कथा : स्विच अफ

~ध्रुव सापकोटा~Dhruba Sapkota

महिला कुरा बढी गर्थी । काम कम । पुरुष काम बढी गथ्र्यो । कुरा कम । ‘मिठो बात गर न ।’ महिला भन्थी ।

‘मलाई मिठो बात गर्न आउँदैन ।’ पुरुष भन्थ्यो ।

‘मिठो बात गर्न नजान्ने पनि कोही मर्द हुन्छ ?’ महिला भन्थी ।

‘म के मर्द होइन त ?’ पुरुष प्रश्न गथ्र्यो ।

‘मलाई के थाहा ?’ महिला भन्थी ।

‘काम गर । काममा ध्यान देऊ ।’ पुरुष भन्थ्यो । पुरुषले तत्काल कुरा मोड्यो, तिनलाई अनौठो लाग्यो । कुराबाट भागेको पुरुष, यो तिनको ठम्याई थियो । तिनी काममा तल्लीन हुन्थिन् । यो तल्लीनता देखावटी थिएन । जबर्जस्ती काममा तिनले आफूलाई संलग्न गराएकी थिइन् । काम तिनका लागि प्रिय थिएन । यो तिनको काम गराईबाट बुझिन्थ्यो । कुनै बाध्यता छ तिनको सामुन्नेमा तेर्सिएको । त्यही बाध्यताले तिनलाई यहाँसम्म तानेको छ । धेरै समय काममा ध्यान दिन मनले रोक्थ्यो । कुरामा फर्कने दाउ हेर्थिन् ।

‘आज म रातभर सुत्न सकिनँ ।’ महिला आफ्नो लयमा फर्किइन् ।

‘के भयो ?’ पुरुषले तिनलाई साथ दियो ।

‘लोग्नले ओछ्यान मुत्यो ।’ तिनले भनिन् ।

‘केटाकेटी हो र तिम्रो लोग्ने ?’ पुरुषले प्रश्न गर्यो ।

‘केटाकेटीको बाबु हो मेरो लोग्ने ।’ महिलाले भनिन् ।

‘बाबु नै हो त ?’ पुरुषले अविश्वासको बीउ छर्यो ।

‘बाबु भएर पनि मुत्यो ।’ महिलाले आफ्नो कुराबाट पछि हट्ने छाँट देखाइनन् ।

‘नचाहिँदो कुरा नगर । काम गर । काममा ध्यान देऊ ।’ पुरुषले भन्यो ।

‘कसम । मैले ढाँटेकी होइन ।’ पुरुषलाई विश्वास दिलाउन आवश्यक ठानिन् ।

कसम खाएपछि ऊ सोच्न बाध्य भयो । एउटा दृश्य उसको सामुन्नेमा आयो । लोग्नेस्वास्नी एउटै खाटमा सुतेका छन् । दुवै मस्त निन्द्रामा छन् । स्वास्नीको शरीरमा तातो धारा चल्छ । तातो धेरै समय रहँदैन । चिसो हुन्छ । त्यो चिसोले तिनलाई ब्युझाउँछ । महिला बत्ती बाल्छिन् । तिनको शरीरमात्र होइन, ओछ्यान पनि पूरै भिजेको छ, तिनलाई सिकसिको लाग्छ । लोग्नेको मुत गन्हाउँछ । बूढो मुत !

‘तिमी पनि केके कुरा गछ्र्यौ केके ।’ पुरुष भन्छ ।

‘मलाई त बान्ता आऊलाजस्तै भयो ।’ महिला भन्छिन् ।

‘आफ्नै लोग्नेको मुत त हो नि । अर्काको होइन ।’ पुरुष भन्छ ।

‘मुत त मुत हो नि । त्यसमा आफ्नो–अर्काको भन्ने हुँदैन ।’ महिला भन्छिन् ।

‘अहिले भने व्यावहारिक कुरा गर्यौ ।’ पुरुष भन्छ ।

‘साबुनले मलीमली नुहाएपछि मात्र सिकसिको गयो । अहिले पनि त्यो दृश्य सम्झँदा वाकवाकी लाग्छ ।’ महिला भन्छिन् ।

महिला काममा जहिले पनि ढिलो आउँछिन् । समयमा तिनी काममा आएको उसलाई थाहा छैन । तिनी आउँदा पुरुष काममा लागिसकेको हुन्छ । यसबारेमा पुरुषले महिलासँग प्रश्न गरेको छैन । तिनीसँग गुनासो पनि गरेको छैन । दुई बज्छ । तिनीहरू खाजा खान निस्कन्छन् । खाजा खान कन्जुस्याइँ गर्दैनन् । पैसा दुवै जनाको उसले नै तिर्छ । एक हप्ता बित्छ ।

‘मलाई त असजिलो लाग्यो ।’ महिला भन्छिन् ।

‘केको असजिलो ?’ पुरुष भन्छ ।

‘कति तिम्रोमात्र खानू ?’ महिला भन्छे ।

‘के भो त, भएको बेलामा तिमीले तिरे भइहाल्यो नि ।’ पुरुष भन्छ ।

ज्याला पाएको भोलिपल्ट पनि खाजाको पैसा पुरुष नै तिर्छ ।

‘आज त म तिर्छु भन्ठानेको । हिजो बुझेको रकम छोराछोरीको किताब किन्दा नै सकियो ।’ महिला भन्छिन् ।

काममा ढिलो आउने त महिलाको विशेषता नै हो । आज अझ ढिलो भयो । उसले केही भनेन ।

‘नरिसाऊ है । आज धेरै ढिला भयो ।’ महिलालाई संकोच लागेछ, भनिन् ।

‘तिमीसँग रिसाएको कहिले छु र ?’ पुरुष भन्छ ।

‘एउटै ठाउँमा काम गर्ने । तिमी भने समयमा आउने । म भने ढिलो ।’ महिला भन्छिन् ।

‘आज के भयो त ?’ पुरुष भन्छ ।

‘आज म पर सरेको चौथो दिन हो । बिहान उठेर नुहाइधुवाई गर्नुपर्यो । हतारहतार छोराछोरीलाई खाना बनाउनुपर्यो । उनीहरूलाई स्कुल पठाएर अनि आफूले खाना खाई, भाँडा माझी हतारहतार निस्केकी ।’ तिनले भनिन् ।

‘अनि यस्तो अप्ठ्यारोमा लोग्नेले सहयोग गर्दैन ?’ पुरुषले प्रश्न गर्यो ।

‘त्यो मान्छे त पूरै खत्तम छ ।’ महिलाले भनिन् ।

‘तिमीलाई अप्ठ्यारो परेको हेरिरहन्छ त ?’ पुरुषको प्रश्न छ ।

‘उल्टो बाहिर निस्कन्छ ।’ महिला भन्छिन् ।

‘तिमीले भन्न पर्दैन ?’ पुरुष भन्छ ।

‘कति भन्नु ?’ त्यो मान्छेको बारेमा कुरा गर्दा रिसमात्र उठ्छ ।’ महिला भन्छिन् ।

तिनीहरू खाजाघरमा पुगेका छन् । खाजा खान्छन् । पैसा ऊ नै तिर्छ । सुरुसुरुमा संकोच लाग्यो भन्थिन् । अब यो संकोच पनि हटिसकेको छ ।

ऊ काममा लागिसकेको छ । विश्वास छ, ढिलो भए पनि आउँछिन् ।

‘हेर न चिन्तामाथि चिन्ता थपियो ।’ महिला भन्छिन् ।

‘ठूलो चिन्ता, के हो भन न त ?’ पुरुष भन्छ ।

‘घरबेटीले डेरा खोज भन्यो ।’ महिलाले भनिन् ।

‘घरबेटीलाई चित्त दुख्ने के काम गर्यौ त ?’ पुरुषले भन्यो ।

‘समयमा भाडा कहिल्यै दिनुछैन । उसले पनि कति सहोस् ?’ महिलाले भनिन् ।

‘भाडा माफ हुने होइन । समयमा किन नदिने ?’ उसको प्रश्न छ ।

‘भाडा पनि मैले तिरोस् भन्ने होला नि ।’ महिला भन्छिन् ।

‘तिमीले तिरे भैहाल्यो नि ।’ पुरुष भन्छ ।

‘छोराछोरीको फी, घरको खर्च अनि आफ्नो खर्च । मेरो यो कमाइले कति पुग्छ । तिमीलाई थाहा नै छ ।’ महिला भन्छिन् ।

‘घर उसको हो । तिमी टाउको नदुखाउ । उसकै जिम्मा छोड ।’ पुरुष भन्छ ।

ऊ काम गरिरहेको छ । तिनी आइपुगेकी छैनन् । धेरै ढिलो भइसकेको छ ।

‘तिमी आज त आउन्नौ भन्ठानेको ।’ पुरुष भन्छ ।

‘आउने मन नै थिएन । बाध्यताले आएँ फेरि । साँच्चै भनौं ? मलाई त काम गर्ने मन नै छैन । जबर्जस्ती गरिरहेकी छु ।’ तिनी भन्छिन् ।

‘एउटा कुरा भनांै ?’ पुरुष भन्छ ।

‘भन न ।’ महिला भन्छिन् ।

‘तिमी आफ्नो लोग्नेसँग पटक्क सन्तुष्ट छैनौ होइन ?’ पुरुष भन्छ ।

‘हो, तिमीले ठिक भन्यौ । लोग्नेको अनुहार देख्यो कि मलाई रिसमात्र उठ्छ ।’ महिला भन्छिन् ।

‘साँचो भनेको कि मलाई खुसी पार्न भनेकी ?’ पुरुष भन्छ ।

‘साँचो भनेकी ।’ महिला भन्छिन् ।

‘यसमा झुटको प्रतिशत ठ्याम्मै छैन ?’ पुरुष भन्छ ।

‘दुःख–सुखका कुरा गर्ने मान्छेसँग म किन झुटो बोल्थेँ ?’ महिला भन्छिन् ।

‘तिमी मसँग आउँछ्यौ त ?’ पुरुषले प्रस्ताव राख्यो ।

‘तिमीसँग ?’ तिनले आश्चर्य मानिन् ।

‘हो । मसँग ।’ पुरुषले भन्यो ।

‘ठट्टा नगर ।’ महिलाले भनिन् ।

‘मलाई तिमीले लंगडो देखेर बिहेको लागि अयोग्य ठानेकी ?’ पुरुषले आफ्नो बाहिरी कमजोरी उदांगो पार्यो ।

‘यो त तिमीले मलाई बताउन नै पर्दैन ।’ महिलाले भनिन् ।

‘तिमीले मेरो यो अवस्थाको बारेमा सोधेकी छैनौ । पोलियोले गर्दा मेरो बाल्यकालदेखि नै एउटा खुट्टा सुकेको हो ।’ पुरुषले जानकारी दियो ।

‘तिमीले यो कुरा पहिले कहिले पनि भनेका थिएनौ ।’ महिलाले भनिन् ।

‘मेरो खुट्टा कमजोर भए पनि तिमीलाई पाल्न सक्छु ।’ पुरुष भन्छ ।

‘मलाई त तिम्रा कुरा पत्यार लागेन ।’ महिला भन्छिन् ।

‘बिहे गर्ने उमेर घर्केपछि पनि एक्लो देखेर तिमीलाई त्यस्तो लागेको होला ।’ पुरुष भन्छ ।

‘अझै पनि तिम्रो प्रस्तावमा विश्वास छैन ।’ महिला भन्छिन् ।

‘मलाई कुरूप देखेर तिमीलाई विश्वास नलागेको हुनसक्छ । यो अनुहारको टाटो जन्मजात होइन । आगोले पोलेको हो । त्यो पनि केटाकेटी उमेरमा नै ।’ पुरुष भन्छ ।

‘होइन–होइन । मैले बाहिरी आवरणका कुराले तिमीलाई अस्वीकार गरेकी होइन । तिमी मनका सफा छौ ।’ महिला भन्छिन् ।

‘तिमीलाई ढाँट्ने कुरा केही छैन । मेरो यो संसारमा जन्म दिने बाबुआमा छैनन् । म केटाकेटी हुँदै बितेका हुन् । एउटा दाजु छ । त्यो पनि कतारमा छ ।’ पुरुष भन्छ ।

‘तिम्रो पहाडमा के छ त ?’ महिलाको प्रश्न छ ।

‘पहाडमा एउटा घर थियो । त्यो पनि अस्तिको भुइँचालोले पूरै भत्कियो । पाताल नै भयो ।’ पुरुष भन्छ ।

तिनीहरू अहिले खाजा घरमा छन् । खाजा खान्छन् । रकमको भुक्तानी पुरुष गर्छ । तिनीहरू काममा फर्कन्छन् । उसले तिनीबाट प्रस्ट जवाफ पाएको छैन । ऊ काममा नै व्यस्त हुन्छ । पुरुषको अनुहारमा कुनै किसिमको पनि परिवर्तन देखिएको छैन । महिलालाई आश्चर्य लाग्छ । यसको मतलब के हो ? तिनलाई लाग्यो, यो मान्छे आफ्नो दुःख लुकाउन सक्दो रहेछ ।

‘मैले तिम्रो प्रस्ताव स्वीकार नगरेकोमा अप्ठ्यारो लाग्यो होला होइन ?’ महिलाको प्रश्न छ ।

‘पटक्कै छैन ।’ पुरुष भन्छ ।

‘यति ठूलो प्रस्ताव त्यो पनि आफ्नो मनले खाएको मान्छेले अस्वीकार गर्दा तिम्रो मनमा केही हलचल नै भएन ?’ महिला भन्छिन् ।

‘भुइँचालो नै गयो । त्यो पनि नौ रेक्टर स्केलको । त्यसबाट विचलित भने म भइनँ । मेरो यो प्रस्ताव अस्वीकार गर्ने तिमी पाँचौ हो ।’ पुरुषले भन्यो । महिलाले प्रतिवाद गरिनन् । पुरुष काममा लाग्यो । कुरामा गतिरोध भयो ।

पुरुष काममा लागिसकेको छ । तिनी आइपुगेकी छैनन् । यो कुनै नयाँ कुरा थिएन । तिनको भागको काम पनि उसले नै गर्यो ।

‘आज मलाई सन्चो छैन ।’ महिलाले भनिन् ।

‘के भयो ?’ पुरुष भन्छ ।

‘मलाई ज्वरो आएको छ ।’ महिला भन्छिन् ।

‘ज्वरो ? आह… आह… किन आएको त ?’ पुरुष भन्छ ।

‘तिम्रो मायाले ।’ महिला भन्छिन् ।

‘मेरो मायाले तिमी आएकी होइनौ । मेरो माया त्यतिको लागेको भए मेरो प्रस्ताव तिमीले स्वीकाथ्र्यौ । तिम्रो आफ्नो बाध्यताले तिमी आएकी हौ । मसँग त साँचो कुरा बोल ।’ पुरुष भन्छ ।

‘अहिले भने तिमीले मनको कुरा नै बोलेको हो । यस्तो मनको कुरा बुझ्ने लोग्ने पाएको भए मेरो जीवन कति सुखी हुन्थ्यो ?’ महिला भन्छिन् ।

‘म छु, तिमी छ्यौ, के बिग्रिएको छ र ?’ पुरुष भन्छ ।

‘के तिमी साँच्चै नै गम्भीर छौ यो कुरामा ?’ महिलाको प्रश्न छ ।

‘त्यही गम्भीरताले नै म घरिघरि त्यही कुरामा पुगेको हुँ ।’ पुरुष भन्छ ।

‘मर्मत नै गर्ने हो त ?’ महिलाको प्रश्न छरिन्छ ।

‘सबै कुरा तिमीमा निर्भर छन् ।’ पुरुष भन्छ ।

‘मेरा केही सर्तहरू छन् ।’ महिला भन्छिन् ।

‘सर्तहरू सुनाऊ ।’ पुरुष भन्छ ।

‘म आफ्नो बच्चाहरू छोड्न सक्तिनँ । एक्लै आउन्नँ । म बच्चाहरू सहित आउँछु । तिनीहरूको पालनपोषण मात्र होइन, शिक्षादीक्षाको पनि जिम्मेवारी लिनुपर्छ ।’ महिलाले भनिन् ।

‘यति हो सर्त ?’ पुरुष भन्छ ।

‘अहिले मैले बाध्य भएर काम गरिरहेकी छु । तिमीसँग आएपछि म यो दिउँसोको कामबाट मुक्ति चाहन्छु ।’ महिलाले भनिन् ।

‘यो तिम्रो दोस्रो सर्त हो कि अन्तिम ?’ पुरुषले प्रश्न गरेको छ ।

‘पात पकाउनेबाहेक घरको अन्य कुनै काम पनि म गर्न चाहन्नँ । कामबाट मुक्ति चाहन्छु ।’ महिलाले भनिन् ।

‘घरका त थुप्रै काम हुन्छन्, लुगा धुने, भाँडा माझ्ने, घर सफा गर्ने; यस्ता काम त महिलाले गरिआएका काम हुन् ।’ पुरुष भन्छ ।

‘यस्ता काम गर्दा म दिक्क भएकी छु । म मुक्ति चाहन्छु ।’ महिला भन्छिन् ।

‘तिमी के किनमेल गर्न इच्छुक छौ त ?’ पुरुषको प्रश्न छ ।

‘तिमीसँग बस्न थालेपछि मेरो कुनै आयस्रोत हुँदैन । म तिमीसँग पैसा मागीमागी किनमेल गर्दिनँ । घरको लागि आवश्यक सामान तिमीले नै ल्याउने गर । आर्थिक झन्झटमा म पर्न चाहन्नँ ।’ महिला भन्छिन् ।

‘घरमा बसेर तिमी के गछ्र्यौ त ?’ पुरुषको प्रश्न छ ।

‘तिमीलाई खुसी पार्ने प्रयत्न गर्छु । बाबुआमाको रेखदेखविना बच्चा बिग्रिएका छन् । तिनीहरूको विशेष हेरचाह गर्छु । तिनीहरूलाई राम्रो बाटो देखाउँछु ।’ महिला भन्छिन् ।

‘यति नै हुन् तिम्रा सर्त ?’ पुरुष भन्छ ।

‘म एउटासँग छुट्टिएर तिमीसँग आउन लागेकी छु । हाम्र्रो सन्तानमा यो पहिलो घटना हो । मेरो लागि ठूलो कदम हो । अहिलेसम्म हामी जोडिएका छैनौ । केही पनि बिग्रिएको छैन । जोडिएपछि छुट्टिने कल्पना पनि गर्न सक्तिनँ । म त घर कि न घाटकी हुन्छु ।’ महिला भन्छिन् ।

‘मैले त तिमीले सधैं लोग्नेको गुनासो गरेकाले बिहेको प्रस्ताव राखेको ।’ पुरुष भन्छ ।

‘त्यति नै कारण हो भने यो प्रस्ताव यही रोकौं ।’ महिला भन्छिन् ।

‘नरिसाऊ न, यो मेरो सुखका लागि पनि हो । अहिलेसम्म मैले आइमाईको शरीरसँग खेलबाड गर्न पाएको छैन । शरीर सुखको पूरा आनन्द लिन चाहन्छु ।’ पुरुष भन्छ ।

‘त्यो सुखका सामुन्ने मेरा सर्तहरू केही पनि होइनन् ।’ महिला भन्छिन् ।

‘तीन÷तीन बच्चाकी आमाका यति कडा सर्तहरू छन् । तिमी आफू कुमारी छँदा कस्ता सर्त राखेकी थियौ त ?’ पुरुषले जान्न चाह्यो ।

‘विनासर्त म उसकी भएँ ।’ महिला भन्छिन् ।

‘पहिले विनासर्त । अहिले सर्त नै सर्त ।’ पुरुष भन्छ ।

‘समयले सर्तहरूको निर्माण गर्छन् ।’ महिला भन्छिन् ।

‘के अब यति नै हुन् त सर्तहरू ?’ पुरुष भन्छ ।

‘तिमीले मलाई रिस उठ्दा कुट्न पाउनेछैनौ । मैले ह्रिंसक पति रोजेकी होइन ।’ महिला भन्छिन् ।

‘ठिक छ । मलाई तिमी मन परेकी छ्यौ । तिमी मेरी हुनुपर्यो । तिम्रा सामुन्ने सब सर्तहरू बाउन्ने हुन्छन् । म तिमीलाई विश्वास दिलाउँछु । जीवनभर पाल्छु । फाल्दिनँ ।’ पुरुष भन्छ ।

‘एउटा कुरा त भन्न बिर्सेकी । म फेरि बच्चा जन्माउन चाहन्नँ ।’ महिला भन्छिन् ।

‘मैले आफ्नो प्रतिलिपिको दर्शन गर्न नपाउने ?’ पुरुषको प्रश्न छ ।

‘त्यस्तो चाहना छ भने यो खेल यही टुंग्याऊ ।’ महिला भन्छिन् ।

‘तिमी पाए पुग्यो । अरू मलाई केही चाहिन्न ।’ पुरुष भन्छ ।

‘सोच । सोच । एक हप्ता सोच ।’ महिला भन्छिन् ।

महिलाले उसलाई एक हप्ता समय दिएकी छिन् । ऊ त मानसिक रूपले तिनीलाई आफ्नो घरमा ल्याउन तयार थियो । कोठा एउटा थियो । दुइटा लियो । खाट एउटा थियो । दुइटा लियो । सामानहरू कम थिए । एक्लो हुँदा र अब पाँच जना हुँदा धेरै अन्तर हुने थियो । सबै व्यवस्था गर्यो ।

‘अब तिमीलाई भिœयाउन केके उपहार ल्याऊँ ?’ उसले प्रस्ताव राख्यो ।

‘मलाई केही चाहिँदैन । एउटा मोबाइल भए पुग्छ ।’ महिला भन्छिन् ।

‘त्यत्ति ?’ पुरुष भन्छ ।

‘त्यत्ति ।’ महिला भन्छिन् ।

‘किन त त्यस्तो ?’ पुरुष भन्छिन् ।

‘तिमीले त्यतिका सर्तहरू मानेका छौ । अरू मलाई केही चाहिएन । तिमीसँग लामो जीवन बिताउनुछ । जहिले मागे पनि भो ।’ महिला भन्छिन् ।

तिनको समझदारीबाट ऊ पग्लियो । तिनलाई भिœयाएपछि उसले सुखको अनुभव गर्यो । यो कस्तो प्रकारको सुख हो ? भारी बोकेर उकालो चढेको मान्छेले विश्रामको लागि चौतारी पाएजस्तो हो कि तिर्खालुले पानी पाएजस्तो ? कि भोकाएकाले खाना पाएजस्तो हो ?

महिलाका हर अंगले सुख फ्याँकिरहेका थिए । ऊ थोपाथोपा सुख बटुल्थ्यो । सुखलाई भुइँमा खस्न दिँदैनथ्यो । सुखलाई एकमुष्ट पार्न ऊ तल्लीन हुनथ्यो । मेहनत गथ्र्यो । उसलाई लाग्थ्यो, सुख पर्याप्त जम्मा भएको छ । त्यही बेलामा सुख पोखिन्थ्यो । छताछुल्ल हुन्थ्यो । पोखिनका लागि जम्मा भएजस्तो सुख पोखिएकोमा उसलाई बिस्मात् लाग्दैनथ्यो । पोखिँदा पनि आनन्द लाग्ने सुख ।

‘तिमी खुसी छौ ?’ महिलाको प्रश्न छ ।

‘मेरा लागि यो नवीन खुसी हो । नवीन आनन्द ।’ पुरुष भन्छ ।

‘कि मज्जा हो ?’ महिलाको प्रश्न थियो ।

‘सबै ।’ पुरुष भन्छ ।

उसको दिनचर्यामा परिवर्तन आएको थियो । बेलुका घरमा खाना खाँदैनथ्यो । भट्टीमा पसेर पेगका पेग खान्थ्यो र हल्लँदै कोठामा आउथ्यो । अहिले उसले भट्टीलाई नमस्कार गरेको थियो । कामबाट सोझै घरमा आउँथ्यो । हातमा तरकारीको झोला हुन्थ्यो । श्रीमती खाना बनाउँथी । ऊ तिनलाई सहयोग गथ्र्यो । खाना सँगै खान्थे । तिनी बच्चा पढाउन लाग्थिन् । ऊ भाँडा सफा गर्न लाग्थ्यो । ऊ टेलिभिजन नजिकैको खाटमा पल्टेको हुन्थ्यो । बच्चाहरू सुतेपछि तिनी आउँथिन् । उसलाई लाग्थ्यो, सुख आएको छ । बिहान ऊ पहिले उठ्थ्यो । बजारबाट दूध ल्याउँथ्यो । चिया उसका लागि आउँथ्यो । ऊ किनमेल गर्न निस्कन्थ्यो । तिनी खाना बनाउन लाग्थिन् । बच्चाहरू स्कुल जान्थे । तिनी र ऊ सँगै खान्थे । ऊ काममा जान्थ्यो । तिनी घरमा बस्थिन् । सुखको अनुभव पर्याप्त गरिरहेको थियो ।

बेलुकाको आठ बजेको थियो । यतिखेरसम्म त ऊ आइपुग्नुपर्ने थियो । यति ढिलो त उसले कहिल्यै गरेको थिएन । सर्तबमोजिम नै चलेको थियो यो गृहस्थी । नौ बज्यो । यो त अति भयो ।

‘तिमी कहाँ ?’ महिलाले फोन गरिन् ।

‘किन र ?’ पुरुषले भन्यो ।

‘यहाँ तिम्रो सुख छटपटाइरहेको छ ।’ महिलाले भनिन् ।

‘म के गरूँ त ?’ पुरुषले भन्यो । स्वरमा मिठास थिएन । रुखोपन थियो ।

‘घरमा आउन ढिला भएन ?’ महिलाको प्रश्न थियो ।

‘म आउन्नँ ।’ पुरुषले भन्यो ।

‘के भनेको त्यस्तो ?’ महिला झस्किइन् ।

‘म आउन्नँ ।’ पुरुषले दोहोर्यायो ।

‘मातेका त छैनौ ?’ महिलाको प्रश्न छ ।

‘छैन ।’ छोटकरीमा पुरुषले जवाफ दियो ।

‘किन आउँदैनौ ?’ महिलाको प्रश्न छ ।

‘किन–किन…’ पुरुष भन्छ । बुझियो, पुरुष खुलस्त हुन चाहेन ।

‘सर्त बिर्सियौ ?’ महिलाको प्रश्न छ ।

‘छैन ।’ पुरुष भन्छ ।

‘अनि ?’ महिलाले त्यतिमात्र भनिन् । यो क्रोधको सूचना थियो ।

‘म आउन्नँ ।’ पुरुषले दोहोर्यायो ।

‘कहिले आउँछौ ?’ महिलाले ख गराउन चाहिन् ।

‘थाहा छैन ।’ पुरुष भन्छ ।

‘जीवनभर पाल्छु भनेको बिर्सियौ ?’ महिलाले भनिन् ।

‘छैन ।’ पुरुषले भन्यो ।

‘जीवनभर भनेको के दुई वर्ष हो तिम्रो लागि ?’ महिला भन्छिन् ।

‘त्यही भन्नुपर्यो ।’ पुरुषले निर्लज्जता देखायो ।

‘बीच बाटोमा भारी छोडेर भाग्दा त्यसको परिणाम के हुन्छ थाहा छ ?’ महिला भन्छिन् ।

पुरुष जवाफ दिँदैन ।

‘निर्दयी । कंगाल । बूढो । लंगडो । तिम्रा सुखका लागि लोग्ने छोडेर आएँ । अब म कहाँ जाऊँ ।’ महिला भन्छिन् ।

पुरुष जवाफ दिँदैन । मोबाइल स्विच अफ गर्छ ।

17 Oct 2015 ३० असोज, २०७२

(स्रोत : Nagariknews)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.