~बिन्दु सुबेदी~
“सुँक्क……..सुँक्क…….” को आवाज सुनेर शर्मिलाका भर्याङ उक्लदै गरेका गोडाहरू एकाएक रोकिए। उसले उक्लिसकेका खुटकिला फेरि बिरालोको चाल जस्तै गरी ओर्लिएर मटानको दाहिनेतिरको ढोकाको खापामा कान लगाई। निकैबेरसम्म पनि कुनै शब्दहरू नसुनेपछि उसले ढोकाको साँचो लगाउने प्वालमा आँखा टसाएर भित्रको दृष्य हेर्ने प्रयास गरी। भित्र खाटमा उसले ससुरा निर्जीव मूर्ति जस्तो खुट्टा खसालेर बसेको देखी। उसका आँखाहरूले कोठाको दलिनलाई यसरी तारो ताके जस्तै ताकेका थिए मानौं अहिले त्यहाँबाट छटपटाउँदै कुनै माछो खस्नेछ।
खाटको एक छेउमा टाउको घोप्टो पारेर उसकी सासु सुँक्क सुँक्क गरेर रोइरहेकी थिई। ऊ जति जति सुँक्क सुँक्क गर्थी त्यति त्यति उसको स्थूल शरीर हल्लिन्थ्यो। शर्मिलाको हातको पुजाको थाली थर्र काम्यो। ऊ भित्तामा अडेस लागि र लामो सास फेरेर आँखा चिम्म गरी। चिम्म परेका परेलीका डिल सर्र रसाए।
कोठाभित्रको दृष्य र मटानको दृष्य यो घरमा बारम्बार अनुभव गरिने विषय भएका छन् आजकल। यी दृष्यहरूका साक्षी पनि यिनै निर्जीव कोठा चोटा, मटान, दलिन र भर्याङ भएका छन्। अब त सास फेर्नु, खाना खानु, सुत्नु, उठ्नु, जस्तै सामान्य भइसकेका छन्। उनीहरूका लागि सुँक्क सुँक्क रुनु र दलिन ताकेर बस्नु पनि।
कतिपटक शर्मिलालाई लाग्छ ढोका ढ्याङ ढ्याङ पारेर खोल्न लगाऊँ र सासुलाई यसरी नरून भनुँ। तर उसको आफ्नै नियति पनि त त्यो भन्दा कहाँ फरक छ र। सासुको छेउमा त थकित, गलित, दुखित भए पनि कोही त छ टाउको मुसार्ने सान्त्वना दिने। तर उसको लागि त जीवन आकाशमा झुण्डिएको बादलको टुक्रासरि भएको छ जहाँ शून्यता बाहेक केही छैन।
शर्मिलालाई अचानक आफ्नो शरीर फनफनी रोटेपिथ घुमेजस्तै लाग्छ ऊ थचक्क भर्याङको खुट्किलामा बस्छे। उसको आँखामा सुरजको अनुहार झलझली आउँछ। उसले भनेको सुरजले मानिदिएको भए आज यो दिन भोग्नु पर्ने थिएन शायद।
क्षेत्रपाटीमा उनीहरूको एउटा राम्रै चलिरहेको बिजुलीको सामानको पसल थियो। राम्रो यस अर्थमा भन्नुपर्थ्यो कि त्यसै पसलको आम्दानीले घर परिवारको खर्च राम्रोसँग धानेको थियो। बाङ्गेमुढा चोकबाट भित्री चोकमा रहेको दुई नाले चारतले घरमा पनि दुई तला भाडामा लागे कै थियो।
पश्चिम नेपालको पाल्पाबाट आएकी शर्मिला दुई दाजु र एउटी बहिनीसँगै असनको एउटा घरमा डेरा लिएर पढ्नको लागि बसेकी थिई। पहाड घरमा हुने खानेमा दरिन्थ्यो उसको परिवार। खेतिपाती बाहेक बजारमा एउटा निकै चलेको कपडा पसल पनि थियो उनीहरूको। शर्मिलाको बुबालाई छोराछोरीले आफ्नो पुर्खौली काम भन्दा अझ राम्रो र पैसा कमाउन सक्ने व्यवसाय गर्कन् भन्ने चाहना थियो। त्यसैले चारै छोराछोरीहरूलाई काठमाडौंमा राखेर पढाइएको थियो।
शर्मिला कलेज पढ्न थालेपछि उसको साथी सङ्गातिको वृत्त फराकिलो हुनुको साथै स्वभावमा पनि केही चञ्चलता र उत्सुकता थपियो। साथीहरूसँग पिकनिक जाने, घुम्न जाने, सिनेमा हेर्ने जस्ता कुराहरू पनि बिस्तारै बढ्न थाले। त्यसै क्रममा ऊ सुरजसँग नजिकिन पुगी। सुरजका बा आमाले शर्मिलालाई बुहारी बनाउन जति सहजै स्विकार गरे पनि शर्मिलाका परिवारले भने त्यसलाई पचाउन सकेनन्।
शर्मिलालाई काठमाडौंको समाजमा घुलमिल गर्न गार्हो हुन्छ भन्ने निहुँ पारेर उसका मातापिताले आफ्नैतिरको कुटुम्ब ठीक पारे उसको विवाहको लागि। यो थाहा पाएपछि एकदिन साथीको घर जान्छु भनेर निस्किएकी शर्मिला फेरि डेरामा फर्किन। उसका मातापिताले खबर पठाए, …अबदेखि ऊ सबैका लागि मरिसकी’ भनेर। तर त्यस कुराले शर्मिलालाई पटक्कै छोएन किनभने सुरजका मातापिताले उसका सम्पूर्ण भावनात्मक अभावलाई सजिलै मेटाइदिएका थिए। ऊ घरकी बुहारीमात्र होइन छोरी पनि भएकी थिई।
कानमा ठोक्किन आएको आवाजले शर्मिलाको स्मृतिलाई बगाइदियो। भित्र ससुरा सासुलाई सम्झाउँदै थिए।
“तिमीले यसरी आजको दिन पनि रोयौ भने छोराको आत्माले के भन्ला” बुहारीले थाहा पाई र ऊ पनि रुन थाली भने के गरेर उसलाई सम्झाउने। यो सब नियतीको खेल हो। जुन हाम्रो वशमा छैन। बरू छिट्टै उठेर नुहाइ धुवाई गरेर बुहारीलाई सघाउन जाऊ। एकछिनमा पाहुनाहरू आइपुग्छन्। गुरुमाहरूको लागि खानेकुरा तयार गर्नुपर्यो। बार्ह बजेपछि उहाँहरू भोजन गर्नुहुन्न भन्ने तिमीलाई थाहै छ। बुद्ध भगवानलाई सम्झ सबै ठिक हुन्छ। म पनि भेडासिंङ गएर रोटीहरू ल्याइदिन्छु।
ससुराका वाक्यहरूले रोइरहेकी सासुलाई मात्र हेर्ने शर्मिलालाई पनि सचेत गरायो। ससुरा ठीक त भन्दै हुनुहुन्छ। ऊ हत्तपत्त माथितिर उक्ली।
बुईंगलको तलामा एकातिर भान्छा थियो अर्कोतरि उपासना गर्ने ठाउँ। भित्ताभरिको आकारमा कलात्मक बुट्टाहरूले बनिएको आकर्षक दराजको मध्य भागमा ठूलो ढलौटको बुद्धको मूर्ति थियो। दायाँबायाँका खण्डहरू पञ्चबुद्धका साना साना मूर्तिहरू, योगिनीहरूका विभिन्न मुद्राका तस्बीरहरू, फूलदानहरू, चिनियाँ माटोले बनेको रङ्गदार हाँसिरहेकेा बुद्ध आदिले सजिसजाउ थिए। माइली दिदीले दराज अगाडिको भूईं सफा सुग्घर पारेर बुद्धको मूर्ति अगाडिको पानसमा बत्ती पनि ठिक पारिसकेकी थिई। माइली दिदी भान्छामा बारा पकाउँदै थिई। शर्मिलालाई देख्ने बित्तिर्क उसले भनी।
“शर्मिला मैयाँ कति ढिलो गरेको? छिटो छिटो चकटीहरू ठीक पार्नुस् बत्ती पनि सल्काइहाल्नुस्। मैले सबै खानेकुरा
पकाइसके। यै बारा र अचार बनाउन मात्र बाँकी छ। गुरुमाहरू आउने बेला भैसक्यो।”
“हो माइली दिदी। म त त्यसै ढिलो भएछु।”
“बा आमा पनि किन माथि नआउनु भएको होला यतिबेलासम्म। झन मैले आउनासाथ चिया पुर्याइदिएको आज।” माइली दिदीले सानो गुनासो पोखी।
शर्मिलाले कुरा छल्दै भनी “बा रोटी लिन जानुभएको छ आउने बेला भैसक्यो। आमा ठिक पर्दै हुनुहुन्छ होला।”धेरै वर्ष यस्तै बुद्ध धर्म मान्ने परिवारहरूको काम गरेको हुँदा माइली दिदीलाई धेरै कुरा थाहा छ। उसले अलिक साखिलो हुँदै भनी।
“सानो बाबु पनि भए आज कति राम्रो हुन्थ्यो। गुर्कमाहरूले प्रज्ञापारमिता पढेको बेलामा त घरको सबैजना हुनुपर्छ। आज त सुरज बाबुको श्राद्धको दिन। छोराछोरीले गुरुमाहरूलाई दान दिँदा झन राम्रो हुन्छ हैन र?”
“हो माइली दिदी। तिमीलाई यो घरको सबै कुरा थाहा छदैंछ। तिमी पुरानी मान्छे मैले के भन्नुपर्छ र? मलिन स्वरले उत्तर दिएर शर्मिला चकटीहरू मिलाएर राख्न थाली।
भन्न कति सजिलो भयो तर उसको मन छटपटाइरहेको थियो आँधीहुरीमा परेको पंक्षी जस्तो। एकदिन सुरजले “सबै साथीहरू विदेश गएर पैसा कमाएर फूर्ति लाउँछन्, म पनि जान्छु” भन्दा शर्मिला आकाशबाट खसे जस्तै भएकी थिई। उसलाई यो परिवारको डुङ्गा एक्लै चलाउन सक्छु भन्ने लागेकै थिएन। नौं वर्ष पुगेकी छोरी र सात वर्ष पुगेको छोराको शिक्षा दिक्षाको दायित्व कसरी एक्लै पुरा गर्ने भन्ने सोचले ऊ आत्तिएकी थिई। त्यसैले उसले अन्तिम दिनसम्म पनि विदेश गएर यहाँ कहिल्यै नगरेको काम गर्न किन जानुपर्यो भनिरही। तर सुरज एक वर्ष मात्र भए पनि जान्छु र म पनि जापान गएर आएको भन्ने नभनाई त कहाँ छोड्छु र भन्दै आफ्नो कुरामा अडिग रह्यो र विदेशियो। एक, दुईतीन गर्दै सातवर्ष बितेर गए।
शर्मिलाले फोनमा हरेक पटक सुरजलाई घर फर्कन भनी। छोराछोरी बिग्रन लागिसके भनी। रोइकराइ अनुनय गरी, रिसाई, घुर्की लगाई तर उसको केही पनि लागेन। सुरजको जवाफ पनि शर्मिलालाई कण्ठै भइसकेको थियो।
“म त्यहाँ आएर के गर्ने त्यही पसलमा बस्ने त हो। पसल बाले चलाउनु भएकै छ। यहाँ म राम्रै पैसा कमाइरहेको छु। एउटा भने जस्तो घर बनाउने पैसा नकमाइ के फर्कनु।”
आफ्नो बा आमा, श्रीमती कसैको कुरा पनि सुन्न मानेन सुरजले। सुरजलाई पैसाको भुत चढेको थियो। छोराछोरीका लागि उनीहरूको बुबा र पैसा पर्यायवाची भइसकेको थियो।
दिन, महिना र वर्ष बित्दै गए। सुरज विदेशिएको दश वर्ष भएछ। सुरजले पठाएको पैसा जम्मा गरेर शर्मिलाले भैंसेपाटीमा एउटा राम्रो घर पनि किनी। तर सुरज फर्केपछि मात्र नयाँ घरमा सर्ने सल्लाह गरेर शर्मिलाले घर भाडाँमा लगाइ दिई।
“ममी……….मलाई पैसा चाहियो” अकस्मात् छोरीको कर्कश स्वर सुनेर शर्मिला जिल्ल परी।
“आज त तिम्रो बुबाको श्राद्धको दिन हो। गुरुमाहरू आउनुहुन्छ कतै जानुहुन्न छोरी” शर्मिलाको आवाज नरम थियो।
“म जान्छु भनेपछि जान्छु जान्छु….. मेरो साथी पर्खिरहेको छ। छिटो दिने कि नदिने…..।”
उसले केही नबोली पैसा झिकेर छोरीलाई दिई। भर्याङ ओर्लिरहेकी छोरी उसको आँखामा भत्किएको प्रतिविम्ब भएर अल्झिई। पलक जोडिदा दुई थोपा आँसु भएर त्यो प्रतिविम्ब भुईंमा झर्यो र बिलायो। ऊ निस्तेज उभिरही।
एकदिन सुरज र उसका साथीहरूलाई जापानी पुलिसले पक्रियो रे भन्ने खबर आयो। त्यो खबर सुनेर शर्मिला मनमनै खुसी भई। अब त उसको लोग्ने घर फर्कन्छ बा आमाको ख्याल गर्छ, उसलाई सहयोग गर्छ, छोराछोरी बिग्रन पाउँदैनन् आदि सोचेर ऊ ढुक्क भएकी थिई।
त्यस खबरको दुई महिना पछि सुरज घर फर्केर आयो। त्यो दिन उनीहरूको घरमा कुनै उत्सव आएको जस्तै भएको थियो। परिवार र नातागोताका सबै इष्टमित्र भेला भएका थिए। उनीहरूको लागि सानोतिनो भोजकै आयोजना गर्नुपरेको थियो शर्मिलाले।
तर शर्मिलाको खुसी धेरै टिकेन। विदेशमा भिसा बिना नै लुकेर काम गर्नुपर्ने हुँदा कामदारले कुनै सुविधा पाउँदैनथे। उनीहरू अलिकति मात्र बिरामी भए भने पनि औषधी गर्दा सर्वस्व जान्थ्यो। त्यसैले बिरामी पर्दा कमाएको सबै पैसा औषधी गर्दा सकिएला, मालिकले कामबाट निकालिदेला भनेर अनेक प्रकारका भिटामिन र औषधीहरू किनेर खान्थे उनीहरू। सुरजले पनि दश वर्षसम्म कडा परिश्रम र त्यस्तै प्रकारका औषधीहरूको सेवन गरेको थियो। बाहिरी स्वरूप मोटोघाटो देखिएको सुरज भित्र भने धमिरा लागेको रूखजस्तो मक्किइसकेको थियो। घरको परिस्थिति पनि अनपेक्षित भयो उसको लागि। छोराछोरी कसैलाई नटेर्ने भएका थिए। उसले दुवैलाई गाली गरेर सुधार्ने प्रयास गर्यो। छोरीले रिसाएर विष सेवन गरेपछि सुरज तर्सियो र जेसुकै गर भनेर छोडिदियो। ऊ साथीकहाँ गएको भनेर कतिदिन बाहिर बस्ने पनि गर्न थाली। छोरोको उद्दण्डता पनि झन झन बढेर जान थाल्यो। ऊ कहाँ जान्थ्यो के गर्थ्यो थाहा हुंदैनथ्यो। सोध्यो भने झगडा गर्न तम्सिहाल्थ्यो।
एकदिन शर्मिला भान्छाको काम सकेर कोठामा आउँदा सुरज खाट र भुईंको बीचमा अड्किए जस्तै भएर लडिरहेको थियो। बेहोस अबस्थामा उसलाई अस्पताल लगियो। एकपटक पनि शर्मिलालाई नहेरी एक शब्द नबोली दुईहप्ता पछि उसको मृत्यु भयो। आज चौथो वर्षको श्राद्ध आइसकेछ।
शर्मिलाले दुई हप्तासम्म एकदिन पनि सुरजलाई अस्पतालमा एक्लै छोडिन तर दैवको अगाडि उसको केही पनि चलेन। त्यसबीच छोरा घरबाट गायब भइसकेको थियो। सुन्छे अहिले ऊ सहरको सानोतिनो लुटेरा समुहको नाईके भएको छ रे।
“शर्मिला, गुरुमाहरू आइसक्नु भयो। सबैकुरा ठिक पार्यौ?” भन्दै सासु ससुरा पाँचजना बौद्ध भिक्षुणीहरूलाई अघि लगाएर भर्याङ उक्लदै माथि आए। सम्वेदनाहीन भएर टोलाइरहेकी बुहारीलाई देखेर सासु आत्तिई र भनिन्।
“शर्मिला, के भयो?”
एउटा बेगवान हुरीको चक्रवातमा परेको परेवा भुईंमा फयात्त खसे जस्तै शर्मिला मेघावती भिक्षुणीको गोडामा हुत्तिएर पस्रिई र डाँको छोडेर रून थाली।
(भाउबाट साभार)
(स्रोत : Mysansar)