कथा : अतित

~अमृत भुसाल~Amrit Bhusal

‘के तिमीले मलाई चिनेकी छ्यौ ?’

‘छैन ।’

‘किन फ्रेन्ड रिक्वेक्ट पठाको त ?

‘तिमी राम्रो मान्छे छौ नि । त्यसैले ।’

‘चिन्दै नचिनी कसरी राम्रो मान्छे भन्छ्यौ ?’

(हिहिहि, हाँसेको स्टिकर)

‘मेरा दोषी आँखाले नदेखे पनि मेरो मनले देखेको छ नि, तिमीलाई ।’

‘ह्या वाहियात कुरा नगर न यार, को हो तिमी खुरुक्क भन ।’

‘किन तिमी रिसाएको ? ल हेर मेरो फोटो, मलाई चिन्छौँ ।’ (म्यासेजमा फोटो आयो)

उसको फोटोलाई मैले मोबाइलमा सेभ गरेँ र जुम गरेर धेरै बेर हेरेँ । ऊ असाध्यै राम्री थिई । जवान केटीको फोटो जवान केटाले कसरी हेर्छ ? के–के हेर्छ ? मैले पनि त्यसैगरी हेरेँ । मुखबाट फ्याट्टै निस्कियो, ‘कस्तो च्वाँक केटी’ ।

सिभिल महलको हिमालयन जाभाको टेबल नम्बर १५ मा बसेर चुरोट र कफीको चुस्कीमा केटीको फोटो नियाल्दै थिएँ ।

पुनः म्यासेज आयो, ‘होइन फेन्ट भयौ कि क्या हो फोटो हेरेर ?’

‘हो त । कसैको नभएको तिम्रो फोटो ! फेन्ट भएको थिएँ, तिमीले ब्युँभmाइदियौ ।’

‘हो हई । ल अहिलेलाई बाई गरौँ, साँझ आऊ न अनलाइन, मज्जाले गफ गरौँला ।’

‘तिम्रो परिचय पाऊँ न । अनि पो गफ गरौँला ।’

त्यति लेखेर पठाउँदासम्ममा ऊ फेसबुकबाट अफलाइन भई । अर्को चुरोट सल्काउँदै त्यहाँबाट उठ्ने तर्खरमा थिएँ । यसो घडी हेरेको दिउँसोको १२ः१० भएको थियो । बेलुका ४ः३० को प्लेनबाट बुटवल फर्कनु थियो । काठमाडौंको काम छिटो सक्नतिर लागेँ ।

‘कृपया आ–आफ्नो मोबाइल स्विच अफ गर्नुहोला ।’ बुद्ध एयरको एयर होस्टेज नानीको मधुर आवाज गुन्जियो बेलुका ४ः४५ बजे । खल्तीको मोबाइल तुुरुन्त निकालेर एरोप्लेन मोडमा राखें । फेसबुकको म्यासेन्जरमा म्यासेज आएको कुरा देखायो, मोबाइल हेरेँ ।

‘ह्याभ अ सेफ जर्नी !’

त्यही केटीको म्यासेज रहेछ ।

प्लेन जमिन छाडेर आकाशमा पुगिसकेको थियो । पुनः त्यो केटीको फोटो हेर्न मोबाइलको ग्यालरीमा गएँ, जताततै हेरेँ । सेभ भएनछ । खोपडीभित्रको गिदीलाई त्यो को केटी हो भन्ने सोच्नलाई तीव्र र क्षमताले भ्याएसम्म सक्रिय बनाएँ । तर, पत्ता लाउन सकिनँ ।

५–६ दिनको काठमान्डुको बसाइ, साथीभाइसँगको रमाइलोले गर्दा सुत्न नसकेको म, बेलुका ८ बजे नै निदाएछु ।

मोबाइलमा घन्टी बज्यो र ब्युँझिएँ । फोन रिसिभ गरेँ । उसैले मीठो मधुर आवाजमा ‘अनलाइन आउन प्लिज’ भनी । फेसबुक म्यासेन्जर खोलेँ । उताबाट म्यासेज आइहाल्यो ।

‘छोटो दूरीको हवाई यात्रा कस्तो भयो ?’

‘कस्तो भयो भनेर भनौं ? तिम्रो बारेमा सोच्दा सोच्दै भैरहवा आइसकेछु ।’

‘मलाई थाहा थियो, तिमी मेरोबारे सोच्दै मोबाइल चलाउँदै थियौ हैन ?’

‘कसरी थाहा भो तिमीलाई !’

‘हिहिहि !’ हाँसेको स्टिकर पठाउँदै भनी । म तिमीपछाडिको सिटमा थिएँ ।

मेरो दिमाग फनफनी घुम्यो, पछाडिको सिटमा त दुईजना अर्धबैंसे लोग्ने मानिस थिए । पत्याइनँ र भनेँ, ‘ह्या पागल कुरा नगर न यार । आखिर को हौं तिमी ?’

उसले आफ्नो परिचय त दिइन, तर प्लेनभित्रका मेरा हरेक क्रियाकलाप भनेर आफू पनि त्यही प्लेनमा भएको प्रमाणित गरी । भनी, ‘अब त विश्वास भो होला नि हैन ?’

भनें, ‘प्रमाणसहित पेस गरेपछि त मान्नुपर्यो नि, बरु भन तिमी को हौ ?’

‘मेरो परिचय पाउनुअगाडि एउटा कुरा भनूँ ?’

‘मस्त निन्द्रामा डिस्टर्ब गरिहाल्यौ, एउटा के, दुइटा कुरा गर न ।’

‘होइन एउटा मात्र भन्छु ल !’

मैले हास्दै भनेँ, ‘ल ल भन ।’

‘साँच्ची भनौं ?’

‘भन न ।’

‘अतित, म तिमीलाई प्रेम गर्छु ।’ सँगै लभको स्टिकर पनि आयो ।

मैले टाइप गरेँ, ‘चिन्नु न जान्नु के को प्रेम ? ह्या वाहियत कुरा ।’

भन्न त भनेँ । तर कसैले प्रेम गर्छु भनेर भन्दा मन खुसी भएर फुरुक्क परेको थियो । किनकि जीवनमा पहिलोपटक प्रेम प्रस्ताव आएको थियो कसैको ।

उसले भनी, ‘मनमनै खुशी छौ । तर रिसाए जस्तो गर्छौ ? तर पनि आई लभ यू अतित । नाउ बाई–बाई, टक टु यू लेटर ।’

म अलमल्ल परेँ । सिलिङ्गमाथि नाचिरहेको पंखाजस्तै दिमाग घुम्न थाल्यो । पर्समा राखेको चुरोट लिएर छतमा गई तान्न थालें । त्यही केटीको कल्पना गर्दै र सोच्दै । त्यतिन्जेल मध्यरातको १२ः३० भइसकेको थियो ।

अर्को दिन अफिसमा आफ्नै कामको हतार थियो । त्यत्तिकैमा म्यासेज आयो, ‘आई लभ यू अतित । आई मिस यू सो मच ।’

‘के नाटक गर्छौ यार, को हो तिमी ?’ टाइप गरेर सेन्ड गर्न खोजेँ तर सेन्ड भएन । उसको प्रोफाइल खोल्न सर्च इन्जिनमा गएँ तर ‘सरी, डिन्ट फाइन्ड एनी पिपल’ भन्यो ।

दिमागले अफिसको कामभन्दा उसैबारे बढी सोच्न थाल्यो । त्यस रात पनि फोन आयो । मधुर र निर्दोष आवाजमा सुनेँ, ‘अतित, आई लभ यू । मिस यू सो मच ।’ तुरुन्त फोन काटियो । घडी हेरेको १२ः१० भइसकेको रहेछ । निदाउने प्रयास गरेँ ।

एक हप्तासम्म यो प्रक्रिया निरन्तर रह्यो । म पागलजस्तो हुन थालेँ । शनिवारको रात फरक नम्बरबाट फोन आयो । रिसिभ गरँे । उसले मधुर आवाजमा ‘अतित, आई लभ यू, मिस यू सो मच’ भन्छे भन्ने लागेको थियो । तर भनी, ‘अनलाइन आऊ न प्लिज !’

म अनलाईन भएँ । उसले भनी, ‘सरी ल अतित, मैले तिमीलाई दुःख दिएँ ।’

मैले अलि रिसाएजस्तो गरेर भनेँ, ‘दुःखमात्र होइन, पागलै बनाउन थाल्यौ । आखिर के चाहन्छौं तिमी मसँग ?’

‘के चाहान्छु र अतित । म तिम्रो माया चाहन्छु ।’

उसको कुरा सुनेर दिक्क लाग्यो र झर्किदै भनेँ, ‘ओहो ! अब चाहिँ साँच्ची पागल भएँ । आखिर तिम्रो नाम के हो ?’

‘खुस्बु । चिन्यौ अब ?’

नाम कतै सुनेजस्तो लाग्यो । दिमाग फनफन्ती घुम्न थाल्यो ।

त्यत्तिकैमा उसले भनी, ‘तिमीले अञ्चल अस्पतालभित्रको क्याबिनमा बसेर चुरोट खाएको असाध्यै मन परेको थियो ।’

मैले लाडिदै भनें, ‘ओई खुस्बु, कहिलेको कुरा गर्दैछौ ?’

‘४÷५ वर्ष अगाडिको ।’

‘खै, मैले त बिर्सिएँजस्तो लाग्यो ?’

‘हुन सक्छ । तर मैले बिर्सिएकी छैन ।’

‘उसो भए यतिका वर्षपछि किन कन्ट्याक्टमा आएको ? ल भन त ।’

‘यस्तै हो अतित । समय पाएकी थिईनँ । अर्को कुरा यत्रो कुरा गर्ने हिम्मत थिएन । अहिले हिम्मत जुटाएर भनेँ– आइ लभ यू ।’

‘तिमी अहिले कहाँ छौ ?’

‘अस्पतालमा’

‘कुन ?’

‘लुम्बिनी जोनल अस्पताल ।’

‘उसो भए म भेट्न आउँछु । कुन डिपार्टमा छौ ?’

‘मेन गेटबाट भित्र आउ । तिमीलाई कुरेर बस्छु ।’

म गाडी लिएर अञ्चल अस्पताल पुगे । गेटनिर पुग्नै लाग्दा फोन आयो ।

‘अतित गाडी पार्किङ गरेर हस्पिटल पछाडि आऊ ।’

उसले भनेअनुसार हस्पिटलपछाडि गएँ । तर देखिनँ । बरु फोन आयो । उसले बताएको बाटो पछ्याउँदै गएँ । त्यसैबीच उसले भनी, ‘अतित, सरी ल । तिमीले ढिला ग¥यौ । आई लभ यु । मिस यु सो मच ।’ त्यसपछि फोन राखी । यसो अगाडि हेरेको त ‘पोस्ट माटम गृह’ लेखिएको थियो ।

मलाई डर लाग्यो । फटाफट बाहिर निस्कन थालेँ । त्यत्तिकैमा हस्पिटलभित्रको पुरानो स्टाफलाई देखेँ र सोधेँ, ‘दाइ, यहाँ खुश्बु भन्ने स्टाफ छ र ?’

उनले मलिन स्वरमा भन्यो, ‘थिइन् भाइ । साह्रै असल र मिलनसार । राम्री पनि । तर के गर्नु । ऊ त्यो छतबाट चिप्लेर लडिन् र मृत्यु भयो ।’

उनको कुरा सुनिनसक्दै म उभिएको जमिन भासिएको अनुभूति भयो । चारैतिर कालो फैलिएको थियो । अतितको कालो !

(स्रोत : Ratopati)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.