काँशी धोबी नै कसिया भनेर चिनिएको थियो नेपालगन्जको नभगन्ज टोलमा । त्यो टोलमा धेरैको नाम अपभ्रंश भएर र सायद हेपिएर पनि नामको ढाड खुस्काएर बोलाउने चलन थियो । काँशी धोबी कसिया भएझैं । उसकी आमा सुखरानीबाट सुखरनिया र भाइको नाम शिवलालबाट सुललवा भएको थियो ।
विक्रमको आठ सालको समय हो । धोबीको स्यानो परिवारलाई नेवार जमिनदारले एक फगटो जमिन दिएका थिए । जुन टोलमा तिनीहरू बसाइए त्यहाँ अवधी भाषी देहातीहरूको खपरैला, फुसैला झुपडीहरू थिए । कोही पान बेच्ने, कोही रक्सी बेच्ने, कोही कपडा सिलाउने निम्न वर्गीय टोल भन्दा नि हुन्थ्यो ।
टोलेहरूले कहिले पनि कसियाले पूरा लुगा लगाएको देखेनन् । घुँडासम्म बेरिएको धोती मात्र हो उसले लगाउने । जाडो होस् वा गर्मी । छाती सधैं नाङ्गै । बिरादरीको गौनाथौनामा जानुपर्दा ऊ धोतीमाथि एकसरो बनियाइन लगाएर जान्थ्यो । नत्र बाह्रै महिना धोती मात्र लगाएर घुँडासम्मको पानीमा डुबी लुगा पिटिरहेको हुन्थ्यो ।
कसियाको घरपछाडि पानी जम्ने स्यानो दह थियो । गढाहा भन्थे । ढिकीच्याउँ खेल्ने फलेक राखेजस्तो काठको पाटा कसियाले गढाहाछेउ गाडेको थियो । दिनभरि ऊ त्यसमै कपडा पछारिरहेको हुन्थ्यो । पाटामा अनवरत लुगा पिटाइले दिक्किएर होला ऊ दिनभरि ‘सियाराम सियाराम’ भन्दै सीतारामको नाम लिइरहेको हुन्थ्यो । भिजेको कपडालाई हावामा उज्याउँदा ऊ ‘सियाराम’ को ‘सिया…’ भन्थ्यो पहिला । अनि पटामा ड्याम्म पछार्दा ‘…राम’ भन्थ्यो । यही लयमा दिनभरि सीताराम दोहोराइरहँदा उसको ‘सियाराम’– ‘छियोऽऽराम छियोऽऽराम’ झैं सुनिन्थ्यो ।
घोटिँदै खिइने कर्ममा नारिएको धोबी कसिया ख्याउटो हुने नै भयो । छवटै ऋतुले पनि डामेका थिए उसको शरीरलाई । कसियाको छाती र ढाड सुकेको खरझैं जरजर देखिन्थ्यो । कति सुख्खा भने छेस्कोले कोरेर कखरा लेख्न सकिनेजस्तो । पाइताला पानीले खाएर औंलाका काँपकाँप सडेका । घामको टहकले सधंैभरि आँखा च्याउरिरहने भएकाले चाउरीका धर्सा आँखा हुँदै गालाको चुम्कोसम्म किरमिरिएका ।
घामले डढेको, पानीले चुटिएको, हावामा सुकाइएर जरखरेकोले होला । कसियाको पारा सधैं चढेको हुन्थ्यो । स्यानस्यानो कुरामा सन्किन्थ्यो ऊ । अरू बेला आमालाई ‘अम्मा’ भन्ने कसिया, रिसाउँदा ‘कानी बुढिया’ भन्दै विशेषणले काढ्थ्यो । सुखरनियाको दाहिने आँखामा फुलो परेकोले खाना बनाउँदा नदेख्दी हुन् । ‘कानी बुढिया दुवैठोर आँखी फुटाइ गवा का †’ खाँदा किरिक्क भयो कि कसिया भातसहितको बटुको बाटोमा हुर्याउँथ्यो ।
भाइसित पनि उत्तिकै रन्किन्थ्यो । ‘हरामी सुललवा कहाँ मरगए रहौ ?’ सबै ऊ जस्तो कहाँ जोतिन सक्थे र । कहिलेकाहीँ सुललवा रक्सी चुस्काएर आउँदा कसियाले बित्पात मच्चाउँथ्यो ।
भस्मखरानी पारिदिउँझैं गर्ने उसको रिस देखेर सुखरनिया चिन्ताको सुस्केरा भर्थिन् । रूखो ना रूखो कसियाको जिन्दगी कसरी निर्वाह होला । म हुन्जेल त लौ ठीक छ । मपछि ?
सुखरनिया कसियाको स्वास्नी भित्राउनेबारे सोच्न थालिन् । उसो त कसियाको देहाती चलनअनुसार बिहे भइसकेको थियो । तर माइत पठाएकी स्वास्नी गौना गरेर ल्याउन कसियाले आँट्न सकेको थिएन । जङ्गल फाँड्दै बसेको ऐलानी जग्गामा उनीहरू सर्दैसर्दै बस्नुपरेको थियो । जब्दाह भन्थे उनीहरू । आजै उठीबास लगाउने हुन् कि भरे, जब्दाहको बिरालो सराइले गर्दा कसियाले टार्दै आएको थियो । तर नभगन्ज टोल आएको पाँच वर्षपछि भने सुखरनियाले अड्डी नै लिइन् ।
सोचिन्– स्वास्नीको स्पर्शले कसियाको मिजास थोरै नरम होला कि । उसको एकलयको ‘छियोऽऽराम’ मा चुराको खनखनले संगीत भरिदेला कि । यति भएपछि कसियाको अलिनो मुस्कानमा ट्वाक्क नुन लाग्ला कि ।
सुखरनियाले कुरो राख्दा यसपालि कसियाले ‘नाइँ’ नै नभने पनि ‘हुन्छ’ नि भन्न सकेन । ऊ एककोठे झुपडीको नक्सामा आफ्नो गृहस्थी कुन कुनोमा अटाउने हो भनेर सोच्दै थियो । दुइटा कुना ओगटेको एउटा ठूलो तखत थियो कोठामा । अरूका घरमा त्यो तखत चारजना अट्ने खाट हुँदो हो । तर, कसिया कहाँ तखतमा धोएका फटिक लुगाले सौभाग्य पाउँथे । तखतमा इस्त्री गरिन्थ्यो । पट्याएको लुगा खात लाइन्थ्यो । र दिने लुगा छुट्याएर राखिन्थ्यो ।
झुपडीको तेस्रो कुनामा रेहुले लुगा पकाइन्थ्यो । चौथो कुनामा भातभान्सा गरिन्थ्यो । बीचको भुइँमा उनीहरू सुत्थे । तखतनिरको किनारमा आमा र खाली ठाउँ छाडेर कसिया र सुललवा लहरै सुत्थे । छुट्टै ठहर पिछवाडमा गधाको मात्र थियो ।
स्वास्नीको ऐना झुन्ड्याउने कुनो पनि नभेट्टाएपछि कसियाले दिक्दारीको लामो खुइऽऽ गर्यो । रिसाउन मात्र जानेको कसियाले दिक्दारी पनि झर्केरै पोख्यो । ‘उका सिकाहर पर रखियौ का ?’
सुखरनिया पनि कम्ता थिइनन् । भनिन्, ‘किन स्वास्नीलाई आँखामै राख्दैनस् र ? त्यति भएपछि उसका लागि यो झोपडी पनि र्यालछ्याल हुनेछ ।’
छक्क परेर हेर्यो कसियाले । आएको मुस्कान छल्न ऊ कोठाबाट निस्कियो । ऊ लजाएको भन्ठानेर सुखरनियाले झनै लिट्टी कँसिन् । अनि त सत्ताईस वर्षको कसियाले आफ्नी मुन्दरी ल्याउने भयो ।
नभगन्जमा मुन्दरी लडियामा बसेर आई । गहुँगोरी मुन्दरी पातली भए पनि छाँटिएकी थिई । गाजल लतपतिएर आँखा मस्त देखिन्थे । नाकमा पित्तलको नथुनीले उसमा चञ्चलता थपेको थियो । पित्तलकै हँसुलीले घाँटी कति लाम्चो देखिएको । घाममा कैलिएको कपाल कालो चोटीमा बाँटेकीले त्यसैले बेर्लीजस्तो । सिउँदोमा एक पाउ सिन्दूर हालेकी दुलही मुन्दरी । पैताला र हातमा लगाएको आल्ताले गुलाबी भएकी थिई । मुन्दरी देखेर कसिया हेरेको हेर्यै भयो ।
तीन वर्षअघि उसको माइती बर्दियाको गोरखचौरा जाँदा भर्खर नाक छेडेकी थिई । कालो धागो उनेको नाक पाकेर सुन्निएको थियो । नाकको पोराभरि बेसार दलेकाले सिङ्गानी होलीजस्ती देखिन्थी मुन्दरी । तर तीनै वर्षमा मस्ती खाएर हुर्केकी जस्तो पिउपिउ लाग्ने भई ।
त्यस रात सुखरनिया र सुललवाले बाहिर खटिया ओछ्याएर पल्टे । भित्र कसिया र मुन्दरी रहे ।
बिहान पाँचै बजे कसियाको आँखा खुल्यो । शरीर जाँगरले चटपटाएको थियो । कति दिनको थकान मेटेजस्तो मन हलुङ्गो भएको थियो । जीवनमा काम भनेको अब सास फेर्नका लागि मात्र भएन । अझ मिहिनेत गर्ने उद्देश्य पनि थपियो । मुन्दरी छे बच्चा होलान् । भविष्य सम्झेर कसियालाई जिन्दगी चुम्न मन लाग्यो । र आफूसँगै सुतिराखेकी मुन्दरीले लामो न लामो सास फेरेको सुनिरहँदा लाग्यो आफूले फेर्ने सास पनि उसैलाई दिएर रित्तिउँ ।
तर मुन्दरीलाई भने किनकिन कसियाको छुवाइ खस्रो लाग्यो । ‘अलिक सर’, ‘पैताला नचलाउ’, ‘कपाल उता राख’, बाहेक केही बोलेको हैन कसिया । कस्तो अड्बाङ्गे मान्छे । उसलाई लोग्ने हैन मेला जाँदा लडियामा कोच्चिन आइपुगेको अचिनारु यात्रुझैं लाग्यो ।
जेठको चाँडो उज्यालो भइहाल्ने बिहानले कसियालाई झक्झकायो । उसलाई याद आयो आमा र भाइ बाहिर खटियामा सुतिराखेको । र भित्र आफूहरू मात्र सुतेको सम्झेर लाज लाग्यो । निस्किनुपर्यो भनेर उसले मुन्दरीलाई ठीकसित ओढाउन लुगा तानतुन गर्दै थियो । मुन्दरी फनक्क कोल्टे फर्केर अलि पर सरी ।
बाहिर निस्केर कसियाले आमा र भाइलाई भित्र जान अह्रायो । र, आफू चाहिँ मैलो लुगाको भारी गधामा भिर्न लाग्यो । आजलाई भैगो भन्दै थिइन् सुखरनिया । तर कसियाले छोटो जवाफ फर्कायो । आफ्नो पो बिहा भएको छ । ग्राहकहरूको त छैन नि !
सुहागरातको भोलिपल्ट, त्यो पनि अँध्यारोमै कुन लोग्ने काममा हिँड्छ । मन खुल्ल हुने नै भयो मुन्दरीको । उसले सासूको कान बचाएर देवरलाई खुसुक्क सोधी– कसिया कहाँ गएका हुन् ? सुललवाले भन्यो, ‘यहाँदेखि दुई घन्टा हिँडेर पुग्ने डुढुंवा खोलामा लुगा धुन ।’ भाउजूको अनुहार निन्याउरिएको देखेर उसले फेरि थप्यो– आज मात्र हैन गर्मीको असारसम्म उनले उतै जानुपर्छ । र, पिछवाडको हिलाम्मै गढाहामा सुकेका जलकुम्भी देखाएर भन्यो– असारपछि त्यहाँ पानी जम्छ त्यसपछि अर्को गर्मी नजाउन्जेल यतै धुन्छन् ।
मुन्दरीले सुललवालाई तिमी जानु पर्दैन भनी सोध्दा तखतमा लुगाको खात देखाउँदै भन्यो, ‘मेरो जिम्मा इस्त्री गर्ने र पट्याउने ।’
बल्ल मुन्दरीले थाहा पाई । कसियाभन्दा सुललवा किन गोरो देखिन्छ, थोरै नरम किन देखिन्छ ।
कसिया कहिले आउँछन् भनेर सोध्न लाज लागेर मुन्दरीले घुमाएर सोधी । उनी दिउँसो खाना कहाँ खान्छन् । एकैचोटि जब साँझ घर आउँछन् तबै खान्छन् उसले भन्यो । त्यसैले घरमा साँझ मात्र खाना पाक्छ । बिहान बासीकुसी खाएर काम चलाइन्छ ।
साँझमा धोएको लुगा गधामा लादेर कसिया आयो । ‘क्लिक…क्लिक…क्लिक’ जिब्रो बजाउँदै । हातमा बेसर्माको सन्ठी लिएर गधालाई पछ्याउँदै ।
हत्तपत्त मुन्दरीले सुराहीबाट पानी सारेर मुखमा छ्याप्प पारी । हँसुलीलाई छातीमा उदाएको खुर्पे चन्द्रमाझैं मिलाई । खजमजिएको सप्को सिनित्त पारी ।
कसिया भने लुगा झारेर गधाको पिठ्युँ कन्याउन थाल्यो । त्यसपछि घरभित्र आए त हुन्थ्यो नि । सुकेका लुगा सुललवालाई भित्र लग्न सघायो । अनि पानी लिएर उभिराखेकी मुन्दरीलाई देखेर काममा हात बटाउन पो बोलायो ।
ठुस्स पर्दै मुन्दरीले लुगा फैलाउन थाली । उसलाई छाडेर कसिया भित्र छिर्यो । दलिनमा घुसारेको चिलिम लिएर आयो । र घरछेउ कोनिमको रूख तल गएर कक्कड तान्न लाग्यो ।
राति खाना खान मात्र भित्रियो कसिया । खाएर चुपुक्क सुती पनि हाल्यो । तखननिर मुन्दरी र कसिया सुते । दुई हात छाडेर सुखरनिया र त्यत्तिकै दूरीमा सुललवा पल्टियो । थाकेर चुरचुर भएका जनहरू भुइँमा मस्तसाथ घुर्न थाले । आफूमाथि तिघ्रा चढाएर सुतेको लोग्नेको थिचाइले गह्रुङ्गिएकी मुन्दरीलाई चाहिँ रोउँ रोउँ लाग्यो । उसलाई एक्लोएक्लो न्यास्रो लाग्यो ।
लोग्नेको बिरसिलो पारा त थिंदै थियो, मुन्टो उठाएर आकाशतिर हेर्न नि नभ्याउने कामले मुन्दरी अत्यासिई ।
ऊ र सासू मिलेर दिनभरि माटोको नादमा मैला कपडा मिचमाच पार्योण् । त्यसैलाई आँगनमा फैलायो । नदीको माटो रेहुलाई कपडामा छर्यो । रेहु सोसिएको कपडा रातभरि बफायो । कसियाले बफाएको लुगा बिहान लिएर जान्थ्यो । सुललवाले इस्त्री गरी पट्याउँथ्यो । अनि सुखरनिया धोएको लुगाको गठरी बोकी जमिनदार र जागिरदारहरूकहाँ पुर्याउँथिन् । एक कपडाको दस पैसाको हिसाबले प्राय:ले अन्न दिन्थे ।
यो हाँपझाँपमा मुन्दरीले चाहेको लोग्नेसँगको एकछिनको एकान्त । चोरिएका एकान्तमा थोरै चुट्किला र चुट्की । कपडा बफाउँदा पोलेका डाम देखाएर लाडिन पाइयोस् । लोग्नेले आफूतिर तान्दा देखाउन पाइयोस् थोरै नखरा । तर कसिया निचोडिएर सुकाइएको कपडाझैं सुख्खा थियो ।
गर्मीमा त लौ डुंढुवामा लुगा धुन जान भ्याइनभ्याइ थियो कसियालाई । घरै पछाडिको गढाहामा लुगा धुँदा पनि कसिया उस्तै रह्यो । केही सोध्यो ‘हुँ हाँ’ बाहेक केही नथप्ने । ठट्टामा केही भन्यो भने टिमुर्किने । आमा र भाइसित फन्किने रन्किने गरेको देखेर उसलाई डर पनि लाग्न थाल्यो ।
बिहा गरेपछि फेरिएला भन्ने आसमा मुन्दरी भित्राउँदा नि कसिया उस्तै थियो । मुन्दरीलाई धेरै हप्काउने कराउने गर्दैन्थ्यो । तर त्यसो नगर्दैमा मुन्दरीको ‘आहा !’ भन्ने स्थिति कहाँ थियो र । कसियालाई परिवर्तन गर्न ल्याइएकी मुन्दरी आफैं फेरिएकी थिई । कमै बोल्ने कसियासित ऊ काटिएर बस्न थाली । एक्ली र आफैंमा कैद मुन्दरी विरह गाउन थाली ।
‘उपर रेडियोका तार
नीचे बहे पानी
सैंया बोलो ना हम्से तनि तनि’
कसियालाई मतलबै हुन्थेन । सुललवा जिस्किन्थ्यो बरु । ‘भौजी वही गाना गाऔना ।’
यही एउटा देवर थियो जोसित ऊ धक फुकाएर कुरा गर्थी । उसको गीतमा बेढङ्गी नाचेर सुललवाले हँसाउँथ्यो पनि । तर उसको मन त बिस्तारै उक्किन थालेको थियो । आफूतिर बेखबरझैं देखिने लोग्ने न कुराले सुम्सुम्याउँछ न वास्ता देखाउँछ । मुन्दरीलाई पक्का भयो । कसियाले उसलाई माया गर्दैन । खालि भाले–पोथी खेल्छ ।
रातमा कसियाले उसको कानमा तँलाई योभन्दा धेरै दु:ख दिंदिनँ भनेर फुसफुसाउँदैमा के हुन्छ । तँ मेरो ‘परान’ होस्, मेरी ‘पराना’ भनेर नाम राख्दैमा के हुन्छ । त्यसैले रातमा उसलाई चलाउँदा घचेटेर कसियालाई हुत्याइदिउँझैं लाग्थ्यो । तर केही गर्न नसकी फेरि रुँरुँ लाग्थ्यो ।
मुन्दरीलाई कसिया छेउमा परे पनि रिस उठ्न थाल्यो । उसो भए किन बस्ने बैलझैं जोतिएर यस घरमा ?
मुन्दरी घरबाट भागी । कसिया र सुललवाले निकै खोजखाज गरे । पुलिस थानामा उजुरी पनि दिए । ऊ त डुंढुवाभन्दा टाढा आफ्नो माइती गोरखचौरा पुगेकी रहिछ । कसिया गयो उसलाई लिन ।
बाटोभरि कसियाले कहिले गाली गर्यो कहिले सम्झायो । मुन्दरी चुँक्क बोलिन । कुनै गुनासो पनि गरिन । कसियाले तिम्रो माइतीमा जस्तै खान लाउन दिएकै थिएँ के नपुग थियो र भनी सोध्दा उसले तिम्रो माया भनिन । सँगसँगै पाइला चाल्ने तिम्रो साथ भनिन ।
दिनचर्या फेरि उस्तै भयो । तर मुन्दरी पहिलाभन्दा उदास देखिई । केही सुझेन कसियालाई के गर्ने । एक दिन मुन्दरीलाई आफूसँगै डुंढुवा खोला लग्यो ।
लुगा मिच्दामिच्दै मुन्दरीले पिसाब फेर्न जान्छु भनी र झाडीतिर गई । अहिले आउँछे भरे आउँछे भनेर पर्खेको, मुन्दरी आउँदै आइन । ऊ त फेरि भागिछ ।
यसपालि पुलिसथाना नगई कसिया उसैको माइती हान्नियो । उतै रहिछ मुन्दरी । जिउँदै गाड्ने माफिकको रिस उठ्यो । कस्ती उन्नाईस वर्षमा पनि केटाकेटीपन नगएको । तर केही भनेन कसियाले यसपालि । मात्र सोध्यो– डुंढुवादेखि जङ्गलैजङ्गल भाग्दा डर लागेन ? लाग्यो भनी मुन्दरीले ।
तिमीलाई केही भइदिएको भए म के गर्थें भन्न मन लागेको थियो कसियालाई । तर यस्ता कुरा गर्न ऊसँग भाषै थिएन । फेरि मनमा उसलाई ननिको लागेको थियो । स्वास्नीले मलाई माया गर्दिन भन्ने परेर । सोच्यो बिहा गरेदेखि दोहोरो मिहिनेत गरिराखेको छु । आखिर उसैलाई खानमा कमी नहोस् भनेर त हो । तर ऊ भने बिहाको दुई वर्षमै छड्कीछड्की हिँड्छे ।
पछिपछि आइरहेकी मुन्दरीलाई उसले फर्केर हेर्यो । ऊ त खुट्टामा जाँतो बाँधिदिएजस्तो पाइला घिसार्दै थिई । छिटो हिँड् भन्दै कसियाले हप्कायो । तैपनि ऊ सुस्तरी हिंडिरही ।
कसियाले फर्कीफर्की हेर्नु, अलि पर पुगेर ठिङ्ग उभी कुर्नुमा मुन्दरीले कसियालाई पर्गेल्न सकी कि सकिन । कुन्नि । कसियाका लागि जिम्मेवारी उठाउनु नै प्रेम थियो ।
घर फर्केपछि कसिया र सुखरनियाको सल्लाह भयो । अबदेखि सुललवाले मुन्दरीको पहरा गर्ने । एक्लै कतै नछाड्ने ।
नभन्दै मुन्दरी भागिन । पहरा बसेर हो वा जान मन नलाएर, एकअर्कासित संवाद नहुने घरमा कसरी थाहा पाउनु । जे होस् मुन्दरी भागिन । एक वर्ष भयो । ऊ रमाएझैं देखिई । उसको गीत पनि त प्रेमिल भएको थियो ।
‘बेर बेर रङ्ग रेजवा पुछे
किस्का है दुपट्टा
ये तो रङ्ग चढाने आया है
दिलजानीका दुपट्टा’
सुखरनियाले भनी मुन्दरी सुध्री । कसियालाई लाग्यो मुन्दरीको मन बल्ल बस्यो ।
अर्को वर्षामा सुखरनियालाई ज्वरोले च्याप्यो । एक हप्तासम्म टाउको दुख्यो भन्दै कहालिरहिन् । न ज्वरो उत्रिन्थ्यो न टाउको दुखाइ कम हुन्थ्यो । ठीक भइहाल्ला भन्दै बसेको कसिया पानीपट्टी गर्दै टाउको मिचिरह्यो । तर सुखरनिया ‘हाय मरगएन रे बाँकीसुरी उठाए लेव’ भन्दै पीडामा छट्पटाउँथिन् । भरे हेर्दाहर्दै उनी त्यसरी नै बितिन् ।
आमाको बानी परेको कसियाको आँखाले बिहान उठ्दा उनी सुत्ने भुइँमा खोज्थ्यो । नपाउँदा आँखाको चेप रसाउँथ्यो र ऊ ‘कानी बुढिया’ भन्दै आँसु पुछ्थ्यो । आमा मरेपछि निम तल कक्कड पिउँदै बसेको कसिया आमाको खालीपनले मात्र टोलाउने गरेको थिएन । मर्नुभन्दा अगाडि उनले भनेका कुरा ओर्काइफर्काई सोच्दै थियो ।
उनको सिराननिर बसेर टाउको मिच्दा उनले कसियाको हात च्याप्प समाएर भनेकी थिइन् । मुन्दरीलाई उसैको नैहरमा छोडेर आउनु । ट्वाँ परेर कसियाले किन भनेको थियो । सबै त ठीक भइसकेको छ । सुखरनिया बरबराइन् । तेरो पो आँखा फुटेको छ र बुद्धि रिसले डढेको । यहाँ के के भइराखेको छ तँलाई के थाहा ।
यही बेलादेखि मनमा झस्का पसेको थियो कसियाको । त्यसैले उसका आँखाले पछ्याउन थाल्यो मुन्दरीलाई । केलाउन थाल्यो उसका हाउभाउलाई । ख्याल गर्दा उसले धेरै कुरा अमिल्दो पायो ।
मुन्दरीमाथिको पहरा फुकाउँदा पनि सुललवा र मुन्दरी सँगसँगै देखिन्थे । मुन्दरीलाई एक्लै नछाड्न भनिएकाले सुललवा उसकै अघिपछि भैराख्ने गथ्र्यो । एकअर्काको साथ बसेछ कि क्या हो । मुन्दरीले कपाल कोर्दा सुललवा ऐना समाएर उभिन्थ्यो । एकदिन कसियाले देख्यो । सिन्दूर लगाउँदा नाकको डाँडीमा झरेको रातो सुललवाले बुसर्टको कुना थुकले भिजाएर पुछ्दै गरेको ।
एकपटक दुवै मिली धोती पट्याउँदै थिए । कहिले मुन्दरीको हातबाट धोतीको किनारा छुट्थ्यो कहिले सुललवाको हातबाट । अनि जिस्किँदै फेरिदेखि पट्याउन थाल्थे । भित्र चिलिम लिन अलमलिएको कसियालाई यो जानीजानी खेलेको खेलझैं लाग्यो । देखी नसहनु भयो । हातमा लिएको चिलिम उसले सुललवातिर हुत्यायो ।
त्यस साँझ रक्सी खाएर सुललवाले कसियासित भनाभन गर्यो । उसलाई असाध्यै हेपेको भन्दै करायो । कसियाले भने काम धेरै भएको बखत किन खेलाइची गर्दै बसेको भनेर कैफियत दियो । कुरोको चुरो अर्कैतिर थियो । न कसियाले भन्न सकिराखेको थियो । न सुललवाले बुझ्ने छाँट देखाइराखेको थियो ।
अर्को दिन खानेबेला कसियाले सुललवालाई बिहा गर्ने हैन भनेर कर गर्यो । सुललवाले फुस्रो मुस्काउँदै यो जुनी यस्तै भयो अब बिहा गर्दिनँ भन्यो । यसो भन्दा सुललवाले मुन्दरीतिर पुलुक्क हेर्यो । उसको हेराइ कसियाले ठ्याक्कै समायो ।
यतिन्जेल देखेका कुरा मनका शङ्का हुन् । यस्तै शङ्का आमालाई नि परेको हुनुपर्छ भन्ने लागेको थियो कसियालाई । तर अबचाहिँ उसलाई हो नै भन्ने भयो । पहराले सुललवा र मुन्दरीलाई नजिक्याएको । र सास ठोक्किने समीपताले उनीहरूको माया बसेको ।
तर कसियालाई आफैंदेखि के कुराले अचम्म लाग्यो भने ऊ मुन्दरीलाई झन् मन पराउन थाल्यो । उसलाई अघिपछि राख्न के के काम अह्राउन थाल्यो । अनि एकदिन बिरादरीको मुन्डनमा जाँदा आफ्नो भागको गुलगुला लिएर आयो मुन्दरीका लागि । भरे घरमा आउँदा मुन्दरी वाक्दै रहिछ । सुललवा उसको ढाड् सुम्सुम्याउँदै बसेको थियो ।
कसियाले के भयो भनी सोध्यो । सुललवाले थाहा नभएको भन्यो । सालको पातमा गुटमुटाएको गुलगुला कसियाले दलिनमा घुसार्यो । ठीक भएपछि दिउँला भनी सोचेर । तर मुन्दरी खाना पनि नखाई त्यत्तिकै सुती । कसियालाई आमाकै जस्तो होला कि भन्ने डर लाग्यो । यसपालि ऊ वैद्यलाई देखाउनेबारे सोच्न थाल्यो ।
अर्को कुनामा सुललवा घुरेको सुनेपछि मुन्दरी कसियातिर फर्की । र नजिक सरेर भनी, ‘सुन थौ ।’ सुन्दैछु के हो भन्यो कसियाले । सासको स्वरमा मुन्दरीले कानमा भनी । पेटमा बच्चा आयो ।
खुसीले लोटपोट हुनुपर्ने हो कसिया । भएन । मनको एक पाटो लाटिएको कसियाले दोहोरायो, ‘lsquo;बच्चा † अनि थाहै नपाई अनायासै निस्कियो । मेरो ?’ बत्ती झ्याप्प निभेझैं मुन्दरी एकाएक सामसुम भई । र साउँतिदै भनी, ‘तिम्रो हैन ।’ कसिया शून्य भयो । सुस्तरी मुन्दरीले कोल्टो फेरि र स्वर उकासेर भनी, ‘मेरो मात्रै ।’ जिस्केकी हो या दोहोरो अर्थमा भनेकी, कसिया खुल्दुलियो ।
भोलिपल्ट उसले दलिनमा घुसारेको गुलगुला निकाल्यो । गधा राख्ने मेढैयामा गएर पोको फुकायो । टाउको भुइँमा अड्याए बसेको गधा उठ्यो । गधाछेउ बसेर कसियाले एउटा गेडो उसैलाई खुवायो पहिला । फुरौलाजस्तो आकारको पिठोको गुलियो गुलगुला चपाएको चपाए गर्यो गधाले । अर्को गेडो कसिया आफैंले खायो । यसरी पातभरिको गुलगुला गधा र उसले मिलेर खाए ।
गुलगुला चपाउँदै कसिया रोइराखेको थियो । ऊ रुँदा गधाले आँखा झिमिकझिमिक गर्दै उसैलाई हेर्दै थियो । कसियालाई लाग्यो गधालाई सबै थाहा छ । उसको मुटुको ऐठन । आफ्नो भएर पनि आफ्निन नसकेकी मुन्दरी । अनि उसलाई खालीखाली एकदम खाली लागेको पनि ।
उदासीले गमलङ्ग अंगालो हाल्दा उसको आँखाबाट निख्रिँदै ननिख्रिने रुवाइ बग्यो । रुने भाषा पनि नभएको मान्छेझैं ऊ आधीउधी ‘सियाराम सियाराम’ भन्दै रुइराख्यो । उदासीमा भिजेको ‘सियाराम’ पनि उसको सधैंको ‘छियोऽऽराम…छियोऽऽराम’ झैं सुनियो ।
पेटमा बच्चा आएदेखि मुन्दरी रल्ल परेकी थिई । खटाई खाँदै ऊ ‘दिलजानीका दुपट्टा’ बोलको गीत गाइरहन्थी । एक दिन राति मुन्दरीले फेरि कसियालाई घच्घच्याई । र, कानमा सुटुक्क भनी, ‘छोरा जन्मे उसको नाम महादेवा राख्ने छोरी भए शंकरी । हुन्न ?’ कसियाले कुम झट्कारेर भोलि भन्छु भन्यो । उसलाई के थाहा कसिया ती दुवै नामलाई सुललवाको असली नाम शिवलालसित साइनो जोडेर कुँढिएको थियो । मुन्दरी त यही नाम सोच्दै मख्ख परेकी थिई ।
भोलिपल्ट मुन्दरी उठ्दा कसिया ओछ्यानमा थिएन । सधैंको दिनचर्या सम्झेर उस्ले ध्यान दिइन । गीत गुनगुनाउँदै आफूले सोचेका नाम र उक्सिन लागेको पेट एकैपटक सुम्सुमाई । यत्तिकैमा सुललवा आएर दादा कहाँ छन् भनी सोध्यो । मुन्दरीले काममा त गए होलान् भनी । तर कसिया न काममा गएको थियो न यताउति । कहाँ गयो, कुनै खुटखबर भएन ।
त्यस दिनबाट गएको कसिया फर्केन । भन्नेहरू डुंढुवा खोलातिर गएको भन्थे । डुंढुवा त के राप्तीपारि पुग्दा नि कहीं पत्ता लागेन ।
मुन्दरीले छोरी पाई । अङ्गालोभरि खेलाउँदै सुललवा आयो । भन्यो, ‘भौजी इके नाम शंकरी होई नाई ?’ अर्कैतिर मुख फर्काएर मुन्दरीले भनी, ‘हैन…यसको नाम गंगाजलिया हुनेछ !’
प्रकाशित: कार्तिक १, २०७२
(स्रोत : Kantipur – Koseli)