कथा : अँध्यारो घाम

~दिनमान गुर्मछान~Din man Gumachan

जुगल केवट बिहान सबेरै उठ्यो । उसको सधैंको उठ्ने समय नै यही हो । ऊ उठ्दा बाहिर घाम लागेकै थिएन । नीमको दतिवनले दाँत माझ्न थाल्यो । घरको बलेसीमा सिउरिएको दतिवन झिकेको थियो । त्यही दतिवनले काम चलायो । अम्खोरामा पानी सारेर मुख कुल्ला गर्‍यो अनि मुख धोयो । घर बाहिर माटोको गाग्रीबाट पानी सारेर मुख धोएको थियो ।
त्यसपछि उसले पूर्वतिर हेर्‍यो र समयको अनुमान लगायो । किनकि उसको हातमा घडी थिएन । उसको हातमा मात्र किन ऊसँग घडी नै थिएन । तर ऊ आकाश, घाम र छाया हेरेर समय ठम्याउन सक्थ्यो ।

यतिबेला ठीक साढे पाँच बजेको थियो । २०१५ सालमा जुगल केवट जन्मिएको थियो । महोत्तरीको मटिहानीको वडा नं. १ मा थियो उसको घर । उसको मुख्य पेसा भन्नु नै बनिबुतो गर्नु थियो । ऊ अर्काको काम गरेर परिवार पाल्थ्यो । कहिलेकाहीँ सदरमुकामसम्म पुगेर पसलको सामान खेप्ने गथ्र्यो । जेहोस् काममा मन लगाउथ्यो त्यसैले ऊ सबैको विश्वासिलो थियो ।

गम्छाले मुख पुछ्यो । अलि हतार नै गर्‍यो । किनकि उसलाई ठाकुरकोमा गएर दाउरा चिरिदिनुथियो । काम नगरे त मुखमा माड लाग्दैन । दाउरा चिर्ने काम पाएको थियो । हिजै उसले भोलि बिहान ६ बजे नै आइपुग्छु भनेको थियो । त्यसैले पनि हतार गर्‍यो । घरमा कसैलाई पनि केही नभनी ऊ निस्कियो । हिजो बेलुका नै भोलि बिहानै ठाकुरकोमा दाउरा चिर्न जान्छु भनेको थियो । फेरि भन्न जरुरी ठानेन । ऊ आफ्नो काममा ठीक समयमा पुग्न चाहन्थ्यो । फटाफट हिँड्न थाल्यो ।

जुगल तीन छोरा र चार छोरीका बाबु भइसकेको थियो । ऊसँग जम्मा दुई कट्ठा जमिन थियो । त्यसैले बडो कठिनले उसले छोराछोरी हुर्कायो । उनीहरू अब हुर्किसकेका थिए । बिहे पनि भइसकेको थियो । आफूले सन्तानको लागि गर्नुपर्ने सबै जिम्मेवारी पूरा गरेको ठान्थ्यो ।

ठाकुरको घरको आँगनमा पुग्यो । ‘समयके पक्का छे तो जुगल ।’ ठाकुरले उसलाई देख्नेबित्तिक्कै भन्यो । ठाकुर त्यतिबेला मुख धोइरहेको थियो । ‘कुर्‍हइर (बञ्चरो) कत हई, मालिक ? ’ जुगलले नरम हुँदै सोध्यो । ऊ काममा लागिहाल्न चाहन्थ्यो । ठाकुरले बञ्चरो देखाइदिएपछि ऊ बञ्चरो लिएर घर पछाडि लाग्यो । हिजोअस्ति रूख ढालेका थिए । त्यसैको मुढा चिर्नु थियो । खिइँदै गएको ज्यानले बलिया काठका मुढो चिर्नु थियो । जुगलले बिस्तारै आफ्नो कला प्रदर्शन गर्‍यो । साँच्चै बल चाहिँदैन रैछ । ढंग पुर्‍याए सजिलै पो हुने रैछ । उसले सजिलै चिर्न थाल्यो ।

दिउँसोभर निधारबाट पसिना चुहाउँदै दाउरा चिर्‍यो । जुगल जन्मिँदा घरमा खुसीको रौनक छाएको थियो । बिहे भएदेखि बल्ल ६ वर्षमा उसकी मतारीले (आमाले) छोरो पाएकी । उसको बापुको त भुइँमा खुट्टा थिएन । भर्खरै जन्मिएको कलिलो छोरोको निधार चुमेर भनेको थियो, ‘एकर चेहरा कतेक उज्जर हई । इ हमर घरमे इजोत (बिहानी) लके आँइल हई ।’

ठाकुर पनि त जुगल जन्मिएकै साल जन्मिएको हो । उनीहरू सँगसँगै खेल्थे । सँगै गाउँको खद्दा (पोखरी) मा नुहाउँथे । ठाकुरसँगै उसले पनि तीन कक्षासम्म पढ्यो । त्यसपछि पढ्न गाउँदेखि अर्काे गाउँको स्कुल जानुपथ्र्यो । जुगलका बापुले उसलाई त्यहाँभन्दा माथि पढाउन सकेन । सानामा त जुगल र ठाकुरले एकअर्कालाई तँ नै भन्थे । बेलाबखत एकअर्काको जुठो खाएका पनि हुन् तर समयको चढ्दो बहावले विस्तारै जुगलले ठाकुर मालिक हो भन्ने बुझ्दै गयो र मालिक, हजुर भन्न थाल्यो ।

अब त मालिक नभए जुगलको घरको चुलोमा आगो बल्दैन । दिनभरि उसले दाउरा चिर्‍यो । खाना पनि उसले त्यहीँ खायो । साँझ काम सकेर ऊ घर फर्कियो । काम अझै बाँकी थियो । त्यसैले भोलि गर्छु भनेर ऊ फर्कियो ।

‘आई फेरु देर करलही !’ जुगल घर पुग्नासाथ उसकी बूढीले भनी ।उसले पहिले बूढीको अनुहार हेर्‍यो । जुगल आफैं फतक्क गलेको थियो । तर, उसले आफ्नी ठगुनीलाई गलेको देख्यो । उसले कुनै जवाफ फर्काएन । ठाकुरको घरबाट ल्याएको चिउराको थैलो दियो । ठगुनीले थैलो समाई । जुगल घरभित्र छिर्दा आँखै नदेख्ने अँध्यारो भइसकेको थियो ।
‘दिया कइला नई बरलही ? ’उसले सोध्यो ।

ठगुनीले हतारहतार टुकी बाली । गाउँमा बिजुली पुगेको धेरै भइसकेको थियो । तर जुगलको घरमा बिजुली पुगेको थिएन । मिटर जडान गर्नदेखि बिजुलीका सामान खरिद गर्न ऊसँग पैसा नभएपछि उसले बिजुलीलाई आफ्नो घरमा स्वागत गर्न सकेको थिएन । तर पनि घरमा एकदिन बिजुलीबत्ती बाल्छु भन्ने उसको सपना थियो । थाकेको शरीर लिएर ऊ ओछ्यानमा पल्टियो ।

घर उसको लागि दुई शरीर लुकाउने ठाउँ हो जहाँ घाम र पानीले सुरक्षित राख्थ्यो । बाँसको टाटीले घेरिएको भित्तामा माटोले लिपिएको थियो । छानो खपटाले छाएको । हावाहुरी चल्दा घर नै उडाउला जस्तो हुन्छ । तैपनि यी दुई ज्यानले आफूलाई यसै घरमा सुरक्षित ठान्छ ।

भोलिपल्ट जुगल केवट सबेरै ठाकुरकोमा पुग्यो । हिजोझैं बञ्चरो लिएर दाउरा चिर्न थाल्यो । ठाकुरले उसलाई दिनभरि काम लगाएको एक सय ५० दिन्छ । त्यही पैसाले गुजारा चलाउनु छ । र, त काम गर्छ ऊ । उसको कामप्रति सबै खुसी हुन्थे । आजसम्म कसैले गुनासो गरेको छैन ।

गाउँको बाटोमा धूलो उडाउँदै जिप गुड्यो । जिप धूलोले नचिनिने भएको थियो । त्यो आउँदै गरेको जुगलले पनि देखेको थियो । तर त्यो बेला उसले निधारको पसिना पुछ्दै थियो । त्यसैले त्यति वास्तै गरेन । अनि लगत्तै आफ्नो काममा लाग्यो । जब जिप रोकियो, विस्तारै धूलो कम भयो । तब पो जिप कस्को हो भनेर देखियो । नेपाल प्रहरी लेखिएको जिप ठाकुरको घर अगाडि बाटोमा रोकिएको थियो । त्यो जुगलले पनि देख्यो । व्यर्थै किन अल्मलिनु भन्दै निधारको पसिना पुछ्दै ऊ आफ्नै काममा लाग्यो ।

गाउँमा यस्ता जिप बेलाबेला आउने गथ्र्यो । पहिला पञ्चायतकालमा यस्तो जिप आयो कि गाउँका सबै लुक्थे । घरका मौगी (आइमाई) हरू घरको ढोका झ्याल थुनेर बस्थे । तर अब त फेरिएको छ । सबै घरको आँगनमा उभिएर हेर्छन् । अझ केटाकेटीहरू जिपको वरिपरि नै झुम्मिन्छन् । कोही जिपको नम्बर प्लेट हेर्छन् त कोही प्रहरीको छातीमा झुन्डिएको तारा वा तक्मा । नभए नाम हेर्छन् ।

ओर्लिएका प्रहरी ठाकुरको घरको आँगनमै उभिए । ‘जुगल केवट कहाँ छ ? ’ असईले सोध्यो । ठाकुर आँगनमा देखा पर्‍यो । अचानक प्रहरी आँगनमा देखेर अनिष्टताको कल्पनाले धर्मरियो । तर जब जुगललाई खोजी गरेको थाहा पायो ऊ झन् अचम्म पर्‍यो । कुनै राम्रै कामको लागि होला ! उसले सोच्यो । किनकि जुगल राम्रो काम गर्छ भन्ने धेरैलाई थाहा थियो ।

र ऊ विश्वासिलो पनि थियो । ठाकुरले भन्यो, ‘ऊ मेरो घर पछाडि दाउरा चिर्दैछ । तर हजुरहरूले किन खोज्नु भएको होला ? ’ उसले अलि नरम स्वरमा मिलाएर भन्यो ।
प्रहरीसँगै ऊ पनि घरपछाडि लाग्यो । जुगल केवट दाउरा चिर्दै थियो । ऊ आफ्नै सुरले काममा व्यस्त भएको ठाउँ सबै पुगे । दुईजना सिपाहीले उसलाई घेरिसकेका थिए । तर ऊदेखि दुई हात परै उभिए ।

‘जुगल केवट तिमी हामीसँग जानुपर्‍यो ।’असईले भन्यो । असईको कुरा सुनेर जुगल छक्क पर्‍यो । तर किन जाने ? प्रष्ट त हुनै पर्‍यो ! ऊ डराउँदै थियो र पनि आँट गर्‍यो, ‘किन होला ? कुनै काम पो थियो कि ? ’‘तिम्रो नाममा पक्राउ पुर्जी आएको छ । अदालतको निर्णयअनुसार तिमी उहिल्यै कारागारमा हुनुपथ्र्यो ।’ यति भन्दै असईले कागज देखायो । उहिले तीन कक्षामात्रै पढेको जुगलले अब पढ्न बिर्सिसकेको थियो । तर आफ्नो नाम भने ठम्यायो । ठाकुरले पनि पढ्यो । सबै छक्क परे ।

जुगल आफ्नो नाम देखेर अत्तालियो । दिनभर दाउरा चिर्दाको भन्दा बढी नै पसिना निधारबाट बग्न थाल्यो । लुगलुग कापेँकै भए पनि उसले धेरै प्रतिवाद गर्‍यो । आफूले कुनै अपराध नै नगरी पक्राउ पुर्जी देखाएर लिन आएका प्रहरीसँग उसले केहीबेर भए पनि आफ्नो कुरा राख्यो । तर प्रहरीले उसको कुरा मान्ने छाँटकाँट नै देखाएनन् । न त ठाकुरको कुरा नै उनीहरूले माने ।
एकछिनपछि जुगललाई लिएर जिप धूलो उडाउँदै बाटो लाग्यो । गाउँमा ठूलै हल्ला भयो । भुइँचालो गएझैं भएको थियो । यो खबर सुनेर जुगलकी स्वास्नी मुर्छै परी । गाउँलेहरू अनेकथरी अड्कल गर्न थाले । जुगल बेलाबेला सदरमुकाम जान्थ्यो । त्यतिबेलै उसले गल्ती गरेको हुनुपर्छ, भन्नेहरू यसरी पनि भन्न थाले ।

‘जुगलले डाँका मार्नेजस्तो अपराध गर्नै सक्दैन ! म राम्रोसँग चिन्दछु उसलाई ।’ ठाकुर भन्थ्यो । ठाकुरले भनेपछि सबै चुप लाग्थे । तर आआफ्नो घरमा सबै जुगलको कुरा काट्थे । हिजोसम्म उसको गुनगान गाउनेहरू पनि उसको कुरा काट्न थाले । ओरालो लागेको मृगलाई खेदेझैं भयो ।

जुगलकी ठगुनीले ठाकुरकोमा गएर गुहार मागी । ऊसँग योबाहेक कुनै उपाय पनि त थिएन । गाउँमा हुनेखाने र सहरमा चिनजान बढाएको एकमात्र व्यक्ति ठाकुर थियो । उसैसँग ऋण लिएर भए पनि जुगलकी स्वास्नी, छोराछोरी सबै भेट्न जाने भए । ठाकुरलाई पनि गइदिन आग्रह गरी । आफूसँगै हुर्केबढेको जुगलको अनुहार ठाकुरको आँखाभरि नाच्यो । केही नभए पनि आफूलाई काममा सघाउने कामदार ठानेरै पनि केही गर्न सकिन्छ कि भन्ने विचार आयो । ठाकुर पनि उनीहरूसँगै जाने भए ।

जलेश्वर पुग्दा चर्काे घाम लागिरहेको थियो । अदालत नजिकै रहेको कारागारको मूलढोकामा पुगेर सबै ठिंग उभिए । ठगुनी र उसका छोराहरू त्यहाँ पुगेर के गर्ने ? कहाँ कसलाई सोध्ने हो ? केही थाहा नपाएर अल्मलिएका थिए । सबैले ठाकुरलाई हेरिरहेका थिए । ठाकुरले नै ड्युटीमा रहेका प्रहरीसँग कुरा गर्‍यो ।

बल्ल पो जुलगसँग भेट्न पाइने भयो । कारागार पुगेर जुगललाई सबैले भेटे । ऊ ननिँदाएझैं देखिन्थ्यो । उसका निधार अझै खुम्चिसकेका थिए । आँखा लठ्ठिएका देखिन्थे । राम्रोसँग खान नपाएको जस्तो अनुहार थियो । यो देखेर ठगुनी उसको सामु रोई ।

‘आफूले नगरेको अपराधको सजाय मैले किन पाएँ ? मेरो जीवनभरको सोझोपन र इमानदारिताको फल के यही हो ? ’ जुगलले ठाकुरलाई भन्यो । ऊ शरीर लुगलुग काँपेको अवस्थामा बोलेको थियो । उसभित्रको शक्ति यतिबेला न्यून भएका थिए । तर, पनि यतिबेला उसभित्र सरकारप्रति रिस उम्लिरहेको थियो । आक्रोशित जुगल आफ्नै मान्छेको अघिमात्रै कुर्लिन सक्थ्यो । अरू त उसले के नै गर्न सक्थ्यो र !

ठाकुरले जुगललाई सान्त्वनाबाहेक केही दिन सकेन । जुगलले बिलौना गरेको हेर्न पनि गाह्रो भयो । तर त्यसै बस्नु पनि कसरी ? ठाकुर चुपचाप कारागार इन्चार्जलाई भेट्न हिँड्यो । वास्तविकता बुझ्नु थियो ।

‘जेलर साहेब, जुगलके केसः के बारेमे आहाँके किछ मालुम हई ? हमरा किछ बताऊ !’ जेलरलाई दुई हात जोड्दै नमस्कार गर्‍यो र भन्यो । जेलरसँग उसको राम्रै चिनजान थियो । त्यही सम्झेर पनि ठाकुर जुगललाई केही नभनी बाहिरिएको थियो । कारागार परिसरमै रहेको कार्यालयमा छिरेको ठाकुरले सीधैं जेलरलाई भेट्यो । भेट्नासाथ सोध्यो ।

जेलरले ठाकुरलाई राम्ररी चिन्दथ्यो । देख्नसाथ ठाकुरको नमस्कारको जवाफ फर्कायो । त्यतिबेलासम्म ठाकुर कोठाभित्र छिरिसकेको थियो । जेलरले उसलाई बस्न आग्रह गर्‍यो । जेलरले जुगलको फाइल खोज्यो ।

ठाकुरकै अगाडि टेबलमा एकएकगरी पल्टायो र पढ्यो । पढ्दै जाँदा ठाकुर जिल्ल पर्‍यो । जुन डाँका मुद्दा थियो, त्यो २००१ सालको रैछ । त्यतिबेलाको फैसलाले जुगल केवटलाई सजाय तोकिएको थियो । ठाकुरको आँखा फुत्किएलाझैं गरी फाइलका पानामा टक्क अडिए । ठाकुर आफूसँगै जन्मिएर हुर्किएको जुगलको वास्तविकता जान्दथ्यो । ऊ त्यहाँबाट रन्थनिँदै बाहिरियो ।

‘जुगल मसँगै जन्मिएको । हामी दुवै २०१५ सालमा जन्मिएको । यो कसरी हुन सक्छ ? ऊ जन्मिनुभन्दा पन्ध्र वर्ष पहिलेको डाँका मुद्दाको सजाय उसले किन पाउने ? ’ ठाकुर बर्बराउँदै बाहिरियो । उसले जेलरसँग पनि यही कुरा गरेको थियो । जुगल र उसकी बूढीलाई पनि ठाकुरले त्यही कुरा सुनायो । यो सुनेर जुगल र उसकी बूढी सरकारसँग खुब आक्रोशित भए । उनीहरूकै भाषामा तथानाम भने । नयाँ नेपाललाई त अझ चुतिया नै भन्न पछि परेनन् ।

‘कराएर केही हुने होइन । अब वकिलसँग कुरा गर्ने हो ।’ ठाकुरले सुझायो । ठाकुरको यो सूचनाले उनीहरूमा आशा पलायो । सबैको मनमा केही गर्न सकिन्छ कि ? भन्ने प्रश्न उठ्यो ।

लगत्तै वकिललाई भेटे । कानुनी परामर्श केन्द्र त्यही नजिकै लस्करै खोलिएका थिए । छानीछानी वकिल पाइने । तर ठाकुरले आफूले चिनेकै वकिलसँग भेटे । ठाकुरसँगै ठगुनी र उसका छोराहरू पनि थिए । भएको सबै कुराको नालीबेली बताए । ठाकुरले विशेषगरी जुगलको २०१५ सालको जन्म र डाका मुद्दा २००१ सालको कुरामा जोड दिएर बतायो ।

‘जुगलको नागरिकता ल्याउनुस् ।’ उनीहरूको कुरा सुनिरहेको वकिलले भन्यो । अघिदेखि जुँगा मुसारिरहेका वकिल भने कुरा सुनिरहँदा आफूले पाउने पारि श्रमिकको पनि हिसाब मिलाइरहेका थिए ।

बल्ल सबैको नागरिकतातिर ध्यान गयो । २०४१ सालतिर जुगल केवटले नागरिकता बनाएको थियो । गाउँमा टोली आएको बेला सबैले बनाएपछि उसले पनि बनाएको थियो । पहिलोपटक फोटो खिचेको नै त्यहीबेला हो । त्यहीँ नागरिकताको जिन्दगीमा केही काम छैन भन्थ्यो । घरमा कतै मिल्काएको थियो । जतन गरी राखेको चाहिँ पक्कै थिएन । जुगलकी बूढीले सम्झिने धेरै कोसिस गरी । अहँ उसको सम्झनामा नागरिकता कतै आएन ।

अन्त्यमा जुगललाई नै सोध्नुपर्ने भयो । यो बाहेक कुनै विकल्प पनि त थिएन । जुगलले पनि त्यो जिन्दगीमा काम नलागेको नागरिकतालाई सम्झियो । कता पो मिल्काएको थिएँ ? उसले निक्कैबेर सोच्यो । धेरै पटक काम नलाग्ने भन्दै फालेको मात्र याद आयो । उसलाई पनि सम्झिन निक्कै बेर लाग्यो ।

‘खटियाके तरमे हउ । जाके देख त !’ जुगलले सम्झियो । चुनावको लागि फोटोसहितको परिचयपत्र बनाउँदा फोटो खिचाएर फर्किएको दिन खाटमुनि फ्याकेको थियो । कुनैदिन काम नलाग्ने भनेको त्यही नागरिकता काम लाग्दै थियो । यतिबेला उसलाई त्यही नागरिकता प्रिय लागेर आयो । र, दुई हात जोड्दै ईश्वरलाई पुकारा गर्‍यो, ‘हे भगवान् त्यो त्यहीँ खटियामुनि होस् ।’

नभन्दै नागरिकता खाटमुनि नै रहेछ । खाटमुनि धुलोले पुरिएको नागरिकता झिकी । पहिले त ऊ निक्कै खुसी भई । त्यसपछि मात्र धुलो टकटकाई । टकटकिएको नागरिकतालाई एकपल्ट चुमी । झन्डै जुगलको मुस्कुराइरहेको फोटोमा चुमेकी थिई । धेरै पहिले खिचेको फोटोमा जुगलले ढाकाटोपी लगाएको थियो । त्यो देखेर ठगुनीलाई बिहे गरेको वर्षको याद आयो ।

भेटिएको नागरिकता जलेश्वर पुगेर वकिललाई दिई । जुगलको विषयमा निवेदन दर्ता गरायो । सबै प्रक्रिया वकिल आफैंले मिलायो । झन्डै एकहप्ता पछि जुगल जेलमुक्त भयो । ऊ बाहिरिँदा थकित देखिन्थ्यो । कहिल्यै जेल नपरेको जुगल कुनै अर्कै फरार व्यक्तिको नाम जुधेको भरमा जेल परेको थियो । त्यही चिन्ताले पनि होला ऊ दुब्लो देखिएको थियो ।

उसका छोराछोरी, उसकी ठगुनी भने जुगल जेलबाट मुक्त भएकोमा खुसी थिए । एउटा ठूलै युद्ध जितेझैं भएको थियो । त्यही जितको खुसी मनाउँदै सबै गाउँ फर्किए । गाउँ फर्किंदा जुगल केवट भने जेलमुक्त हुन गरिएको खर्चको सात हजार दुई सय ऋण काधमा बोकेर गरुंगो पाइला उचाल्दै अघि बढ्यो । त्यतिबेला जुगलले हातमा नागरिकता कसिलो गरी समाएको थियो ।

२०७२ आस्विन १८ सोमबार

(स्रोत : AnnapurnaPost)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.