो । मोबाइलमा हेँरे । ‘सहमति गर्ने सहमति भयो । भोलि ५ बजे बैठक बस्ने ।’ खङग्रङ भएँ । १५ मिनेट अघि सहमति हुने ब्रेकिङ न्यूज । अहिले सहमति भाँडिएको ब्रेकिङ न्यूज । ‘दर्शकले के भन्ने होलान् ?’ लाइभ दिन मन लागेन । अफिसले माने पो । दिनभरिको भोक । चुरोटको धुवाँ र चियाको बाफसँगै फुंग उडेको अनुहार । ब्रेकिङ न्यूज नै खत्तम भएपछि उठेको रिस । दलीय प्रवृत्ति भन्दै लाइभमा खुब पोखियो ।

०००

‘न्यास्रो लागिरा’छ, शनिबार ठमेलको हिमालयन जाभामा भेटौं न ।’ हिजो भनेकी थिइन् । दलीय वार्ताको रिर्पोटिडमा व्यस्त । खल्तीमा सुको नभा’को अवस्था । त्यसैले फिक्स गरेको थिइँन । अत्यास त मलाई पनि लागेको हो । ठ्याक्कै तीन महिना भा’ थियो न्यानो आलिंगनमा नबाँधिएको । इच्छा र रहरहरु, चाहना र उद्देश्यहरुसँगै चुम्बन नगरेको । म पनि भेटेर मनको कुनामा छचल्किरहेका छालहरु, असीम तरंगहरु पोख्न चाहन्थे उनको न्यानो काखमा ।

अघिल्लो महिना चुनावी रन्कोबारे रिपोर्टिङमा इलाम जानुपरेकाले भेट्न साइत परेन । इलामबाट फर्केकै दिन फोन गरिन् । कोटेश्वरको भाटभटेनी सुपरमार्केटमा बोला’की थिइन् । लखतरान थिएँ । कोठामा पुर्लुक पल्टिएँ । ‘तपाई मैले बोलाउँदा कहिले पो आउनुभा’छ र ?’ आक्रोश र प्रेम एकसाथ पोखियो ।

भेट पातलिनुमा रिपोर्टिङको चटारो भन्दा अर्कै कारण थियो वास्तवमा । जो भन्न सक्दिनथें । चाउचाउजस्तो मन बनाएर पनि धेरै कुरा लुकाउनुपर्ने रै’छ । इलामबाट हरियो चियाको पत्ता ल्याइदिन भनेकी थिइन् । दिनै नपाई काभ्रे जानुपर्ने भो, एकहप्ताका लागि । पछि रामेछाप र दोलखा पनि पुग्ने कुरा भो । दुई हप्ता त्यतै बित्यो ।

००००

अफिस जाँदा बाटोमा पर्छ भृकुटीमण्डप । त्यही बोलाएँ । समाचार प्रशारणको समय हुन लागेको थियो टिभीमा । हरियो चियापत्ता दिएँ, पानको पत्ता सम्झेर । एक महिनासम्म हरियो के बाँकी रहन्थ्यो । नाममात्रैको हरियो । चियापत्ता पो हरियो रहेन, प्रेमले मन हरियाली नै छ नि । ठट्टा गरेँ । मन्द मुस्कान छोडिन् । उनी मुस्कुराउँदा गालामा पर्ने खोपिल्टो मलाई औधी आर्कषक लाग्छ । आज खटाएरै हाँसिन् । छोटो भेट, सायद छोटै हाँसो । लामो भेट त्यही चित्लाङको हो हाम्रो, एक रातको । रंगीन जीवनका सप्तरंगी सपनासँगैको रात । स्मृतिहरु अहिले पनि ताजा भएर आउँछ । एउटा आनन्ददायी कथाको सुरुवात । सुरुसुरुमा म पनि मनको थैली ह्वाङ्गै पारेर पोखिएको हो । न्यानो अँगालोमा बाँधेकै हो ।

००००

दुई बर्षपहिला मेरो फेसबुक पेजमा उनले लाइक गरेपछि चिनापर्ची भा’ हो । ‘हाई, आराम हुनुहुन्छ ? अप्ठ्यारो नमान्नुहोला है, तपाईलाई टिभीमा साँच्चै राम्रो देखिन्छ । तपाईको न्यूज पढ्ने शैली युनिक लाग्छ मलाई । खुब मन पर्छ ।’ फेसबुकको त्यही म्यासेज हो, हाम्रो सम्बन्ध बढाउने तत्व ।

बत्तीसपुतलीमा पुख्र्यार्ली घर । त्रिविबाट अर्थशास्त्रमा स्नातकोत्तर । नाम चलेको बैंकमा जागिर । ५ फिट २ इञ्च अग्ली । न मोटी न पातली । छिनेको बारुली कम्मर । गोलो अनुहार । गहुँगोरी । राता पीरा गाला । द्रेबे गालामा कालो कोंठी । आँखामा गाजल । मीठो मुस्कान । मुस्कानसँगै गालामा पर्ने खोपिल्टो । मसिनो स्वर ।

कम्मरसम्म झर्ने सिलिक्क परेको निख्खर कालो केश । कालोे जिन्स पाइन्ट । र कालै कोट । गालामा रातो सल । पुठ्ठ उठेको छाती । साँच्चै लोभलाग्दो । बैंकको ड्रेसमा झन् कम्ता खुलेकी हुन्थिनन् ।

००००

बजार पिटेकै ब्रोडसिट दैनिकबाट हाम्फालेको हुँ मैले काँचको पर्दातिर । दुई बर्ष भा’थियो । समाचार किल गर्ने सम्पादक र प्रकाशकसँग कुरा मिल्थेन पत्रिकामा । पेड न्यूजको विवाद । तलबको लफडा । व्यावसायिक र स्वतन्त्रता त नाम मात्रै । बाइलाइन न्यूजले पेट नभरिने । खोजपूर्ण रिपोर्टले सनसनी मच्चाउँदा कोठाभाडा भाग लाग्दो रैन’छ । किराना पसले दाइको उधारो ग्राफ एक्स अक्ष्ँतिर झर्दोरहेन छ । छोडिदिएँ पत्रिका ।

दुई वर्ष पहिला पनि नाम चलेकै एफएमबाट सपना र आशालाई साथ लिएर पत्रिकातिर लागेको हो । ओहो भो, एफएमको रामकहानी सम्झिनै मन छैन । तलब त एकादेशको कथा थियो । व्यवहारमै व्यहोर्न नपरेकाहरुलाई व्यहोर्नुको असाध्यै चहर्याउने पीडा के थाहा ? व्यहोर्नुमै दुनियाँको रंगीन पर्दा खुल्दोरहेछ । र, सम्बन्धहरु कसरी काँचझै झर्याझुरुम हुदाँरैछन् भन्ने चेत पनि खुल्दो रै’छ । पत्रिका छोड्दा गहिरो गरी मिडिया मोह छेऊ लाग्दै थियो । लेऊ लागेर बस्नुभन्दा छेऊ लाग्नुमा मज्जा देख्दै थिएँ । काँचको पर्दाबाट बोलाए । केही महिनादेखि बेरोजगार थिएँ । दुई/चार ठाँउ धाएको पनि थिएँ जागिरका लागि । कतै मेरो नाम सुनेरै तर्सिन्थे । कतै पत्रकारलाई जागिर दिए संस्थाको गोप्यता रहँदैन भन्थे । बाहाना र आक्रोश थुप्रै थिए । दिनदिनै फोन गर्ने साथी, समाचार स्रोत,व्यापारी,नेता,कर्मचारी सबैसबै पत्रिका छांडेपछि पातलो सम्बन्धमा थिए । हिजो पो पावर र पहुँचमा थिएँ । आखिर पत्रकार खोलाको फड्के न हो, बाढी आउँदा तर्यो सकियो । ‘महिना दिनमै सम्बन्धहरु पातलिएका मात्रै थिएनन, गौंडा ढुक्नेहरु पनि निस्कन थालेका थिए । सोंचे । ‘जे भए नि काँचको पर्दाको अनुभव पनि हुने, जागिर पनि पाइने । पुरानो सम्बन्ध पनि जोडिने ।’ टिभीलाई कन्र्फम गर्दिएँ । एकवर्ष त जागिरको पांग्राले जेनतेन तानेकै हो । यता,चाँहि साँच्चै माइलेज घट्दै गा’को छ ।

०००००

अफिसको गाडी छाड्न आउँछ बेलुका, पुरै काठमाडौ घुमेर । १२ बजे हिँडेको गाडी मेरा कोठामा आउँदा ठ्याक्कै बिहानको दुई बज्छ । ढोका खोल्नेवित्तिकै ह्वास्सै गन्ध आयो । गन्धले नै ढलिएला जस्तो । रातदिन झ्याल बन्द । कहाँबाट हावा छिरोस् गन्ध नहुनलाई । लखतरान ज्यान । दिनभरिको तनाव । किचनमा छिर्नै मन थिएन । साहुको जिक्री दोस्त हो श्यामनारायण । कर्जा सूचना केन्द्रले कालोसूचीमा राखेको व्यापारी हो ऊ । कहिलेकांही रक्तचन्दन तस्करीमा नाम आउँछ । उसले टिभीका स्टाफलाई सोल्टी होटलमा पार्टी दिएको थियो हिजो । बान्डेड दारु चाख्दाचाख्दै धेरै भएछ । मासुमा चिल्लो पनि बढी भएछ सायद । आज निकै दुःख दिइरा’छ ग्यास्टीकले । फेरी दिनभरि चियामात्रै ।

कुकरमा बिहानकै भात थियो, कक्रक्क परेको । किचन र्‍याक हेरेको, तरकारी केही रहेनछ । चामलचाँहि कसोकसो हिजोमात्रै एक किलो ल्याएको थिएँ । आलु उसिन्ने कि भन्ने लाग्यो । हेरेँ । छैन । एउटा चाउचाउ रै’छ । त्यही पकाउन लागें । झ्याप्पै ग्याँस निभ्यो । ‘के भएछ ?’ यसो हेरेको ग्याँस नै सकिएको रैछ । ‘आऽऽ यही खा’र सुत्नुपर्‍यो । पल्टिएँ पलङमा ।

औंला भाँचे । दिनगिन्ती गर्न मन मानेन । घण्टा । दिन । हप्ता । महिना । बर्ष । अहँ केही जोडिँन । हिसाब मिल्ने भए पो औंला भाँच्नु । व्ययको ग्राफ एक्सअक्षतिर उकालो चढेकै छ । आयको ग्राफ वाई अक्ष्ँतिर झर्दोछ । ९ महिना भो अफिसबाट सुको नपा’को । तरकारी पसलेको उधारो नतिरेको ६ महिना भएछ । किराना पसले दाईको घरको छेऊ लागेर हिँडेको कथा झन् कतिकति । अस्तिमात्रै पुतलीसडकमा भेटिए । ‘उधारो खाएपछि तिर्नुपर्छ भन्ने था’छैन ?’ सडकमै सात्तो खाइदिए । घरबेटीलाई मुख नदेखाएको गन्ती नै छैन । कोठामा भेट्ला भनेर बिहानै निस्कन्छु । बेलुका त्यसै पनि राति १/२ बजिहाल्छ । धन्न, बेलुका मुलगेटमै भोटेताल्चा मारेका छैनन् अहिलेसम्म ।

०००००

अस्तिमात्रै हो ‘तलब पाइन्छ कि भनेँ’ अफिसमा । रन्की हाले चेयरमेन बुढा । ‘जागिर पनि तलब पनि पाइन्छ ?’ ‘जागिर र तलबको फरक नबुझ्नेले काँचको पर्दाबाट के सिकाको होला है ?’ यस्तै भन्दा हुन् सायद सडकमा । तलब र जागिरको फरक नबुझ्ने कस्तो मूर्ख म । गाममा बाले सहर पसे’सि राम्रो जागिर खाएस् । तलब पनि राम्रै हुन्छ भन्थे । ‘शहर पसेको छोरो काँचको पर्दामा देखिन्छ । टाईसुटमा हुन्छ । देश विदेशको कथा भन्छ । नेतादेखि अभिनेतासँग गफ गरेको छ । शानले अन्तर्वार्ता गर्छ । दर्शनका कुरा । अध्यात्मका कुरा । राजनीति । साहित्य । सबैसबै बारे बोल्छ । छोरो साँच्चै विद्धान भएछ ।’ बाले ठानेका छन् । पत्रिकामा हुञ्जेल बाले केही गन्थेनन् मलाई । गन्नलाई अक्षर पढ्न जानेका भए पो । फेरि गाममा पत्रिकै पुग्थेन । टिभीमा छोरो देखिन थालेपछि चांहि बाले भैंसी बचेर ६ महिनाअघि डिस होम जोडेका छन् । गामका सबै टिभी हेर्न झुम्मिन्छन् रे । ‘छोरो हुनु भनेको काकाको जस्तो पो त । हाम्रा चाँहि डोरीलाहुरे बन्न हाम्फाले खाडीतिर भन्छन रे ।’ फोनमा बाले अस्ति भनेका ।

००००

‘अब चाँहि तपाईलाई भनेर केही लाग्ला जस्तो लागेन । यतिका दिनसम्म त सुधि्रनुहोला भन्ने थियो । अब चाँहि पत्याइँन ।’ राति अबेर म्यासेज आयो । अस्तिमात्रै तीतोसत्य भन्दै टिभीका पत्रकारले तलव नपाएको कथा प्रशारण गर्दिएछ । त्योबेला सोंधेकी थिइन् मलाई । व्यंग्य गरेको नि, भनेर जवाफ दिएँ । पर्दाको अनुहारको भ्रममा रहेकी उनलाई अर्को भ्रम र झुठ थपिदिएँ । तलब पनि सोधेकी थिइन् । केटाको तलब र केटीको उमेर नसोध्नु भन्छन् भनेर टार्न खोजेको हो, सकिँन । भनंे, ‘३० हजार हो ।’ पत्याइन् । उनले पनि भनिन्.’मेरो भन्दा ७ हजार बढी रै’छ है ।’ हो भनें । विचरीलाई के थाहा, महिनामा ७ हजार रुपैयाँ तलब छ भन्ने । त्यो पनि ९ महिनादेखि पा’को होइन । फेरि त्यही च्यानलले जिरेखोर्सानी भन्दै अर्को भाग प्रशारण गरेछ, टीभी पत्रकारको रामकहानी । त्यस्तै व्यंग्यवाण हानेछ । एउटा साप्ताहिक पत्रिकाले पनि बेलाबेला त्यस्तै समाचार लेख्छ । त्यो पनि पढेकी रहिछन् । धन्न, घरमा डिसहोमको रिचार्ज सकिएको रैछ । बाले हेर्न भ्याएनछन् ।

००००

‘आनन्दको गुलाफमा तेजाब खन्याइदाको पीडा र विवशतता बुझ्छौ नि । गहिरो घाउ कोट्याउन खोज्दा बिछट्टै दुख्छ र घाउ आलो भएर उधुम चहर्याउनेरहेछ ।’ निकै भावुक बनेर दुई दिनपछि म्यासेज रिप्लाई गरें । उनका असीम पीडा ह्वालह्वाल पोखिने म्यासेजले तनाव त थपिरहेकै थियो । बाले अस्ति फोनमा दुई/तीन महिनाको तनखा पठाइदे न खर्चबर्च छैन भन्दै थिए । तीखो काँडा बनेर धड्कन रोक्ने गरी निकै निकै घोच्ने वास्ताविकता र वाध्यता ओकल्न पनि मिलेन । तौलिएरै बोलिरा’थे ।

‘यु आर अ रियल जर्नालिष्ट । हजारौं सपना,अपेक्षा,चाहना र इच्छाभन्दा एउटा भ्रमबाट छुटकारा पाउनु कयौं गुण फलदायी हुन्छ । मनमा अनगिन्ती छाल,सन्दर्भ र अनुभूतिहरु मडारिन्छ तर लेख्न सकिँन । धन्यवाद ।’ उनको जवाफी म्यासेज आयो मध्यरातमा । अर्थ बुझेको भा’ मार्दिनु ।

प्रेम झांगिनु पर्ने हो,अचेल किन हो खै जीवनका रंगहीन रातको कथा सुनाउँछिन् । सपना, आकांक्षा र भावनाहरु गिजोलिएको पीडा भन्छिन् । मेरा आश्वासनले उनको मन पग्लिन छाडेको छ । अनुभूतिका असंख्य तरेलीहरुसँग उसैगरी अनुभूत भइरहेको छैन । पीडा र व्यथाको सामीप्यले कहिल्यै नमिलेको सम्बन्धझै पारेको छ अचेल । तलब र जागिरको पर्दा उघि्रएपछि सम्बन्ध धमिलो बनाउँदैछ सायद । पातलो र निरस ।

भोलि बा’ले फोन गर्दैछन्, तनखा माग्न । आयस्ता भए पो दिनु । वास्तविकता र विवशताको अर्को पर्दा खुल्ने दिन आयो । अनि, कुन दिन घुर्‍यानतिर हुर्‍याउने हुन् बाले त्यो डिसहोम ।

२०७० भदौ १५ गते ५:१४ मा प्रकाशित

(स्रोत : Onlinekhabar)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.