कथा : कसिया

~शिवानीसिंह थारू~Shiwani Singh Tharu

काँशी धोबी नै कसिया भनेर चिनिएको थियो नेपालगन्जको नभगन्ज टोलमा । त्यो टोलमा धेरैको नाम अपभ्रंश भएर र सायद हेपिएर पनि नामको ढाड खुस्काएर बोलाउने चलन थियो । काँशी धोबी कसिया भएझैं । उसकी आमा सुखरानीबाट सुखरनिया र भाइको नाम शिवलालबाट सुललवा भएको थियो ।

विक्रमको आठ सालको समय हो । धोबीको स्यानो परिवारलाई नेवार जमिनदारले एक फगटो जमिन दिएका थिए । जुन टोलमा तिनीहरू बसाइए त्यहाँ अवधी भाषी देहातीहरूको खपरैला, फुसैला झुपडीहरू थिए । कोही पान बेच्ने, कोही रक्सी बेच्ने, कोही कपडा सिलाउने निम्न वर्गीय टोल भन्दा नि हुन्थ्यो ।

टोलेहरूले कहिले पनि कसियाले पूरा लुगा लगाएको देखेनन् । घुँडासम्म बेरिएको धोती मात्र हो उसले लगाउने । जाडो होस् वा गर्मी । छाती सधैं नाङ्गै । बिरादरीको गौनाथौनामा जानुपर्दा ऊ धोतीमाथि एकसरो बनियाइन लगाएर जान्थ्यो । नत्र बाह्रै महिना धोती मात्र लगाएर घुँडासम्मको पानीमा डुबी लुगा पिटिरहेको हुन्थ्यो ।

कसियाको घरपछाडि पानी जम्ने स्यानो दह थियो । गढाहा भन्थे । ढिकीच्याउँ खेल्ने फलेक राखेजस्तो काठको पाटा कसियाले गढाहाछेउ गाडेको थियो । दिनभरि ऊ त्यसमै कपडा पछारिरहेको हुन्थ्यो । पाटामा अनवरत लुगा पिटाइले दिक्किएर होला ऊ दिनभरि ‘सियाराम सियाराम’ भन्दै सीतारामको नाम लिइरहेको हुन्थ्यो । भिजेको कपडालाई हावामा उज्याउँदा ऊ ‘सियाराम’ को ‘सिया…’ भन्थ्यो पहिला । अनि पटामा ड्याम्म पछार्दा ‘…राम’ भन्थ्यो । यही लयमा दिनभरि सीताराम दोहोराइरहँदा उसको ‘सियाराम’– ‘छियोऽऽराम छियोऽऽराम’ झैं सुनिन्थ्यो ।

घोटिँदै खिइने कर्ममा नारिएको धोबी कसिया ख्याउटो हुने नै भयो । छवटै ऋतुले पनि डामेका थिए उसको शरीरलाई । कसियाको छाती र ढाड सुकेको खरझैं जरजर देखिन्थ्यो । कति सुख्खा भने छेस्कोले कोरेर कखरा लेख्न सकिनेजस्तो । पाइताला पानीले खाएर औंलाका काँपकाँप सडेका । घामको टहकले सधंैभरि आँखा च्याउरिरहने भएकाले चाउरीका धर्सा आँखा हुँदै गालाको चुम्कोसम्म किरमिरिएका ।

घामले डढेको, पानीले चुटिएको, हावामा सुकाइएर जरखरेकोले होला । कसियाको पारा सधैं चढेको हुन्थ्यो । स्यानस्यानो कुरामा सन्किन्थ्यो ऊ । अरू बेला आमालाई ‘अम्मा’ भन्ने कसिया, रिसाउँदा ‘कानी बुढिया’ भन्दै विशेषणले काढ्थ्यो । सुखरनियाको दाहिने आँखामा फुलो परेकोले खाना बनाउँदा नदेख्दी हुन् । ‘कानी बुढिया दुवैठोर आँखी फुटाइ गवा का †’ खाँदा किरिक्क भयो कि कसिया भातसहितको बटुको बाटोमा हुर्‍याउँथ्यो ।

भाइसित पनि उत्तिकै रन्किन्थ्यो । ‘हरामी सुललवा कहाँ मरगए रहौ ?’ सबै ऊ जस्तो कहाँ जोतिन सक्थे र । कहिलेकाहीँ सुललवा रक्सी चुस्काएर आउँदा कसियाले बित्पात मच्चाउँथ्यो ।

भस्मखरानी पारिदिउँझैं गर्ने उसको रिस देखेर सुखरनिया चिन्ताको सुस्केरा भर्थिन् । रूखो ना रूखो कसियाको जिन्दगी कसरी निर्वाह होला । म हुन्जेल त लौ ठीक छ । मपछि ?

सुखरनिया कसियाको स्वास्नी भित्राउनेबारे सोच्न थालिन् । उसो त कसियाको देहाती चलनअनुसार बिहे भइसकेको थियो । तर माइत पठाएकी स्वास्नी गौना गरेर ल्याउन कसियाले आँट्न सकेको थिएन । जङ्गल फाँड्दै बसेको ऐलानी जग्गामा उनीहरू सर्दैसर्दै बस्नुपरेको थियो । जब्दाह भन्थे उनीहरू । आजै उठीबास लगाउने हुन् कि भरे, जब्दाहको बिरालो सराइले गर्दा कसियाले टार्दै आएको थियो । तर नभगन्ज टोल आएको पाँच वर्षपछि भने सुखरनियाले अड्डी नै लिइन् ।

सोचिन्– स्वास्नीको स्पर्शले कसियाको मिजास थोरै नरम होला कि । उसको एकलयको ‘छियोऽऽराम’ मा चुराको खनखनले संगीत भरिदेला कि  । यति भएपछि कसियाको अलिनो मुस्कानमा ट्वाक्क नुन लाग्ला कि ।

सुखरनियाले कुरो राख्दा यसपालि कसियाले ‘नाइँ’ नै नभने पनि ‘हुन्छ’ नि भन्न सकेन । ऊ एककोठे झुपडीको नक्सामा आफ्नो गृहस्थी कुन कुनोमा अटाउने हो भनेर सोच्दै थियो । दुइटा कुना ओगटेको एउटा ठूलो तखत थियो कोठामा । अरूका घरमा त्यो तखत चारजना अट्ने खाट हुँदो हो । तर, कसिया कहाँ तखतमा धोएका फटिक लुगाले सौभाग्य पाउँथे । तखतमा इस्त्री गरिन्थ्यो । पट्याएको लुगा खात लाइन्थ्यो । र दिने लुगा छुट्याएर राखिन्थ्यो ।

झुपडीको तेस्रो कुनामा रेहुले लुगा पकाइन्थ्यो । चौथो कुनामा भातभान्सा गरिन्थ्यो । बीचको भुइँमा उनीहरू सुत्थे । तखतनिरको किनारमा आमा र खाली ठाउँ छाडेर कसिया र सुललवा लहरै सुत्थे । छुट्टै ठहर पिछवाडमा गधाको मात्र थियो ।

स्वास्नीको ऐना झुन्ड्याउने कुनो पनि नभेट्टाएपछि कसियाले दिक्दारीको लामो खुइऽऽ गर्‍यो । रिसाउन मात्र जानेको कसियाले दिक्दारी पनि झर्केरै पोख्यो । ‘उका सिकाहर पर रखियौ का ?’

सुखरनिया पनि कम्ता थिइनन् । भनिन्, ‘किन स्वास्नीलाई आँखामै राख्दैनस् र ? त्यति भएपछि उसका लागि यो झोपडी पनि र्‍यालछ्याल हुनेछ ।’

छक्क परेर हेर्‍यो कसियाले । आएको मुस्कान छल्न ऊ कोठाबाट निस्कियो । ऊ लजाएको भन्ठानेर सुखरनियाले झनै लिट्टी कँसिन् । अनि त सत्ताईस वर्षको कसियाले आफ्नी मुन्दरी ल्याउने भयो ।

नभगन्जमा मुन्दरी लडियामा बसेर आई । गहुँगोरी मुन्दरी पातली भए पनि छाँटिएकी थिई । गाजल लतपतिएर आँखा मस्त देखिन्थे । नाकमा पित्तलको नथुनीले उसमा चञ्चलता थपेको थियो । पित्तलकै हँसुलीले घाँटी कति लाम्चो देखिएको । घाममा कैलिएको कपाल कालो चोटीमा बाँटेकीले त्यसैले बेर्लीजस्तो । सिउँदोमा एक पाउ सिन्दूर हालेकी दुलही मुन्दरी । पैताला र हातमा लगाएको आल्ताले गुलाबी भएकी थिई । मुन्दरी देखेर कसिया हेरेको हेर्‍यै भयो ।

तीन वर्षअघि उसको माइती बर्दियाको गोरखचौरा जाँदा भर्खर नाक छेडेकी थिई । कालो धागो उनेको नाक पाकेर सुन्निएको थियो । नाकको पोराभरि बेसार दलेकाले सिङ्गानी होलीजस्ती देखिन्थी मुन्दरी । तर तीनै वर्षमा मस्ती खाएर हुर्केकी जस्तो पिउपिउ लाग्ने भई ।

त्यस रात सुखरनिया र सुललवाले बाहिर खटिया ओछ्याएर पल्टे । भित्र कसिया र मुन्दरी रहे ।

बिहान पाँचै बजे कसियाको आँखा खुल्यो । शरीर जाँगरले चटपटाएको थियो । कति दिनको थकान मेटेजस्तो मन हलुङ्गो भएको थियो । जीवनमा काम भनेको अब सास फेर्नका लागि मात्र भएन । अझ मिहिनेत गर्ने उद्देश्य पनि थपियो । मुन्दरी छे बच्चा होलान् । भविष्य सम्झेर कसियालाई जिन्दगी चुम्न मन लाग्यो । र आफूसँगै सुतिराखेकी मुन्दरीले लामो न लामो सास फेरेको सुनिरहँदा लाग्यो आफूले फेर्ने सास पनि उसैलाई दिएर रित्तिउँ ।

तर मुन्दरीलाई भने किनकिन कसियाको छुवाइ खस्रो लाग्यो । ‘अलिक सर’, ‘पैताला नचलाउ’, ‘कपाल उता राख’, बाहेक केही बोलेको हैन कसिया । कस्तो अड्बाङ्गे मान्छे । उसलाई लोग्ने हैन मेला जाँदा लडियामा कोच्चिन आइपुगेको अचिनारु यात्रुझैं लाग्यो ।

जेठको चाँडो उज्यालो भइहाल्ने बिहानले कसियालाई झक्झकायो । उसलाई याद आयो आमा र भाइ बाहिर खटियामा सुतिराखेको । र भित्र आफूहरू मात्र सुतेको सम्झेर लाज लाग्यो । निस्किनुपर्‍यो भनेर उसले मुन्दरीलाई ठीकसित ओढाउन लुगा तानतुन गर्दै थियो । मुन्दरी फनक्क कोल्टे फर्केर अलि पर सरी ।

बाहिर निस्केर कसियाले आमा र भाइलाई भित्र जान अह्रायो । र, आफू चाहिँ मैलो लुगाको भारी गधामा भिर्न लाग्यो । आजलाई भैगो भन्दै थिइन् सुखरनिया । तर कसियाले छोटो जवाफ फर्कायो । आफ्नो पो बिहा भएको छ । ग्राहकहरूको त छैन नि !

सुहागरातको भोलिपल्ट, त्यो पनि अँध्यारोमै कुन लोग्ने काममा हिँड्छ । मन खुल्ल हुने नै भयो मुन्दरीको । उसले सासूको कान बचाएर देवरलाई  खुसुक्क सोधी– कसिया कहाँ गएका हुन् ? सुललवाले भन्यो, ‘यहाँदेखि दुई घन्टा हिँडेर पुग्ने डुढुंवा खोलामा लुगा धुन ।’ भाउजूको अनुहार निन्याउरिएको देखेर उसले फेरि थप्यो– आज मात्र हैन गर्मीको असारसम्म उनले उतै जानुपर्छ । र, पिछवाडको हिलाम्मै गढाहामा सुकेका जलकुम्भी देखाएर भन्यो– असारपछि त्यहाँ पानी जम्छ त्यसपछि अर्को गर्मी नजाउन्जेल यतै धुन्छन् ।

मुन्दरीले सुललवालाई तिमी जानु पर्दैन भनी सोध्दा तखतमा लुगाको खात देखाउँदै भन्यो, ‘मेरो जिम्मा इस्त्री गर्ने र पट्याउने ।’

बल्ल मुन्दरीले थाहा पाई । कसियाभन्दा सुललवा किन गोरो देखिन्छ, थोरै नरम किन देखिन्छ ।

कसिया कहिले आउँछन् भनेर सोध्न लाज लागेर मुन्दरीले घुमाएर सोधी । उनी दिउँसो खाना कहाँ खान्छन् । एकैचोटि जब साँझ घर आउँछन् तबै खान्छन् उसले भन्यो । त्यसैले घरमा साँझ मात्र खाना पाक्छ । बिहान बासीकुसी खाएर काम चलाइन्छ ।

साँझमा धोएको लुगा गधामा लादेर कसिया आयो । ‘क्लिक…क्लिक…क्लिक’ जिब्रो बजाउँदै । हातमा बेसर्माको सन्ठी लिएर गधालाई पछ्याउँदै ।

हत्तपत्त मुन्दरीले सुराहीबाट पानी सारेर मुखमा छ्याप्प पारी । हँसुलीलाई छातीमा उदाएको खुर्पे चन्द्रमाझैं मिलाई । खजमजिएको सप्को सिनित्त पारी ।

कसिया भने लुगा झारेर गधाको पिठ्युँ कन्याउन थाल्यो । त्यसपछि घरभित्र आए त हुन्थ्यो नि । सुकेका लुगा सुललवालाई भित्र लग्न सघायो । अनि पानी लिएर उभिराखेकी मुन्दरीलाई देखेर काममा हात बटाउन पो बोलायो ।

ठुस्स पर्दै मुन्दरीले लुगा फैलाउन थाली । उसलाई छाडेर कसिया भित्र छिर्‍यो । दलिनमा घुसारेको चिलिम लिएर आयो । र घरछेउ कोनिमको रूख तल गएर कक्कड तान्न लाग्यो ।

राति खाना खान मात्र भित्रियो कसिया । खाएर चुपुक्क सुती पनि हाल्यो । तखननिर मुन्दरी र कसिया सुते । दुई हात छाडेर सुखरनिया र त्यत्तिकै दूरीमा सुललवा पल्टियो । थाकेर चुरचुर भएका जनहरू भुइँमा मस्तसाथ घुर्न थाले । आफूमाथि तिघ्रा चढाएर सुतेको लोग्नेको थिचाइले गह्रुङ्गिएकी मुन्दरीलाई चाहिँ रोउँ रोउँ लाग्यो । उसलाई एक्लोएक्लो न्यास्रो लाग्यो ।

लोग्नेको बिरसिलो पारा त थिंदै थियो, मुन्टो उठाएर आकाशतिर हेर्न नि नभ्याउने कामले मुन्दरी अत्यासिई ।

ऊ र सासू मिलेर दिनभरि माटोको नादमा मैला कपडा मिचमाच पार्‍योण् । त्यसैलाई आँगनमा फैलायो । नदीको माटो रेहुलाई कपडामा छर्‍यो । रेहु सोसिएको कपडा रातभरि बफायो । कसियाले बफाएको लुगा बिहान लिएर जान्थ्यो । सुललवाले इस्त्री गरी पट्याउँथ्यो । अनि सुखरनिया धोएको लुगाको गठरी बोकी जमिनदार र जागिरदारहरूकहाँ पुर्‍याउँथिन् । एक कपडाको दस पैसाको हिसाबले प्राय:ले अन्न दिन्थे ।

यो हाँपझाँपमा मुन्दरीले चाहेको लोग्नेसँगको एकछिनको एकान्त । चोरिएका एकान्तमा थोरै चुट्किला र चुट्की । कपडा बफाउँदा पोलेका डाम देखाएर लाडिन पाइयोस् । लोग्नेले आफूतिर तान्दा देखाउन पाइयोस् थोरै नखरा । तर कसिया निचोडिएर सुकाइएको कपडाझैं सुख्खा थियो ।

गर्मीमा त लौ डुंढुवामा लुगा धुन जान भ्याइनभ्याइ थियो कसियालाई । घरै पछाडिको गढाहामा लुगा धुँदा पनि कसिया उस्तै रह्यो । केही सोध्यो ‘हुँ हाँ’ बाहेक केही नथप्ने । ठट्टामा केही भन्यो भने टिमुर्किने । आमा र भाइसित फन्किने रन्किने गरेको देखेर उसलाई डर पनि लाग्न थाल्यो ।

बिहा गरेपछि फेरिएला भन्ने आसमा मुन्दरी भित्राउँदा नि कसिया उस्तै थियो । मुन्दरीलाई धेरै हप्काउने कराउने गर्दैन्थ्यो । तर त्यसो नगर्दैमा मुन्दरीको ‘आहा !’ भन्ने स्थिति कहाँ थियो र । कसियालाई परिवर्तन गर्न ल्याइएकी मुन्दरी आफैं फेरिएकी थिई । कमै बोल्ने कसियासित ऊ काटिएर बस्न थाली । एक्ली र आफैंमा कैद मुन्दरी विरह गाउन थाली ।

‘उपर रेडियोका तार
नीचे बहे पानी
सैंया बोलो ना हम्से तनि तनि’

कसियालाई मतलबै हुन्थेन । सुललवा जिस्किन्थ्यो बरु । ‘भौजी वही गाना गाऔना ।’

यही एउटा देवर थियो जोसित ऊ धक फुकाएर कुरा गर्थी । उसको गीतमा बेढङ्गी नाचेर सुललवाले हँसाउँथ्यो पनि । तर उसको मन त बिस्तारै उक्किन थालेको थियो । आफूतिर बेखबरझैं देखिने लोग्ने न कुराले सुम्सुम्याउँछ न वास्ता देखाउँछ । मुन्दरीलाई पक्का भयो । कसियाले उसलाई माया गर्दैन । खालि भाले–पोथी खेल्छ ।

रातमा कसियाले उसको कानमा तँलाई योभन्दा धेरै दु:ख दिंदिनँ भनेर फुसफुसाउँदैमा के हुन्छ । तँ मेरो ‘परान’ होस्, मेरी ‘पराना’ भनेर नाम राख्दैमा के हुन्छ । त्यसैले रातमा उसलाई चलाउँदा घचेटेर कसियालाई हुत्याइदिउँझैं लाग्थ्यो । तर केही गर्न नसकी फेरि रुँरुँ लाग्थ्यो ।

मुन्दरीलाई कसिया छेउमा परे पनि रिस उठ्न थाल्यो । उसो भए किन बस्ने बैलझैं जोतिएर यस घरमा ?

मुन्दरी घरबाट भागी । कसिया र सुललवाले निकै खोजखाज गरे । पुलिस थानामा उजुरी पनि दिए । ऊ त डुंढुवाभन्दा टाढा आफ्नो माइती गोरखचौरा पुगेकी रहिछ । कसिया गयो उसलाई लिन ।

बाटोभरि कसियाले कहिले गाली गर्‍यो कहिले सम्झायो । मुन्दरी चुँक्क बोलिन । कुनै गुनासो पनि गरिन । कसियाले तिम्रो माइतीमा जस्तै खान लाउन दिएकै थिएँ के नपुग थियो र भनी सोध्दा उसले तिम्रो माया भनिन । सँगसँगै पाइला चाल्ने तिम्रो साथ भनिन ।

दिनचर्या फेरि उस्तै भयो । तर मुन्दरी पहिलाभन्दा उदास देखिई । केही सुझेन कसियालाई के गर्ने । एक दिन मुन्दरीलाई आफूसँगै डुंढुवा खोला लग्यो ।
लुगा मिच्दामिच्दै मुन्दरीले पिसाब फेर्न जान्छु भनी र झाडीतिर गई । अहिले आउँछे भरे आउँछे भनेर पर्खेको, मुन्दरी आउँदै आइन । ऊ त फेरि भागिछ ।

यसपालि पुलिसथाना नगई कसिया उसैको माइती हान्नियो । उतै रहिछ मुन्दरी । जिउँदै गाड्ने माफिकको रिस उठ्यो । कस्ती उन्नाईस वर्षमा पनि केटाकेटीपन नगएको । तर केही भनेन कसियाले यसपालि । मात्र सोध्यो– डुंढुवादेखि जङ्गलैजङ्गल भाग्दा डर लागेन ? लाग्यो भनी मुन्दरीले ।

तिमीलाई केही भइदिएको भए म के गर्थें भन्न मन लागेको थियो कसियालाई । तर यस्ता कुरा गर्न ऊसँग भाषै थिएन । फेरि मनमा उसलाई ननिको लागेको थियो । स्वास्नीले मलाई माया गर्दिन भन्ने परेर । सोच्यो बिहा गरेदेखि दोहोरो मिहिनेत गरिराखेको छु । आखिर उसैलाई खानमा कमी नहोस् भनेर त हो । तर ऊ भने बिहाको दुई वर्षमै छड्कीछड्की हिँड्छे ।

पछिपछि आइरहेकी मुन्दरीलाई उसले फर्केर हेर्‍यो । ऊ त खुट्टामा जाँतो बाँधिदिएजस्तो पाइला घिसार्दै थिई । छिटो हिँड् भन्दै कसियाले हप्कायो । तैपनि ऊ सुस्तरी हिंडिरही ।

कसियाले फर्कीफर्की हेर्नु, अलि पर पुगेर ठिङ्ग उभी कुर्नुमा मुन्दरीले कसियालाई पर्गेल्न सकी कि सकिन । कुन्नि । कसियाका लागि जिम्मेवारी उठाउनु नै प्रेम थियो ।

घर फर्केपछि कसिया र सुखरनियाको सल्लाह भयो । अबदेखि सुललवाले मुन्दरीको पहरा गर्ने । एक्लै कतै नछाड्ने ।

नभन्दै मुन्दरी भागिन । पहरा बसेर हो वा जान मन नलाएर, एकअर्कासित संवाद नहुने घरमा कसरी थाहा पाउनु । जे होस् मुन्दरी भागिन । एक वर्ष भयो । ऊ रमाएझैं देखिई । उसको गीत पनि त प्रेमिल भएको थियो ।

‘बेर बेर रङ्ग रेजवा पुछे
किस्का है दुपट्टा
ये तो रङ्ग चढाने आया है
दिलजानीका दुपट्टा’

सुखरनियाले भनी मुन्दरी सुध्री । कसियालाई लाग्यो मुन्दरीको मन बल्ल बस्यो ।

अर्को वर्षामा सुखरनियालाई ज्वरोले च्याप्यो । एक हप्तासम्म टाउको दुख्यो भन्दै कहालिरहिन् । न ज्वरो उत्रिन्थ्यो न टाउको दुखाइ कम हुन्थ्यो । ठीक भइहाल्ला भन्दै बसेको कसिया पानीपट्टी गर्दै टाउको मिचिरह्यो । तर सुखरनिया ‘हाय मरगएन रे बाँकीसुरी उठाए लेव’ भन्दै पीडामा छट्पटाउँथिन् । भरे हेर्दाहर्दै उनी त्यसरी नै बितिन् ।

आमाको बानी परेको कसियाको आँखाले बिहान उठ्दा उनी सुत्ने भुइँमा खोज्थ्यो । नपाउँदा आँखाको चेप रसाउँथ्यो र ऊ ‘कानी बुढिया’ भन्दै आँसु पुछ्थ्यो । आमा मरेपछि निम तल कक्कड पिउँदै बसेको कसिया आमाको खालीपनले मात्र टोलाउने गरेको थिएन । मर्नुभन्दा अगाडि उनले भनेका कुरा ओर्काइफर्काई सोच्दै थियो ।

उनको सिराननिर बसेर टाउको मिच्दा उनले कसियाको हात च्याप्प समाएर भनेकी थिइन् । मुन्दरीलाई उसैको नैहरमा छोडेर आउनु । ट्वाँ परेर कसियाले किन भनेको थियो । सबै त ठीक भइसकेको छ । सुखरनिया बरबराइन् । तेरो पो आँखा फुटेको छ र बुद्धि रिसले डढेको । यहाँ के के भइराखेको छ तँलाई के थाहा ।

यही बेलादेखि मनमा झस्का पसेको थियो कसियाको । त्यसैले उसका आँखाले पछ्याउन थाल्यो मुन्दरीलाई । केलाउन थाल्यो उसका हाउभाउलाई । ख्याल गर्दा उसले धेरै कुरा अमिल्दो पायो ।

मुन्दरीमाथिको पहरा फुकाउँदा पनि सुललवा र मुन्दरी सँगसँगै देखिन्थे । मुन्दरीलाई एक्लै नछाड्न भनिएकाले सुललवा उसकै अघिपछि भैराख्ने गथ्र्यो । एकअर्काको साथ बसेछ कि क्या हो । मुन्दरीले कपाल कोर्दा सुललवा ऐना समाएर उभिन्थ्यो । एकदिन कसियाले देख्यो । सिन्दूर लगाउँदा नाकको डाँडीमा झरेको रातो सुललवाले बुसर्टको कुना थुकले भिजाएर पुछ्दै गरेको ।

एकपटक दुवै मिली धोती पट्याउँदै थिए । कहिले मुन्दरीको हातबाट धोतीको किनारा छुट्थ्यो कहिले सुललवाको हातबाट । अनि जिस्किँदै फेरिदेखि पट्याउन थाल्थे । भित्र चिलिम लिन अलमलिएको कसियालाई यो जानीजानी खेलेको खेलझैं लाग्यो । देखी नसहनु भयो । हातमा लिएको चिलिम उसले सुललवातिर हुत्यायो ।

त्यस साँझ रक्सी खाएर सुललवाले कसियासित भनाभन गर्‍यो । उसलाई असाध्यै हेपेको भन्दै करायो । कसियाले भने काम धेरै भएको बखत किन खेलाइची गर्दै बसेको भनेर कैफियत दियो । कुरोको चुरो अर्कैतिर थियो । न कसियाले भन्न सकिराखेको थियो । न सुललवाले बुझ्ने छाँट देखाइराखेको थियो ।
अर्को दिन खानेबेला कसियाले सुललवालाई बिहा गर्ने हैन भनेर कर गर्‍यो । सुललवाले फुस्रो मुस्काउँदै यो जुनी यस्तै भयो अब बिहा गर्दिनँ भन्यो । यसो भन्दा सुललवाले मुन्दरीतिर पुलुक्क हेर्‍यो । उसको हेराइ कसियाले ठ्याक्कै समायो ।

यतिन्जेल देखेका कुरा मनका शङ्का हुन् । यस्तै शङ्का आमालाई नि परेको हुनुपर्छ भन्ने लागेको थियो कसियालाई । तर अबचाहिँ उसलाई हो नै भन्ने भयो । पहराले सुललवा र मुन्दरीलाई नजिक्याएको । र सास ठोक्किने समीपताले उनीहरूको माया बसेको ।

तर कसियालाई आफैंदेखि के कुराले अचम्म लाग्यो भने ऊ मुन्दरीलाई झन् मन पराउन थाल्यो । उसलाई अघिपछि राख्न के के काम अह्राउन थाल्यो । अनि एकदिन बिरादरीको मुन्डनमा जाँदा आफ्नो भागको गुलगुला लिएर आयो मुन्दरीका लागि । भरे घरमा आउँदा मुन्दरी वाक्दै रहिछ । सुललवा उसको ढाड् सुम्सुम्याउँदै बसेको थियो ।

कसियाले के भयो भनी सोध्यो । सुललवाले थाहा नभएको भन्यो । सालको पातमा गुटमुटाएको गुलगुला कसियाले दलिनमा घुसार्‍यो । ठीक भएपछि दिउँला भनी सोचेर । तर मुन्दरी खाना पनि नखाई त्यत्तिकै सुती । कसियालाई आमाकै जस्तो होला कि भन्ने डर लाग्यो । यसपालि ऊ वैद्यलाई देखाउनेबारे सोच्न थाल्यो ।

अर्को कुनामा सुललवा घुरेको सुनेपछि मुन्दरी कसियातिर फर्की । र नजिक सरेर भनी, ‘सुन थौ ।’ सुन्दैछु के हो भन्यो कसियाले । सासको स्वरमा मुन्दरीले कानमा भनी । पेटमा बच्चा आयो ।

खुसीले लोटपोट हुनुपर्ने हो कसिया । भएन । मनको एक पाटो लाटिएको कसियाले दोहोरायो, ‘lsquo;बच्चा † अनि थाहै नपाई अनायासै निस्कियो । मेरो ?’ बत्ती झ्याप्प निभेझैं मुन्दरी एकाएक सामसुम भई । र साउँतिदै भनी, ‘तिम्रो हैन ।’ कसिया शून्य भयो । सुस्तरी मुन्दरीले कोल्टो फेरि र स्वर उकासेर भनी, ‘मेरो मात्रै ।’ जिस्केकी हो या दोहोरो अर्थमा भनेकी, कसिया खुल्दुलियो ।

भोलिपल्ट उसले दलिनमा घुसारेको गुलगुला निकाल्यो । गधा राख्ने मेढैयामा गएर पोको फुकायो । टाउको भुइँमा अड्याए बसेको गधा उठ्यो । गधाछेउ बसेर कसियाले एउटा गेडो उसैलाई खुवायो पहिला । फुरौलाजस्तो आकारको पिठोको गुलियो गुलगुला चपाएको चपाए गर्‍यो गधाले । अर्को गेडो कसिया आफैंले खायो । यसरी पातभरिको गुलगुला गधा र उसले मिलेर खाए ।

गुलगुला चपाउँदै कसिया रोइराखेको थियो । ऊ रुँदा गधाले आँखा झिमिकझिमिक गर्दै उसैलाई हेर्दै थियो । कसियालाई लाग्यो गधालाई सबै थाहा छ । उसको मुटुको ऐठन । आफ्नो भएर पनि आफ्निन नसकेकी मुन्दरी । अनि उसलाई खालीखाली एकदम खाली लागेको पनि ।

उदासीले गमलङ्ग अंगालो हाल्दा उसको आँखाबाट निख्रिँदै ननिख्रिने रुवाइ बग्यो । रुने भाषा पनि नभएको मान्छेझैं ऊ आधीउधी ‘सियाराम सियाराम’ भन्दै रुइराख्यो । उदासीमा भिजेको ‘सियाराम’ पनि उसको सधैंको ‘छियोऽऽराम…छियोऽऽराम’ झैं सुनियो ।

पेटमा बच्चा आएदेखि मुन्दरी रल्ल परेकी थिई । खटाई खाँदै ऊ ‘दिलजानीका दुपट्टा’ बोलको गीत गाइरहन्थी । एक दिन राति मुन्दरीले फेरि कसियालाई घच्घच्याई । र, कानमा सुटुक्क भनी, ‘छोरा जन्मे उसको नाम महादेवा राख्ने छोरी भए शंकरी । हुन्न ?’ कसियाले कुम झट्कारेर भोलि भन्छु भन्यो । उसलाई के थाहा कसिया ती दुवै नामलाई सुललवाको असली नाम शिवलालसित साइनो जोडेर कुँढिएको थियो । मुन्दरी त यही नाम सोच्दै मख्ख परेकी थिई ।

भोलिपल्ट मुन्दरी उठ्दा कसिया ओछ्यानमा थिएन । सधैंको दिनचर्या सम्झेर उस्ले ध्यान दिइन । गीत गुनगुनाउँदै आफूले सोचेका नाम र उक्सिन लागेको पेट एकैपटक सुम्सुमाई । यत्तिकैमा सुललवा आएर दादा कहाँ छन् भनी सोध्यो । मुन्दरीले काममा त गए होलान् भनी । तर कसिया न काममा गएको थियो न यताउति । कहाँ गयो, कुनै खुटखबर भएन ।

त्यस दिनबाट गएको कसिया फर्केन । भन्नेहरू डुंढुवा खोलातिर गएको भन्थे । डुंढुवा त के राप्तीपारि पुग्दा नि कहीं पत्ता लागेन ।

मुन्दरीले छोरी पाई । अङ्गालोभरि खेलाउँदै सुललवा आयो । भन्यो, ‘भौजी इके नाम शंकरी होई नाई ?’ अर्कैतिर मुख फर्काएर मुन्दरीले भनी, ‘हैन…यसको नाम गंगाजलिया हुनेछ !’

प्रकाशित: कार्तिक १, २०७२

(स्रोत : Kantipur – Koseli)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.