कथा : पुछ्न नसकेको सिउँदो

~सागर बस्नेत~Sagar Basnet

झन्डै वान्ता गरुँला झैँ भएर म लाशघरबाट बाहिर निस्किएँ, लाश हेरेर | लाश पनि के भनौं र? जलेर खरानी हुनु अघिका केहि हाडहरुको संग्रह थियो | मलाइ थकथक लागिरह्यो, म जान्ने भएर किन आएछु भनेर | ज्ञानी र बुझ्ने हुन खोज्नु पनि मान्छेको लागि अहितकर नै छ | अज्ञानीलाई धेरै ढुक्क हुन्छ, यस्तो बिचार मलाइ एक्कासी आयो | हुनत, म सरुको कुरा मानेर यहाँ आएको हुँ, उसैको लागि आएको हुँ | अझ उसकी सानी प्यारी अवोध छोरीलाई र बुढी भएर मर्ने उमेर र चाहना हुँदाहुँदै पनि केहि कारणले काललाई पर्खिएकी उनकी सासुको लागि आएको हुँ |

फर्किएर गाडीमा बसें, ड्राइवरलाई इशारा गरे | जसै गाडी जिजान रोडको फराकिलो सडकमा द्रुत गतिमा हुइकिन थाल्यो, मनपनि अझ तीव्र गतिमा बतासियो | मलाइ फेरी आफु बाठो भएकोमा चित्त दुखाइ हुनथाल्यो | म जान्ने हुनखोज्नुले मलाइ यो स्थितिमा ल्याएको हो | अनि मलाइ त्यहि दिनको याद भयो जुन आजभन्दा तीनमहिना अघिको थियो |

परदेशबाट बिदामा घर जाने दिन पक्का भएदेखि नै मलाइ के हुन्छ हुन्छ? यो पल्ट मात्रै होइन सधैं यस्तै लाग्छ, कामको वास्तै लाग्दैन | अझ अरुदिन खानापानी छोडेरै गरिरहुँ लाग्ने आफ्नो जिम्मेवारी वहन गर्न झ्याउलो लागेर आउँछ | कसैले बोलाएर कामको कुरा गर्यो भने मरुन्जेल रिस उठेर आउँछ | झन् मेरै चैं काम जानेदिनसम्मै गरिराख्नु पर्छ | उसो त म सालैपिच्छे घर जान्छु, तर किन यसरि बच्चाको झैं मन उत्ताउलो हुन्छ म बुझ्न सक्दिनँ | हिजो बेलुकी अफिसबाट फर्किनेबेला जब हेडअफिसबाट आएको बिध्दुतीय चिठी हात लाग्यो म अर्कै भएको छु | हो, मेरो बिदा हिजो स्वीकृत भएर आयो |

फोनको चर्को घन्टीले मलाइ ब्युझायो, नेपालबाट यसरि आउने प्राय फोनहरु कष्टदायी हुन्छन् | हालखबर र सुख दुख सोध्न आउने घन्टीहरु म्यासेन्जर, स्काईप या ईमो र ट्यांन्गोमा आउछन | आफ्नो पैसा खर्च गरेर मलाइ कसैले खबर सोध्दैन | साइलेन्ट गरेर सुत्ने असफल प्रयास गरिरहन्छु | वास्तवमा दुख र पीरहरुलाई निषेध गर्न सकिन्न, बेवास्ता हुने भनेका खुसीहरू हुन | एउटा नया नम्बर फेरी देखापर्छ हातेफोनको स्यानो पर्दामा |
हेल्लो’ – दिक्दारीले भरिएको पराजित मेरो आवाज |
हेलाउ, हेलाउ | को, सागरभाइ हो? – नचिनिएको कम्पित र रोदन मिसिएको नारीस्वर |
यति नै निन्द्राबाट पुरै ब्युझाउन पर्याप्त थियो | को होला भन्ने विस्मय, वेचैनी, छटपटी र जिज्ञासाका साथ… “हजुर हो | हजुर को बोल्नुभएको चिनेजस्तो लागेन त?”
“तपैले चिन्नुहुन्न, मैले फेसबुकबाट हजुरको नम्बर लिएको हो? एउटा सानो सहयोग गर्नुहुन्छ कि भनेर….”
“अँ…… पहिला हजुर को हो भन्नुहोस न ?”
“उम् … म .. म…. म….. राजुको…. श्रीमती…… राजुलाइ चिन्नुहुन्छ नि?“ यस्तो लाग्थ्यो उताबाट बोल्ने मान्छे हरेक शब्दपिच्छे रतुवा खोलाको गहिरो भासमा भासिदै जादैछ |
“क.. क..क्को राजु?” यति भनि पनि सक्नु मैले सम्झिनु पनि एकैपटक भयो | ओह भगवान राजु……… एकाएक यस्तो लाग्यो, एउटा ठुलो भुमरी जोडले मच्चिएर आयो | मैले जति उपाय लगाएर खुट्टाका औंलाहरु जमिनमा गाडेर आफुलाई शक्तिवान बनाउन खोजेपनि मलाइ भुमरीले हुत्याएर झन्डै एकमहिना अगाडी पुर्यायो |

उफ्फ़! त्यो दिन…..
रुपकले फोन गर्यो | मैले हेलो भन्नै नपाइ भन्यो, “दाजु थाह पाउनु भयो? राजु गएछ |”
यी शब्दको करामत पनि बडो बिचित्रको लाग्छ, जब कसैलाई फकाउन या खुसि पार्नु पर्यो भने सय शब्द पनि कम्ति हुन्छ | तर फेरी कसैलाई दुखाउनु छ भने दुइटा नै काफी |
“के भन्छ? कहाँ? कहिले? कसरि?….. उ त घर जाँदै थियो होइन र?
शायद रुपक पनि अलअलिएको थियो | आत्तिएरै बोल्यो “हिजो राति रे यार दाजु, यहीं कम्पनीमै |”
उ यत्ति नै बोल्यो, सकेन र राख्यो | तिनीहरु मिल्ने साथि थिए, म बुझ्दछु उसको सकस |

मलाइ बिचार आयो शायद राजु बिरामी थियो | उपचार गराउन जाँदै थियो, बिमारले जितेछ | सधैं आफैले जितिदैन कहिले अर्काले पनि झुक्याउछ | तर जिन्दगि खेल त होइन नि? शायद उसको लागि हुन पनि सक्छ | उ धेरैपटक यमराजलाई लोप्वा खुवाइसकेको मान्छे हो, यसपाली सकेनछ | तर पनि उसलाई दुख त लाग्यो नै होला | किनकि हामि हार्न नमान्ने प्राणि हौँ र हार्न हुँदैन पनि, हारेपछि तल परिन्छ | किचिन्छ, पेलिन्छ जसरि भर्खरै राजु पेलियो | होइन, होइन त्यसो होइन! साँची त्यतै कतै कुनै लमतन्न सुतेका लामा रोडमा अर्को गाडीसँग ठोक्किएर भुइमा पछारिएको हुनुपर्छ | नत्र गाडीको क्याबिनमा चेपिएर बित्यो होला | राजु काठमाडौंको गनिने गुण्डा थियो, खै कसरि त्यो नेवरानीसंग प्रेममा फंस्यो र मान्छे भयो | सानैदेखि उ यहि पेशा अपनाएर त्यहाँ जमेको हो | बाबुआमा हाम्रो छिमेकी गाउँ छाडेर काठमाडौं पसेका थिए बाबुचाही उतै बिते | सानैमा बाबु बितेपछी कसरि उ त्यो दलदलमा भांसियो शायद उसैलाई याद नहोला | उसको पुर्ख्यौली घर अझै पनि झापामै छ | बाबुले जोडेको अलिकति जमिन र घरमा आफ्नै मिहेनतको कमाइ खाने भनेर राजु सपत्नी र आमासँग बस्दैथियो | उ अरुको लागि दादा भएपनि स्वास्नीको अगाडी सादा नै थियो, खोइ के मोहनी लागेर श्रीमतीको खप्की खाएर उ सुध्रियो कसैले बुझ्न सकेन | जे होस् सानो घर, गर्दा खान पुग्ने जमिन र सहयोगी छिमेकी भएकोले दुखसुख जिन्दगी चलेकै थियो | छोरीको जन्म पश्चात उ साउदी छिरेको हो, एउटा ट्रान्सपोर्ट कम्पनीमा ठुलो गाडी चलाउथ्यो |
मैले जानेको लगभग यति नै हो राजुको बारे | केहिपछी मैले साहस बटुलेर रुपकलाई फोन गरें | उसले उस्तै रुन्चे र आत्तिएको बोलीमा भन्यो, “सुसाइड गरेको रे” | शायद मलाइ करेन्ट लागेको हुनुपर्छ, चक्कर लागेजस्तो भयो | वान्ता पनि आउलाजस्तो भयो, टाउको दुखेजस्तो, दिशा लागेजस्तो भयो | राख्दाराख्दै उसले एउटा वाक्य आँसुमा छप्पक्कै भिजाएर मेरो निम्ति पस्किदियो | शरीरमा पेट्रोल छर्किएर आगो लगाएको रे | मेरो कल्पना र सहन शक्तिभन्दा बाहिरको कुरो | मैले फेरी उसलाई सोध्ने हिम्मत गर्न सकिनँ, रुपक र राजुको राम्रो मित्रता थियो, काठमाडौं देखिकै | त्यसैले उसलाई थप दुखाउन मन लागेन | रुपक पनि साउदीमै थियो तर धेरै टाढा बहराइन नजिक अलखोवरमा |

“एकमहिना भइ सक्यो बाबु, लाश पठाउने केहि सुरसार छैन | केले अड्किएको हो बुझेर खबर गरिदिनुहोस न ल |” अहिलेको बोलीमा धेरै वजन थियो, छुट्टै अलौकिक शक्ति पनि |
मैले के भन्नुपर्थ्यो केहि थाह भएन, बिना पूर्व तयारी हठात् भनिदिएँ “बुझेर खबर गर्छु “

मैले त्यति भन्दाभन्दै फोन काटियो | उहाको कुराले मलाइ विक्षिप्त बनायो, दुखि तुल्यायो | एकैछिन घोरिएँ, मैले यसअघि रुपकले खबर गरेको दिनमात्रै राजुको बारेमा सोचें | त्यसपछि यहाको काम, बसोबास र साथीभाइले उसलाई सम्झिराख्न दिएका थिएनन् | ग्लानी र शरम भयो मलाइ आफैसँग, मैले किन यसबारेमा जानकारी लिईन? उसको मृत्युको खबर सामाजिक संजालमा लेखिदिएर एकथान श्रद्दान्जली र समवेदना ब्यक्त गरेर मैले आफ्नो कर्तव्य पुरा गरेको थिएँ | मान्छे कसरि यतिबिघ्न असामाजिक र मतलवी हुन सक्दछ? अझ त्यहाँ आएका RIP अनुहारका प्रतिक्रियालाई Like बटन थिचेर मैले मेरो मानवताको सबै धर्म पुरा गरेर तीनदिन पछि सबै बिर्सेर म आफ्नो नियमित जिन्दगीमा फर्किएँ | किनकि मलाइ सजिलो छ व्यस्तताको कारण देखाउन, मलाइ साउदीको भौगोलिक विशालताको तर्क पर्याप्त छ आफुलाई मजबूर र निरिह देखाउन | त्यसयता पनि मलाइ केहि मित्रहरुले उसको बारेमा बुझ्न ताकेता नगरेका होइनन् तर मैले ती अनुरोधहरुलाई माथिका कारण देखाएर फुत्किएको थिएँ | तर वास्तविकता अर्कै थियो जो मलाइ मात्रै थाह थियो | म यी सबै अनुत्पादक कुरामा आफुलाई भिजाउन चाहन्नथें |

त्योदिन मलाइ राजुको मृत्युको वासी खबरले दोस्रोपटक बेस्मारी छोयो | तर तत्काल म केहि गर्ने स्थितिमा थिईन | मलाइ नित्यकर्म सकेर काममा जानु थियो |

मैले म सक्दिनँ, फुर्सद छैन भनेर फुत्किएको भएपनि हुन्थ्यो | अब सरुलाई मैले के जवाफ दिने होला? राजुले काम गर्ने कम्पनीमा पनि कसैले यसबारेमा बताउन चाहेनन् | म उसको कम्पनीको अफिसमा पनि गएको थिएँ, उसका हाकिमहरुलाई भेटें | उनीहरुबाट केहि बुझ्न सकिन्छ कि भनेर, तर उनीहरुले केहिपनि बताउन चाहेनन् | पुलिसमा केस छ उतै गएर सोध्नु भन्ने खाले कुरा आए | उसका हाकिमहरु त सबै क्रुद्द थिए, केहि सोध्दा पनि खाउँला जस्तो गरेर हेर्ने | हिजो बेलुका नै राजु बस्ने क्याम्पमा गएको हो, उसका साथीहरुले उसको कोठा देखाए, उ सुत्ने ओछ्यान देखाए | जानेबेलामा केहि लेखेर छाडेको अथवा कसैलाई केहि भनेको छ कि बुझ्न खोजें तर सबै निरर्थक भयो | उसले प्रयोग गरेका सामानहरु जो पुलिसले लगेपछि बचेका थिए ती सबै एकएक देखाए | राजुले आफ्नो ओछ्यानको भित्तोमा लेखेको Simran पनि देखाए | लेखाइको ठ्याक्कै मुन्तिर कोलाज गरेर टासेका सिम्रनका तस्वीरहरु देखेपछि फेरी म सिधै झापा पुगें, गौरिगंजमा |

राजुकी श्रीमतीले फोन गरेको चारदिन पछि म घर गएँ | राजुको बारेमा केहि जानकारी नलिई | केहिदिन काठमाडौं रल्लिएपछि म घर पुगेकै दिन श्रीमतीले राजुको बारेमा सोधिन् | गाउँमा मैले राजुकी श्रीमतीलाई बुझेर खबर गरुँला भनेको कुरा भुसको आगोजस्तै फैलिएको रहेछ | कतिपल्ट उनी मलाइ सोध्दै यहाँ आएको कुरा मलाइ श्रीमतीले नै सुनाइन र जसरि पनि एकपटक उनको घर जानु भनेर अह्राइन | मलाइ पटक्क जान मन थिएन, जानुपर्छ होला भनेर सोचेको पनि थिइनँ र म त्यसको लागि तैयार पनि | श्रीमतीले सम्झाउदै भनिन् “सबैको उस्तै त हो दुख भनेको बिचरा तीनकी छोरी कति राम्री छिन् हाम्मो बाबा अब आनुहुन्छ भन्छिन् | हाम्री सानीभन्दा तेह्र दिनले कान्छी रहिछन, अस्ति आमाछोरी नै आएका थिए” | म पछिल्लो वाक्यले थप स्तब्ध भएँ, किनकिन आफ्नी छोरीजस्तै भन्दा मलाइ त्यस अज्ञात नानिप्रति अगाध स्नेह र करुणा पलाएर आयो | सुहैवा प्लान्टको नजिक कन्टेनरको क्याम्पको भित्तामा कोलाज भएर बसेकी निर्दोष अनुहार झल्झली सम्झें | जो बाबा आउने आशामा बसेकी थिइन् |

सोध्दै र खोज्दै चप्रामारी पुगें राजुको घर, मेरी श्रीमतीले अघिल्लो रात राजुकी श्रीमतीलाई फोन गरेर भेट्न आउने कुरा सुनाएकी थिइन् | उनले गौरीगन्जदेखि घरसम्म पुग्ने सजिलो बाटो बताएकी थिइन् र उनको नाम सरु थियो | म पुग्दा उनीहरु भर्खर आम्दाबाट फर्किएका थिए, तेस्रोदिनमा अस्पतालले डिस्चार्ज गरेको रे | उमेरले त्यस्तै सत्तरी काटेकी सादा अनि थोत्रा तर सफा कपडामा राजुकी आमालाई मैले अन्दाजले नै चिनें | भावहीन मुहार, बुढो शरीर र अनगिन्ति पीरहरुले थलिएकी लाग्थिन उनी | मैले आखामा हेरें, शरीर जस्तो भएपनि आखाहरू टाठा थिए | उमेरले मभन्दा चारपाँच बर्ष कान्छी लाग्ने सरु गोरी भन्न नसुहाउने काली भन्न नमिल्ने थिइन् | लाखौँ पीर र ब्यधाहरु बोकेकी उनी स्वचालित मेशिनजस्ति लाग्थिन | उनी रोएको बाहेक अरुसबै कृतिम लाग्दथे, हासेको, बोलेको, हिडेको सबै अस्वाभाविक लाग्ने | एउटा पुरानो र खियाहरुले भरिएको छानोले उनीहरुलाई घामपानीबाट ओताएको थियो | मलाइ अत्यन्त आदरका साथ भित्र कोठामा बसाइयो | ती बुढी आमाले गरेको सत्कार तीनको हाउभाउ र अलौकिक जोशले तीनलाई कसैले तीनदिन अस्पतालमा थला परेर आएकी भन्दैनथ्यो | यो सबै मलाइ देखेर नै भएको थियो, किनकि म पुग्दासम्म उनी जाडोले हिड्न नसकेर शंखेकिराको आसनमा सुतेको कुकुरजस्तो भएर पिढीमा घाम ताप्दै थिइन् | बुहारीको पनि लय सुध्रिएको अनुमान गर्न सकिन्थ्यो, तर उनी मलाइ देखेपछि डराएको ठम्याएँ मैले | उनका गोडाहरू कामिरहेका हुन्थे, बोल्दा बोलिपनि कामेको हुन्थ्यो |

मैले कोठाभरी नजर घुमाएँ, व्यवस्थित गर्न खोज्दा पनि व्यवस्थित नभएको, नियमित गर्न खोजेर पनि नियमित हुन नसकेको | मनजस्तै तहसनहस भएको घर | राजु एक्लैका, राजु र सरुका अनि राजु, सरु, आमा र छोरीका तस्वीरहरुले कोठाका भित्ताहरु भरिएका थिए | एउटा ठुलो पलंगको मध्यभागमा सुतेकी सानी नानीलाई देखेपछि मेरो स्वासप्रस्वासमा गतिरोध आयो | दुनियाको हालखबरबाट बेखबर एउटा अलग्गै आरिस गर्नलायकको सन्तोष थियो त्यहाँ | हो यसैले त म भन्छु, अज्ञानी हुनुजस्तो सुखद कुरो केहि हुन्न कहिलेकाही | राजुकी आमा र सरुको मनमा पैतिसदिन अघि महाकम्प गएदेखि दिनहुँ हजारौं पराकम्पहरु गए होलान् | तर यहाँ त्यसको केहि असर थिएन | मलाइ छातिभित्रदेखि केहि हुँडुलिएर आएजतो भयो | आखाले कत्तिपनि धैर्य गर्न सकेनन् | मलाइ डर भयो मेरो पछाडि उभिएका यी महान र हिम्मतिला मनहरुले मेरो कमजोरीको बारेमा थाह त पाएनन्? म शौच जाने बहानामा सामान्य भएर फर्कें, सासु बुहारीले धेरै कुराहरु गरे | मैले सहि थप्न बाहेक केहि गर्न सकिनँ, मलाइ असह्य भएकोले जतिसक्दो चाँडो यहाबाट निस्किनुपर्छ भन्ने सोचें | मेरो छटपटी उनीहरुले राम्ररि नै बुझे र आमाले भनिन् “हामीले नराम्रो कहिल्यै भनेनौं, उसको बाबुचाहींले पनि एक्लो छोरा भनेर सधैं खुसि राख्थ्यो” | केहि सम्झिएजस्तो गरेर फेरी भनिन् “यसले पनि त्यसलाई कस्तोबाट कस्तो बनाई, यसको पनि पीर थिएन उसलाई” | अब सरुका आखा भिज्न थालेका थिए, उनी कोठातिर पसिन् | “हामीलाई उसको धन सम्पति केहि चाहिएन, बाबुले जसरी हुन्छ त्यसले किन यस्तो पाप गर्यो बुझिदिनु पर्यो | सोधिखोजि के गरेर हुन्छ उसको दुख के थियो पत्ता लगाइदिनु पर्यो” | आमाले यति नै भन्न सकिन्, उनी उभिन नसकेर भुइँमा थचक्क बसिन् | भित्रबाट सरु सामान्यजस्तो देखिने असफल प्रयासमा आइन र भनिन् “बाबु, जसरि हुन्छ अलिकति कष्ट गरेर लाशलाई चाँडो पठाउने व्यवस्था गर्नु पर्यो | छोरीलाई देखि हाल्नुभयो यी हाम्रो हालत यस्तो छ | आमा सधैको बिरामी हुनहुन्छ, हामी त उता न यताको स्थितिमा छौं जसरि भएपनि पार लगाइदिनु पर्यो” | मैले बाटोतिर फर्केर यी कुराहरु सुनिरहेको थिएँ, आखा जुधाएर कुरा गर्ने तागत थिएन मेरो | सरुले यी कुराहरु बिग्रेको सिडी प्लेयर रोकिदै बजेजस्तो गरेर सुनाएकी थिइन् | उनको आवाज आँसुमा मिसिएर आएको जस्तो लाग्दथ्यो | हाम्रो विषम मौनतालाई भत्काउदै उनी फेरी बोलिन् “उसले अघिल्लो दिन बिहान फोन गरेर तिमीलाई के के चाहिन्छ भनेर सोधेको थियो, नानि र आमालाई के ल्याउनुपर्छ ? भोलि बिहानैको फ्लाइट छ भन्थ्यो, मलाइ खर्च राखेर अरुसबै पठाएको भएर एकलाख एक्काइस हजार पैसा पनि पठाएको थियो | कमाइ राम्रो थियो उसको, महिनैपिच्छे राम्रै पैसा पठाउथ्यो | मैले दिउँसै पैसा निकालेर ल्याएँ, उसको सुनको सिक्रि बिदेश जाँदा मासेका थियौं | एउटा सिक्रि पनि ल्याएर आएँ तर फेरी बेलुका फोन गरेर अरु पैसा पठाएको भनेर नम्बर दियो | अरु खासै कुरा भएन, भोलिपल्ट पैसा निकालेर घर नआई पुग्दै उसको त्यस्तो खबर आयो | बिहान एकलाख एक्काइस हजार पठाएर अब खर्च मात्रै छ भनेको मान्छेले बेलुका अर्को अढाई लाख पैसा पठाएको थियो | पैसा यति छ भनेर नभनेपनि नम्बर दिएको थियो, यसैमा पनि केहि रहस्य लुकेको हुनसक्छ |

अरु धेरै कुराहरु रुँदै सम्हालिदै सासु बुहारीले सुनाए | अब म जानुपर्यो भनेर बाइकमा बसेपछि सरु नजिकै आएर उदासिदै भनिन् “छोरी बाबा आउनुहुन्छ भनेर पर्खाइमा छे, आमा छोराको संस्कार मात्रै पर्खिएको हुँ भन्नुहुन्छ सधैं | म चालिस दिनदेखी बिधवी भएर पनि सधवी जिन्दगि बाँचिराखेको छु | हुनत तपाइको पनि आफ्नै समस्या होलान् बाबु, तर त्यो सानी छोरी, यी बुढी आमा र मेरो पुछ्न नसकेको सिउँदोको लागि तपाइले अलिकति कष्ट गर्नैपर्छ” | मैले किंकर्तव्यबिमुढ़ भएर सासु बुहारीको आँखामा नहेरी सकेजति गर्छु भनेर फर्किएँ |

हामि लाशघरबाट सिधै दुतावासका अवैतनिक स्थानीय प्रतिनिधिसँग भेट्न जेद्दा साप्को स्टेसन नजिक पुग्यौं | उनी आफ्नै कम्पनीमा ड्युटीमा थिए, आफ्नो काम गरेरै उनी हजारौं नेपालीहरुलाई निशुल्क मद्दत गरिरहेका मान्छे हुन, मेरो कोहि हितैषीले उनीसँग हिजोमात्र सम्पर्क गराएका थिए | म बिदा सकेर कम्पनीमा हाजिर नभईकन भोलिपल्टै यता लागेको आज दुइदिन भइसकेको थियो | कम्पनीको हाकिमलाई समस्या बताएर कम्पनीको गाडी र ड्राइवर लिएर निस्केको थिएँ | दुतावासका अवैतनिक प्रतिनिधिलाई भेटेरै दुख बिसाएको बिसाएँ | उनले बिना झन्झट दुतावासमा सोधीखोजी गरे, राजुले कम्पनीको सैयौं गाडीहरु भएको पार्किंगमा आफ्नो शरीरमा पेट्रोल छर्किएर आगो लगाएको हुनाले उसंगै उसका कम्पनीका सत्रवटा सानाठूला गाडीहरु पनि जलेर नष्ट भएका थिए | यो त्यहि कारण थियो जो उसको लाश घर पठाउन ढिला गरिराखेको थियो | अवैतनिक प्रतिनिधिले मलाई राजुको बारे यतिनै बताउन सके र पछी केहि नया कुरा थाहा भए बताउने आश्वासन दिएर जतिसक्दो चाँडो हामीलाई बिदा दिए | अब मैले सोध्ने र बुझ्ने कुरा केहि बाँकी रहेको छैन, सरुलाई दिने जवाफ मसँग छैन, उ चारमहिना बढीदेखि बिधुवा भएर पनि सिउँदो पुछ्न सकेकी छैन | सिम्रन टुहुरी भएर पनि बेखबर छे, बुढी आमा छोराको लाश देख्न र संस्कार गर्न नपाएर यो जिन्दगि नामको सजायँ काटीराखेकी छिन् | म यो सबै बिचमा रनभुल्ल छु, निरुत्तर र गुमराह छु | एउटा अन्यौल, छटपटी, बेचैनी र पराजित मन लिएर लुरुलुरु आफ्नै कोठा फर्किदै छु | भोलिदेखि मैले नियमित काममा जुट्नु छ, मैले दयालु मनबाट पाएको सांकेतिक बिदा र सुबिधा आजैसम्मको हो | फेरी यस्तो फुर्सद र संयोग शायदै मिल्ला | आफुलाई कसैले कर्के नजरले हेर्दैखेरी उमाथि जाइलाग्ने हिजो त्यति कठोर र निडर राजुले कसरि आफैलाई नष्ट गर्यो होला? यिनै प्रश्नहरुमा जेलिएर बाटोभरी मलाइ ती प्रतिनिधिको कुरा याद आइरह्यो, यो साउदीमा यसरी एकसालभन्दा लामो समयदेखि पठाउन नसकिएका लाशहरु झन्डै आधा हजारको संख्यामा छन् | यो हाम्रो यथार्थ र नियति दुवै हो | मलाइ यहाँ भएका लाशहरु प्रति केहि रुचि र आग्रह थिएन मैले त उताकाहरुलाई सम्झिएँ, झन्डै आधा हजार सिउँदो पुछ्न नसकेका बिधुवाहरु, टुहुरा भएर पनि बेखबर नानीहरु र आफु जिउंदै हुँदा आफ्ना प्राणभन्दा प्यारा सन्तान गुमाएर बाँच्नु नामको सजायँ भोगिरहेका बुढी आमाहरु………… |

(स्रोत : Ejanata)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.