कथा : ओ पत्रकारज्यू !

~कृष्णराज सर्वहारी~Krishna Raj Sarwahari

सुन्नु भएन, घरबेटी बा कराई रा’ को । उठ्नुस् न भन्या । (श्रीमतीले झक्झकाइन्) ।

ओ पत्रकारज्यू पत्रकारज्यू ।

घरबेटी न्वारनदेखिको बल निकालेर चिच्याइराखेको छ । घडी हेर्छु, बिहानको पाँच बज्नै लागेको छ । म तौलिया मात्रै बेरेर ढोकाबाट चियाउँछु र हाई काढ्दै भन्छु-

के भो घरबेटी बा ?

-के हुनु नि । तपाईर्ंको फोन आयो यहाँ । बिहानबिहान डिस्टर्व भो । कतिपल्ट भनिसकेँ मोबाइलको भर हुन्न, एउटा ल्यान्डलाइन फोन राख्नुस् भनेेर । ल झट्ट आउनुस् बसपार्कबाट गरेको रे ।

-हेलोे, को माइला बोलेको ?

ओहो दर्शन बुबा, हजुर काठमाडौँ आइपुग्नुभएको ? के जरुरी काम पर्‍यो बुबा त्यस्तो ?

-सबै कुरा फोनमेै सोध्छस् कि, मलाई बसपार्क लिन आउँछस् ?

-हुन्छ, बुबा म आइहालेँ । ··

फोन राख्न पाएको थिइन, श्रीमती फत्फताउन थालिन्- होइन को आउने भयो फेरि डेरामा ?

-बुबाले गोङ्गबु नयाँ बसपार्कबाट फोन गरेको, ल म हिँडिहाले उतै ।

-मैले चिया बसालिहालेँ, खाएर जानुस् न ।

-ढिलो हुन्छ बूढा रिसाउलान् फेरि ।

-सुन्नुस् त, के कति काम लिएर आउनु भएको हो, चाँडै गराइदिनु होला र चाँडै गाउँ पठाइ दिनुपर्छ । यहाँ घरबेटीले किचकिच गर्छ फेरि, पाहुना आएको देख्नै हुन्न ।

-के निस्किन लागेको बेला गन गन गरेको तिम्ले । काम सकिएपछि त गाउँको मान्छे राजधानीमा बस्न को रुचाउँछ र ?

बुबालाई बसपार्कबाट डेरामा ल्याएर थोरै खाना टिपी म अफिस जाने तयारीमा लागेँ । यति बेला बुबाले आदेशात्मक शैलीमा भन्नु भो- अड्डाबाट आज चाँडै फर्केस् नि माइला, तँसँग जरुरी सरसल्लाह गर्नु छ ।

अफिसको काममा त्यत्ति मन गएन । यही कुरा खेलाएर बसेँ कि बुबा अचानक राजधानी किन आउनु भो ? अनि के त्यस्तो जरुरी सरसल्लाह गर्नु छ र अफिसबाट चाँडै आउन भन्नुभो ? उहाँलाई बसपार्कबाट लिएर आउँदै गर्दा बाटोमा केही कुरा फुकाउनु भएन । त्यस्तै जरुरी कुरा भए त्यति बेलै पनि भन्न सक्नुहुन्थ्यो ।

पत्रकारिता पेसा अँगालेको मलाई अचेल अफिसले सम्पादनमा थन्क्याएको छ । छाप्न तयारी भइसकेको सामग्री सम्पादकज्यूलाई चित्त बुझेन फेरि अर्को बनाउनु पर्‍यो । अर्को सामग्री बनाउदा अघिपछिको भन्दा आज झन् ढिलो भो । चाँडै फर्किनु पर्ने मान्छे, हतार हतार डेरातिर पाइला चालेँ ।

कति ढिलो भएछ भने केटाकेटी खाएर सुती पनि सकेका रहेछन् । बा हाई काढ्दै थकित मुद्रामा बसिराख्नु भएको थियो । म हात मुख धोएर आएपछि श्रीमतीले सोधिन्- बुबा खाना पस्कौँ ?

-होइन, बुबालाई खाना खुवाइनौ भन्या ? -मैले रिसाउँदै भनेँ)

-हजुर आएपछि सँगै खाउँला भन्नुभो । केटाकेटीले त हजुरबा सँगै खाने भन्दै थिए ।

बुबाले मुख फोर्नु भो- यसो गर न माइला, भान्सा यसै ढिलो उसै ढिलो, बरु अलिकति रक्सी मगा न त । साह्रै थकाई लागेको छ । थकाई त मेटाउनै पर्‍यो ।

रक्सी आइपुग्यो । बुबाले पिउने योजना बनाएर नै होला, सस्तो भाउमा पाइने कुखुराको खुट्टासमेत मगाउनु भएको रहेछ तर कुखुराको तारेको सितन मुखमै नहाली उहाँले एक गिलास रक्सी स्वात्तै पारदिनु भो ।

-खै अर्को गिलास पनि ल्याउ त बुहारी, माइलाले पनि खान्छ नि अलिकति । ऊ पनि त अड्डाबाट थाकेर आएको छ ।

-म खान्न बुबा त्यति एक माना रक्सी तपाईर्ंलाई ठिक्क हुन्छ । -म प्रतिवाद गर्छु)

-रक्सी खान सधैँलाई छाडेको छैनस् होला । पत्रकारलाई त यो नभै हुन्न, डिनर भन्या छ, पार्टी भन्या छ । धेरै स्वाङ नपार, गाउँमा पनि चाडतिहारमा सँगै खाइएकै हो । ला अलिकति ।

रक्सी भित्रिएपछि बल्ल कुरा बाहिरियो ।

-अनि माइला, तैंले त घरमा सन्चो बिसन्चोको कुनै खबरै पठाउन छोडिस् । तैले लेखेको समाचार पढेर तँलाई राम्रै होला भन्ने लख काट्नुपर्छ तर यी नातिनीहरू, बुहारीको के कसो हाल छ ? यसो चिठी पत्र क्यै छैन । -बूढा एक तमाससँग खोकी सकेर फेरि बर्बराए) के जाति मोबाइल फोन आएको छ रे, टाँई टाँई र टुँई टुँई गर्ने । तैंले त एउटा फोन पनि कोठामा राख्न सक्या छैनस् । क्या हो, बिहान तेरो घरबेटी मरीमरी नाउँ बोलाइराथ्यो ।

-अनि बा कुनै खबर नै नगरी आउनु भो त । त्यति हालखबर बुझ्नलाई त होइन होला । -मैले कुरा मोडेँ)

-तिमीहरूले गाउँलाई माया मारिहाल्यौ, नआएर के गर्नु । अनि के छ त तेरो पत्रकारिताको हाल ? अहिले पनि पत्रकारलाई धम्क्याएकै, मारेकै समाचार सुनिन्छ ।

-के हुनु बुबा जेनतेन बाँचिएको छ ।

-खै जेनतेन गरेर बाँच्नु पनि के बाँच्नु Û अझैसम्म बीचबीचमा मैले नै दाल, चामल घरबाटै पठाइदिने गरेको छु क्यारे । तैंले यताबाट एक सुका पठा हैन । मैले त तेेरो केही प्रगति देखिनँ ।

बूढाको कुरा गराइले अलि अलि लागेको नसा पनि उत्रियो ।

-हेर्नोस् बुबा, प्रगति भन्ने कुरा एकैपल्टले हुँदैन । तपाईर्ंले कस्तो प्रगति खोज्नु भएको हो कुन्नि ।

-तँजस्ता पत्रकार देश/विदेश घुमिरहेका छन् । काठमाडौँमा घरघडेरी जोडिसके । तँ चाहिँ के भा को नि ।

-ससुराको कुरामा बुुहारीले थपी) त्यही त बुबा मैले पनि कतिपल्ट भनिसकेँ । मेरो कुरा सुन्या भए पो । उहाँ सँगसँगै काम थालेको धेरैले सान सौकतका साथ जीवन बाँचिरहेका छन् । हाम्रो भने ……..। मलाई त पत्रकारको स्वास्नी भनाउन पनि लाज लाग्छ ।

-त के, म पनि अरूहरूझै दायाँ बायाँ गरुँ र अवैध सम्पत्ति जोडुँ ? -मेरो रिसको पारो चढ्यो)

-तँ न रिसा न । पत्रकारितासँगै जोडिएर आएको मौका छाड्नुहुन्न पो भनेको । खै कुरा बुझेको तैले ?

-तपाईर्ंहरूको सबै कुरा मैले बुझेको छुु तर म त्यसो गर्न सक्दिन । जसले भ्रष्टाचारको भण्डाफोर गर्छ । उही त्यस्तो काममा निर्लिप्त हुनेे ? जसले अपराध, जाली कामको उजागर गर्छ, त्यसैको भागबण्डा खोज्ने ? यस्तो काम मबाट कदापि हुन सक्तैन । भर्खरैको कुरा सुन्नु भएन, टि. भी. हेर्नु भएन, एक जना पत्रकारले बिध्वंसकारीहरूसँग हेलमेल गर्दा जेल चलान हुनु पर्‍यो । उसका बूढा बाआमालाई कस्तो भएको होला ।

-तँलाई त्यसरी अवैध कारोबार गर्न कसले भनेको छ र ? यसो दान दक्षिणा, उपहार लिन पो छोड्न हुन्न भनेको त ।

-त्यही त बुबा अस्ति एक जना व्यापारी डेरैमा आएका थिए । त्यो कुन समाचार छापी दिनु भएन, पचास हजार दिन्छु भन्दै थिए । त्यतिले नपुगे अरू थपिदिने कुरा पनि गरेका थिए तर उहाँले त्यो व्यापारीलाई झपारेर पठाउनु भो । अहिले त्यही व्यापारीले आफ्नो मान्छेमार्फत हात खुट्टा भाँच्ने धम्की दिँदै छ । -श्रीमतीले बेली विस्तार लगाई )

-तेरो तलब कति छ माइला ? -बुहारीको कुरा बीचैमा काट्दै बुबाले सोधे)

-दस हजार ।

-त्यो व्यापारीको पचास हजार खुरुक्क लिएको भए के बिगि्रन्थ्यो । त्यत्ति कमाउन त तँलाई पाँच महिनाभन्दा बढी लाग्ने रहेछ । आखिर यी व्यापारीहरूले पनि कालोेधन्दा गरेर नै सम्पत्ति जोड्छन् क्यारे ।

-बुहारीले कुरा थपी) समयमा घरभाडा नबुझाएकोमा घरबेटी सधैँ किचकिच गर्छ । केटाकेटी मीठो टिफिन नपाएकोमा गुनासो गर्छन् । पत्रकारकी स्वास्नी भएर मैले कुन चाहिँ सम्मान पाएकी छु ? घरमा लक्ष्मी आउँदा पनि तपाईर्ंको छोराले……….।

-तपाईर्ंहरू मेरो कुरा किन बुझ्नु हुन्न । -म ठूलो स्वरले चिच्याउँछु) व्यापारीको काम जसरी भए पनि लक्ष्मी कमाउने हो तर हामी पत्रकार सरस्वतीको पुत्र कलम समातेर समाजलाई सुनौलो बाटो देखाउने हो । बिन्ती छ बुबा, मलाई यस्तो काममा नउक्साउनोस् । म त हजुरकी बुहारीलाई पनि उच्च महìवाकाङ्क्षा नपाल्न भन्छु । थोरैमा सन्तोष लिएर सुखी जिन्दगी बिताउने कि, बेइमानको कमाइ खाएर जेलमा बस्ने ?

-लौ तिमीहरूको मर्जी । म केे भनौँ । तेरो विचारमा पनि सोह्रै आना सत्य छ । यो बुढेसकालमा छोरो जेल जाओस् भन्ने त कसले चिताउँछ र । -श्रीमती पनि चुप भई, बूढाले एक छिन सुस्ताएर कुराकानीको प्रसङ्ग अर्कैतिर मोडे)

-जब तेरो जिन्दगी सधैँ यस्तै रहने हो भने किन बस्छस् यो सहरमा ? बरु मेरो कुरा मान्छस् भने लौ गाउँ हिँड् । सरकारले कमैयाहरूलाई मुक्ति दियो । उनीहरूका छोरीचेली कमलहरीहरूले पनि मुक्ति पाए । काम गर्ने मान्छे पाइँदैन । हामी बूढाबूढी एक्लै कता नै भ्याउँछौँ । आफ्नो खेतबारी छाडेर यो धूलो धुवाँमा कति वर्ष बस्छस् ?

-अब कलम समात्ने हातले वर्षौँदेखि छाडिएको हलो कसरी समात्न सकिएला र बुबा ? -बोल्ने पालो श्रीमतीले लिई) केटाकेटी यहाँ बोर्डिङमा पढ्छन् । गाउँमा राम्रो स्कुल छैन । उनीहरूको पनि भविष्य हेर्नु पर्‍यो । गाँउ फर्किने कुरा त गर्दै नगर्नुस् बुबा ।

-तिमीहरू जे सुकै भन, यो धुलो धूवाँमा बसेर क्यै काम छैन । बुहारीलाई यहाँ बसी बसी खाएको बानी भई सक्यो होेला । के गाउँ जान मान्थी ?

-रात पनि छिप्पिन लागिसक्यो । फेरि तपाईर्ं पनि थाक्नु भएको छ, बरु सुतौँ बुबा । भोलि कुरा गराँैला । -मैले कुरा सम्हालेँ)

बुहारी ससुरालाई तरकारी थपिदिने निहँुमा भाँडाकुँडा बजार्न थाल्छे । त्यसैबेला कान्छी छोरीको निद्रा पनि खल्बलिन्छ । ऊ बुबु खाने भनेर /mन थाल्छे । ससुराको रिस जति छोरीको गालामा बजि्रन्छ । उ भए भरको बल निकालेर रुन थाल्छे । श्रीमतीलाई केही भन्नु आगो चलाउनु बराबर थियो । त्यसैले म किंकर्तव्यबिमुढ भएँ ।

उता घरबेटी गनगनाउन थाले- ओहो यति रातिसम्म केको रुवाबासी हो पत्रकारज्यू ? बत्ती निभाउनुस् र सुत्नुस् । आफू पनि नसुत्ने, अरूलाई पनि सुत्न नदिने । क्यानाम डिस्टब ।

उसो त घरबेटीलाई मुखैभरिको जवाफ दिन मन लागेको थियोे तर अर्काको घरमा आश्रय लिएपछि

ओठनेरै आइसकेको रिसमा पनि ताल्चा मारेँ । लौ बुबा सुतौ आज । तपाईर्ंको सुत्ने ठाँउ तल भान्सामा छ । म बुबाको जवाफ पनि नपर्खिदै शौचालय जाने बहानामा उठेँ ।

राति निद्रादेवी छेउमा आइनन् । आऊन् पनि कसरी । नानाथरिको सोचाइको सञ्जालले व्यापक घर बुनिसकेको थियो । तीन वर्ष पहिले माघीमा घर टेक्दा घरपरिवारका सदस्यहरूसँग गरेको वाचा मेरो मानसपटलमा ताजा भएर आयोे । त्यत्तिखेर म राजधानी उक्लिन जसै बिदावारीको लागि आँगनमा उभिएँ, तब प्रत्येकले आफ्ना इच्छा आकाङ्क्षा मसमक्ष राखे । मैले सकेसम्म सबैलाई थुम्थुम्याएको थिएँ ।

भाइ ः मलाई पनि काठमाडौँ पढाउन लानुस् दाइ । कमसेकम भतिजीहरूलाई त गृहकार्यमा सघाइदिउँला ।

–तँ यहाँ बस्दा बुबालाई काममा यसो सहयोग पनि भएको छ । फेरि राजधानीका विद्यालय शुल्क मात्रै महँगा, राम्ररी पढाइ नै हुँदैन । एसएलसी सक, बरु क्याम्पस पढ्न जालास् ।)

बैनी ः बाक्लो स्वीटर, अहिले चलेको फेसन सुरुवाल दुई जोर गाउँको हरिकृष्ण दाइसँग पठाइदिनुहोला । उहाँ वैशाखमा घर आउने रे । माघीमा पनि मेरो लागि क्यै नल्याएर रित्तै आउनु भो । यसपाली त जसरी भए पनि त्यत्ति सामान पठाइ दिनु है दादा ।

–तँलाइ पढ्नु छ कि फेसन गर्नु छ । लल एक जोर कुर्ता सुरुवाल पठाइदिउँला ।) आमा ः एकपल्ट राजाको देश हेरेर मर्न पाए हुन्थ्यो । यसपाली त्यति सन्चो पनि भएन । आघौं साल माघीमा पनि आउनु, म बूढीलाई एकपल्ट पशुपतिको दर्शन गराइदिनु बाबु ।

–हुन्छ त्यति त म गरिहाल्छु नि आमा)

तर यसपाली नै जाउँ आमा तपाईर्ंको उपचार पनि उतै गराउँला भन्नै सकिनँ । घरका सदस्यहरूले कुनै फर्माइस् पूरा गर्न नसके पनि घर कहिलेकाहीँ आक्कलझुक्कल मात्रै आउने भएर होला, सबैबाट राम्रो व्यवहार भएको जस्तो लाग्छ तर मेरो बुबा किन किन सधैँ मेरो अगाडि खलपात्रकोे रूपमा उभिनुहुन्छ । मैले बुझ्न सकेको छैन । अहिले पनि त्यही भूमिकामा उभिनु भयो ।

-तेरो छोरोले राजधानी लाँदैन बूढी । तेरो दमखोकी यतैका डाक्टरले ठीक गर्लान् । उसलाई राजधानीले नै खान थालिसक्यो, तँलाई के ख्वाउन लग्ला । अनि छोरी, दाजुलाई कति दुःख दिन्छ्यौ बा । तिम्रो लागि त मै लुुगा हालिदिन्छु नि । काम चलाउ पुरानो स्वेटर त तिमीसँग छँदैछ नि । कान्छा दाइसँग काठमाडौँ बसेर पढ्ने सपना नदेख । तैंले सुनिहालिस्, त्यहाँ पढाइ नै राम्रो हँुदैन रे । यतै गाउँमै पढ बा । -एकछिन सुस्ताएर) ल ल जान देओ फेरि हाम्रै बारेमा रिपोर्टिङ बनाएर छाप्ला । यसरी आमा, बैनी, भाइलाई मेरो आश्वासनमा नबस्न र ममाथि कडा हथौडा प्रहार गर्न चुक्नु भएन बुबाले ।

यता डेराको वातावरण मेरो अगाडि नाच्न थाल्छ ।

बुबा यो महिनाको अन्तिम हप्ता शुल्क नबुझाए नाम काटिन्छ । जसरी भए पनि मसान्तसम्म शुल्क बुझाउनु रे । यी पि्रन्सिपलको चिठी, जेठी छोरीले बिल थमाई ।

‘सुन्नु भो, ग्यास सिद्धिनै लाग्यो । अर्को स्टक ल्या’ हैन । महिनाको अन्तिम शुक्रबार हजुरलाई याद छ कि छैन, केटाकेटीले भन्दै थिए, बुबालाई यसपाली शुक्रबार जसरी भए पनि खसीको मासु ल्याउन भन्नु होला, गृहमन्त्राणीको सूचना सन्देश ।

ओ पत्रकारज्यू, तीन-तीन महिनाको घरभाडा त रोकी दिनु भएन । झन् तपाईर्ं पुरानो मान्छे भनेर अरूहरू भन्दा थोरै भाडा लिने गरेको छु । गाउँबाट आएको बुबाको अगाडि नै घरबेटीको बिहानै किचकिच सुरु भयो ।

राति कतिखेर निदाएँ पत्तै भएन तर निद्रा नपुगेर बिहान आँखा गोलभेडाझैँ थिए । बिहान ध्यानमुद्रामा सोचेँ । बुबाको प्रस्तावअनुसार गाउँ नै र्फकु कि ? यो पत्रकारिताको चोला नै बदलुँ कि । तर अहँ म ठ्याक्कै निर्णयमा पुग्न सकिन । समाचारको सरल विश्लेषण गरेझैँ मैले अबको आˆनो जिन्दगीको पाटोलाई विश्लेषण गर्नै सकिनँ । मलाई थाहा छैन, यो विश्लेषणहीन जिन्दगी म कतिसम्म जिउँछु ।

-चैलाही-६, दाङ, देउखुरी

(स्रोत : मधुपर्क २०६६ असार)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.