देख्न त उसलाई सानैदेखि देखेको हो तर पनि मलाई उप्रति आकर्षण दश कक्षा पुगेपछि मात्र बढ्न थाल्यो। ऊ नौ कक्षामा पढ्थि। स्कुल जाने बेलामा एउटा दोबाटोमा हाम्रो भेट हुन्थ्यो। म हरेक दिन ऊ भेट हुने समयको अन्दाज गरेर निस्किन्थेँ। अनि सँगै स्कुल जान्थेँ।
बाबु सानैमा बितेकाले उसकि आमाले उसलाई दुख गरेर हुर्काएकि थिइन्।राम्रो शीलस्वभाव भएकि अस्मिता साँच्चै स्कुलमा सबैभन्दा राम्री केटि थिई।
यसरी सँगै स्कुल जाँदा म उसलाई प्रभावित पार्न अनेक कुराहरू गर्थेँ, हँसाउने प्रयास गर्थेँ। ऊ मात्र मुस्काउँथि। खासै दोहोरो कुरा गर्दैनथि। बिस्तारै ऊ भेट हुन छाडि। कहिले चाँडै त कहिले म भन्दा ढिलो स्कुल पुग्थि। उसँग जान नपाउँदा म निरास हुन्थेँ।
एकदिन उसलाई भेट्न म दोबाटोमा कुरेर बसेँ। ऊ निकै ढिलो गरेर आई। मलाई देख्नेबित्तिकै केहि असजिलो मानि।
‘किन तिमी आजकाल पर- पर भएकि छौ नि। सँगै हिँड्न पनि अप्ठेरो मान्छौ त?’ मैले सहनै नसकेर सोधेँ।
‘हैन त्यस्तो त।’ उसले टारेर दिएको जवाफ हो भन्ने मैले बुझिहालेँ।
‘केहि त पक्कै हो। मैले केहि गल्ति गरेँ कि। भन न।’
‘उसै त म टुहुरी, चरित्रमा धेरैले औँला उठाउँछन्। यसरी तपाईँसँग सधैँ सँगै हिँड्दा नराम्रो कुरा गर्छन् कि भन्ने डर लाग्छ। हामीले त हाँस्दा पनि राम्रो मान्दैन यो समाज।’
मलाई उसका कुराले झन् उप्रति प्रेम बढेर आयो।
‘आफु असल हुनुपर्छ अरुले के भन्छन् भनेर डराउनु पर्दैन।’मैले सम्झाएँ।
‘त्यो त हो नि है।’ऊ मुसुक्क हाँसि।
नजिकैको एस एल सी सँगै आएको पढाईको तनावको पनि पर्वाह नगरि मैले उसलाई एकदिन प्रेमप्रस्ताव राखेँ।पहिले त उसले यस्तो कुरा नगर्नुस् न प्लिज भन्दै पन्छिन खोजि। ऊ केहि आत्तिएजस्तै गरि। तर मैले हुन्छ या हुँदैन जे भए पनि स्विकार्नै बाचा गर्दै जसरी पनि जवाफ देउ भनेर बताएँ।
‘म अहिले जवाफ दिन सक्दिन। अहिले आफ्नो जाँचको तयारी गर्नुस् न ल! पछि भन्छु नि तपाईँको जाँच सकिएपछि।’
मैले उसको कुरा मानेँ। म ढुक्क थिएँ उसको जवाफ हुन्छ भन्ने नै हुनेछ। नत्र त किन कसैले अस्विकार गर्नलाई कुराउँछ होला र! पक्कै मेरो माया लागेर नै जाँच नबिग्रोस् भनेर यस्तो भनेकि हो।
म घर बसेर जाँचको तयारि गर्थेँ। उसँग भेट हुँदैनथ्यो। बिस्तारै दिनहरू बिते। मेरो एस एल सि पनि आयो। जाँच राम्रोसँग दिएँ। परिवार र स्कुल सबैको आशा ममाथी थियो।
जाँच सकिएको केहि दिनमै म काठमाण्डु जानुपर्ने भयो। बुबाले ब्रिज कोर्स पढ्नको लागी व्यवस्था मिलाइसक्नुभएछ। काठमाण्डु जानुअघि अस्मितालाई भेटेर उसको जवाफ जान्नु थियो तर गाउँ समाजको संकुचित परिस्थितिमा भेट्ने वातावरण नै मिलेन। म अमिलो मन लिएर काठमाण्डु हिँडेँ आफ्नो प्रेमलाई छोडि बुबाआमाको सपना बोकेर। त्यो सपना जहाँ छोरो साइन्स पढेर डक्टर बन्नेछ।
म काठमान्डुमा एक्लो थिएँ। आफ्नै मन पनि मलाई छोडेर हिँडिरहन्थ्यो अस्मिता भएकै ठाउँमा। उसँग मोबाइल नभएकोले मेरो सम्पर्क गर्ने माध्यम नै थिएन। बस् सपना र कल्पनामा भेटिरहन्थेँ। कुरा गरिरहन्थेँ।
यसरी मैले काठमान्डुमा तीन महिना बिताइसकेको थिएँ। यसैबिच मेरो रिजल्ट पनि प्रकाशित भयो। डिस्टिंसन आएछ। खुसीको सिमा रहेन। आमाले फोनमा खुसी हुँदै एकचोटि घर आइज न भन्नुभयो। मैले पनि हुन्छ भनिदिएँ।
यसैबिच म कलेज भर्ना गर्ने पैसा ल्याउने बहानामा अस्मितालाई भेट्ने भित्री चाहना बोकेर घर गएँ।
घरमा बुबाआमाले मेरो प्रगति देखेर स्याबास् भन्दै अझै सफलताको आसिर्वाद दिनुभयो। अब झन् राम्रो पढ्नुपर्छ भन्नुभयो।
साँझ खाना खाइसकेपछि मैले आमालाई गाउँमा के के हुँदैछ त भनेर सोधेँ।
आमाले खुइय्य सास फेरेर भन्नुभयो,’ के भन्नु र बाबु यो गाउँ त पापीहरू बस्ने ठाउँ भएछ। थाहा पाइस् होला नि त अस्तिको घटना।’
‘केहि थाहा छैन त आमा मलाई। के कुरा हो?’
‘त्यो माहिलीको छोरीको के त..’
म झसंग भएँ। आमा माहिलीको छोरी अर्थात् अस्मिताको कुरा गर्दै हुनुहुन्थ्यो।
‘के घटना र आमा?’ मेरो कौतुहुलता सँगै धड्कन तेज हुँदैथियो।
‘कसरी भन्नु र खै बाबु…’
आमाले सबै भन्नुभयो। म सुनिरहेँ। म टोलाइरहेँ। आमालाई के थाहा यो कुराले मेरो मनमा कस्तो हलचल पैदा गरायो। उहाँले त बस् गाउँको तातो घटना छोरालाई सुनाउनुभयो। अहँ थाहा छैन उहाँलाई त्यो बलात्कारको शिकार भएकि माहिलीको छोरी अस्मिता आफ्नै छोराकि प्रेमिका हो भन्ने। आमा कतिबेला जानुभयो, रूँदारूँदै म कतिबेला निदाएछु केहि पत्तो पाइनँ।
मलाई त्यो गाउँमा बस्नै मन लागेन भोलीपल्टै म खर्च लिएर काठमाण्डु हिँडेँ। बाटोमा मेरी अस्मितालाई चिथोर्ने पशुलाई टुक्रा टुक्रा पारौँजस्तो सोच आयो तर जेल परिसकेको त्यसको भन्दा बढि सजाय पाइरहेकि मेरी अस्मिताको यादले पिरोल्यो। यात्राभरि मेरा आँखा ओभाएनन्।
काठमाण्डु आएर मैले परिवार र समाजसँग अस्मितालाई दाँजेर हेरेँ। म सानो र अपरिपक्व मान्छेलाई आँट आएन आफ्नो प्रेमको पक्षपोषण गर्न। मलाई इज्जत, प्रतिष्ठा जस्ता खोक्रा आडम्बर देखाउने समाजले आतंकित तुल्यायो। मैले अस्मितालाई भुलिदिएँ। बस् संगालेँ तीता यादहरूलाई अनि लागीपरेँ आफ्नो सपना सजाउन डक्टर बन्ने सपना।
कहिलेकाहिँ घर जाँदा सुन्थेँ अस्मिता पनि काठमाण्डुमै छ रे! बलात्कृत नारीहरूको सामाजिक पुनर्स्थापनाका लागी काम गर्ने एन जी ओ मा काम गर्छे रे। यस्तो सुन्दा मुटु चिसो भएर आउँथ्यो। कतै उसँग भेट भइहाले कसरी मुख देखाउन सकुँला म। म पश्चातापमा जलेँ। म डराएर हिँडिरहेँ। अस्मिताको इज्जत लुटिएको भन्दा पनि लाग्यो मेरो अस्मिता लुटिएको हो र त उसँग भागेर हिँडिरहेछु म।
(स्रोत : Suresh Badal’s Blog )