कथा : सपना

~सुमन पछाई~Suman Pachhai

चकमन्न रात, सबैतिर निस्पट्ट अध्यारोको मात्र बाहुल्यता । त्यसमाथि चिसो हावा चलिरहेको । सुनसान रातमा छाएको चकमन्नतालाई छिचोल्ने जाँगर छैन । आप्mनै सुरमा लुखुरलुखर हिँडिरहेको छु । पछाडि फर्केर हेर्ने मन पनि छैन, त्यस्तो अन्धकारमा पछाडि फर्केर हेर्दा झन् नभएको डर पनि कहाँबाट आइपुग्छ, अनि मन त्यसै त्यसै आत्तिन्छ । देखिएको त केही पनि छैन तैपनि केबल अगाडि मात्र हेरिरहेछु । त्यसो त म भूतप्रेतमा विश्वास गर्दिन, रातमा एक्लै हुँदा जति डर मलाई लाग्छ केबल मान्छेसँग मात्र लाग्छ । मनमा डर भएपछि मान्छेले देख्नुपर्ने नदेख्नुपर्ने सबैकुराहरु देख्छ रे । त्यो चकमन्नतामा कतै खस्र्याक खुस्रुक गरेको आवाज आउँदा ममा पनि एक किसिमको डरजस्तो पैदा हुन्थ्यो र सतर्क हुन्थेँ ।

केही अगाडि पुगेपछि मैले मान्छेको गुनगुन आवाज सुनेँ, दुई–तीनओटा साना राता–राता बत्तिजस्ता बलिरहेका थिए । अलिअलि डर पनि लाग्यो, तर ढुक्क पनि भएँ, अब मान्छेहरु भेटिन थाले एक्लै नपरिने भइयो । चुरोट पिउँदै बसेका रहेछन् दुई जोर केटाहरु, सायद रक्सी पनि पिएका हुँदा हुन् । म उहि गतिमा उहि तालमा हिँडिरहेको थिएँ, उनिहरुको छेऊ भएर हिँडे तर पनि उनीहरुलाई वास्ता गरिनँ, मनमा कुरा उठ्थ्यो मैले उनीहरुसँग सँगै जाउँ भन्या भए हुने, भैगो जाँड खाएर बसेका छन् समस्या पो हुने हो कि, फेरि यिनीहरु चार जना छन् । यस्तै सोच्दासोच्दै म अगाडि निक्लिसकेको थिएँ ।

उनीहरुको समूहबाट एउटा आवाज निस्कियो— ‘ओए हिरो ।’ मैले यो आवाजलाई सुने तर केहि पनि सुनिनँ, र हिँडिरहेँ । अचानक एउटा ढुङ्गा मेरो छेऊमा पछारियो, सायद उनिहरुले प्रहार गरेका हुँदा हुन् । जानेर नै छेउतिर हानेका थिए या उनिहरुको निशाना चुक्यो, यो कुरा उनिहरु नै जानुन् । त्यससँगै फेरि किञ्चित शाब्दिक हेरफेर सहितको उहि आवाज दोहोरियो— ‘ओए हिरो, बोलाएको सुन्दैनस् ?’ ‘ए मलाई पो बोलाउनु भएको, आफु आफु नै बोलिरहनुभएको जस्तो लाग्यो अनि…’ म आफुलाई बचाउने प्रयासमा भनेँ । निस्पटट् अन्धकारमा उनीहरुको अनुहार चिन्न सकेको थिएन । उनीहरु मेरो वरीपरी घेरेको शैलीमा बसेका थिए । ‘साला हिरो बन्छस्, बोलाएको पनि नसुनेझैँ गरी हिँड्छस् ?’ ‘तिमीहरु को हौ र तिमीहरुले बोलाएको सुनौँ र तिमीहरुसामु आऊँ, हँ को हौ तिमीहरु ?’ भनेर भन्न मन लाग्यो तर त्यहाँ अवस्था अनुकुल थिएन । अतः फेरि सकेसम्म बोलीलाई नरम बनाउँदै भनेँ– ‘होइन त्यस्तो होइन…’

यति बोलिनसक्दै एउटा मेरो नजिक आएर धम्क्याएको स्वरमा भन्यो— ‘तँसँग के के छ सबै निकाल, मोबाइल, पर्स सबै निकालेर दे होइन भने त यहाँबाट जिउँदो फर्कन पाउँदैनस् ।’ मलाई जुन कुराको डर थियो त्यहि भयो । डर अझ बढ्यो, सायद यो धर्तीमा मेरो आज अन्तिम दिन रहेछ जस्तो लाग्यो । म दलदलमा जाकिइसकेको थिएँ, त्यहाँ जे पनि गर्न सक्थे उनिहरुले । के थाहा पैसा र मोबाइल दिसकेपछि उनीहरुले मलाई मार्ने नै हुन् कि, नमारिहाले पनि मरणासन्न हुने गरी पिट्ने पो हुन् कि । त्यो दलदलबाट आफुलाई निकाल्न मसँग त्यहाँ अनुरोध मात्र थियो, र उनीहरुसमक्ष अनुरोध गरेँ — ‘मसँग केही छैन, भएको भए पो निकालेर दिनु, नभएको कुरा कसरी निकालेर दिऊँ म ?’ ‘साले अझ बढि बोल्छस्, बाँच्ने मन छैन तँलाई ?’ मुक्का ताक्दै भन्यो । उसका साथीहरुले पनि मलाई धम्क्याइरहेका थिए ।

मलाई कहाँबाट जोश आएछ कुन्नि ! जन्मेदेखिको बल निकालेर एक लात कसेर त्यसको पेटमा हानेँ र त्यहाँबाट कुलेलम ठोकेँ । मूर्खता पनि हुनसक्थ्यो त्यो तापनि त्यहाँ मैले त्यो बाहेक अरु केही गर्न पनि त सक्दिनथेँ । उनिहरु पनि मेरो पछि दौडिए मलाई भेट्न । मैले दायाँबायाँ केहि नसोची केबल आफ्नो कुदाईको गति बढाइरहेको थिएँ, यत्तिकैमा उनिहरुले प्रहार गरेको ढुङ्गा मेरो तिघ्रामा बजारियो र म त्यहाँ पछारिन पुगेँ । हातमा साना साना डुङ्गाहरुले छाला खुइल्याइदिएका थिए, कहाँ कति चोट लाग्यो भनेर सोच्ने अवस्था थिएन र म सोचिनँ पनि फेरि उठेँ र उहि गतिमा भाग्ने कोशिष गरेँ । गति भने पहिलेको जस्तो भएको थियो या थिएन त्यो थाहा छैन तर पहिलेकै जस्तो बनाउने कोशिष भने जारी थियो । उनिहरु पनि मेरो पछि भागि नै रहेका थिए ।
भाग्दाभाग्दै एउटा घर अगाडि पुगेँ, आफुलाई ती केटाहरुबाट बचाउन सक्ने त्यहि एउटा सुरक्षित ठाउँ हुनसक्छ भन्ने सोचेँ । पछाडि फर्किएर हेरेँ उनिहरु आएका थिए या थिएनन् त्यो थाहा छैन तर मैले उनिहरुलाई केहि परसम्म पनि देखिनँ । अनि त्यो घरको ढोका ढकढक्याउन पुगेँ । केहिबेर पछि डोका खुल्यो । हातमा टर्च लिएर एउटा मानवआकृति ढोकामा घरको भित्रपट्टि उभियो । म ढुक्क भएँ । त्यसै त मेरो कमजोर आँखा त्यसमाथि त्यो टर्च सिधै मेरो अनुहारमा बालिएको थियो । मैले हातले छेक्ने कोशिष गरेँ र छोटकरीमा आफ्नो अवस्था बताउँदै अनुरोध गरेँ— ‘मेरो पछाडि केही केटाहरु छन्, उनीहरुले मलाई लुट्न चाहन्थे, म भागेर आएको हुँ, एकछिन् म यहाँ बस्न सक्छु ?

केहिबेरसम्म त्यो मानवआकृतिबाट कुनै आवाज आएन । एकछिन्पछि स्त्री–आवाज आयो–‘हुन्छ भित्र आऊ’ । आवाज पहिले नै राम्रो सँग सुनिसकेको जस्तो लाग्यो, मैले त्यो मानवआकृतिलाई अझैसम्म पनि चिन्न सकेको थिएन । अँन्ध्यारो यथावत् नै थियो । तर मलाई आवाज र अनुहारसँग मतलब थिएन, केहिबेर आफुलाई त्यहाँ बिसाउनु थियो ताकि म ती केटाहरुबाट बच्न सकुँ । भित्र पुगेपछि बत्ति बालियो । त्यो मानवआकृति मेरो पछाडि थियो, जसले मलाई त्यही रहेको सोफामा बस्ने आदेश दियो । घोप्टो परेर सोफामा बसेँ अनि त्यो मानवआकृतिलाई कृतज्ञता ज्ञापन गर्दै भनेँ — ‘धन्यवाद ।’ जब मैले यति भनेर मेरो आँखा त्यो मानवआकृतितिर चिप्ल्याइदिएँ, तब म छाँगाबाट खसेझैँ भएँ । बोल्न सकिनँ, हेरेको हे¥यै भएँ ।

एकछिन मौनता छायो त्यहाँ, कोहि बोलेन । न त्यो मानवआकृति बोल्यो न म । केबल आँखाहरु बोलिरहेका थिए तर के बोलिरहेका थिए थाहा छैन । त्यो मानवआकृति अपरिचित थिएन, ऊसँग त म धेरै नजिक भैसकेको थिएँ । केहि महिना अघिसम्म राम्रो साथी नाम धारण गरेको सम्बन्धमा बाँधिएका थियौँ । सहजै हरेक कुरा सार्वजनिक गरिन्थे, र अरु पनि । तर ऊसँग ठाकठुक भएको एक महिना पनि हुन पाएको थिएन । । मिसअन्डरस्ट्याण्डिङ्गले हामी बीच एउटा पर्खाल खडा गरिदिएको थियो । ऊ त्यसै–त्यसै मसँग भड्किरहेकी थिई, मैले धेरै कोशिष गरेको थिएँ, उसको मप्रतिको गलत बुझाईलाई सही बनाउन तर सकेको थिएन । ऊसको व्यवहार यस्तो थियो मानौ मलाई मिल्ने भए मार्न पनि पछि पर्दिनथिई सायद । ऊसको अचानक परिवर्तित व्यवहारलाई झेल्न अलि मुश्किल परेको थियो, कहिले के कहिले के यस्तै थियो उसको अवस्था । अति भैसकेपछि मैले कुनै प्रयास गरेको थिएन, जे गरे गर्छे भनेर बसेको थिएँ । ऊसले मलाई गलत बुझी भने सही पनि त बुझ्न सक्थी नि, जुन दिन मलाई सही बुझ्छे र आउँछे भने ठीक छ आओस् होइन आउँदिन भने नआओस् तर म कुनै कोशिष गर्दिन यहि सोचेर बसेको थिएँ । ऊसले के सोचेकी थिई कुन्नी ! ऊसँग एकाधपटक बाटोमा भेट पनि भयो तर त्यो भेट औपचारिक भेट हुन पाएन । मैले कुनै वास्ता गर्दिनथेँ, म बोल्न अघि सर्दिनथेँ कारण ऊ मेरो कमजोरी थिइन, मप्रतिको रेस्पोन्स मागेर पाउन चाहँदिन थिएँ । यस्तै थियो ।

तर आज नियती पनि कस्तो, मलाई उसैको दैलोमा पु¥याइदियो त्यो पनि केही आवारा केटाहरुको लखेटाईपछि । अझैसम्म पनि त्यहाँ मौनता कै बाहुल्यता थियो । मैले त्यो मौनतालाई चिर्दै भनेँ— ‘तिमी ?’ ‘हो म..’ फेरि मौनता । मैले ऊसलाई हेरिनँ घोप्टो परेर बसेँ, केहि क्षणपछि ऊ बोली– ‘तिम्रो पाइन्टमा रगत लागेको छ त, के गरे उनीहरुले तिमीलाई, कतै… हेर त खुट्टामा चोट लागेको जस्तो छ ।’ पाइन्ट थोरै माथि सारेर हेरेँ, अघि ती केटाहरुले ढुङ्गा प्रहार गर्दा खुट्टामा लागेको थियो, चोट लागेछ, अनि त्यही चोटको रगतको टाटो पाइन्टमा बसेको रहेछ । खल्तीबाट रुमाल झिकेर बाँध्नै आँटेको थिएँ फेरि ऊ बोली– ‘एकछिन पर्ख, त्यसले नगर..’ यति भनेर ऊ अर्को कोठामा पसी र हातमा एउटा टालो, पट्टी र औषधी लिएर आई । टालोले लतपतिएको रगत पुछिदिन थालेकी थिई मैले रोक्दै भनेँ– ‘भैगो छाड, म आफै गर्छु’ । ढुङ्गाले लागेर पछारिँदा हातमा पनि चोट लागेको थियो । ऊसले भनी– ‘हेर हातमा पनि चोट लागेको रहेछ । चुपचाप बस तिमी..’ यति भनेर आफैले खुट्टाको रगत पुछिदिई र औषधी लगाइदिएर पट्टी बाँधिदिई हातमा भने औषधी मात्र लगाईदिई ।

म ऊसको यस्तो व्यवहारले अल्मलिइरहेको थिएँ । के गर्न खोजेकी हो अब फेरि । तापनि केही बोलिरहन मन थिएन, ऊसले भनेकी थिई ‘चुपचाप बस तिमी..’ हो चुपचाप बसिरहेँ । ऊ बोली– ‘एकछिन बस्दै गर म चिया बनाएर ल्याउँछु ।’ मैले भनेँ– ‘पर्दैन चिया बनाउन, दुःख नगर म अब जान्छु, अब त तिनीहरु पनि फर्किसके होलान् ।’ ऊ बोलिन, खाउँला झैँ गरेर हेरी मात्र अनि भान्सामा गई र जाँदै गर्दा औँला तेर्साउँदै भनी– ‘चुपचाप यहीँ बस..’ । केहीबेरमा दुई गिलास चिया लिएर आई, टि टेबुल चिया राखेर छेवैँमा बसी । म चुपचाप टोलाएर बसिरहेपछि फेरि भनी– ‘चिया पनि खाउ भनेर भन्नुपर्ने हो कि आफै खान्छौ ?’ ऊसको आवाज सुनेर म चियाको गिलास समातेँ र पिउन थालेँ सुरुप सुरुप ।

‘कहाँ गएर आएका थियौ ? यो सब कसरी भयो ?’ ऊसले वास्तविकता थाहा पाउने कोशिष गरी । एकछिन् त मैले फेरि मौनतालाई नै अँगाले । अनि सुरु देखि त्यस दैलोसम्म आइपुग्दा सम्मका सबै कुरा ऊसलाई बताएँ । ऊसले सहानुभूति देखाई । यसपछि म केही बोलिनँ, न ऊ नै केही बोलेकी थिई, यद्यपि बोल्नलाई त्यहाँ विषयहरु त धेरै थिए । तर पनि दुवैमा मौनता छाएको थियो । चिया सकिएको रित्तो गिलासलाई त्यही टेबुलमा राखेँ । एकोहोरो त्यो टेबुलको रित्तो गिलासलाई हेरिरहेँ । भरिन्छ, रित्तिन्छ, फेरि भरिन्छ, फेरि रित्तिन्छ । जीवन पनि यहि गिलास जस्तै हो कि झैँ लाग्यो । त्यस्तैमा सुँक्क सुँक्क आवाज सुनेँ । ऊसलाई हेरेँ रोएकी रहिछ । एकछिन चुप नै बसेँ, ऊसको रोदनलाई मैले कुनै प्रतिक्रिया दिइनँ । ऊ रोइरही बस् रोइरही…। ‘के भयो तिमीलाई फेरि, किन रोएकी ?’ केही क्षणपछि मैले सोधेँ । जवाफमा पनि उ रोई नै रही, बोलिन । त्यो सुनसान, चकमन्न रात, त्यो कोठामा दुई मानवआकृति थियो एउटा स्त्री अनि अर्को पुरुष । पुरुष मानवआकृति चुपचाप बसेको थियो, स्त्री मानवआकृति रोइरहेकी थिई, त्यो रातको चकमन्नतालाई ऊसको रुवाईको सुँक्क..सुँक्क.. आवाजले चिरिरहेको थियो ।

त्यसरी नै रुँदै मेरो काँधमा आप्mनो टाउको राख्दै रोदनीय आवाजमा भनी— ‘कालु आई एम सरी…’ । त्यसपछि म त्यहाँ अचम्मित हुनु र अवाक् हुनु बाहेक अरु केही थिएन । ‘आई एम सरी…मलाई गलत नसम्झ है कालु प्लीज ।’ ऊसले फेरि भनी । म कस्तो प्रतिक्रिया दिऊँ त्यहाँ अन्यौलमा थिएँ । भनेँ– ‘के भयो तिमीलाई हँ, किन रोएकी ?’ ऊसलाई मैले झन रोऊ भनेको जस्तो लागेछ कि क्या हो, रोई मात्र रही । यस्तै भयो ऊ बोल्दा म मौन, म बोल्दा ऊ मौन । ऊ रुँदा आँशु आँखाको डिलबाट गाला र ओँठ हुँदै बगेर मेरो सटमा चुहिएको थियो । मैले पनि ऊसलाई रुन दिएँ, डिस्टर्ब गर्न मन लागेन । सोचे मेले रुन लगाएर रोएकी हो र ? यो आफै रोएकी हो पछि आफै सम्हालिने छे फेरि मैले त्यहाँ ऊसको रोदन बन्द गर्न के गरौँ ?

एकछिन रोइसकेपछि नाक बजाउँदै आफुलाई सम्हाली र भनी— ‘तिमीप्रतिको चासो घटेर तिमीबाट टाढा भएको होइन, न त तिमीलाई गलत सोचेँर नै म टाढा भएको हुँ । म तिमीलाई हर्ट गर्न कहिल्यै चाहिनँ । म विवश थिएँ । तिमीले मलाई जति कुरा भनेका थियौ आप्mनो सोचेर भनेका थियौ मैले त्यहाँ नराम्रो सोच्न कहाँ मिल्छ र ! अलिकति दुःख त मलाई लागेकै थियो, मैले सोचेको थिएन तिमीबाट यो सब होला भनेर । तर तिम्रो पनि त अवस्था त्यस्तै थियो होला यसरी नै आफुलाई सम्झाएको थिएँ । पछि मेरो व्यवस्तताले तिमीसँग त्यति सम्पर्कमा रहिरहन सकिनँ । त्यसपछि तिमीलाई म टाढा भएको महसुस हुन थाल्यो र त्यो स्वाभाविक पनि थियो ।’

ऊ बोलिरहेकी थिई, र म मौन रहेर ऊसको कुराहरु सुनिरहेको थिएँ । आँशु पुछी र नाक बजाउँदै ऊसले फेरि भनी– ‘हामी त्यति नजिक भैसकेपछि एक्कासी मेरो व्यवहार परिवर्तन हुँदा तिमीलाई नराम्रो लाग्यो र अन्यथा सोच्न पुग्यौ । गल्ती मेरो पनि थियो, तिमीले कति सोध्थ्यौ, कति अनुरोध गथ्र्यौ तर मैले वास्तविकता भन्दा बाहिरको कुरा गरेर तिमीलाई शान्त पार्थेँ । तिमी मलाई विश्वास गथ्र्यौ त्यसैले मेरो कुरा सही होला भनेर केहि समयसम्म शान्त हुन्थ्यौ । मेरो तिमीलाई गर्ने व्यवहार मात्र परिवर्तन भएको थियो कालु विश्वास गर । तिमीप्रतिको भावना अझै पनि उस्तै छ, चासो कम भएको पनि छैन । सबै यथावत् यथास्थान मा छन्’

अब भने मलाई कताकता भावुकताले छोप्दै लगेको थियो । ऊँ मेरो अँगालोमा थिई, अझै पनि रोईरहेकी । तर म भावुक उसको कुराले भएको थिएँ या ऊसको रोदनले थाहा छैन । फेरि नियतिलाई सम्झन पुगेँ, तेरो यो कस्तो रचना ? कताकता थोरै विश्वास र आश थियो, सम्बन्ध ज्यूँदै छ मरेको छैन तर आज ऊसलाई नाटकीय ढङ्गले भेटेपछि, ऊसका यी यावत् कुरा सुनेपछि साँच्ची ज्यूँदै रहेको आभास भयो । यद्यपि ढिलो भएको थियो तर कमसेकम ऊसले यथार्थ खोतलिरहेकी थिई, जुन यथार्थको श्रष्टा ऊ आफैँ थिई म त एउटा पात्र मात्र थिएँ । ऊसका यी कुराहरु सिधा हिँडिरहेका मात्र थिए तर कुन गोरेटोमा हिडेका थिए र कता गएर मोडिने हुन् यसको टुङ्गो थिएन । ऊसका यी यावत् कुराहरुले के अर्थ राखेका छन् त्यसको टुङ्गो थिएन । अझ भनौ यथार्थको मुख्य ढोका खुल्न बाँकी नै थियो र म पनि आतुर थिएँ यथार्थ थाहा पाउन । मैले ऊसलाई सोधेँ— ‘अनि हामी बीच खासमा भएको चाहिँ के हो त ? को हौँ हामी ? के थियो र के भयो हामीबीच हँ ?’

‘तिमी मलाई अझैँ पनि गलत सोच्दैछौ है’ मेरो नाम किटेर नै सोधी । ‘सही गलत को कुरा छाड, आखिर हामी को हौँ र के थियो हामी बीच अनि के भयो अहिले, यति भन ।’ मैले उहि प्रश्न दोहो¥याएँ । ऊ झन् रुन थाली, मेरो अँगालो मै थिई ऊ । मैले चुप हुन आग्रह गरेँ । तर पनि ऊ रोईरही । ऊसको आँशु पुछिदिँदै भनेँ— ‘रुन बन्द गर, भन के भएको हो आखिर हामीबीच हँ ? तिम्रो व्यवहार एक्कासी किन परिवर्तन भएको थियो, अनि मबाट टाढा किन भएकी थियौ ?’ अहँ, रोईरही, बोलिन । ऊसको मौनता फोड्न अनि ऊसको रुवाई बन्द गर्न कसेर कानमा घन्टी बज्ने गरी थप्पड हान्न मन लाग्यो तर एउटी स्त्रीमाथि हात उठाएर महानताको भ्रममा आफुलाई कायर किन बनाउनु ? ‘तिमी नबोल्ने हो भने पर्दैन नबोल, म गएँ, यसै पनि अनायास बनेको हाम्रो सम्बन्ध अनायास टुक्रिएको हो, कारण पनि अनायास नै हो भनेर चित्त बुझाएको छु त्यसै गरौँला ।’ मैले अलि झोँक्किएर भनेँ ।

‘कालु… त्यस्तो नभन, कुनै कुरा अनायास छैन हामी बीच, न तिमी, न म, न हाम्रो सम्बन्ध न त कारण नै अनायास छ । मलाई बुभ्mने कोशिष गर । यति विधि भैसक्दा सम्म पनि तिमीले बुझ्न सकेका छैनौ कि म किन यस्तो गर्दैछु ? किन टाढा हुँदैछु । तिमीले शुरुमै एउटा कुरा भनेका थियौ, पहिले ठीकै लाग्थ्यो तर पछि त्यही तिम्रो कुरा मेरो बाधक बन्न पुग्यो त्यसैले यो सब भैरहेको छ…बुझ न कालु… तिमीले नबुझे अरु कसले बुभ्mछ ?’ सुँक्क सुँक्क आवाज मिसाउँदै भनी । यहाँ म झन असमञ्जस्यमा परेको थिएँ, के भन्न खोजेकी हो कुन्नि ! ‘बुझ्न त मैले धेरै तरिकाले बुझेको छु, तर कुन चाहिँ सत्य हो ? तिमी आफै भन न ! अनि अँ मैले त तिमीलाई धेरै कुराहरु भनेको छु, कुन कुरा तिम्रो बाधक बन्न पुग्यो हँ ?’ मैले फेरि सोधेँ ।

‘सम्झने कोशिष गर…’ ‘मेरो स्मरण शक्ति कम भएको छ, सम्झन सक्दिनँ’ ऊसको कुरा पूरा नसुनी मैले भनेँ । ऊसले भनी ‘हुन्छ उसो भए ल सुन…. म.. म… मेरो जीवनमा…. तिमी…. ’ ‘तिमीले पुरा कुरा चाहिँ कतिबेला सम्म सक्छौ ? के अड्किरहेको बोल न फटाफट । म आतुर छु सुन्न के हो कुरो भन त सही’ मेरो धैर्यले ठाउँ छोडेको थियो । यत्तिकैमा एउटा पुरुष आवाजले मेरो नाम किटेर बोलायो र सोध्यो— ‘ओए के भयो ? कसलाई के भनेको ? ओए…’ यो आवाजले मलाई झल्याँस्स ब्युँझाईदियो । खाटको अर्कोपट्टी सँगै पल्टेको साथीले म बर्बराउन थालेपछि मलाई उठाएको रहेछ । मैले सपना पो देखेको रहेछु । तर कस्तो अधूरो सपना । साथीलाई गाली गरेँ— ‘साले, केहि बेर पछि मात्र उठाएको भए हुन्थेनँ ? सपना त अधूरो भयो नै कुरा पनि अधूरो भयो । विपनामा थाहा पाउन नसके पनि कमसेकम सपनामा नै सही यथार्थको ढोका त खुल्थ्यो नि !’ ‘साला चिच्याई चिच्याई बर्बराउँछ अनि के गर्नु त ? अनि साँच्चै सपनामा कसलाई देखिस र ?’ ऊ पनि के कम, उहि शैलीमा जवाफ दियो अनि प्रश्न पनि ग¥यो । ‘अरु को हुन्थ्यो र यार, केही समय अगाडिसम्मकी मेरी काली त हो, उहि के उहि काली, चिनिस् ?’ मैले भनेँ । ‘ए अँ अँ चिने । सपनामा समेत छाड्न नसक्ने कस्ती रहीछ यार ? खैर तिमीहरु दुवै नबुझ्ने मान्छे त होइनौ हेर, तैपनि यो सब भयो । अब पनि त के सोच्छस् हँ ? छाडिदे यार, त्यो एउटा केटीले तेरो जीवन नै रोकिने होइन क्यारे । ऊसले सोच्दैमा तँ त्यस्तै हुने होइनस् । अब सुत्’ थोरै सहानुभूति मिसाउँदै ऊसले भन्यो ।

सपना, सपना पनि कस्तो देखिएको होला । पहिले तितो अनि पछि मिठो तर त्यो मिठासमा जिब्रो चलमलायो मात्र तर असली मिठास पाउन पाएन । सपनामा ऊसले भनेको हरेक कुरा सही होला त ? खै के हुनसक्ला र ! सायद हुन पनि सक्ला । अलि पछि उठाएको भए पनि हुने नि कमसेकम यथार्थ त थाहा पाउन सक्थेँ । खैर सपना त सपना नै हो नि ! कहिले के देखिन्छ कहिले के । फेरि मैले बोलेको कुन चाहिँ वाक्य त्यसको बाधक बन्यो हँ ? म एकछिन यस्तै अनेक कुराहरु सोचिरहेँ तर त्यहाँ सोचिरहनुको कुनै मतलब थिएन अतः त्यो अधुरो सपना, ऊसको अधुरो कुरा यि सबैलाई पन्छाएर सुतेँ ।

पुस २०, २०६९
सुमन पछाई
काठमाडौँ ।

(स्रोत : रचनाकारको ब्लगबाट सभार )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.