~केवल बिनावी~
फिँजाएर फलेकभरि…
डिका कैंची चक र इन्चिटेप
लिएर एक मुटुरो कपडा
बा घोत्ली रहनुहुन्थ्यो
आकारविहीन आकृतिहरूमा
म सोच्थें
सायद बा इन्जिनियर हुन् ।
ढल्कादै जाँदा बालापन
म सोध्ने गर्थें
बा
किन छोइडुम खेल्दा
म डुम बनेकै बखत
खित्का छाडी छाडी
हाँस्छन् साथीहरू ?
किन अक्षरहरूको वर्णमालामा
द–वर्णमै दब्ने गर्छन्
अनायासै मेरा स्वरहरू ?
किन मेरै उमेरको काजीको छोरा
तिमी भनेर
बोलाउँछ तपाइँलाई ?
र किन मलाई देखेर
साइत परेको भन्छन्
ऊ माथिल्लो गाउँका बिस्टिनिहरू
म सोध्ने गर्थें बालाई ।
बग्दै जाँदा उमेरको नदी
खुम्चिएपछि
आफ्नै मनको आकाश
मन्साएर देउरालीमा ढुङ्गो
फालेको हुँ आफ्नै बस्तीतिर
र पसेको हुँ यो अन्जान सहर
एक अघोषित अनागरिक ।
तर वर्षौंपश्चात् आज
खुब याद आइरहेछ बाको
र उभिएको छु
त्यही कठघरामा
प्रश्न सोधिरहिछिन्
अबोध छोरी
बाबा
किन सियो खै सियो
कविता पढ्दै गर्दा
पुलुक्क मैतिर हेर्छन् साथीहरू ?
बाबा
किन तुलसीको मठ छेउ खेल्दै गर्दा
बेस्सरी रिसाउँछन्
घरबेटी बा र आमाहरू ?
किन यिनीहरू त त्यस्तो देखिन्नन्
भन्ने गर्छन्
वल्लो पल्लो कोठाका आन्टीहरू ?
बाबा
किन प्राय: मलाई नै भुल्ने गर्छन्
जन्मदिनमा मेरा साथीहरू ?
प्रश्न सोधिरहिछिन् छोरी
म नि:शब्द नियालिरहेछु
निर्दोष मष्तिस्कहरूमा
चल्दै गरेको रक्तपात
र सोचिरहेछु
यी कलिला हातहरूमा
राज्य
कलम थमाउँछ या हतियार ?
(स्रोत : कान्तिपुर – कोसेली)