कथा : पण्डितजी खोइ मेरो जात !

~प्रदीप नेपाल~Pradeep Nepal

यस्तो दिन देख्नु पर्ला भनेर मैले कल्पना पनि गरेको थिइनँ। मेरै मूर्खता होला यो। कुनै दिन यस्तो अप्ठ्यारो आउँछ भनेर हिजै कल्पना गर्न नसकेको पनि होला। यतिबेला म कसैलाई गाली गर्न सक्ने अवस्थामा पनि छैन। जानेर होस् या नजानेर, गल्ती मेरै हो।

यति हुँदाहुँदै पनि पण्डितहरूप्रति मेरो विश्वास छ। पण्डित भनेर मैले खालि बाहुन पण्डितको मात्र कुरा गरेको होइन। अहिलेको नेपालमा चार खालका पण्डित छन्। पहिला पण्डित तिनै बाहुन पण्डित भइहाले। दोस्रा पण्डित भनेका नेवार पण्डित हुन्। तेस्रा पण्डित भनेका जनजाति पण्डित हुन्। र, चौथा भनेका उत्पीडित जातिका पण्डित हुन्। यी चारै पण्डितसँग मेरो साझा प्रश्न हो ः म कुमार पौडेलको जात के हो ? प्रश्न भन्दा पण्डितजीहरूको मानहानि हुन्छ भने यसलाई म विनम्र अनुरोध पनि बनाउन सक्छु।

तपाईंहरूलाई निर्णय लिन अलिकति मेरो पृष्ठभूमि पनि चाहिएला। जन्मिँदा कसैको जात हुँदैन। त्यसैले बच्चा या बच्ची आफ्ना आमाबाबुको जातबाट चिनिन्छ। मेरा मातापिताको जात ब्राह्मण हो। मेरी माता शुद्ध सात्विक, शाकाहारी ब्राह्मणी हुनुहुन्थ्यो। जागिरे भएका कारण मेरा पिताका ब्राह्मणत्व त्यत्ति बलियो थिएन। मासु त उहाँलाई चाहिन्थ्यो नै। त्यसबाहेक लसुन, प्याज, गोलभेडाको बारबन्देज पनि उहाँलाई लाग्दैनथ्यो। त्यसैले जन्मँदा मैले आफूलाई ब्राह्मणपुत्र मान्नु पर्‍यो। किनभने, अचेल ब्राह्मणको चुलामा समेत लसुन, प्याज, गोलभेडा सबै चल्छन्।

मेरो जन्मलाई सुखद दुर्घटना मान्नु हुन्थ्यो मेरा मातापिता। भएको के रहेछ भने हाम्रो जिल्लामा एक जना ज्योतिषी रहेछन्, बोलेको फेर नखाने। उनले बोलेको नपुगेको कहिल्यै थिएन रे ! उनले मेरा मातापितालाई भनिदिएछन्, अब तिमेरको जायजन्म बाँच्दैन।

आमालाई सबैभन्दा ठूलो पिर पर्ने नै भयो। मभन्दा माथिका दुई भाइ सन्तान तातातुतु बोल्ने उमेरमै बितेका रहेछन्। मरेका छोराको शोकबाट उत्रिन पनि नपाउँदै ज्योतिषी बाजेले ठोकुवा गरििदएछन्, तिमेरको यो सन्तानले छेवार गर्न पनि पाउँदैन। भगवान्लाई पनि राम्रा केटाकेटी चाहिन्छ भनेर चित्त बुझाऊ। शोक नगर।

ज्योतिषीले त सान्त्वना दिने हो। म पेटमा छँदैदेखि आमाका चिन्ताका दिन सुरु भए। आमा चाँडै जानु भो। मलाई लाग्छ बाँचुन्जेल गर्भदेखि बोकेको पिर बोकेरै उहाँको जीवनले धर्तीबाट बिदा लियो।

बाहुनले हलो जोत्दैनथे उतिबेला। त्यसैले हलो जोत्ने कामका लागि एक जना राई जातिका दाइ घरमा सहयोगीका रूपमा राखिएका थिए। जात अनुसार मद्यमांस चल्ने हुनाले उनी घरअगाडिको गोठको चोटामा बस्दा रहेछन्। तीन वर्षजतिको भएपछि उनले मलाई काखमा राखेर खेलाउने गर्थे रे ! उनी बस्ने चोटामा पनि बोकेरै लाँदा रहेछन्। चाक्लो र सेतो बोसो देखिने सुँगुरको मासु खान म मरहित्ते गर्थें रे ! कैयौँ रात आधारातसम्म पनि रोएरै बिताउँथेँ रे ! आमाका लागि त सुँगुरको मासु नर्कको ढोकै भइहाल्यो। त्यसैले जति रोए पनि उहाँले मलाई सुँगुरको मासु खान दिनुभएन। तर, पिताजीले चाहिँ दया देखाउँदै भन्नुहुन्थ्यो रे, ‘कति दिनका लागि आएको हो, केही रोकटोक नगर्। जे माग्छ खान दे।’

सुँगुरको मासु खाने ढोका खुल्यो। त्यतिबेला म तीन वर्षको टेकोमा थिएँ। ज्योतिषी बाजेले दिएका जीवनका दुई वर्ष अझै बाँकी थिए। त्यसैले त्यो दुई वर्षभर िमैले सुँगुरको मासु खाइरहेँ।

हाम्रो गाउँका सबैलाई छक्क पार्दै मैले ६ वर्षको पाइलो टेकेँ। गज्जब भो ! म बाँचेँ। त्यतिन्जेल मलाई पाँचै वर्षमा स्वर्ग पठाउने भविष्यवाणी गरेका ज्योतिषी बाजे आफैँ आकाशतिर उकालो लागेछन्। मैले चाहिँ बाँचेकै कारण मीठो लाग्दा लाग्दै पनि सुँगुरको मासु खान नपाउने थिति बन्यो।

तर, मेरो छेवार भएन। ६ वर्ष नटेक्दै मर्ने छोराको छेवार किन गररिहने भन्ने लाग्यो

होला सबैलाई !

बाँच्ने टुंगो भएपछि मेरा दुःखका दिन सुरु भए। ६ वर्ष टेकेको भोलिपल्टै मैले स्कुल जानुपर्ने भयो। त्यस बेलाको जमानामा बालवर्गमा पढ्नेले धुलौटोमा बाँसको छेस्कोले क ख ग घ लेख्नुपथ्र्यो। बालवर्ग र एक क्लास मैले एकै वर्षमा सिध्याएँ।

म बाँच्दै गएँ। पढ्दै गएँ। ३ कक्षामा गएपछि राम्रो नेपाली वर्णमाला भन्ने किताब मेरो हातमा पर्‍यो। त्यो एउटा सानो किताबमा अचेलको एलकेजी, यूकेजी र कक्षा १ सम्मको सबै पढाइ हुन्थ्यो। त्यहाँ कविता, गीत र उखानटुक्काहरू पनि हुन्थे। हामीले अंग्रेजी पनि त्यही किताबबाट सिकेका थियौँ।

त्यो किताबमा छापिएको कविताले छोयो मलाई। मैले पनि एउटा कविता लेखेँ। शुक्रबारको दिन आधा पढाइ, आधा अतिरत्तिm क्रियाकलाप हुन्थ्यो स्कुलमा। अतिरत्तिm क्रियाकलापमा खेलकुद र कविता गोष्ठी प्रमुख थिए। मैले खेलकुदलाई नमस्कार गरेँ र कवितातिर लागेँ। किनभने, मेरो हेडसर कवितालाई धेरै माया गर्नुहुन्थ्यो।

लौ खा, मैले त पहिलो कवितामै एउटा कपी र पेन्सिल पुरस्कार पो पाएँ।

हेडसरले भन्नुभयो, “हेर् केटा ! यो लामो नाम तँलाई पछि झर्को लाग्छ। कुमारप्रसाद पौडेल। त्यसैले यो बीचको प्रसाद झिकेर फालिदे र फुर्तिलो नाम बना। कुमार पौडेल। कति सुन्दर !

हेडसरले भनेको हुनाले मलाई पनि नयाँ नाम सुन्दर लाग्यो।

तर, त्यो सुन्दरले सजिलै मेरो जातलाई धमिलो बनाउँदै छ भनेर त्यतिबेला मलाई थाहै भएन। उसै पनि जातपात भनेको के हो, मलाई चासो पनि थिएन।

नौ-दस वर्षको उमेरमा ब्राह्मणपुत्रको व्रतबन्ध गर्ने उमेर हो। तर, मेरो व्रतबन्ध भएन। सायद आमालाई जति व्रतबन्धको चिन्ता बालाई हुँदैनथ्यो कि ! आफूसँगैका साथीले जनै देखाएर, गुनुमुनु गुनुमुनु गर्दै गायत्री मन्त्र जपेको नाटक गरेर मलाई चिढ्याउँथे। सुरु सुरुमा त मलाई केहीजस्तो लाग्दैनथ्यो। धेरै भएपछि दिक्क हुँदो रहेछ। एक दिन मैले पिताजीका सामु गुनासो गरेँ, “गाउँमा सप्पैको बर्तमन भयो। मेरो बर्तमन किन नगरििदएको बा ?”

“अब हुन्दे, जन्मिनेबित्तिकै रक्सीले नुहाउनुपर्‍यो। दाँत उमि्रँदा नउमि्रँदै सुँगुरको मासु खान थालिस्। अब बर्तमन गर्नु हुँदैन।”

त्यतिबेला काँधको जनैभन्दा मुखको स्वाद नै मलाई पि्रय लाग्थ्यो। पिताजीको कुराबाट मैले कुन ज्ञान पाएँ भने जनै लगाएपछि चोपिलो सुँगुरको मासु खान मिल्दैन। त्यसैले मनमनै भनेँ, ‘ठीकै भएछ’।

घरबाट अलिक टाढै थियो हाई स्कुल। बजारको छेउमा टुसुक्क बसेको हाई स्कुलमा जात आतंक पनि थियो। जनै भिरेका मेरा साथीहरू दलित साथीहरूको छेउछाउमा बसेर चिया खान मान्दैनथे। त्यतिबेला ती दलित साथीहरूको अनुहार अमिलो हुन्थ्यो। जनै नलगाएकै कारण म उनीहरूसँगै बसेर चिया खान्थेँ। उनीहरूको अनुहार उज्यालो हुन्थ्यो।

त्यो उज्यालो अनुहार हेर्दै म कल्पिन्थेँ, ‘जनै नलाएकै राम्रो भएछ।’

म जन्मिएको जिमी गाउँको पुछारमा। जिमी भनेको राईको एउटा समुदाय हो। मायाप्रीतिले जात हेर्दो रहेनछ। सँगै पढेकी सुम्निमा राईसँग उमेर पुगेपछि मैले बिहे गरेँ। प्रेम विवाह। मन्दिरमा गएर बिहे गर्नुपर्छ भन्ने हामी दुवैलाई लागेन। तर, प्रमुख जिल्ला अधिकारीको कार्यालयमा विवाह दर्ता गराउनुपर्छ भन्ने ज्ञानचाहिँ हामीसँग थियो। त्यसैले प्रमुख जिल्ला अधिकारीकै कार्यालयमा हामीले झ्याइँकुटी गर्‍यौँ।

आन्दोलन सुरु भयो जातपातको। हुन्डरी बनेर आएको जातपातको आन्दोलनको आयु धेरै हुँदैन भन्ने हामी दुवैलाई थाहा थियो। तर, डर लाग्दो रहेछ कता कता। एक वर्ष हामीले चिन्ताका दिन र रातहरू बितायौँ।

एक दिन एक जना मित्रले फोन गरे, “म अखिल नेपाल ब्राह्मण समाजको अध्यक्ष। यहाँसँग भेटेर कुरा गर्न मन लागेको थियो।”

मैले पन्छाउनुपर्ने कुनै कारण थिएन।

तीन जना साथीहरू आउनुभयो। ब्राह्मण समाजको सदस्यता लिन आग्रह गर्नुभयो।

“पहिले मलाई चिन्नूस्,” मैले सम्झाउने पारामा भनेँ, “तपाईंहरू मेरो थर पढेर आउनुभएको होला सायद। तर, म ब्राह्मण होइन। सानैदेखि रक्सी र सुँगुरको स्वाद लिएर हुर्किएको हुँ म। छेवार, व्रतबन्धजस्ता ब्राह्मण कर्म केही गरेको छैन मैले। म भगवान्को अस्तित्व मान्दिनँ। मैले गाउँकै किराँती केटीसँग बिहे गरेँ। दुई सन्तान छन्। तिनीहरू खसीको मासु खान मान्दैनन्। उनीहरूलाई बङ्गुर र सुँगुर नै चाहिन्छ। मेरो यो विवरण ब्राह्मण समाजका लागि फिट हुन्छ भने म ब्राह्मण समाजको सदस्यता लिन तयार छु।”

“यहाँलाई ब्राह्मण समाजमा सदस्यता दिन नमिल्ने रहेछ, नमस्कार।”

ब्राह्मण समाजबाट राहत पाएपछि सायद अब यस्तो प्रस्ताव आउँदैन होला भन्ने लागेको थियो मलाई। तर, आइपुग्यो अर्को प्रस्ताव आदिवासी खस क्षेत्री समाजका तर्फबाट। प्रस्ताव ल्याउने जिल्लावासी साथी थिए।

“तपाईं ब्राह्मण जातबाट खस्नुभयो अब। बाहुनको छोराले तल्लो जातकी केटीलाई भित्र्यायो भने तिनका सन्तान क्षेत्री हुन्छन्। सर पनि विवाहपछि क्षेत्री हुनुभयोे। हामी संस्थाको सदस्यताका लागि आग्रह गर्न आएका।”

“जातबाट त खसियो नै,” मैले भनेँ, “तर, क्षेत्रीहरू मतवाली हुँदैनन्। क्षेत्रीहरू सुँगुर पनि खाँदैनन्। मेरो घरमा रक्सीचाहिँ चल्दैन। जात होइन, स्वास्थ्यका कारणले। तर, मलगायत सिंगै परविारको पि्रय खाद्य भनेको सुँगुरको मासु नै हो। सुँगुर र रक्सी चल्नेले पनि क्षेत्री हुन पाउँछ भने म तपाईंहरूको संगठनको सदस्यता लिन तयार छु।”

क्षेत्री समाजले पनि मलाई स्वीकार्न सकेन।

जातभाइको खोजीको अभियान नै चलेको थियो। मेरो पाटो सकिएको थियो। तर, श्रीमतीजीको पाटो सुरु भएकै थिएन। त्यो पनि हुनुपथ्र्यो। सबैभन्दा पछाडि त्यो भयो।

“हेर्नूस् माइती हो,” मेरी श्रीमतीले भनिन्, “म बाहुन गाउँको आडैमा जन्मिएँ। सबैजसो ब्राह्मण समाजका संस्कारहरू हेर्दै र भोग्दै मैले विद्यार्थी जीवन पार गरेँ। हामी जाँडरक्सी खाँदैनौँ। हामीलाई जातपातप्रति विश्वास पनि छैन। अहिले त झन् म ब्राह्मण परविारसँग जोडिएकी छु। यसलाई छाडेर जान पनि म सक्दिनँ।

श्रीमतीले ब्राह्मण समाजसँग आफूलाई जोड्न खोजे पनि ब्राह्मण समाजले हामीलाई स्वीकार गर्ने कुनै सम्भावनै छैन।

मेरो जात के हो ?

चारै थरीका पण्डितजीहरूलाई सोधिएको प्रश्न हो यो।

प्रकाशित: वैशाख ७, २०७१

(स्रोत : नेपाल साप्ताहिक)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.