~डेभिड ढकाल “भुइँमान्छे”~
साँझपखको धुम्म आकाश, वर्षनै लागेको पानी, बाहिर आफूलाई निलै बनाएर फुलिरहेका शिरिषका बोटहरु । दरबारमार्गको एउटा क्याफेमा बसेर कफिको चुस्किसँगै बाहिर नियाली रहेछु प्रकृतिलाई ? हुन त प्रकृतिका मनोरम दृश्यहरु हेर्न लत परेको मान्छे म । साँच्चै रमणीय थियो । यही रमणीय पलहरुमा सम्झन्छु म मेरी आशा ।
यदि ऊ भइदिएको भए ? २०६१ साल, देशमा जनयुद्ध चरम सीमामा पुगेको बेला एस.एल.सी. को तयारीमा जुटिहरेको थियौं हामी । म कक्षाको प्रथम अनि उनी द्वितीय । शिक्षकहरुले धेरै आश गरेका विद्यार्थी हामी । सँगै पढ्थी ऊ । उसले नजानेको म सिकाउँथे, मैले नजानेको ऊ सिकाउँथी । हाम्रो मित्रता देखेर इष्र्या नगर्ने साथीहरु नै थिएनन् । फलामे ढोका सजिलै फोर्न थियो हामीलाई, सँगै हुन्थ्यौं अधिकांश समय ।
ऊ पढ्न अल्छी लाग्दा भन्थी जनयुद्धबारे । मलाई डर लाग्थ्यो कतै पुलीसले पो लगिहाल्छ कि हामीलाई ? परीक्षा सुरु भयो । हामी आफ्नो तर्फबाट तयार थियौं परीक्षा दिन । हाम्रा परीक्षा राम्रै भए । परीक्षा केन्द्र जाँदा आउँदा सँगै हुन्थ्यौं, छलफल गथ्र्यौं, पढाइका विषयमा । परीक्षाको अन्तिम दिन प्रयोगात्मक परीक्षा त्यो पनि राम्रै भयो समग्रमा परीक्षा राम्रै भयो हाम्रो । त्यसैले त मनमा अपारखुसी थियो । परीक्षा केन्द्रबाट फर्कै थियौ – हामी आपसमा कुरा गर्दै । उनले जनयुद्धका कुरा गरिन । म अल्लि डराएँ ।
आशाले भनिन्— डेभिड यी माओवादीहरु हाम्रै लागि लड्या हुन नि ? हामी जस्तै गरिबका लागि, हामी जस्तै निमुखाको निम्ति, अनि मैले भने हाम्रै लागि लडेका हुन त किन मार्छन् मान्छे ? आशाले भनी यी जनताका पिरमर्का नबुझ्ने अन्धा शासकले जति गुहार गरे पनि आँखा खोलेनन्, अनि बाध्य भएर होमिएका हुन था छ तिम्लाई ? यी माओवादीहरुले जसले सदियौंदेखि गरिबमारे तिनीहरुलाई मात्र मार्छन्, मैले सोधें कसरी था भयो तिम्लाई ?
आशाले भनी हिजो हाम्रो घरमा माओवादी आएका थिए, अनि उनैले भन्या । अब त परीक्षा पनि सकियो म पनि गरिबको मुक्तिको लागि युद्धमा होमिन्छु मैले भनें— अनि मलाई त बिर्सिन्नौ नि आशाले धत् बुद्धु तिम्लाई म बिर्सन्छु होला त ? म त तिम्लाई प्रेम गर्छु, तिमी पनि मलाई प्रेम गर्छौ ? म अबाक भएँ, बोल्ने वाक्य नै मुखमा आएनन् । एक हूल प्रहरीहरु उकालो लाग्दै थिए । म डराएँ आत्तिएँ तर आशा डराइन्न भन्दै थिइन । मेरो जबाफ देउन डेभिड, के तिमी मलाई माया गर्दैनौ ?
प्रहरी नजिकै आए, भोकाएका सिँह जस्तै देखिएका थिए । हामी आफ्नैसुरमा अघि बढ्दै थियौं, एक प्रहरीले भन्या— ओई फुच्चे तेरो प्रेमिका हो ? एत्रो फुच्चेको नि प्रेमिका, अरु सबै गलल हाँसे । मेरो अनुहार कालो निलो भैसकेको थियो, केही बोल्नै सकिन । अर्को प्रहरी नजिकै आयो र आशालाई भन्दै थियो – एकछिन ऊसँग केही छलफल गर्नु छ, तँ जाँदै गर, हामी ल्याइदिन्छौं अहिले यसलाई । म अटेर भएँ । मेरो मनले मानेन । उसलाई एक्लै छोड्न । अर्को प्रहरीले मलाई एक बुटले हान्यो । म निराश भएर अघि बढेँ । पछाडी फर्केर हेरेँ, उनीहरु झम्टिए मेरी आशामाथि । आशा चित्कार गर्दै थिइन, गुहार माग्दै थिइन् । म निरीह थिएँ । आँखाबाट आँशुका भेल छुटाउँदै घर फर्किएँ । रोईमात्र रहेँ । आँशु मात्र झारिरहेँ । आँखाबाट बग्रेल्ती आँशु निकाल्दै सुतिरहेँ । बेलुकाको सात बजेको समाचार रेडियोमा भन्दै थियो— आशाको प्रहरीसँगको झडपमा मुत्यु भयो ।
उफ अत्यास लागेर आयो । कसरी भयो झडप प्रहरीसँग उनको ? मैले प्रेम गर्छु भन्न नपाउँदै खोसेर लग्यो— मेरी आशालाई । आँखाबाट आँशु झरिसकेछ पत्तै पाइन । नजिकै प्रहरी देखेँ रिस उठेर आयो । अहिले एक्लै भिडुँ जस्तो लाग्यो— प्रहरीसँग । तर , देशमा शान्ति स्थापना हुन लागेको छ । मन सधैँ अशान्त छ । कहिलेकाहीँ लाग्छ – मेरी आशाको दोष के थियो ? यिनले सजाय पाउने कि नपाउने ? के म पनि अनसन बसुँ मेरी आशाको निम्ति ? कसले देला न्याय मलाई । र रात पनि झमक्क परेछ— शिरिषका रुखहरु पनि काला भएछन् ।
(स्रोत : Ruprekha)