~परशु प्रधान~
मोबाइलमा आइरहेको चर्को घण्टीले म अचानक तर्सिएर ब्यूँझे । आँखा खोलें– गेष्ट हाउसको यो कोठा अन्धकार छ । बाहिर सडकमा कुकुरहरु कराईरहेछन् । भित्र सामसुम छ – निर्जीव अन्धकार । बल्लतल्ल हात पु¥याएर विजुली बालेर हेरें –ठ्याक्कै बाह्र बजेको छ । अनि पल्लो पलङ्गमा राति सँगै सुतेकी आसा छैन । बजिरहेको मोबाइल उसैको हो । मेरो मोबाइल त अफ गरेर सुतेकी थिएँ । मोबाइल हेरेँ – विदेशबाट आएको त्यो नम्बर छ । फेरि मोबाइल बज्यो –बजिरह्यो । उठाउँ कि नउठाउँ – म दोधारमा परेँ । कुनै अर्जेन्ट नभई यो मध्य राति कसले फोन गर्छ र १ साथी बाथरुममा गएको जस्तो लागेन । म बाटो हराएको कुनै बटुवा झैं भएँ ।
तर फेरि फोन बज्यो, बजिरह्यो । फोन उठाउन मैले आफ्नो धर्म ठानेँ । भनेँ– हेलो १ हेलो ११
“आसा हो …? ” यो कुनै लोग्नेमान्छेको स्वर थियो
“होइन – म उहाँको साथी । हामी यस नयाँ शहरमा आएका छौं – यौटा साहित्यिक कार्यक्रममा । उहाँ शायद बाथरुम जानुभएको जस्तो लाग्यो ।” – मैले जवाफ दिएँ ।
“ म पाँच दस मिनेटपछि फेरि फोन गर्छु भनिदिनुहोला । तपाई को नि ! ”
“म सुषमा – उहाँको साथी । हुन्छ – म भनिदिन्छु । फोन गर्नुहोला । ” मैले ढाँटे जस्तो लाग्यो ।
म आफ्नै बिछ्यौनामा फर्के । यो मध्यराति नयाँ अपरिचित शहर । आसाले केही नभनी जानु हुने थिएन । फेरि मोबाइल यहीं छ । कि कसैले अपहरण गरे । यसबीच आसाको गतिविधि बारे आफूभित्र कुरा खेलाएँ ।
आसा झापाकी । अझ दार्जीलिङ्गकी । हाई फाई र फ्रयान्क केटी । श्रृङ्गार पटार र साजसज्जामा एक नम्बर । संसार बुझेकी छे । नजानेको विषय केही छैन । गीत–संगीत–साहित्य सबै बुझेकी । प्रेमका सुन्दर गजलहरु लेखेर राजधानीको साहित्यिक माहौल थर्काएकी छे । कुरा गर्न र बनाउन माहिर छे – देशका नेता जस्ता १ विहान यौटा कुरा गर्छे, बेलुकी ठिक उल्टो । कहिले बोर्डिङ्गमा अंग्रेजी पढाउँछु भन्छे– कहिले नेपाली । कहिले क्याम्पसको बयान गर्छे, कहिले फेन्सी कलेजको । ऊ कहिले कहिं नभएको धन सम्पत्तिको कुरा गर्छे– कहिले गरिवीको ।
फेरि फोनको घण्टी बज्यो, एकनास बजिरह्यो । घडी हेरें –१ बजेतिर सानो सुई जान लागेको छ । कस्तो धर्म संकट– फोन उठाउँ कि नउठाउँ ! उठाउँ – के भनेर जवाफ दिउँ । न उठाउँ –भर्खर कुरा गर्छु भनेको – आसाको श्रीमान्ले के ठान्लान् । फोनको सानु घण्टी पनि रातको सन्नाटामा ठूलो घण्ट जस्तो बज्छ । जे पर्ला – आफूले कुनै गल्ती गरेको छैन । जे पर्ला – उठाउँछु ।
“हैन – आसासँग कुरा गरुँ भनेको । अझ बाथरुमबाट निस्केकी छैन – आधा घण्टा भइसक्यो । कस्तो गजबको आइमाइ हो र? ” – उताको पुरुष स्वरले थर्काउँछ । यता आफ्नो मन बाढी आएको खोला जस्तो भएको छ । म बोल्दिन । लोग्ने–स्वास्नीको सम्बन्ध मैले गर्दा बिग्रला भन्ने आफूलाई डर छ । यसबीच उताबाट आदेशात्मक स्वर आउँछ – म अब फोन गर्दिन । ऊ हराएकी त छैन बहिनी ! कि गुण्डाहरुको फेला परि ।
“ मलाई केही थाहा छैन ।” उताको फोन बन्द हुन्छ । अब भन्ने के १ आसा साथी हो – मिल्ने साथी । पहिलो पटक यो शहरमा आएका छौंं – आठ दस जनाको दलबल सहित । एक जना पुरुष – साथीसँग आँखा जुधाएर मस्त भएर गफ गरिरहेकी आसाको अनुहार सम्झेँ । कहिले एकदमै गम्भीर नदी जस्तो, कहिले अत्यन्त उच्छृंखल – के हो ! के हो ! ……..।
भो ! अर्काको व्यवहार र चरित्र सम्झेर आफ्नो निद्रा बिग्रने भयो । सुत्न बल गर्छु – निद्रा आँखाबाट भागिसकेको छ । अगि दिउँसो मात्र बाटोमा आउँदाको एक दुई प्रसङ्गले नराम्ररी झस्काउँछ । तेर्सो बाटो सिद्धिएर हामी चढेको गाडी ओरालो लागेपछि स–साना बस्तीहरु देखिएका थिए । यौटा सिङ्गो पहाडमुनि बगिरहेको खोला देख्दा रमाइलो लाग्थ्यो । तर पहाडका जङ्गलहरु सिद्धिएर बुटाबुटी मात्र बाँकी देख्दा राष्ट्र छिट्टै मरुभूमिमा रुपान्तरण हुन लागेको आभास हुन्थ्यो । एक्कासी आसा कराई – ए गुरुजी ! गाडी रोकौ, एकै क्षण रोकौं । गाडीमा सँगै आएकाको ध्यान एक्कासी भङ्ग भयो – कुनै दुर्घटना पो हुन लाग्यो कि कसो भनेर । तर त्यस्तो केही देखिएन । गुरुजीले गाडी रोक्नुभयो । एक्कासी हामी सबैको आवाज आयो – गाडी किन रोकेको र?
“बाँसको कलिलो तामा त्यहाँ देखियो । अलिकति काटेर गाडीमा राखौंन । भरै म मीठोसँग पकाउँछु ।” – यो नारी स्वर थियो आसाको ।
“हुन्छ हुन्छ लौ, अलिकति लगौं ”– गाडीभित्रबाट आवाज आयो ।
तामा भन्यो कि मेरो त मुख रसाएर आउँछ । अर्को स्वर सुनियो
“ म काटिदिन्छु लौ ।” अर्को स्वर कस्सियो ।
यौटा बूढो स्वरले सबैलाई सचेत गरायो – “अर्काको बारीमा जोगाएर राखेको बाँसको टुसा काट्दा घरवालाले खुकुरी लिएर छोप्तैन । ए गुरुजी ! गाडी बढाउँ ….”
गुरुजीले गाडी अगाडि बढाए । हाम्रो गाडी एकनाससँग ओरालो लाग्यो । अब पहाड समाप्त भएर तराईको फाँट देखा प¥यो । कहाँको पहाडी दुक्खी जीवन १ कहाँ तराईको रमाइलो उब्जनी हुने फाँट । अब हामी पुग्न पर्ने शहर केही किलोमिटर मात्र बाँकी थियो । सुविधासँग नै गाडीमा आइयो भन्ने सबैले अनुभूति गरे ।
त्यही नारी स्वरले एकनास, यौटा सुरमा गइरहेको यात्रालाई फेरि विथल्यो –होईन गुरुजी ! केही क्षण त रोक्नै प¥यो ।
पुरुष स्वरले साथ दियो – हो ….. हो …. यसो पानी पनि फालौं । गाडी रोकियो – हामी सबैको ध्यान आसातिर नै गयो । गाडीको फ्रन्ट सिटबाट उठेर ऊ सरासर यौटा खेतमा लहलहाएको फूलकोपी पो उखेल्न लागी । हेर्दा हेर्दै दुई चारवटा उखेलेर झोलामा राखी र बहादुरीका साथ आफ्नो सिटमा फर्की । हामी मध्ये केहीले अपराधबोध ग¥यौं । बाटोमा स–साना स्वरहरु आए – विचरा गरिब किसानले लाएको काउली १ यसो गर्न नहुने ।
“आसाजीले फ्रिमा पाए विष पनि खाने रहिछिन् ।” गाडीमा हाँसोको फोहरा छुट्यो ।
निदाउँ भन्छु, निदाउनै सक्तिन । कस्ता आँखाहरु हुन् – आफू किन आसा जस्तो हुन सकिन, तर त्यस्तो नहुनु नै बेस । राजधानीमा बाँच्नुसँग संघर्ष गर्दैछु । आफ्नो तलब मात्र बढ्दैन, बाँकी सबै बढ्छ । केटाकेटीको फिस, खाद्यान्न सामग्री, घरभाडा छोइसक्नु छैन, भाउ आकाशिइसक्यो ।
यी वाहियात कुरा किन सम्झनु । हन को सँग कहाँ गइहोली यस्तो राति । आसा ! कत्तै केही भइहाल्यो भने पहिलो साक्षी म नै हुनुपर्छ – आफ्नो साथी –भाइको हेरविचार नगर्ने भनेर । फेरि त्यही आसाको अनुहारले, स्वरले झकझकाउँछ – ए सुषमा १ म त आज पार्टी खाएर मस्त छु । यौटी साथीको बिहेको पार्टी – फाइब स्टारमा । यसो चुस्की लगाएको एक बोतल वाइन सिध्याइएछ । के कसरी घरमा आइपुगें – थाहा छैन । म सुन्छु र भन्छु – राम्रो गरिछयौ आसा ! सँधै यसरी पार्टी खान पाउनु, कत्ति भाग्यमानी तिमी । आफु त ….
“ अर्को पार्टीमा लिएर जान्छु – नाई न भन्नु नि !”
त्यो लरबरिएको स्वरले आफूलाई केही सोच्न र सम्झन बाध्य गराउँथ्यो । फेरि कुनै रात उसको फोनको घण्टीले मलाई वाक्क बनाउँथ्यो । अलिकति वाइनको धङधङीमा ऊ आफूलाई विर्सेर भन्थी – म त बूढाको मतलब राख्तिन । आज एक जनासँग नगरकोट गइयो । जिन्दगीलाई भोग्न पनि जान्नुपर्छ सुषमा १ तिमी त साँच्चै लाटी छौं गाउँले । म सँग यसको कुनै जवाफ थिएन । किनभने डलर कमाउन विदेश गएको लोग्नेको आसा र विश्वासमा आफ्नो जवानी काटिरहेकी थिएँ । हामी दुई संयोगले साथी भएका छौं , मित्रता राम्रै गाँसिएको छ । आफूले भोगेको, देखेको सबै कुरा सुनाएर ऊ शायद हलुङ्गो अनुभव गर्थी । म भने प्रत्येक घटनाको वृत्तान्त सुनेर भिजेको चरा जस्तो हुन्थें – जसको कुनै गँुड छैन, बास छैन ।
अब त मिरमिरे उज्यालो भयो कि भनेर घडी हेर्छु – चार बज्न लागेको छ । आसा कत्तै कोहीसँग बाहिर गएकी छे भन्ने कुरामा आफू विश्वस्त हुन्छु । उसका थुप्रै ब्वायफ्रेन्डहरु छन् र सबैसँग रमाइलो जीवन काटिरहिछे भन्ने कुरामा मलाई शंका छैन । तर आसाको लोग्ने…. विचरा महासागर अमेरिकामा राम्रोसँग जिउनुको पौडी खेलिरहेछ । एक साँझ उसैले भनेकी थिई – हाम्रा बूढा अमेरिका जाने भए ।
“के कसरी ?…. ” मैले उत्सुकता राखेकी थिएँ ।
“माओवादीले घर जग्गा सबै लुटेर लगे, राजनैतिक शरण पाउँ भनेर डकुमेन्ट मिलाएर जानुभयो । पैसा भएपछि यो देशमा जे पनि मिल्छ, गर्न सकिन्छ सुषमा ! ”
“हो र ! … म शंका गर्थे ।
“ तिमी र म सँगै अमेरिका जाऊँ । अलिकति रकम खर्च गर । मिलाउने जिम्मा मेरो …” यसरी हाँस्थी आसा । त्यही आसा आज रातभर हराई…. केही दूर्घटना वा अनर्थ भएको भए …..।” मेरो मन थरर काँप्छ – तर नबिराउनू, नडराउनू भन्छन् ।
यस कार्यक्रममा म नआएको भए पनि हुन्थ्यो । कुनै अनर्थ हुने हो कि ? भयले त्रस्त छु । साथी आसाको घर–परिवार बिग्रने हो कि ! मनमा अनेकौं शंका उपशंका आउँछन् । पाप चिताउनु त हुन्न, हिजो गाडीमा सँगै आएको महापुरुषसित आसाले नयाँ हनिमून मनाई भन्ने लाग्छ । रुपैंया पैसाको मामला पनि आसा कमजोर छे भन्ने साथी – हल्ला सुनेकी थिएँ । अनेकौं प्रलोभन दिएर ऋण रकम हात पारेपछि दातासँग नभेट्ने, भागी हिँडेका धेरै घटना–दूर्घटनाहरु सुनेकी थिएँ । बूढा भर्खर भर्खर पुगेर यसो हातमुख जोर्न लागेका होलान्, यहाँ आसाले अमेरिका पु¥याईदिने प्रलोभनमा केहीसँग मह चाटिसकेकी घटनाले कस्तो मोडमा लाने हो भनेर ऊ भन्दा म बढी डराउँथे ।
म स्वयम् बाढीले फ्याँकीदिएको किनाराको काठ भएको छु । यस लामो जिन्दगीको गाडी कसरी हाँक्ने होला भनी संत्रस्त छु । धेरैले अनेकौं प्रस्तावहरु राख्छन् , विविध आश्वासनहरुको सेलरोटी बाँड्छन् । म के गरुँ रु कसलाई विश्वास गरुँ ? अनि के आधारमा विश्वास गरुँ । इजरायलमा केयर गिभरमा पठाईदिनेहरु पनि छन्, दक्षिण कोरियामा कोरियनहरुसँग शादी गराईदिने शुभचिन्तकहरु पनि नभएका होइनन् । तर कुनै निश्चित निर्णय गर्न सक्तिन । मेरा लागि हित चिताउने बा–आमाहरु सानैमा माथि गइसके । दाजुभाई त्यस्तै उस्तै हुन् । अनि म…। अनि म झकाएछु । कोठाबाहिरको बेल बजेको सुनें । जुरुक्क उठें र ढोका खोलें । लगभग उज्यालो भइसकेको रहेछ । “ उठिसक्यौ सुषमा !”
“विहानै उठेर चिया खान निस्केकी थिएँ । कहाँको रातभर हराउनु !…”
आसाले सिधै ढाँटी । तिम्रो मोवाइल हेर – बूढाले अमेरिकाबाट राति फोन हानेर हैरान…। ” मैले भनेपछि आसाको अनुहार निलो भएर आयो ।
“हेरन ! राति यसो पार्टी खान गएकी…। मोबाइल त्यहीं छुटेछ ।” – आसाले फेरि ढाँटी । मैले बुझेर मुस्काएँ मात्र । मेरो मुस्कानलाई शायद बुझेर होला उसले फेरि कुरा बनाई । ऊ मिनेट मिनेटमा कुरा बनाउन सक्छे भन्ने मलाई थाहा थियो ।
फेरि ढोकाको घण्टी बज्यो । आसाले खोलिदिई । “ गुड मर्निङ्ग मेडमहरु ! मोर्निङ्ग टी…” होटेल ब्वायले टेबलमा चिया राखेर सोध्यो – “मेडमहरुको ब्रेकफास्ट कहाँ हुन्छ र के के लिनुहुन्छ ?”
हामीलाई थाहा छैन, हामीलाई यहाँ ल्याएर राख्नेलाई सोध – मैले भनें । अनि अनायास मेरा आँखा आसाको आँखामा – अनुहारमा पुगे । ऊ एक क्षण अत्यन्त गम्भीर भई । तुरुन्तै अमेरिकामा फोन गरी – ‘डियर ! के गर्दै हुनुहुन्छ र ?’ …।
‘साँझ पर्न लाग्यो । डिनरको तयारीमा छु ।’ यो जवाफ मैले पनि सुनें
‘राति फोन गर्नु भएको थियो ? ’ – उसले सोधी ।
‘हो …। तर तिम्रो मोबाइल थियो, तिमी थिएनौं, राति कहाँ गएकी थियौं ? !!!।’
‘कहाँ जानु । हेरन १ होटेलको खाना…। अचानक झाडा बान्ता लागेर अस्पताल गएँ । इमरजेन्सीमा बसेर अहिले बिहान आएर डियरलाई फोन गरेकी …।’ उसले रातको राम्रै स्पष्टीकरण दिई – सरकारी कर्मचारीले जस्तो ।
‘अहिले कस्तो छ र? …। ’ बूढाले चिन्तित हुँदै भन्यो ।
‘ ल रातभर सेलाइन पानी ! अहिले अलि ठिक भएर आएकी । दिउँसो यहाँ भब्य साहित्यिक कार्यक्रम छ । साँझतिर काठमाडौं फर्कन्छौं होला, दस बाह्र जनाको टिम नै छ…।’
–उसको अनुहारको रङ्ग बदलियो । अर्थात राति नभेटेकोमा बूढाले सिरिएस्ली लिएनछन् भनेर ऊ ढुक्क भई ।
एकै छिनमा टोलीका अरु साथीहरु कोठामा आएर खबर गरे – बिहानको नास्ता अरु नै होटेलमा छ रे ! तपाईहरु तयार हुनोस् …
‘हामी दुई जना अन्यत्रै पाहुना हुन जान्छौं । तपाईहरु जानुहोला …।’ आसाले भनी र मेरो अनुहारमा हेरी । राति हराएको कुरा म बाट फुस्केला भनेर ऊ सर्तक भएकी जस्तो लाग्यो ।
‘तिमी डराउनु पर्दैन आसा १ म तिम्रो सिआईडी होईन, साथी हूँ । तिम्रो कुरा बाहिर भन्दिन ल …। किरिया खान्छु ।’ – मैले उसलाई आश्वस्त गराएँ । मलाई लाग्यो, बूढा बूढीको सम्बन्धलाई म किन बिगारीदिऊँ । यो उनीहरुको बिल्कूल निजी मामला हो ।
‘त्यसैले तिमीलाई राम्रो रेष्टुँरामा ए वान नास्ता खुवाउन लागेकी …। ल हिँड ।’ आसाले ढोका बन्द गरी । हामी बाहिर निस्क्यौं र राम्रो रेष्टुँराको खोजीमा लाग्यौं । तर म भित्र, मेरो अन्तरमा लागिरह्यो – आसाको लोग्नेसँगको बैवाहिक सम्बन्ध के यसरी सँधै रहला …।
(स्रोत : EverestDainik)