~मीरा आचार्य~
आँगनमा झपक्क फूलेका सयपत्रीका पत्रहरु हेरेर ऊ टोलाइ रहेकी छे । सायद यी पत्रहरुमा उसले जीन्दगीका पानाहरु पो देखि कि ! एक थुगां बैशालू सयपत्री उसको हातमा देख्दा लाग्छ उसलाई सयपत्रीका पत्रहरु गन्ती गर्न मन छ । उसले मनमा सोचेकी हुनसक्छे ‘के साँचै यो सयपत्रीमा सयवटा पत्रहरु नै छन् त ? यसको नाम सयपत्री राख्दा कुनै मेधावी पण्डीतले यसका पत्रहरु एक–एक गर्दै गन्यो होला त ? यदि सयपत्रहरु छैनन् भने यसको नाम के हुन्थ्यो होला ?’ प्रश्नहरुमा रनभुल्ल छे वा हराएकी छे । उसको भागभगिंमा पढ्न मनोविज्ञानवेत्ता समेत असफल हुने स्थिति देखिन्छ ।
उसको अँजुलीभरी भर्रखर सितले नुहाएको पहेंलो सयपत्री मरी सकेर पनि हाँस्दै हुन्छ । फूलहरु मरेको निकै समय पछि सम्म हाँस्न सक्छन् । यतिमात्र कहाँ हो र ! सम्वेदनहीन ढुंगाहरुमा बलि चढ्दा पनि मुस्कुराउँछ फूल….! कति सजिलै मृत्युमा मुस्कुराउँन सकेको होला । उसको हातमा सप्रेको एक थुँगा सयपत्री छ । चोर औंला र बुढी औंलाले च्यापेर ऊ त्यसलाई ओठहरुले जतन साथ चुमी दिन्छे । क्यामरामा कैद गर्नु पर्ने दृश्य बन्छ । क्यामेरा निकै ढीला हुन्छ, दृश्य पापी नजरहरुले खिचेर धुल्याई सक्छन् र अदृश्य पर्चाहरुमा सड्क भरी छरिन्छ । बैंसले रङ्गिएकी ठिट्टी बन्छे ऊ ।
ऊ अनायासै मुस्कुराउँछे । ओठका कुनाहरु राम्ररी खुल्न नपाउँदै मुस्कानको चर्चा भद्र भेलाहरुमा हुन्छ, तास र जुवाका खालहरुमा हुन्छ, चिया र भट्टी पसलका सुर्कीहरुमा हुन्छ, पधेराका बैठकहरुमा हुन्छ । आफ्नै मुस्कानमा अन्जान उसका बिरुद्ध औलाहरु ठडिन्छन् ‘कस्ती लाचार र बेसरम होली, हातमा फूलको गुच्छा बोकेर त्यसै मुस्कुराउँने…कुखुरे बैंस । सजग बन्नु पर्छ हाम्रा छोरीबेटीको सङ्गतप्रति । अपराधप्रति बेखवर ऊ दोषी बन्छे ।
हातभरी सयपत्रीका पत्रहरु फुकाउछे र पाहारीला घाममा लामो केशराशी फिजाँएर पत्रहरु केलाउने धुनमा हुन्छे । उसलाई थाहै हुन्न प्रकृतिको हुरीले पत्रहरु उडाउँछ भनेर । क्रुर हुरीको झोक्काले पत्रहरु भुँई भरी पोखी दिन्छ । सम्हाल्न खोज्छे…हुत्याएर टाढा फ्याँकी दिन्छ, टिप्नलाई हातहरु लम्काउँछे, भुमरी पर्छ र पत्रहरु चारैतिर फैलन्छन् । जब असफल प्रयासले सृजना गरेको अधुरो सपना सोच्दै ऊ रुन्छे र मुलायम हत्केलाहरुले आँखाहरु छोप्छे र पृथ्वीको काखमा घोप्टो पर्छे । भन्नेहरुले उसलाई पागल भन्छन् र सुन्नेहरुले पाखण्डी । तर थाह छैन् उसको रोदन कुन सागरमा पुगेर मिसिन्छ या सुक्छ कतै ?
समयको हुरीले उषाकालमा खोसेको खुशी भर्न आँगनभरी पातहरुको काडेतार तोडेर निस्कदै गरेका साझ बत्तीहरुमा ऊ रमाउछे । र्मिमिरेमा जुनसँगको लुकामारीमा थाकेर घामको रापमा लोलाएको साझबत्ती सन्ध्याको न्यायो स्पर्शसँगै प्रत्येक पत्रमा रहस्य बोकेर ब्यूतन्छ । जब ऊ साझबत्तीका पत्रहरुमा आफ्ना अपुरा गन्तीहरुको आरम्भ गर्छे तब इश्र्यालू सन्ध्या आफूमा गाढा कालो रङ्ग पोत्दै जान्छे र पत्रहरु आफूमा समाहित गरेर एउटा निराश र निर्जिब रात दिन्छे । अँध्यारो रातको छटपटाहट र रापिलो दिनको तापमा जब उसको मुहारको कान्ति क्षय हुन्छ, निराशाले ढाक्छ तब मानव सागरको भीडले उसलाई ‘रङ्गहिन’ घोषणा गर्छ र सज्जनहरु धज्जी उडाइ रहन्छन् ।
हतासिएर बस्तीबाट प्रकृतिको काखमा ऊ लुटपुटिन्छे । कोइलिको कुहु कुहु सुनेर उसले आफ्नो विरानोपन महसुस गर्छे तर पनि बृक्षका नयाँ पालुवा देखेर आफ्ना भावनाहरु बिस्कुन लगाउछे । बसन्तको चर्को तापको रापले उसको कलिलो मुना रुपि भावना सुक्छ र मट्टीमा मिसिन्छ, बर्षातको खहरेले बगाएर सरदको मारमा रेटिन पुग्छ र हुस्सुले भरिएका चिसा रातहरुमा झर्ने सितको ठिहिमा बेहोस बन्छ । अस्तित्व बचाउन ऊ भीख माग्न हिड्छे । मान्छेहरुले उसलाई प्रचलनमा नरहेका पित्तलका सिक्का र लाज छोप्न असक्षम रहने बस्त्रहरु दिन्छन् र जुठो रोटी मुखभरी कोचिदिन्छन् । यातनाको पिडाले जब उसले शब्दहरु ओकल्छे तब सभ्यतामा उसलाई असभ्य ठह¥याइन्छ र बस्तीमा बहिस्करण गरिन्छ । ऊ भोगाई रुपि जीवनको पत्रमा अध्यायहरु पल्टाउछे ।
बर्षा रित्तिदै जाँदाका सुकिला दिनहरुमा मुस्कुराई रहेको प्रकृति हेरेर ‘ओ हो ! म पनि सँगै रमाउछु’ भनेर उसले आफ्नो मलिन मुहारमा जब खुशीका धर्काहरु कोर्छे, खितखिताउदै हाँस्छे र मृगको बाँच्छो जस्तै उप्रन्छे तब दम्भी गगन गर्जन्छ र हुङ्कार बोल्छ । थाहै हुन्न उसलाई आखाँले मुसलधारे वर्षा गराउछ । क्षण भरमै खित्का विलाउँछ र हिक्क हिक्क गर्दै चित्कारको विरसिलो ध्वनी गुन्जन्छ ।
थाहै पाउदिन !! फोहराहरु फुट्दै मनको बस्ती बगाउछ । उसको गाउँमा शोक पर्छ र सुन्यता छाउछ । ऊ स्तब्ध छे । उसका हरेक प्रयत्न प्रयास नै हुदैनन् । खुशीको रङ्गले पोतिदा पनि र दुःख सगरले किचिदा पनि ऊ मौन बस्नु पर्छ । जीवनका हरेक अनुभूति अनुसारका भावहरु र तिनमा गासिएर आउने पत्रहरुमा ऊ एकनास बन्नु पर्छ । जब परिर्वतन अनुरुपका नवरसलाई ऊ उपभोग गर्छे तब चर्चै–चर्चाकी बन्छे । उसका हाँसो, खुशी, रोदन र अनुभूतिहरु प्रश्नहरु बन्छन् । उत्तर छान्ने दौडमा मान्छेहरुले उसलाई बिर्सन्छन् र नर्बिसको कसम खान्छन् ।
भीडहरुमा उसलाई खेदिन्छ र एकान्तमा फेरी चियो गरिन्छ । आफू हाँस्न र बाँच्न उसैको सहारा खोजिन्छ, सलेदो र तेल बनाई यात्राको दियो बनाइन्छ । उसैलाई थाह छैन् मक्किएको सलेदो र निख्रिएको तेलले कति समय धान्न सक्छ ? थाह छैन् उसलाइ जलेको दियो कहाँनिर गई निभ्छ ? ऊ यस्तै अनिश्चितता लिएर भौतरिई रहन्छे । तेल र सलेदो फेर्न सहयोगी हातहरु खोजिरहन्छे । के थाहा उसलाई ऊ एउटा निर्जन घरकी सदस्य हो र एउटा मानवीयता रहित सहरकी बासिन्दा हो । नियाल्छे सडकभरी छरिएको मानव सागरको दौडलाई र प्रश्न गर्छे व्यस्त पेटीबाट हतारमा यात्रा गरिरहेका सज्जनलाई ‘समयको पत्रमा छरिनुको कुनै गन्ती हुदैन ?’ उत्तरहरुमा उसका मखमलि गालाहरु फूले । सयपत्री जस्तै पत्रहरुमा खिपिएको समयलाई उसले सोध्न छाडिन ‘भन समय तिमीसँग कति पत्रहरु छन् र कुन पत्रमा तिमीले मलाई मेरो जीवन दिन्छौ ?’
(स्रोत : Janaboli )