कथा : ढाक्रेदाइ

~महेश बर्तमान रानामगर~Mahesh Bartamaan Rana Magar

कति मुस्किल हुन्छ यो संसारमा जीवन बिताउन । बाँच्न चाहनेलाई बाँच्न दिदैन र मर्न चाहनेलाई पनि मर्न दिंदैन, सधैं झिनो घिटघिटीमा नै अल्झाइराख्छ । यहाँ सुखी भएर बाँच्ने चहाना कसलाई हँदंन र ? तर हेर, विचरा ! ढाक्रेदाइ आफ्नो बोझभन्दा पनि गह्रौं भारी बोकेका छन् । रोगले खग्रास बनाइसकेको भौतिक शरीरलाई यी पहाडका उकाला ओरालामा थोरै तोक्माको सहायताले अनि अधिक त मनका भरोसामा आशाहरू बचाएर एक–एक पाइलाको अन्तरालमा टुस्स–टुस्स बिसाउँदै चर्र दुख्ने छाती छामेर ख्वाक्क–ख्वाक्क बूढो खोकी खोक्दै जीवनपथमा हिडिरहेको छ । सायद यो बाध्यता हो, प्राण बचाउन चाहानेहरूको । यद्यपी मेरो वास्तविकताभन्दा फरक त होइन तर थोरै बढी नैं पो हो कि जस्तो लाग्यो, जसले मन कुटुक्क दुःखायो । मेरा पनि अतीतहरू ताजा नै छन्, मैले नदेखे नभोगे पनि- बाबा, कटारी र नुनका कथा मनग्य सुनेको छु र आँसु खसाएको छु,खसाइरहेको छु । बुबा भन्नु हुन्थ्यो, ”छोराहरू हो तिमीहरूले त कति सुख पाएका छौ, तिमीहरूले खान पाएका छौ, पढ्न पाएका छौ, एकसरो भए पनि आङ ढाकेका छौ, मलाई लाग्छ— तिमीहरू त स्वर्गमा नै छौ, हाम्रा पालामा त….।” मलाई थाहा छ र मैले अनुभव गरेको छु, कतै पनि यस जीवन भोगाईका कथाभित्र खुशीका पल भेटिन्नन् । यहाँ यस्तै मन रुवाउने वास्तविक कथाका पात्र देखिरहेको छु, कठिन यात्रामा छन यिनी्, पीडा र बाध्यता बोकेर यी ढाक्रेदाइ …..।

यो शिशिरको कुनै दिन । जाडो पर्याप्त बढेको छ । जोडले हिडेको माथि दुई खाप लुगा लगाएर पनि जाडोकै अनुभव भइरहेको छ । तर यो अवश्य भोलि हट्नेछ र सबैले न्यानो अनुभव गर्नेछ । जहिले, जुनै पनि अवस्थामा सबै बस्तु र परिस्थितिको चक्रिय परिवर्तन हुन्छ र भइरहेको छ । घाम अनि पानी, झरी अनि बादल, चिसो अनि तातो, दुःख अनि सुख, हाँसो अनि रोदन यस्तै दिन अनि रात इत्यादि—इत्यादि । सायद यसैभित्रको वास्तविक भोगाइ जीवन हो र यही क्रममा ऊ दुःख भोगिरहेको छ । म ट्वाल्ल परेर हेरिरहेको छु । ऊ लम्पसार छ । मलाई लाग्छ, ऊ मुर्दा जीउँदो हो । हुरुक्कै हुने गरी खोकिरहेको छ । खोकाइको आवाजले यस्तो अनुभूति दिन्छ कि प्रत्येक खोकाइमा खकारका फाल्साहरू मुख भरिभरि जम्मा भए । तर, बाह्य संसारले देख्ला कि भन्ने डर छ, घृणा र रोगीको पहिचानबाट बच्न प्रत्येक घुट्कामा मुख रित्याइसकेको हुन्छ । म यही अनुभूत गरिरहेको हुन्छु । दुनियाँलाई स्वस्थ देखाउन ऊ असफल प्रयास गर्दछ र गरिरहन्छ । खोकी निर्दयी छ क्यारे, धमिराले खोक्रो परिसकेको ज्यानलाई अझ पीडा दिन्छ । ‘जो होचो उसैलाई घोचो’ भन्ने उखान होचोकै लागि सार्थक सरह । फोक्सो नै बाहिर निस्कने हो कि झैं खोकिरहेछ । म यही बिचल्ली हेरिरहेको छु । सायद यहाँ कुशल कलाकारले वास्तविक अभिनय गरिरहेको छ र म त्यसको सक्रिय दर्शक भएर कला हेरिरहेको छु ।

यसपटक फाल्साहरू मुखमा अट्न सकेन वा खोकी, खकार र निल्ने क्रमको सन्तुलन भएन । एक फाल्सा भुइँमा खस्यो । मेरो नझर त्यसैमा प¥यो, त्यो रातो थियो मतलव रगत मिसिएको खकार । म भयभीत भएँ । ऊ यसलाई लुकाउन खुट्टाले माटो सोहर्दै थियो । ऊ धमीराले खोक्रो पारिसकेको सिमलको रुखझैं हरियो हुने निरर्थक चेष्टा गरिरहेकोझैं लाग्यो । साँच्चै यिनी बिरामी हुनुपर्छ । दया पलायो र सोधेः

—ढाक्रेदाइ, तपाइं बिरामी हुनुहुन्छ ?

—खै नानी ! के बिरामी के सन्चो, म जस्तो ढाक्रेको यस्तै त हो नि हाल..।

—होइन, तपाईंको त खकारमा पनि रगत पो आउँदोरहेछ त ? कहिलेदेखि यस्तो…?

—घरबाट हिड्दा त घाटी मात्र दुख्दैथ्यो नानी, केही पनि हुदैन होला भनेर हिडियो, हिजोबाट त घाटी, छाती, टाउको, के के हो के के, जीउ सबै दुख्दैछ । बिसाउनै नपाउने गरी खोकी लागिरहेको छ । हेर न आजबाट त रगत पनि आउन थाल्यो । यो त नराम्रै पो होला नि..।

—त्यस्तो नराम्रो…… त होइन, तपाईंलाई टङ्सिल भएजस्तो छ । यो चिसोका कारणले हुन्छ । चिसोबाट जोगिएन भने घाँटी त अँठ्याइहाल्छ नि ।

—होला–होला, त्यसैले होला नानी । आज यही पहाडको भञ्ज्याङनिरको ओढारमा रात बिताएँ, ओढ्ने राम्रो थिएन, एउटा पातला कम्बल, यसै त पुसको दिन, चिसो बढेको, मलाई त सर्दी लागे जस्तो छ । रातभर पनि निद्रा लागेन, ज्वरोले च्याप्यो । बेलुका जोमेको आगो पनि चिलिम्मै भएको रहेछ, फुक्ने जाँगर पनि आएन, । रातभर जागा रहेर बिताएँ । दुखिया रैछु नानी म ।

—ज्यानभन्दा ठूलो केही होइन दाइ । स्वास्थको ख्याल राख्नुहोस । उपचार र आराम गर्नुहोस । पानी उमालेर पर्याप्त पिउनुहोस् । नूनपानीले घाँटी कुल्ला गरिरहनुहोस् र चिसोबाट घाँटी र छातीलाई जोगाउनुहोस् । तपाईलाई चाँडै निको हुनेछ ।

—खै नानी कता गासका कुरा, कताको उपचार । मेरो त नानी दुखिया रहेछ कर्म । हेर न बिरामी छु तर भारी बोक्नैपर्छ । बिरामी भयो भनेर बस्यो भने त भोकै मर्छौं भोकैै । दुई पाइला टेक्नसक्ने भएदेखि दुःख गरिरहेछु, सुख क्षितिजमा नै रहिरहन्छ, रहिरहेको छ । अझै दुःख गर्छु, यही पापी सास अल्झाउनका लागि मात्र.. । होइन–होइन, भोकको त चिन्ता छैन नानी मेरो त सपना पो….। नानी, तिमीजस्तै मेरो पनि एउटा छोरो छ । ऊ मेरो मुटु हो, साह्रै माया लाग्छ र आश पनि लाग्छ । साह्रै ज्ञानी पनि छ ऊ, सायद भविश्यमा… । पोहोर साल मात्र एस.एल.सी. पास गरी क्याम्पस पढ्दैछ । अस्ति घर आएको थियो । क्याम्पसको फिस यस महिनाको अन्तसम्ममा बुझाइ सक्नुपर्ने रे । दुःख गरेर भए पनि क्याम्पस पढाउँछु भनी वाचा गरेको छु मैले । अनि त मनमा चिसो पस्यो । उसैको लागि खर्च जुटाउन मकै बोकेर नाम्चे हिडेको । हो, यही छोरामाथि सुनौलो सपना सजाएको छु, सपना देखेको छु । चिन्ता लागिरहेको छ, मकैले भाउ पाउने हो कि होइन ।” फेरि ख्वाक्क ख्वाक्क खोकिरहन्छ ।

अ त्यस बेला, “त्यसबेला पूर्वबाट भर्खर मात्र अर्ध जून झुल्केर हाँस्दै थियो । औंसीको छेकाले होला जूनको खग्रासक्रम पनि बढिरहेको थियो, मेरै जीवनझैं । खुला आकाशभरि मकैका फूलझैं रहरलाग्दा ताराहरू थिए । दिनभरिको थकाइलाई बिर्सेर मन त्यसैत्यसै प्रफुल्ल थियो । आँगनको चिसो चप्लेटोमा बसी मन क्षितिज पारि–पारि डुलाइरहदा छोराको झझल्को एकतमास आइरहेको थियो । म ती चम्कने तारा हेर्थे । मलाई ती चम्कने तारा मेरै छोरा हो झैं लाग्थ्यो । यसैबेला मेरो प्यारो छोरो आइपुग्यो । खुशी लाग्यो र मैले सोधे

— छोरा तिमी आरामै छौ

— म आराम छु बुबा

— क्याम्पसको पढाइ कस्तो भइरहेको छ तिम्रो

— पढाइ राम्रै चल्दैछ बाबा तर..

— तर…. के भयो छोरा

— बाबा आफ्नो किताब छैन, साथीहरूको किताब मागेर पढ्दैछु तर बाबा मेहनत गरेर पढ्दैछु विश्वस्त छु राम्रै डिभिजनमा पास गर्छु । अँ, बाबा यो महिनाको अन्तसम्म क्याम्पस फि पनि तिर्नुपर्ने अरे । फि तिरेन भने त पढ्न पनि नपाउने रे । मलाई थाहा छ बाबा, हामीसंग पैसा छैन । हजुरलाई मेरो पढाइको निम्ति कति भारी बोकाऊँ, कति ढाक्रे बनाऊँ, कति दुःख दिऊँ ? बाबा भो…….। सायद छोराको आँखामा आँसु थियो, त्यो अर्धजूनको टलकमा टल्केर सहजै थाह हुन्थ्यो ।

– होइन छोरा, तिमी राम्ररी पढ, म जसरी भएपनि खर्च मिलाउँछु, दुःख–सुखका कुरा छोड, तिम्रा लागि जस्तोसुकै दुःख गर्नु परे पनि गर्छु, ती सबै काम मेरो जिम्मा…। म भोलि नै मकै बोकेर नाम्चे जान्छु । तिम्रा मन दुखे त म बिचल्ली हुन्छु । छोरा तिमी अलिकति पनि चिन्ता नगर । त्यसबेला मेरो पनि आँखामा आँसु बग्यो क्यार

म यसै भनेर हिडेको, छोरो घरैमा पर्खिरहेको छ,पर्खिरहने छ ।” उसको आँखाभरि आँसु टिल्पिलाइरहेको थियो ।

— ढाक्रेदाइ बढी चिन्ता नगर्नुहोस्, चिन्ता नलिनुहोस् । बरु स्वास्थ्यको ख्याल बढी राख्नुहोस् । आफ्नो जीवन नै नरहे त…?।

बरु मसँग ज्वरो कम गर्ने औषधि छ । यो बेलुका बिहान तातो पानीसँग लिनुहोस् । ज्वरो केही हदसम्म कम गराउँछ । अनि तपाईं बिस्तारै आउनुहोस्, म चाहिं लागे है ।

— नानी तिमी कति जाती…। तिम्रा ईश्वर सधैं दाहिने होस् । यो ढाक्रेको आशिष लागोस् । हुन्छ नानी हुन्छ तिमी राम्ररी जाऊ, म बिस्तारै …..।

म आफ्नो बाटो लागें । मनभरि ढाक्रेदाइको कुरा खेलिरह्यो । साँच्चै ऊ सिकिस्त थियो, तर जीवनको बोझभन्दा पनि गह्रौ भारी बोकेर हिड्नु नै थियो । बिस्तारै ओह्रालो झरें । दूधकोशी बगर नभेटुन्जेल बाटो एकैप्रकारको ओह्रालोे थियो । मन र आँखाबाट ढाक्रेदाइ हटेको थिएन । बाटोको छेवैमा भोगटेको रुख थियो । ठुल्ठुला दाना फलेका थिए । राम्रा र ठूला फल लागेको एक हाँगा लाछिएर चुड्नै

आँटेको त्यान्द्रोमा अल्झिरहेको थियो । जसमा पातहरू पहेला भइसकेको थिए, चर्को घामले सुकिसकेका थिए ।

त्यो पाक्ने कुनै आश थिएन । मन त्यसैले बिझायो । सायद आधारबिनाका अधिक मनोकांक्षा लाछिन्छन्, भाँचिन्छन् र नासिन्छन्, त्यस्तै त्यस्तै लाग्यो —ढाक्रेदाइ। पाइला बढाइनै रहें । दूधकोशी बगर भेट्टाउन थोरै मात्र थियो क्यार । बेंसीतिर झरेकोले होला गर्मी एकतमासले बढिरहेको थियो । सानो भाइ भेट्टाएँ, पिठ्यूँमा तेब्बरको भारी बोकेको थियो । छेवैको सानो चौतारोमा दयालाग्दो पाराले टुसुक्क बिसायो । मलाई पनि बिसाउन मन लाग्यो । डिलैको ढुङ्गामा बसें र ठट्यौली पारामा सोधें—

– सानो भाइ, तिमी कहाँ हिंडेको ?

– नाम्चे

– जिरीबाट सामान ल्या’को हो ?

– हजुर

– कति धार्नी बोकेका छौं त तिमीले ? तेह्र धार्नी, आफ्नो खाने सामानसँग त पन्ध्र धार्नी जति पो छ ।

– अहो कत्ति बलिया रहेछन् नि हाम्रा भाइ त ।

– हि…..हि…..हि

– कत्ति वर्ष पुग्यौं तिमी ?

– एघार वर्ष

– अनि घरचाहिं ?

– हाम्रो घर त उत्ता उत्ता……

– तिमी पढ्दैनौं ?

– ……………….

ऊ मौन रह्यो र नजर अर्को दिशातिर मोड्यो, मैले अरु प्रश्न सोध्न चाहिनँ । म उठें र ‘भाइ..तिमी बिस्तारै आऊ ल’ भन्दै हिडें । उसले प्रत्युत्तर दिएन, तर म क्षितिजमा नडुबुञ्जेल तिनको नजर ममा नै बर्सिरह्यो । म दूधकोशीको पुल पुगें । पुलमा पाइला राख्नुअघि पुललाई ढोगें । किन ढोगें त्यो मलाई पनि थाहा थिएन तर त्यो मेरो सानैदेखिको बानी हो । म सानो छँदा पहिलोचोटी मेरा बाजेसँग त्यो खरीखोलाको पुल तर्दादेखि नै मैले ढोग्न थालें । किनकि बाजेले खोला तर्नुअगाडि ढोग्नुपर्छ र मात्र यात्रा सफल हुन्छ भन्नुहुन्थ्यो र म जुनसुकै बेला पनि पुल तर्नु अघि एकपल्ट ढोग्छु । सायद पुलप्रति अवचेतनमा नास्तिक आस्थाहरू लुकेर बसिरहेको छ वा म सदैव सफलता चाहन्छु । बाटो वरिपरिको परिवेशले मैले ढाक्रेदाइलाई भुलेछु । हठात् हृष्टपुष्ठ दाइ देखेर ढाक्रेदाइको झट्ट याद आयो । उमेरले २२/२४ वर्ष पुगेको हुनुपर्छ भारी अझङ्गको बोकेको थियो । भारीमाथि ठूलो टेप थियो । टेपमा आफैं गीत भएर बजिरहेको थियो ।

भारी बोक्ने भरियाको यही हो जीन्दगानी, झरनाको चिसो पानी…..।

त्यसैको तालमा हिडिरहेको थियो । मलाई अनुभूत भयो, उसलाई त्यो अझङ्गको भारीले कुनै सकश दिएको थिएन । तर मेरो मन चस्स दुख्यो, बिरामी छाडेको ढाक्रेदाइलाई सम्झेर…। सायद ऊ पछि आउँदैछ । म उसलाई छोडेर यहाँ आइपुगें । ऊ बिरामी थियो । भारी बोक्नै नसकने अवस्थामा थियो तर पनि बोक्नुपर्ने बाध्यता थियो, म बोक्न सक्थें तर मैले बोकिनँ । सायद यो पनि बाध्यता नै थियो । मैले ढाक्रेदाइको भारी बोकेर यहाँसम्म ल्याएको भए के हुन्थ्यो ? सायद त्यो ढाक्रेदाइलाई सान्त्वना मिल्थ्यो, सकसबाट थोरै मुक्ति पाउँथ्यो र आराम हुनमा थोरै शक्ति मिल्थ्यो तर मैले त्यो गर्न सकिनँ र चाहिनँ । यहाँको रीत नै स्वार्थी छन् । म यस्तै सोंच्दै पाइलालाई अघि सार्दै दूधकोशीको उकालो सुरु गरें त्यही हृष्टपुष्ट ढाक्रेदाइसँग…..।

ऊ यति बलियो थियो अझङ्गको भारी बोकेर पनि मैले उसलाई भेट्टाउन मुस्किल परिरहेको थियो । मैले उसलाई वास्ता गरिनँ । सायद उनी त्यही उकालामा राई कान्छीले बेच्न ल्याएका मकै पानीसँग चपाउन थाल्यो क्यार । उसलाई पनि म त्यही छाडेर आफ्नो बाटोमा अगाडि बढें ।

एक घण्टाको यात्रापछी म घर पुगे । सानो बहिनी खुशी भइ । उज्जालो हराइसकेको थियो । म थकित भाईसकेको थिए ।

सायद मान्छेको माया घामछाया हो । घाम लागे छाया बन्छ, नत्र हराइजान्छ । मैले पनि बिर्सीसकेछु, ती ढाक्रेदाइलाई । झट्ट मेरो बुबाको भारी बोकी खिचेर टासेको त्यो भित्ताको तस्बीरले सम्झना दिलायो । साच्चै कहाँ आइपुग्यो होला त्यो बिरामी….। हिडाइको थकाइले म त भुसुक्कै निदाएछु, केही पो थाहा भएन । तर आज व्युँझनुचहिं चाँडै व्युँझिएछु । नेपथ्यमा हल्लीखल्ली छदै थियो, प्रष्ट भने थिएन । त्यतैतिर ध्यान मोडे र सुने ।

– ढाक्रे… ढाक्रे रक्सी खाएर मरेछ….

– होइन होइन, भारीले थिचिएर..

– जाडोले कठ्याङ्ग्रिएर हो…. जाडोले ..

– मुखमा खुन पनि आ’छ …..

– रक्सी पिएपछि मर्छ त..

– बदमास….

– होइन सज्जन छ सज्जन…

– होइन बूढा मान्छे हो..

– बिचरा…!

मेरो छात्तीको ढुकढुकी बढ्यो । हत्तपत्त उठें । नेपथ्यको अमुर्ततालाई चिरेर हल्लीखल्लीतिरै दौडिएँ । भीड पन्छाउँदै घटनास्थलमा पुगे । म अकमकिएँ । अचानक मेरो मुखबाट एउटा शब्द फुत्कियो, ढाक्रेदाइ….। म चिच्याएर रोए । भारी लडेको थियो । तोक्मा पिडौलामा तेर्सो परेर असहज पीडा दिइरहेको देखिन्थ्योे । मकै जुटको धोक्रो फुटेर छरपस्ट थिए । ढाकरको खकन जीउबाट छुट्टिएको थिएन र भारीले आधी जीउ थिचिएको थियो । कोल्टो र कुप्रो परेर दुई हात छातीमा पीडा नै छामिरहेको थियो । मुख र नाकबाट रगत बगी कालो भएर जमिसकेको थियो । मैले हेर्नै सकिनँ । म फरक्क फर्किएँ र कोठामा चुक्कुल लगाई एक्लै एकोहोरिन थाले । त्यस दिन मेरो त्यसै बित्यो । खाना पनि खाइनँ । भोलिपल्ट हल्लाहरूबीच देंखे÷सुनें–

तीनका छोरा र गाउँलेहरू आएका थिए । गाउलेहरू जीवनको बारेमा आफ्ना भोगाइहरू पोखेर छोरालाई सान्त्वना बाँड्दै थिए, कति पिर मानेर रुँदै पनि थिए । विचरा छोरो ! आँखा सुनिएका थिए, कलेटी परेर आँसु सकिसकेका थिए, स्वर बसेको थियो । मेरा साना बहिनी सोनुको बालापनको तोते र उत्सुकता एकैसाथ कानमा आएर ठोकियो— “दाइ तो मान्थे त थुलो भएर पनि रुँदो रैछ हनि रुदैं बाबा उठ्नुहोस म अब क्याम्तस पद्दिनँ…. पो भन्दैथो, कति धेरै चोति भनेको ? दाजु तो के भको, तो किन रोएतो…”!?

July 13, 2011

(स्रोत : रचनाकारको ब्लगबाट सभार )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.