कथा : काँडा

~नवीन विभास~

सहिदमार्ग छेवैमा उभिएको थियो, वरको रूख । त्यसको टुप्पोमा माओवादीले राखेको झन्डा खुइलिएर डिस्कलर देखिन्थ्यो । केही नयाँ घरबाहेक गाउँको अनुहार उस्तै थियो । अनुहारको भाव भने फेरिएथ्यो । हिजो ‘लाहुरे पर्खिरहेकी लाहुरेनी’ गाउँ आजचाहिँ ‘लाहुरेको माया मारिसकेकी लाहुरेनी’जस्तो देखिन्थ्यो ।

‘यै हो सहिद विद्रोहीको घर,’ एक मनले ठहर गरे पनि अर्को मनले ‘होइन’ भन्यो ।

‘होइन, यहाँनेर त कमरेड कसमको पो घर थियो, यो चाहिँ कसको रहेछ ? यति सारो चिटिक्क,’ लाखरखोलाकी वीरता कमरेडलाई खसखस लाग्यो । सोधौँ कि नसोधौँको बीचमा उनले आफैँलाई सोधिन्, ‘विद्रोहीको घरछेवैमा त कमरेड कसमको घर थियो ।’

कमरेड कसमले यति ठूलो घर बनाए होलान् भन्ने उनको कल्पनामै थिएन । हुन त माओवादीले राम्रो घर बनाउनै हुन्न भन्ने थिएन । तर, उनले कहाँबाट ल्याए पैसा यत्रो घर बनाउन ? पहिले त उनलाई विद्रोही र कसमको घरको अनुहार उस्तै लाग्थ्यो ।

‘कमरेड जुनी !’ आँगनमा उभिएर बोलाइन् ।

जवाफ आएन ।

‘कोही छैन कि क्या हो ?’ एकछिन चोस्किइन् ।

विद्रोहीकी छोरीको नाउँ सम्झना हो भन्ने सुनेकी थिइन् । त्यसैले ‘सम्झना’ भनेर बोलाइन् ।

कमरेड विद्रोही बेनीमा मारिँदा कमरेड जुनी दोजिया थिइन् । बच्चा जन्मेपछि उनलाई राजनीतिक विभागमा सरुवा गरिएको थियो । बाउछोरी देखभेट गर्न पाएनन् । छोरीले त फोटो हेरेर बाबा चिनिन् होला तर बाबाले ?

‘कस्ती भइन् होला उनी !’ कमरेड वीरता झोला बोकेर जतिजति कमरेड जुनीको घरनजिक पुगिन्, उतिउति उनका आँखामा बल्झियो कमरेड जुनीको अनुहार ।

कमरेड वीरता अचेल घरेलु महिला सुर्माली भइसकेकी थिइन् । घरकै काममा यताउता गर्दैमा दिन बितेका थिए, अरब जाने उमेरले पनि नेटो काटेकाले ।

आँैला भाँचिन्, झन्डै आठ वर्ष पुगेछ भेट नभएको कमरेड जुनीसित ।

फ्रक लगाएर तलमाथि गरिरहेकी एउटी चुलबुले बच्चीको अनुहार आँखामा बल्झियो । कमरेड भनेर आफूभन्दा माथिमाथि हात उठाएर बोलाइरहेकी फुच्ची उनका आँखामा आइन् । ठूली भइसकी होलिन् । उनको आकृति आँखामा उभियो ।

दुध्लाको बोटमा सारी (सारौँ)को चिर्बिराहट चर्केको थियो । कान थापिन् । भित्रको भुनभुन पनि सारीका कचहरीले सुनिएन । किन हो कुन्नि, बिरुको बोटनेर पुगेपछि एक्कासि सम्झना ओइरिए ।

गाईको भकारामा उभिएर फेरि बोलाइन् । जवाफ आएन ।

बाँधिएका एउटा गोरु र तीनवटा बाख्रा चलमलाए । ती दुब्ला थिए ।

कमरेड जुनी !

फेरि बोलाइन् । भित्रबाट कुनै प्रतिक्रिया आएन ।

केही समयपछि एउटी फुच्ची निस्किइन्, मैराबाट बार्दलीमा । बार्दलीको सरा भाँच्चिएको खाली ठाउँमा खाली खुट्टा अड्याइन् । र, उभिइन् । एउटा चप्पल हातमा थियो अर्को चप्पल अर्को खुट्टामा ।

बोलाएको सुनेकै रहिनछन् । आफ्नो काममा लागिन् । चप्पलमा सकी–नसकी छिनेको फित्ताको रूपमा डोरो हाल्न लागिन् ।

‘यिनै हुन् सम्झना !’ वीरताको मनले भन्यो ।

“भित्र को छ हँ ?”

सारीको हल्लाले राम्ररी सुनिएन क्यार । केहीछिनपछि उनैले भनिन्, “आमै त भित्रै छन् ।”

डोरी छिराउने कोसिस जारी राख्दै थपिन्, “कष्ट छन् ।” उनका अनुसार कष्ट अर्थात् बिरामी ।

“तिमी हो सम्झना ?”

“अँ ।”

“म तिम्री मीतआमा ।”

भित्र पस्दा उनको टाउकोमा माकुराको जालो अल्झियो । अलि अग्ली रहिछन् क्यारे ! नत्र भित्रबाहिर गर्दा जालो नरहनुपर्ने । लिप्ने बेला घर्किसकेकाले घर मुसाको घरजस्तो देखिन्थ्यो । मैराको कुनातिर आधा अवला दाउरा थियो । केही पुराना चप्पल जसमा डोरीका फित्ता हालिएका थिए । खरको छानो ठाउँठाउँमा उडेको सानो घरबाट केही सरा खर थपकलामा अल्झिएका थिए । बाछिटाले हानेर विरूप गारो ठाउँठाउँमा चर्केको थियो ।

अँ, सम्झनासित भित्र पसिन् । अँध्यारो थियो । बत्ती बाल्नुपर्ने बेला भइसकेथ्यो । “सलाम संगिनी ! म वीरता !” अँध्यारोमै मुठी माथिमाथि उचालेर सलाम गरिन् ।

उनीहरूले सेनामा छँदा संगिनी लगाएका थिए । महिला–महिला मितिनी लाउनेलाई रोल्पातिर संगिनी लाउने भन्छन् । हात मिलाए । तरिका पूरानै थियो, चपक्क सनासोले च्यापेजस्तो । एक महिनायता थला परेकी जुनी उठ्ने कोसिस गरिन् तर सकिनन् ।

“औषधी खानुभयो ?” वीरताले सोधिन् । तर, केही जवाफ दिइनन् ।

सम्झनाले सलाई खोजिन् । टुकी बालिन् । डिउरोमा राखिन् र टुकी हल्लाउँदै भनिन्, “तेल अल्कत मात्र छ ।”

तेल सकिएकाले टुकी जाँगर लगाएर बलेन । मधुरो देखियो ।

उपचारका लागि अस्पताल नगएर के गरेको भन्दै गुनासो गरिन् वीरताले ।

“खुट्टा भए प अस्पताल जाने र ! काल पर्खेर बस्या छ । अगत् पर्‍या ज्यान । कहिले सास जाला र सन्च होला भन्छु ब,’ वीरताको बदला छेवैमा बुहारीको सिहार गरिरहेकी आमाले भनिन् ।

“कोही कमरेड आउनु भएन भेट्न ?”

“अहँ !”

“कोही पनि आउनुभएन त ?” नपत्याएझैँ गरी फेरि सोधिन् ।

“आएको भए त देखिहाल्नुहुन्थ्यो नि !” वीरताले थाहा पाइन्, आमा थला परेपछि सम्झनाले स्कुलको पनि माया मारिछन् । “गाईभैँसीलाई यसै छाड्नुभएन के र !” उनले भनिन्, “सम्झनाको काम मलाई भित्रबाहिर गराउनमै ठिक्क छ । गाई बाच्छा पनि सुकुटी भए ।”

उठ्न खोजिन्, सकिनन् ।

“पहिले शरीर गले पनि मन दह्रो हुन्थो तर अहिले त मन नै छैनजस्तो ।”

सहिदका नाउँमा पैसा आएको सुनेको तर त्यो पैसा सहकारी कि कहाँ राखेको भनिन् ।

“कति भयो स्कुल नगएको ?”

“पोहोर परिक्छ्या दिने बेलादेखि गएकी छैन । उसका साथी २ कलासमा गए ।”

बत्तीको मधुरो उज्यालोमा स्कुले झोला बारनेर ठोकेको कीलामा झुन्डिएको थियो । भान्सा र सुत्ने ठाउँ एकैठाउँ भएकाले झोला धुइसाले अनचिनार थिए ।

“कमरेड कसम कहाँ हुनुहुन्छ ?” वीरताले चिनेका यो क्षेत्रका ठूला नेता उनै थिए ।

“लिबाङ ।”

“यहाँ नयाँ घर बनाए अनि लिबाङ गए । ”

“कुन घर ?”

“यै नइय् घर ।”

“अनि, जीतवीर ?”

“घोराही ।”

“सुरेश ?”

“पोखरा ।”

“सुदर्शन ?”

“काठमाडौँ ।”

“अरू कमरेडहरू ?”

“अरब ।”

“कोही नेता छैनन् त गाउँमा ?”

“छैनन् ।”

यति भन्दा दुध्लाको बोटमा बास बस्ने बेलाका सारी झन् चर्को स्वरमा कराउँदै थिए ।

दिनभरको कामकाजबारे समीक्षा गर्दै होलान् भन्ने सहजै अनुमान लाउन सकिन्थ्यो ।

झिकौँ कि नझिकौँका बीचमा चाउचाउको पोको सम्झनाको हात पारिन् । उनले ठानेकी थिइन्, सम्झना खुसी हुनेछिन् । सम्झना त चाउचाउ हातमा लिएर निरुत्तर हेरिन् । केही छुटेजसरी टोलाइन् । हेर्न थालिन्, घरि चप्पल त घरि चाउचाउ ।

“मेर्ता खुट्टामा काँरा बिझ्या छ,” यति भनेर दुखेकामा मुख कुच्याइन् । त्यसपछि बत्तीको उज्यालोमा पैताला देखाइन् र खिपले झिकिदिन आग्रह गरिन् ।

कमरेड वीरतासित खिप थिएन । बाहिर निस्किइन् र काँडा नै लिएर गइन् ।

“आँखा पनि कमजोर भए संगिनी…,” कमरेड जुनीले भनिन् ।

“काँडा झिक्ने काँडा भाँचिएर नै झन्डै …”, वीरताले भनिन्, “म त सक्तिनँ, भोलि उज्यालोमा फालम्ला ।”

सम्झनाले भनिन्, “चप्पलमा फित्ता हाल्दिनू न !”

उनलाई थाहा थियो कि चप्पल भए किन काँडा बिझ्थ्यो र !

जुनी त हुक्किहार भइसकेकी थिइन् । वीरताले चप्पलमा डोरो छिराउन थालिन् ।

“यो त भाँगोको रहेछ । पुवाको अलि मसिनो खालको छैन ?” वीरताले सोधिन् । सम्झनाले छैन भनेर टाउको हल्लाइन् ।

“काँडा झिक्ने खिप दुकानमा होला,” वीरताले मनमनै भनिन् । अर्को मनले भन्यो, “यो काँडा त झिकम्ला रे, मनमा बिझेको काँडा नि ?” वीरताले डोरो हाल्न कोसिस जारी राखिन् ।

“बाबा भए काँरा फाल्दिन्थे होला” वीरताले पनि नसकेपछि सम्झनाले भनिन् ।

त्यसको प्रतिक्रिया न जुनीले दिइन्, न वीरताले । बरू प्रसंग मोडिन्छ कि भनेर वीरताले वरपर हेरिन् । जस्तो थियो पहिले यो घर उस्तै थियो । सबै पुरानिँदै गएजस्तो लाग्यो । चुलोछेउमा राखिएका ससाना तामाका गाग्रा ठाउँठाउँमा कुच्चिएका थिए ।

केही समयपछि सम्झनाले मौनता तोडिन्, “सबले भन्छन्, मेरा बाबासहितले काँरा झिक्ने सुइए र सिप्टी लिएर आउँछन् ।”

जुनी र वीरता मुखामुख गरे । न आउँछन् भन्न सके, न आउँदैनन् ।

विद्रोही, जुनी र वीरता यी सब घर, गाउँ र देशकै अनुहार फेर्ने सपना उनेर ‘जनयुद्ध’मा लागेका थिए । तिनका आँखामा नयाँ घर, नयाँ गाउँ र नयाँ देशको सुन्दर अनुहार थियो । त्यही सपना र त्यही अनुहार सम्झेर त ‘भोलिको घाम सम्झँदै’ क्रान्तिको झरीमा भिजेका थिए ।

“के ती सपना सपना मात्र थिए ?” वीरताको मनमा प्रश्न उठ्यो तर भन्न सकिन जुनीलाई ।

बत्ती धिपधिप गर्न थाल्यो ।

सम्झनाले भनिन्, “जेई, बत्ती मर्नलाइ गो ।”

त्यसपछि मट्टीतेल राखेको जर्किन लिएर आइन् ।

“याँ पनि सक्किगिछ,” उनले यति भनिसक्दा बत्ती झ्याप्प निभ्यो ।

सम्झना छामछुम गर्न लागिन् ।

“जान्छस् त सम्झना नरवीरको घरमा पैँचो लिन ?”

“त्याँबट् ता अस्ति लिएको होइन र ?”

“…”

“…”

“उसो भए काँ जान्छस् त ?”

“दि तो !”

फित्ता छिनिएको बायाँ चप्पल खुट्टामा छिराउने असफल प्रयास जारी राखिन् सम्झनाले । सारीको कचहरी सकिएर होला, अँध्यारोमा झरेको बोली हुत्तिँदै बाहिरिँदा झन् टाठिँदै थियो ।

प्रकाशित: आश्विन २९, २०७२

(स्रोत : Nepal Saptahik)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.