कथा : विक्षिप्त अध्यायकी ‘आउटसाइडर आमा’

~डा.धर्मागत भट्टराई~

मेरी मेडम, अर्थात्, जीवनको हुण्डरीले लुटेका सपना अनि फुटेका चुरासित पारंगत जीवनचक्रकी एक चिरायु ‘अस्वत्थामा’ आमा! रोएका हिमालदेखि तातेको तराईको हर पीडामा यी चिल्लाउँथिन् मन्चित मण्डलीहरूसामु मनग्गे। प्रचार र मिडियामा आउन नचाहने उनी झोला बोकेर रुझेका मझेरी र भिजेका परेलीका निम्ति आवाज उठाउँदै, साहस भर्दै हिड्थिन् विपन्न आँगनहरुमा। मेरा परममित्र डाक्टर बासुले उनलाई ‘सुभासचन्द्र बोस र गोपालप्रसाद रिमालको मिश्रीत महिला अवतार’ भन्थे।

म उनै अवतारलाई भेट्न मानसिक रोग वार्डमा पुग्दै थिएँ। हातमा दुईटा झोला थिए- उनलाई मनपर्ने खाना खजानाका अनि मनमा एउटा ब्रेकिंग न्युज मेरो अवार्ड र दिक्षान्त समारोहको, जुन उनका तमाम सपनामध्ये एक थियो। मलाई उत्सुकता थियो- कतिबेला उनलाई म यो खबर दिउँला र उनी ढिलोसित पर्दा खुलेझैं मुसुक्क मुस्काएर मेरा दुबै गाला सुम्सुम्याउँदै खुसीका आँसु झार्लिन् र भन्लिन्- ‘वेल डन! मेरो बाबु’।

मानसिक वार्डमा भित्रबाट चुकुल हुन्छ। चुकुल खुल्नासाथ मेरा उनै मित्र बासुले सधै अभिवादन गर्थे। त्यो दिन निन्याउरो मुख लाएको देख्नासाथ मैले डराएर सोधेँ- “बासु, तिमी ठिक छौ?” उनले द्रवित भावमा भने- “दाजु! मेडम मिसिङ हुनुहुन्छ, मैले रिपोर्ट गरेकोछु, तर क्यै खबर छैन।”

मेरा हातका सामान खसे। आँखाबाट बर्र आँसु आयो। थचक्क बसेँ। बासुले सम्झाउन थाले। हामी त्यहीँबाट रिपोर्ट अफिस गयौं। कहाँकहाँबाट खबर आउन सक्छ धायौं; मेडमका प्यारा ठाउँ गयौं। भेट्टाउनको लागि जेजे कसरत गर्न सकिन्थ्यो, गर्यौं। तर मनको स्वच्छन्द दुनियाँमा उड्ने ती पंक्षीलाई कसरी भेटिन्थ्यो र त्यति सजिलै?

झट्ट म्यामको बासस्थान सम्झेँ। फार्माकोलोजी (औषधि बिज्ञान) प्रोफेसर म्यामको असरल्ल कोठा। भित्तामा झुन्ड्याएको म्यामसितको मेरो आफ्नै फोटोले अनि सोकेसका फार्माकोलोजीका थुप्रै पुस्तकले आज मलाई पुकारा गरेझैं भयो। मेरो मनबाट दिक्षान्त समारोह हराइसकेको थियो। अब सिर्फ थियो म्यामसित एकपटक मिल्ने इच्छा। आज म्याम भएको भए कसरी खुसीले गिडगिडाउँथिन् होला केही परबाह नराखी! म हराएँ म्यामसितको यात्रामा!

प्रोफेसर भएरपनि हरेक विद्यार्थीलाई आफ्नै सन्तानझैँ गर्थिन् सुनन्दा म्याम। पढाउँदा पाठको गहिराइमा डुबेर बुझाइदिने बानीले म लट्ठ पर्थें। भाग्यमानी भएरै होला, मेडमको मोहक शिक्षण स्टाइलले गर्दा नजिकिएको म उनको अथाह माया पाउन सफल भएँ। अझ पछी थाहा भो, ‘डेड पोएट सोसाइटी’झैँ मन छुने विश्वबिख्यात साहित्यकारका कृति चर्चा गर्ने हाम्रो एक ग्रुपका एक इन्जिनियरिङ साथी प्रसुनकी आमा रहिछिन् म्याम त। त्यसपछि त म्यामको परोपकारी कार्य नजिकबाट नियाल्ने मौकामात्र भएन, म्यामबाट पाउने माया प्रगाढ समेत हुन पायो।

म्यामलाई मेरो खै के मन पर्यो, म्यामको प्यारो हुने सौभाग्य पाएँ। एकदिन जसो बिराएर उनी आफ्नो टिफिनबाट एउटा मिठाई या रसबरी ख्वाउन मलाई बोलाउँथिन्। नगएमा असाध्य दुखमनाउ गर्थिन्। मेरो लागि कलेज नै घरझैँ भएकोथियो।

रसायनविज्ञानका प्रोफेसर पतिको हिड्दाहिड्दै अचानक हृदयघातबाट मृत्यु भएको घाउ बिर्सिन नसकेकी मेडम हर कुनै आत्माको सेवामा आफ्नो सुख भेट्थिन्। ‘अरुलाई दिनु त हो खुसी’ भन्दै अशक्त गरिबलाई बाँडेरै भ्याउँथिन् आधा तलब। त्यतिबेला बि.ई. पढ्दै गरेको छोरा प्रसुनको मुहार हेरी उनी कुनै सपना बुनेकीछिन् झैँ लाग्थ्यो उनको मुहार हेर्दा। मान्छे आशाको तान्द्रोमा बाँच्ने त रहेछ।

एमबीबीएस फाइनल वर्षको कुनै अशुभ साँझ रहेछ त्यो। खबर पाउनासाथ होस्टेलबाट हुर्रिएर वार्डमा पुगेथेँ म। गाडीको ठक्करले थुप्रै ठाउँ चोट लागेको पीडामा छटपटाएका प्रसुन रगतपच्छे हातसित आफूमाथि सपना बुनेकी आमाको मुहार हेर्दै मन्द स्वरमा आशिष मागेका रहेछन्- “आमा बचाउनु है मलाई!” सुनन्दा म्याम भक्कानिदै बर्र आँशु झारिन्। केही बोल्न खोज्थिन् तर बोल्न सकिनन्। नियतिको त्यो बिरूप खेल सार्है हृदयविदारक थियो। म्याम भक्कानिएको त्यो पल म्यामका हामी सबै छात्र कसैको आँखा ओभानो थिएन।

फटाफट अपरेसन थिएटर लगियो प्रसुनलाई। तर उनको सास अपरेसन थिएटर भित्रै गयो। थिएटर ढोकामा छोरा कुरेर बसेकी म्याम विह्वल भै ढलिन्। ‘मलाई बचाऊ है आमा’ भनेको छोराको लास समातेर धेरैबेर निशब्द आँशु झारिरहिन् उनले। म सामुन्ने खडा भए ‘नि के नै गर्न सक्थें र! जिन्दगीका रेखाहरु बुझिनसक्नुका हुँदारहेछन्।

सुन्थे-परोपकार इशबाट पुरस्कृत हुन्छ। तर दीनदुःखीका लागि आफ्नो भाग काटेर बाँड्ने मेडममाथि भने एकपछि अर्को बज्रपात रोकिएन। एक्लो आशा निभ्यो। काख खोसियो। रित्तिएको भावमा मेडम टोलाउँथिन्। त्यसै बस्दा’नि आँसु झारिरहन्थीन्। त्यहाँदेखि म्यामलाई मैले सकेसम्म कहिल्यै एक्लै छोडिन। पहिलेभन्दा कम बोल्ने भए’नि ब्यबहारमा शालीन म्यामबाट प्रस्ट हुन्थ्यो कि उनको मनमा म नै छोरो थिएँ अब। पहिल्यै उनले मलाई रसवरी ख्वाएझैँ मैले उनलाई मनपर्ने मिठाई ख्वाउँदा खै के सोचेर हो, आँसु झार्थिन्।

दिवंगत छोराको आत्मा सम्झिदै म्यामले कलेज आउँदा जाँदा चकलेट, टफी बाँड्दै हिँड्थिन् कलेजभित्र र बाहिर बाटोहरुमा बच्चा र युवालाई। खुब खुसी हुन्थिन् चकलेट पाएर कोही मुस्कायो भने। यो उनको बानी अनि पहिचान समेत बनेकोथ्यो। क्लासमा पिरियड सकिएपछी टफीको थ्रो-क्याच चल्थ्यो। म्यामको क्लास सबैको लागि अलग रौनक बोकेको हुन्थ्यो जसमा म्याम खुसी महसुस गर्थिन्। त्यसैसाल म्याम सेवानिवृत्त भएपछि त झन् दिनभर उनको कामै दुखिदरिद्रिको सेवा हुन्थ्यो। कैलेकाही उनलाई मन्दिरमा भक्तालुको मद्दत गरेको देखिन्थ्यो त कहिले वृद्धाश्रममा कसैलाई डोहोर्‍याएको।

मैले गंगासागर घुमाएर ल्याउँदा उनी अत्यन्त हर्षित देखिएकी थिइन्। अलि दिनपछि ‘म्याम र म’ भएको फोटो उनको घरको भित्तामा झुन्ड्याएको देखेँ। खै किन अग्घोर माया प्रतित भएर मेरा आँखा रसाएछन्। म्यामले मभित्रै आफ्नो परिवार देखेकी थिइन्। साष्टांग प्रणाम गर्दा म्यामले अचानक भन्नुभो- “एमडी र पीएचडी गर् है बाबु! मलाई छोराको कन्वोकेसन (दिक्षान्त समारोह) देख्न मन छ।” मेडमका शब्दशब्दले मलाई छोए; पगाले। मेरो मुटु भरियो। गला अवरुद्ध भयो। आँशुले भरिएँ। हृदयदेखि ‘हवस्’ भन्ने भावमा टाउको हल्लाएँ। मेडमले मायाले मलाई आफ्नो अंगालोमा लिइन्।

विक्षिप्त मन बोकेर हिँडेका कारण होला, मेडम खोला किनारमा मठमन्दिरका सिँढीमा टोलाउँथिन्। बच्चासित चकलेट बाँड्दै खेल्थिन्। उनका प्रिय विधाहरूको प्रभावले होला केटाकेटीलाई उक्साउँथिन्- ‘एडिसन, गोर्की बन्नुपर्छ बाबु बुझ्यौ?’ कैले ‘यो मेरो टोपी….’ जस्तै स्वदेशगीत गुन्गुनाउन्दै हराउँथिन्।

उनको दिनचर्या र देखभाललाई म र मेरा मित्र बासु मिलेर एक सहयोगी राख्यौं। मेडमको सपनाजस्तै मास्टर्स गर्न जानैपर्ने थियो। समयले फेरि त्यो दिन ल्यायो। एमडी पढ्न जाने दिन अर्थात् तीन वर्षलाई टाढिने दिन। मेडमले केही नबोली एकटकले आँखामा हेरिन्। अलि मुस्काएझैँ भनिन्- ‘चाडै आए!’ म अश्रुधारासित बिदा भएको थिएँ त्यसबखत।

एमडी सक्नेबेलातिरै दुःखद् खबर पाइसकेको थिएँ कि मेडममा आएका परिवर्तनका लागि उनलाई मानसिक वार्डमा राखिएको थियो। घरबाट म सीधा त्यतै हानिएको थिएँ। म्यामलाई त्यो बिरूप हालतमा देखेर मेरा आँखामा आँधी उर्ललाझैँ भो। म्यामले सधैंझैँ ढिलोसित मुस्काएर मलाई अंगालोमा लिईन्। मैले आँशुसित बस् यति भन्न सकेँ- ‘म्याम! मैले एमडी सकेँ।’ मुस्कानले नै सबै भनेझैँ उनले मलाई धाप मार्दै एकपट्टि अंगालोमा राखिन् धेरैबेर।

जेसुकै बिमारी भएनी उनले मलाई सधैँ उस्तै माया गरिरहिन्…रसवरी ख्वाउँने बेलाजस्तै या अझ बढी। उनको देशभक्ति, पवित्र मन, अनि सच्चा ध्याउन्ना आदि जम्मै देखेर होला ‘बासु के भएको उहाँलाई’ भन्दा बासुले कैलेकाहीं जवाब दिन्थ्यो ‘क्यै हैन दाइ! महाकवि देवकोटालाई ‘जोग्राफिकल मिस्टेक’ भनेझै म भन्छु मेडम हुन्- एक ‘क्रोनोलोजिकल मिस्टेक!’ सत्ययुगको मान्छे कलियुगमा जन्मेको।&rrsquo;

म्यामलाई रसवरी खुब मन पर्थ्यो। एक दिनअघि कन्वोकेसनको खबर आउनासाथ मनमनमा भोलिपल्ट उनका सब फेवरेट खाना/खजाना लिएर जाने योजना बनाएको थिएँ। थुप्रै सामान बटुलेथेँ। भोलिपल्ट मेडमको सपना पुरा गर्ने खबरसित पुग्दा म्याम थिइनन् कसैको जानकारीमा।

थुप्रै दिन भो म्याम गायब भएको अनि म र मेरा मित्रले खोजेको! लाग्थ्यो उनी भेटिन्छिन् यहीं कहीँ। फूललाई छाति लगाएर भन्नेछिन् –“आज मेरो गुमेको शहिदको बार्षिकी! यस्तो दिन देऊ बाबु मलाई जुन दिन शहर उठ्ला, गोर्की गाउला, मेरो छोरो फिर्ता आउला…..!” तर उनी भेटिईनन्। अब उनको लाखबत्तिको लाख नपुग्दै सकिएला कहीँ जिन्दगीको साख। मैले भरिदिन सकिन उनको काख, लाख अनि रातपछिको अग्राख। इमान्दारीको अलखसित बिलख बचरो म समयको नाडी छाम्थें, उनी धड्किन्थीन् एडिसनको कथा लिएर। स्टेथोस्कोप लगाउँथें, नभमण्डलमा उनको श्वास गुन्जन्थ्यो ममा प्राण भर्दै; ढिलोसित मुस्कुराउँदै। छिचोलिसकेका थुप्रै बाटालाई पछी राखेर चौतारामा एकपल मन गुन्जियो “भगवान एकचोटी उनको मुहार देखाईदेऊ। एकपल बन्नदेऊ छोरो हुने सौभाग्य। एकपल सुनाउन पाउँ उनको हर्षको बहाना। एक पल देख्न पाउँ उनको मुस्कान।…..” भन्दाभन्दै फतक्क गलेर म पसरिएँ जमीनमा। आमा……मेरी आमा। गोर्कीका शब्दकी झैँ क्रान्तिकी आमा।

प्रकाशित मिति: आइतबार, आश्विन १०, २०७२ ०८:५१:०८

(स्रोत : Setopati)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.