थाकेर लखतरान हुदै सृष्टी कोठामा आइपुगी । रातको नौ बजिसकेको छ, रस्मीले खाना खाऊ भनी . ….भात खादै गर्दा रस्मीले निन्याउरो अनुहार लगाएर भनी – “हेर्न सृष्टी ! ऑस्ट्रेलियाको बारेमा फेरि नराम्रो समाचार आएकोछ .”
“के ?”
“नेपाली केटीहरु बेस्याबृत्तिमा संलग्न भनेर एउटा अनलाइनले छापेको छ.”
अनि ?
“मामूले कताबाट सुनि’सेछ, फोन गरेर आत्तिसि’न्थ्यो”
“किन आत्त्तिनु परेको आंटीलाई ? ”
“तिमीहरुलाई कस्तो छ, ख़ाली नराम्रो समाचार सुन्छु, अब त छोरी ऑस्ट्रेलियामा छे भन्न पनि लाज लाग्न थालिसक्यो, आइज भनिसि’न्थ्यो ”
“अनि ? ” – भातको गास निलु कि ननिलु गर्दै सृष्टीले सोधी ….
“मलाई पनि नराम्रो लाग्यो” – रस्मीले भनी ।
“काठमान्डूमा पनि त बेस्याबृत्ति हुन्छ, के हामी काठमान्डू नबस्ने, बसेका थिएनौ र ?”
“त्यों त हो ”
“अनि के त ?”
“त्यही पनि, बिदेशको ठाउँमा”
“मामूलाई सम्झा, उहाँ आतिदा आफू पनि आत्तिने होइन ….दुई चारजना लागे भन्ने सुनिदैमा सबैलाई मुछ्न पाइन्छ र ?”
“पाइंदैन”
“केही नेपाली केटीहरु यो पेशामा होलान, अरु देशकाहरु पनि छन , यसको मतलब बिश्वभऱीका आइमाइ जाती बेस्या हुन भन्ने हुन्छ र ?”
“एकपल्ट मामूलाई समझाइदे न ” अनुरोधको भाकामा रस्मीले भनी ….
“ल ल आइतबार कुरा गरुँला, तर तैंले पनि यस्तो हल्लाहरुको प्रतिबाद गर्न सक्नु पर्छ, चुप लागेर नबस ”
“मलाई त यस्तो कुरा गर्ने आउँदैन, जस्ले जे भन्यो हो जस्तो लाग्छ ”
“तैले गरेकी छेस ? मैले गरेको छू ?”- सृष्टीको स्वर अलिक ठूलै भयो…
” छैन”
“अनि ?”
रस्मी बोलिन ……….
“नेपाली मिडियालाई म राम्ररी चिन्छु , तिनीहरुलाई मसला चाहिन्छ , हामी यहाँ कसरी मरी मरी काम गर्छौ, कस्तो छ हाम्रो बसाइ, कति नेपाली यहाँ छन, कति पढ्छन, कति काम मात्र गर्छन, कति जाली बिहे गरेर आएका छन, कति अर्काको पासपोर्ट किनेर आएका छन, यस्तो कुराको रिकॉर्ड सहित नेपाली मिडियाले लेख्न सक्छ ? सक्दैनन…, उनीहरु त मसला बेच्छन ” सृष्टीले आक्रोश पोख्दै भनी …….
“त्यों त हो ”
“अनि फेरि किन बोल्न सक्दिनस ? तैले त आँखा अगाडि देखेकी छेस नि …. किन भन्न सक्दिनस ? हामीले कति सजिलै भिसा पायौ ? अब पि आर कहिले पाउने ? कसरी नियम परिबर्तन भएर गार्हो पारिरहेको छ? कुन हो असली मुद्दा ? हामी नागरिक सरह सुबिधा पाएर बाँच्न पाउनु पर्ने मुद्दा हो कि, कोई दुई तीनजना केटीहरु बेस्याबृत्तिमा संलग्न भए भन्ने मुद्दा हो ?
“त्यों त हो यार “- रस्मीको अनुहार उज्यालो हुँदै गयो -” तेरो कुरा सुनेपछि ढुक्क लाग्छ ”
“मामूलाई राम्ररी कुरा बुझा , प्रत्यक मान्छे फरक हुन्छ , कुनै समाचारले सिंगो जमातलाई आक्षेप लगाउन पाईदैन ”
“हो, हो ”
“ल, अब हॉस्टलका अरु साथीहरुलाई पनि जबाफ फर्काउनू, अनि ढुक्क भएर बस, खाएको बिष पो लाग्छ , नखाएको बिष के लाग्छ ?”
“ल ल”- राइस कुकरमा पन्यु हाल्दै रस्मीले भनी – ” अरु खाना थप न”
“होइन, भयो यार ”
खाना खाएपछि सृष्टीले ल्यापटप खोली ……..
इन्टरनेटको चौत़ारीमा साथीहरू बात मारिरहेका थिए …….
सिडनी बस्ने अबिरलले लेखेको रहेछ – “अब त नेपाली केटीका जातले हाम्रो देशको बेइज्जत गरे है , लौ न साथीहरु ! ”
उस्को हो मा हो मिलाउँदै प्रतिक्रिया जनाउने सबै केटा थिए – ” हो हो नाकै काटे नि , अब नेपालमा कसरी मुख देखाउने?”
त्यत्तिकैमा लन्डनबाट आशिषले भन्यो – “के हो सृष्टी ! ऑस्ट्रेलियामा तिमीहरुले नेपालीहरुको बदनाम गर्यौ नि ?”
“तिम्रो मतलब के हो”- सृष्टी रन्किई …..
समाचार पढ़ न भनेर उसले एउटा लिंक पठाइदियो ।
थाहा छ मलाई”- सृष्टी बम्की -” हामीले नेपालको बदनाम गर्यौ ? तिमीहरुले के राम्रो नाम राख्यौ ? लूटपाट गर्ने , झगड़ा गर्ने , रक्सी खाएर गाडी चलाउने तिमी केटाका जातीय धर्म नै होइन ?”
“के साँच्चै सिडनीमा काम नपाएर नेपाली केटीहरु बेस्याबृत्ति गर्छन त ?” आशिषको उत्सुकता अर्कै थियो …
“लण्डनमा गर्दैनन ?” सृष्टीले प्रतिप्रश्न गरी.
“न्यूज़ आएको छैन ”
“न्यूज़ आए मात्र बेस्याबृत्ति हुन्छ र ?”- सृष्टी भिड़ने मुडमा थी ।
” त्यों त हुँदैन ”
“हेर ! , केही केटीहरुले गरे भन्दैमा सबैलाई आरोप लगाउन पाइंदैन, यो एकदमै गंभीर कुरा हो , यति हलुका ढंगले लिनु हुदैन”
“सिडनीमा काम पाइदैन भन्छन नि ?” आशिषले सोध्यो
“काम पाउन गार्हो छ , आर्थिक मंदीको असर सबैतिर परेको छ , तर मेहनेत गर्नेहरुलाई यहाँ काम छ , मिहिनेत नगर्नेहरुले त्यस्तो गर्छन “- सृष्टीले तुरुन्त जबाफ लेखी
“तिमी के गर्छौ ?”
“म रेस्टूरेंटमा काम गर्छु , दिनको दस घंटा काम गर्छु , तर म र म जस्ताको न्यूज़ आउँदैन आशिष”- सृष्टीले च्याटमा लेखी – “यस्तो जथाभाबी कुरा सुन्दा हाम्रो घरका मान्छेहरुलाई कस्तो असर पर्छ नेपाली मिडियालाई मतलब छैन …….अस्ट्रेलियामा नेपालीहरुले भोग्नु परेको समस्या कसरी सुल्झाउन सहयोग गर्ने मतलब छैन , सोसिअल रेस्पोंन्सिबिलिटी थेउरी के हो ? केही थाहा छैन …..बस मसला चाहियो “- सृष्टी पडकी रही – “आशंकाको भरमा राजदुताबॉसले पत्र लेख्यो रे…!, रबिश ”
” धेरै नेपालीहरु खनिएका छन नि “- आशिषले सोध्यो…
“हो ……तर हाम्रो सरकारसंग त आंकड़ा पनि छैन Education Consultancy हरुले सस्तो सपना बाँड़ेका बाडयै छन . ……न पढाइको बिषयकोबारेमा सही सूचना दिएका छन…… न बसोंबॉस र कामको बारेमा ………न पछि स्थाई बसोंबॉसको बारेमा,……. बस एउटा बाढी आएको छ … बिदेश जाने , अनि एउटा ब्यापार फस्टाएको छ ”
“सरी सृष्टी “- आशिषले भन्यो – “अबदेखि म बिना आधार यस्तो गंभीर बिषयमा बोल्ने छैन , माफ़ गरी देऊ “……
यत्तिकैमा लिबिंगरूमबाट दौडिदै रस्मी कोठामा पसी ……
“हेर न ! आज त बिप्लबहरुले कस्तो केटी लिएर आएका छन ….”
“के ?” – ल्यापटपबाट टाउको नउचाली सृष्टीले सोधी …..
” ……. हेर्न, हिड न ”
“हेर्दिन्न” सृष्टी ले भनी – “भो तँ जा, म एकछिन नेटमा बस्छु बरु म्यूजिक सानो गर्न भन ”
” होइन हिडन भनेको …… यसो एकपल्ट हेरेर आइज…… तिनीहरु त सारै डेंजर छन ”
रस्मीले सृष्टीको हात तानी ….उनीहरु लिबिंग रूम जाँदा त्यहाको लाईट सिस्टम नै फरक भएको देखे ……
अध्यारोमा झल्याक झुलुक रातो, नीलो, पहेलो र हरियो बत्तीहरु बलिरहेका थिए ।
त्यही बत्तीहरुमाझ दुइजना नेपाली केटीहरु छोटो स्कर्ट र मसिनो फित्ता भएको पातलो शर्ट लगाइ नाचीरहेका थिए ……उनीहरुको वरिपरि चारजना केटाहरु पागल जस्तै नाचीरहेका थिए ..
सबैको हातमा बियरको बोतल थियो ।
गाजा राखेको चुरोटको धुँवा अरु दिनको भन्दा बेस्कन गन्हाई रहेको थियो ।
“काँटाsss लगाsssss” – चर्को हिंदी गीतले सृष्टीको टाउको घुम्यो ।
“भोलुम घटाऊ” – उ बेस्कन कराइ ।
जेनी र पिंकी नाम गरेका ती दुइवटी केटीहरुले पिर्लिक्क आँखा पल्टाएर हेरे ….
आइरन गरेर सीधा बनेको उनीहरुको कपाल पसीनाले निथ्रुक्क भिजेको थियो , लट्ठ परेका आँखा र भद्दा लिपस्टिक लाएका ओठहरु देख्दा सृष्टीलाई लाज लाग्यो ।
निकेशले स्पीकरको भोलुम घटायो ।
जेनी र पिंकीले हलल अश्लील हाँसो हाँसे ।
केही नबोली सृष्टी र रस्मी कोठामा फर्किए ।
इन्टरनेटको चौतारीमा आशिषले भाबुक र गंभीर भएर के के लेखिराखेको थियो , बेस्याबृत्ति बाध्यता हो भनिरहेको थियो, नारी जातीलाई सम्मान गर्छु भनिरहेको थियो , अनि अब यस्तो बिषयमा गंभीर भएर सोच्नु पर्ने नत्र बेफ्वाँकमा नबोल्ने प्रतिबद्दता दोहोरयाइ तेहर्याइरहेको थियो …..
सृष्टीले सबै मेसेज सरर पढेर लेखी – “यो बाध्यता मात्र होइन रहेछ आशिष, यो धेरै थोक हो , अब अरु केही पनि नलेख ….. म सुतें, तिमीलाई धेरै धन्यबाद”- उसले लगआउट गरी ।
आशिष पक्क पर्यो….
रातको एघार बजिसकेको थियो, रस्मी र सृष्टी बत्ती निभाएर सुत्न पल्टीए ।
लाउन्जरूममा घन्किएको हिन्दी गीतले निंद्रा आउने बाटो छेकी रहेको थियो ……., चर्को संगीत , अल्कोहल, चुरोट, गाँजा सबै कुरा सृष्टीको दिमागमा घुमिरहेको थियो भने कानमा ठोकिइरहेको थियो ———-काँटा sss लगा ssssssssssssss…………
….
हाल: सिडनी, ऑस्ट्रेलिया
(स्रोत : Satakosahitya)