कथा : कतारको कहर

~सरिता अर्याल~Sarita Aryal

“के छ मीना खबर?”

“ठीकै छ भिनाजु।”

“सुन न, कतार जान्छ्यौ त? म मिलाइदिन्छु।”

कतारको नामै सुनेर म आत्तिएँ। मैले आफ्नो दुर्भाग्यको प्रारम्भ सम्झिन थालें। मेरा आँखा अगाडि आफूले माया, मुटु, आदर्श र भगवान मानेका लोग्नेको मुहार नाच्न थाले।

म कान्छी श्रीमती भएर उनको घर भित्रिएकी थिएँ, तर भागेर होइन। सात वर्ष अगाडि छिमेकी गाउँकी केटीसित उनको विवाह भएको रहेछ। दुई सन्तान जन्मिएपछि परिवारलाई सुख दिन उनी अस्थायी शिक्षकको जागीर छाडेर कतार गएछन्। दुईचार वर्ष विदेशमा दुःख गरेर गाउँमा पक्की घर बनाउने अनि व्यापारबाट परिवारलाई सुखमा राख्ने योजना रहेछ।

उनले विदेशमा कमाएको पैसा महीनैपिच्छे घर पठाउँथे। त्यो पसिनाको कमाइको मह140व स्वास्नीले बुझछे भन्ने उनको विश्वास थियो। तर, एकदिन गाउँबाट खबर आयो– तिम्री श्रीमती कता गइन्, कता। अत्तोपत्तो छैन। गाउँलेहरूले रोइरहेका केटाकेटीलाई दिदीकोमा पुर्‍याएर घरमा ताल्चा मारेछन्। त्यसपछि खबर गरेका रहेछन्।

कम्पनीसँगको सम्झौतामा बाँधिएका उनले उतिबेलै घर फर्किन नपाएपछि कतारबाटै ससुराली, आफन्त र चिनेजानेका सबैसँग गुहार मागे। एक वर्षपछि घर आउँदा उनी डाको छोडेर रोए। भोलिपल्ट दिदीको घरबाट छोराछोरी ल्याएर उनीहरूकै स्याहारमा दिन बिताउन थाले।

त्यतिबेला म सात कक्षामा पढ्थें। एक दिन स्कूल जाँदा काकाले बाटोमा रोक्नुभयो। उहाँसँग भएको अर्को मान्छेले मेरो नाम र कक्षा सोधे। बेलुका घरमा थाहा भयो ती मानिस मलाई हेर्न आएका रहेछन्। मेरो उमेर बिहे गर्ने त हुँदै होइन, तर बाबुआमाको अगाडि केही लागेन। चौध वर्षको उमेरमा मेरो विद्यार्थी जीवन सकियो। म कुमारीबाट दुई छोराछोरीकी आमा बन्न पुगें। बिजोग अवस्थाका अबोध केटाकेटी देख्दैमा ममा मातृत्वको भावना पलायो। मैले उनीहरूलाई काखमा लिंदा भावुक बनेका लोग्ने पिंढीमा निस्केर रोए।

मेरो लोग्नेभित्र धोकाघडी र दुःखले विलविलाएको आत्मा थियो। मैले उसलाई सक्दो खुशी राख्न चाहें। हामी दुई, हाम्रा दुई खुशी थियौं। सानो पसल चलाउँथ्यौं। आम्दानी थोरै भए पनि खुशी थियो घरमा। मैले घरमा पाँचौं सदस्य जन्माएँ। यसैबीच, एक रात जंगली हात्तीले घर भत्काइदियो। त्यसलाई मरम्मत गर्दा केही ऋण लाग्यो। पसलले जेनतेन चुलो चलिरहेको थियो। “तिमीले मलाई उसले जस्तो धोका दिन्नौ भने एक पल्ट फेरि विदेश जान्छु”, उनले अप्ठ्यारो मान्दै भने, “पहिला ऋण तिरेर ठूलो पसल चलाउँला…।”

मायाले पुर्न खोज्ने लोग्नेलाई मैले किन धोका दिने? तर उनलाई पुरानो घटनाले तर्साइरहेको थियो। घरको अवस्था सुधि्रने आशामा मैले नाइँ भनिनँ। पसल बेचियो, ऋण लिइयो। विदा हुने दिन उनले एउटा मोबाइल सेट दिंदै मलाई भने, “म हरेक साता फोन गर्छु। जुन दिन उठाउन्नौ, त्यो दिन मैले फेरि धोका पाएको बुझनेछु।”

कतारको तीन महीनाको कमाइले ऋण तिरियो। चौथो महीनाको कमाइबाट हामीले नयाँ कपडा लगायौं। हप्ताको एक दिन मोबाइलमा गफ गरेर हामी खुशी थियौ। मैले पैसा ब्याङ्कमा राख्न थालेकी थिएँ। आठौं महीनाको एक साँझ् भिनाजुका परिवारै हाम्रोमा आए। सबैको मुख मलिन थियो। दिदी एकाएक मलाई अँगालो मारेर रुन थालिन्। भिनाजुले आकाश पताल देखाएर सम्झाउँदै काम गर्दा गर्दै मेरो लोग्ने करेन्ट लागेर मरेको खबर सुनाए। मेरो वाणी हरायो।

लोग्नेको लास नजलाएसम्म हिन्दू संस्कार अनुसार म विधवा हुन्नथें। उनले पहिराइदिएको पोते मृत्युको खबर आएको तीन सातासम्म मेरो गलामा रह्यो। कानूनी प्रक्रिया पूरा भएपछि आएको काठको ठूलो बक्सा तुलसी मोठ अगाडि राखियो। दिदीले मलाई बक्सा छेउमा पुर्‍याइन्। मलाई लागेको थियो, उनको हाड–छाला मात्र आइपुग्ला। तर, बक्साभित्र मेरा उनी सलक्क चिरनिन्द्रामा थिए। मलाई धोका नदेऊ भन्दै गएका उनले यत्रो बेइमानी गरेका थिए। म चेतनाशून्य भएँ।

कम्पनीबाट पाउने क्षतिपूर्तिको प्रक्रिया भिनाजुले नै गरिदिनुभयो। सत्ताइस लाख पाइने भयो। भिनाजुको पछि लागेर अड्डा पुग्दा मेरो नागरिकता हेरेपछि हाकिम रिसाए। उनले अरूको होइन, मृतककै श्रीमती आउनुपर्छ भन्दै हप्काए। हामी छक्क पर्‍यौं। मेरा श्रीमान् पुरानै पासपोर्टमा कतार जानुभएको थियो, जस अनुसार म हकवाला नहुने रहेछु। त्यसपछि भिनाजु र सारा आफन्तहरूले अघिल्लो श्रीमतीको खोजी गरे। अर्को घरजम गरेर बसेकी उसलाई भेटेर सबै कुरा सम्झाएछन्।

निर्धारित समयमा हामी अड्डा पुग्यौं। कागजपत्रमा सही गराएर उसैलाई चेक दिंदै हाकिमले भने, “हामीले प्रमाण हेर्ने हो, बाँकी कुरा तपाइँहरू मिलाउनुस्।” बाहिर निस्किनासाथ ऊ ‘म पोइल गएको भन्ने के प्रमाण छ तिमीहरूसँग, म माइतमा गएर बसेकी थिएँ, यो पैसा मेरा छोराहरूको हो, आफ्नो–आफ्नो भाग्य खाने हो सबैले’ भन्दै कराउन थाली। सम्झाउन खोज्दाखोज्दै आइपुगेको तीनवटा ट्याक्सीमध्ये एउटामा गएर ऊ बसी। गाडीभरी कुण्डले मुण्डलेहरू थिए। हामी हेरेको हेर्‍यै भएका थियौं।

दुःखका दिनमा दिलोज्यानले साथ दिएका सहानुभूतिशील भिनाजु मेरो उत्तर पर्खिरहेका छन्। म नाजवाफ छु।

साहित्य विशेष मंगलबार, आश्विन २१, २०७१

(स्रोत : हिमालखबर)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.