~महेश श्रेष्ठ ‘भाजु’~
सधैँको त्यो शून्य सडक । त्यही शून्य गल्ली र म एक्लो यात्री । गन्तव्यको खोजीमा भौतारिरहेको म एक लक्ष्यविहीन यात्री । जुनेली रात । झ्याउँकिरीको ‘झ्याउँ झ्याउँ’ र कुकुरको ‘भुङ् भुङ्’मा रत्तिँदै आफ्नो दुलो खोज्दै लम्किरहेको म उही यात्री । बाटोको मार्गदर्शक झैँ सदा ठिङ्ग उभिइरहने त्यो बिजुलीको पोलको बत्ती पनि ‘झ्याप्प झ्याप्प’ र ‘झिम्म झिम्म’ गर्दैछ । त्यो कहिले निभ्दै त कहिले बल्दै आफ्नो दैनिकी गुजारिरहेको छ । पोल नजिकैको कन्टेनरमा आफ्नो बासस्थान बनाएर बसेको एउटा भुस्याह कुकुर मलाई टाढैबाट देखेर भुक्छ- ‘भुङ्…भुङ्…भुङ्…भुङ्’ । तर त्यसको भुकाइमा कटुता छैन । न त रीस नै । एक किसिमको मिठास छ त्यसको भुकाइँमा । यस्तो लाग्छ त्यो मलाई भुकेर गाली नगरी नतसा्रइ मेरो स्वागत गरिरहेछ । मेरो आगमनमा खुसी भई दुई चार शव्द मिठो बोल्दै छ । म त्यसको नजिक पुग्नासाथ त्यो मलाई देखेर आफ्नो बाङ्गो पुच्छर झन् बाङ्गो पार्दै हल्लाउँछ सायद मलाई स्वागत गर्न र मलाई एकचोटी गज्जवसँग नाक हल्लाई हल्लाई ‘स्वाक स्वाक’ र ‘सुक सुक’ गर्दै सुँघ्दछ । ऊ आफ्नो देवे्र हात सकि नसकी मतिर बढाउँदछ सायद पहिलो भेटमा हात मिलाउन । उसको दाहिने हात गएको महिना एउटा ट्याक्सीले किचिदिएर भाँचिएको थियो । म उसको देब्रे हात समात्छु र एकछिनसम्म सुम्सुमाउँछु । खल्तीबाट रुपियाँगोटाको दुईवटा िपंकी बिस्कुट झिकेर उसको सामुन्ने छरिदिन्छु । ऊ दङ्ग परेर बिस्कुट चपाउन थाल्छ । म भने आफ्नो गन्तव्यतिर लम्कन्छु । ऊ बिस्कुट छाडेर मलाई परसम्म छोड्न आउँछ । केहीबेर हिँडेपछि ऊ पुनः आफ्नै बासस्थानतिर फर्कन्छ ।
देख्दैछु त्यो परबाट ब्रेकलेस मोटरझैँ वल्लो भित्ता र पल्लो भित्ता गर्दै हान्निदैँ र ठोकिँदै यतै आइरहेको छ । त्यो नजिक आउनासाथ टाढाबाट नै ह्वास्स् खोया गन्हाउँछ । कोदोको कट खाने सुँगुर गनाएझैँ । ऊ म नजिक आइपुग्छ र मातेको स्वरमा बर्बराउँनथाल्छ । सधैँ बर्बराउँने उसको संवाद उसलाई कण्ठै छ-‘ह्यालो सर…हाउँ ,फाइन थ्याङ्कु…था’ छ…उ ‘ऊऽऽऽ… ‘ओठ नै पूरै गोलो पार्दै ऊ आकाशतिर देखाउँदै ‘ऊऽऽ’ उच्चारण गर्दैछ । ‘हो ऊ त्यो आकाशको चन्द्रमा छ नि…हो त्यो चन्द्रमा क्या हुचुकु प्यामे…त्यो चन्द्रमा मैले नै त्याँ पुर्याइद्या…ऊऽऽऽ त्यो इनारबाट ।’ केही नजिकै रहेको इनारलाई देखाउँदै ऊ सिल्ली हाँसो हाँस्दछ । उसको हाँसोमा बडो बहादुरीताको आभाष पाईन्छ । इनारको पानीमा देखिने चन्द्रमा उसले नै आकाशमा पुर्याएको हो भन्ने घमण्ड छ उसमा । त्यो बाटोमा आउने जाने जतिलाई भेट्यो उसले सबैका अगाडि त्यही वाक्यांश फट्फटाउँछ । रटाएको सुगाले झैं । र हरेक संवादको शुरुवातमा उसको उही चिरपरीचित थेगो झुण्डिएको हुन्छ ‘हुचुकु प्यामे’ । यसको अर्थ उसैलाई मात्र थाहा छ । जसको अर्थ न त मैले अझसम्म उसलाई सोधे न त अझसम्म उसलाई भेट्ने कसैलाई नै थाहा होला । कतिले उसको कुरामा विश्वास पनि गर्छन् त कति ‘ह्या जड्याहाँ’ भन्दै झर्केर बाटो लाग्छन् । यसरी बित्ने गथ्र्यो उसको रातचर्या । जुनेली रातमा जुनको कुरा त आँैशीको रातमा ताराको । जुन र तारा नै उसको गफ गर्ने बहाना बनिसकेको थियो । तर उसलाई विश्वास छ आफू र आफ्नो कार्यमा । मात्र आफूलाई ।
अचानक म झस्किन्छु । अलि परको मोडमा एउटा बाक्लो झाडी छ । यो जुनेली रातमा झाडी हल्लिएको प्रष्टै देखिन्छ । म तसर्िए कतै त्यहाँ कुनै जनावर चोर डाका वा वा दश बर्षे जनयुद्धको परिणाम…म केहीबेर टाढै टक्क रोकिन्छु । कान ठाडो पार्छु । दाया वायाँ हेर्छु । कतैबाट केहीको सुइको छैन । मात्र उही ‘हुचुकु प्यामे’को फेडेड आवाज । अव त त्यो पनि सुन्न छाड्यो । म चिसो भए । लालाक लुलुक परे । केहीबेरको शून्यतालाई चिर्दै अजव गजवका आवाजहरु गुन्जिएको आभाष पाउन थाले । म भन् अकमक्क पर्न थाले । अब मलाई डरभन्दा बढी उत्सुकता जाग्छ । त्यही नजिक गएर हेर्न र बुझ्न मन लाग्छ । म बिस्तारै पद्चाप लिन्छु । नजिक पुग्न नपाउँदै…अचानक…अचानक एउटी सर्वाङ्ग नाङ्गी युवती अतालिन्दै बाहिरिन्छे । उनी मात्र हातको इसाराले त्यो झाडीतिर हेर्दै सराप्दै थिइन् । उनको आवाज अस्पष्ट थियो नबुझिने । तिनी लाटी थिइन् । उनको अनुहारमा लज्जामिश्रित भाव प्रस्टै देखिन्थ्यो । आँखामा भने आक्रोशको ज्वाला दन्किरहेको । उनी त्यसै त्यसै दाह्रा किट्दै थिइन् । उनी मलाई देखेर झन् डराउँछिन् र पर-पर हुँदै टाढिन्छिन् र केहीबेरमै विलिन हुन्छिन् । झाडीबाट दुईजना युवक आफ्नो प्यान्टको फस्नर लगाउँदै र मिलाउँदै बाहिरिन्छन् । उनीहरुको मुखाकृतिमा चरमानन्दको भावाव्यक्ति झल्कन्छ । मलाई देख्नासाथ तिनीहरु केही हच्कन्छन् । मलाई घुर्दै तिनीहरु मेरो नजिक आउँछन् र मलाई देखे नदेखे झैं गरि टाप कस्छन् । म सोचमग्न हुन्छु । यी दुई अनुहारलाई यसअघि मैले कतै देखेको भान हुन्छ । तर कहाँ कहिले र कुनबेला यी यावत् प्रश्नहरु मडारिन्छन् मेरो मूक मस्तिष्कमा । मैले सम्झिए । ती ठिटाहरु अरु कोही नभएर मेरै टोलका प्रतिष्ठीत कहलिएका महान् व्यक्तित्वहरुका सुपुत्र भनिने कुपुत्रहरु पो हुन् भन्ने । थुइकक ! भविष्यका कर्णधारहरु ! पृथ्विलाई भारि अनि आमा बालाई बोझ बनेका नामुदा दादाहरु ! राम्ररी सोच्न बोल्न नसक्ने मूक लाटीलाई समेत बाँकि राखेनौ है !…धिक्कार छ तिमीहरुलाई ! यदि आफ्नो यौवनको ज्वालामुखी सेलाउनु नै थियो त किन गएनौ ठमेल किन धाएनौं दरबार मार्ग छँदै थियो त तिम्रा बा आमाले भ्रष्टचार नामक इमान्दारी गरि कमाएको सम्पत्ति ।
म मूक रहेँ । केवल मौनदर्शक बनिरहेँ । त्यो केही बोल्न नसक्ने लाटीभन्दा पनि निकम्मा भएँ । थुइक्क्क्क !
झ्याउँकिरीहरु झन् झन् ‘झ्याउँ झ्याउँ’ गर्दै त्राहीमाम्का गीत गाउन थाले । कुकुरहरु चिच्याई चिच्याई रुन थाले । जून लाज ढाक्न बादलुको घुम्टो भित्र लुक्न खोज्दै थियो । तर म…म भने त्यही तितो घटना अमिलो सत्यलाई मनमा लिई निकम्मा र मूक भैं आफ्नै दुलोतिर लम्किरहेँ लम्किरहँे ।
कुमारीगाल, काठमाडौं
Bhajumahesh is Creative Director of Mandapika Art Group
(स्रोत : रचनाकारको ब्लगबाट सभार)