चिया पिउँदै थिएँ, फोनको घन्टी बज्यो । फोन गर्नेले भन्यो, ‘अश्विनीजी, म अर्जुन । जापानबाट फर्किएँ मिल्छ भने भेटौं ।’
बानेश्वरको एउटा रेष्टुराँमा पुग्दा अर्जुन मलाई कुरिरहेका थिए । अनौठो घटनाले जोडिएका हामीबीच स्नेहपूर्ण संवाद सुरु भए । कुरैकुरामा उनले कम्मरमा बाँधेको सानो ब्याग खोले । एउटा सुनौलो रंगको घडी झिक्यो । मेरो हात प्रेमपूर्वक लगाइदिँदै भन्यो, ‘यो मेरो उपहार, अस्वीकार नगर्नुहोला ।’
म फ्ल्यासब्याकमा पुगें । १२ वर्षघि यसैगरी अपरिचित व्यक्तिको ल्यान्डलाइन फोन बजेको थियो, कार्यालयमा । साथी कृष्णले फोन उठाएपछि भनेका थिए, ‘अश्विनी, कोही अर्जुन तिमीलाई खोज्दैछ ।’ मैले फोन उठाएँ । उताबाट कुनै पुरुष आवाजले अविश्वास जनाउँदै भन्यो, ‘म्याडम, तपाईं अश्विनी कोइराला हो ? मैले बुझिहाले, धेरै पाठकजस्तै त्यो आवाजले पनि मलाई कुनै सुन्दरी मानिरहेको थियो । मैले महिलाझैं केही मसिनो स्वर बनाउँदै भनें— ‘हो, म अश्विनी बोलिरहेकी छु ।’
त्यसपछि उसले केही बेर मेरो लेखनीको प्रशंसा गर्यो । युवती भएर पनि यति बोल्ड प्रश्न गर्ने क्षमता कसरी आयो…आदि-इत्यादि । म भने लजालु युवतीझैं उँ-उँ गर्दै स्वरलाई मसिनो नै बनाइरहेको थिएँ ताकि उसले म पुरुष भएको चाल नपाओस् र केही बेर मेरो प्रशंसा गरिरहोस् ।
‘म तपाईंसँग भेट्न चाहन्छु,’ उसले नम्र स्वरमा प्रस्ताव गर्यो, ‘सोल्टी मोडमा ग्रान्ड होटल छ, त्यसको माथिल्लो तलामा भोलि कलेजका साथीभाइसँग विशेष कार्यक्रम छ, तपाईं जसरी पनि आइदिनुहोला । अँ, म गाडी पठाइदिन्छु, ठीक पाँच बजे ।’
प्रशंसा रमाइलो लाग्दै थियो, उसको प्रस्तावले म सोचशून्य भएँ । ऊ रहेछ सहरको धनाढ्य युवक । कुनै बोल्ड एन्ड ब्युटिफूल युवती मानेर मलाई उसको विशेष पार्टीमा निम्त्याइरहेको थियो । के भनूँ-नभनूँको दोधारमै थिएँ, उसले प्रमिस आउनुहोला है भन्दै फोन राखिदियो ।
अफिसमा सानोतिनो हाँसो भयो । म उसको पार्टीमा जाने कि नजाने दोधारमा थिएँ, सबैले सरप्राइज दिनुपर्छ भन्दै उक्साए । अन्ततोगत्वा सहकर्मी नवराज र म ग्रान्ड जाने निक्र्यौलमा पुग्यौं ।
भोलिपल्ट भनेकै समयमा कार्यालयमा गाडी आयो, मलाई खोज्दै । मुकुन्द दाइ जिस्क्याउँदै हुनुहुन्थ्यो, अश्विनी लिपिस्टिक लगाएर जाऊ, नत्र तिमी महिला भएको कसरी थाहा हुन्छ, विचरालाई…?
हामी सस्पेन्ड थ्रिलर चलचित्रको दृश्यझैं उसले पठाएको गाडीमा ग्रान्ड होटल पुग्यौं । लिफ्टको गेटमा एक जना युवतीले स्वागत गरिन् । त्यसपछि युवाहरूको एउटा समूहले हामीलाई टेबलमा बसायो । ‘अश्विनीजी आउनुभएन ?’ एउटा २८-२९ वर्षजतिको युवकले अधैर्य हुँदै लिफ्टतिर हेर्दै सोध्यो, ‘उहाँले मलाई आउँछु भनेर प्रोमिस गर्नुभएको थियो ।’
‘म अश्विनी, मैले हात अघि बढाउँदै भने, ‘अर्जुन, सायद तपाईं नै होला ।’
हो रहेछ । मेरो पुरुष काया देखेर युवक आश्चर्यचकित मुडमा मलाई हेरेको हेर्यै भयो । ‘मैले तपाईंलाई युवती मानेको थिएँ ।’ आत्तिएको स्वरमा उसले भन्यो, ‘त्यही भएर बोलाएको ।’
साथीभाइ गलल्ल हासें ।
उसले मेरो हात समाउँदै बसायो । ‘मैले त तपाईं केटी नै मानेको थिएँ, सम्भवतः म आज प्रेमप्रस्ताव राख्थें हुँला ।” उसले छेउको गिलासमा बाँकी रहेको बियर स्वाट्ट पार्यो । उसको अवस्था देखेर पार्टीमा जम्मा भएकाहरू फेरि हाँसे ।
अरुले उडाए पनि उसले त्यसलाई सहजरुपमा पचायो । केही दिनमै हामी मिल्ने साथी भयौं । केही पछि उ जापान गयो । आज धेरै वर्षपछि हाम्रो भेट भएको छ र ऊ कुनै प्रेमिकालाई प्रेमपूर्वक मेरो नाडीमा सुनौलो रंगको घडी बाँधिरहेको छ ।
आजभोलि मलाई देख्नु भयो भने उसको उपहार मेरो नाडीमा देख्न सक्नुहुनेछ ।
प्रकाशित: वैशाख १२, २०७१
(स्रोत : Kantipur – Saptahik)