~किशोर पहाडी~
‘ड्याडी टिभी हेरिरहनु भएको छ । मैले ढोकाबाट चियाउँदा देखेको । उहाँको अगाडि जान मलाई डर लाग्छ । त्यसैले उहाँलाई सोधिनँ । ममीलाई चाहिँ भनेँ, ‘आज म गौतम ‘गम्भीर’लाई भेट्न जान लागेको ।’
‘एक्लै ?’ ममीले सोध्नुभयो ।
‘होइन । साथीहरूसँग । रुसू, रेजिना, एलिना, रुक्मा— सबै ।’ ड्याडीलाई भनिनँ किनभने ड्याडीले फेरि ‘नजानू’ भन्नुहुने पो हो कि ?
जे गर्न खोज्यो त्यही नगर भन्नुहुन्छ ड्याडी—ममी । म पनि त ठूली भैसकेँ । अठार वर्ष पुगिसकेँ । बाह्र क्लासमा पढने भइसकेँ । मलाई पनि त थाहा छ के गर्नुहुन्छ— के गर्नुहुन्न भनी । उहाँहरूचाहिँ जहिले पनि मलाई बच्चा ठान्नुहुन्छ ।
दुई महिना अघि । कलेजको ‘फङ्सन’को दिन । घर पुग्न ढिलो भएँ । उता ड्याडी–ममी चाहिँ चिन्तित । यसो साथीहरूसँग केही समय बिताएको थिएँ । ड्याडी–ममी छटपटाएर मेरा केही साथीहरूलाई फोन गर्नुभएछ ।
ती साथीहरूले ‘ऊ त अघि नै ट्याक्सीमा गइसकी ’ भनेछन् । त्यसपछि ड्याडी–ममीको कल्पनाको घोडा कुद्न थालेछ — ‘ट्याक्सीमा एक्लै होली । ट्याक्सी ड्राइभरले कतै एकान्ततिर कुदायो कि ?…यस्तो असुरक्षाको वातावरण छ । मारेरै फालिदियो कि ?…’ ममी त रुन पो थाल्नुभएछ । जति रात पर्न थाल्यो, उति आत्तिन थाल्नुभएछ ।
अन्ततः मलाई घरसम्म सुजनले पु¥याइदियो बाइकमा । भएको केही होइन । गफ गरेर बसेका थियौँ केही क्षण । घरभित्र छिर्नु के थियो, ड्याडी चिच्याउन थाल्नुभो — ‘कहाँ गएर आएको यति रातीसम्म ?’
‘साथीहरूसँग थिएँ ।’
‘यति रातीसम्म बाहिर ? हामीलाई त डर लाग्छ राती बाहिर बस्न । तँ त फुलनदेवी होस् कि क्या हो ?’
लुत्रुक्क परेर लुगा फुकाल्न गएँ । लुगा फुकालेको ठाउँमा आएर ममीले उपदेश दिन थाल्नुभयो– ‘हेर छोरी ! छोरी मान्छेले यसरी रातीरातीसम्म बाहिर बस्नुहुन्न ।…रेजिनाले तिमी ट्याक्सीमा गएको भनेपछि त हामी कति आत्तियौँ । …खराब ट्याक्सी ड्राइभर प¥यो भने त जंगलतिर लैजालान् ।…’
ड्याम्— उपदेश । मलाई पनि त थाहा छ यी सब कुराहरू । मलाई त बच्चै ठान्छन् यिनीहरू ।
ममी प्रायः जसो कराइरहनुहुन्छ प्याप्र्यार–प्याप्र्यार । कहिले ओछ्यान मिलाइनँ भनेर कराउनुहुन्छ । कहिले भान्छामा सहयोग गरिनँ भनेर कराउनु हुन्छ । कहिले कुचो लगाइनँ भनेर कराउनु हुन्छ । कहिले लुगा पट्याइनँ भनेर कराउनुहुन्छ ।
बाबा रे ! पढ्नु पनि मै, घरको काम गर्नु पनि मै– सक्दिनँ म त ।
अब हेर्नाेस् न बिहान पाँच बजे उठ्नुपर्छ । उठ्यो, मुख धोयो । ममी हत्तपत्त चिया र केक ल्याइदिनु हुन्छ अगाडि । आ…..मलाई त खान पनि फुर्सद छैन । ६ बजे त स्कूलतिर लाग्नुपर्छ । फेरि १२ बजे फक्र्याे । ममीले पकाइदिराखेको खाना खायो । अनि त एकछिन सुत्नैप¥यो । त्यसपछि होमवर्क, नुहाइधुवाइ । कहाँ छ मलाई फुर्सद घरको काम गर्न ?
फेरि खानेकुरामा पनि ममी त्यस्तै हुनुहुन्छ । म थोरै खान्छु । हो । ….मेरो पेटै सानो । तर ममी सँधै थोरै खायो भनेर कराइरहनुहुन्छ । धेरै खाएर मोटाउनु पनि त राम्रो होइन । सकेसम्म दुब्ली बनेर म आकर्षक बन्न चाहन्छु । तर ड्याडी उपदेश दिनुहुन्छ— ‘खानेकुरा भनेको सबै खानुपर्छ । हरेक खानेकुराको आ–आफ्नै उपयोगिता हुन्छ ।’ आदि –आदि । ममी पनि सँधै यस विषयमा कचकच गरिराख्नु हुन्छ ।
बावुआमाको काम छोराछोेरीलाई उपदेश दिनु मात्र हो कि क्या हो ! क्या बोर ! खालि यसो नगर् उसो नगर् ।
प्रीति भन्छे— ‘मेरो बुवाआमा भएको भए कस्तो मजा हुन्थ्यो ।’
हो, उसका बाबुआमा छैनन् । प्रीति बच्चा नै भएको बेला बितेका अरे । ऊ जहिले पनि आफ्ना बाबुआमा सम्झेर बसिरहन्छे । मलाई चाहिँ बावु आमाले ‘बोर’ गराइराखेका छन् — उपदेश मात्र दिएर ।
ममी फेरि अगाडि आउनुभएछ — ‘कहिले फर्कने नि त्यो गवैया गौतमबहादुरकहाँबाट ?’
ममीलाई त धत्तेरी, केही आउँदैन । नाम पनि शुद्ध लिन जान्नुहुन्न । गौतम ‘गम्भीर’लाई त ‘गौतमबहादुर’ रे । गौतम कति ठूलो गायक हो— उहाँलाई के थाहा ? गौतम अहिले कति ‘पपुलर’ छ के थाहा ? उहाँलाई त खालि आलु–प्याज पकाउने, अनि ओछ्यान मिलाउने मात्र थाहा छ ।
ड्याडीलाई चाहिँ थाहा छ । ड्याडी त कहिलेकाहीँ आफै पनि गौतम ‘गम्भीर’को गीत गुनगुनाउँदै हिँड्नुहुन्छ ।
अचानक ‘के भनेको ?’ भन्दै ड्याडी आउनु भयो । ड्याडीको अगाडि झुटो कुराचाहिँ बोल्न सकिन्न । सत्य बोल्नुप¥यो– ‘म आज साथीहरुसँग गौतम ‘गम्भीर’कहाँ जान लागेको ।’
‘ए… हो ? किन नि?’ —ड्याडीले उत्सुक भएर सोध्नुभयो ।
‘भेट्न ’ मैले पनि उत्सुक भएर जवाफ दिएँ ।
‘अनि अप्वाइन्टमेन्ट लिइस् त ?’ नजानू भन्लान् भन्ने डर हरायोे ।
‘अँ भेट्ने समय निश्चित भइसक्यो । उसकै घरमा । हामी रुसू, रेजिना, एलिना, रुक्मा— पाँच जना जाने ।’
‘ल जा जा— जानुपर्छ । तिमीहरू गएर उसमा झन् गाउने बढी प्रोत्साहन मिल्छ । अहिलेको लोकप्रिय पप गायक ।’ —ड्याडीको सकारात्मक कुराले म खुसी भएँ ।
जे भए तापनि ड्याडीको सोचाइ आधुनिक छ । मलाई राम्रो काम गर्नमा चाहिँ रोकटोक गर्नुहुन्न ।
ममीले भन्नुभयो— ‘तर छिटो आउनू । अचेल जताततै डरलाग्दो छ । ’
यस्तैमा फोन आयो रेजिनाको । सबै जना अब आधा घण्टापछि पार्कमा भेट्ने कुरा निश्चित भयो । म गौतमको गीत गुन्गुनाउँदै लुगा फेर्न थालेँ ।
‘हरेक रात प्यासो हुन्छ
तिमीबिना यो पासो हुन्छ
वर्षा हुन थाल्यो भने,
बल्ल अलिकति आस हुन्छ’
पार्कमा सबै जम्मा भयौँ । अन्तिममा पुग्ने त म नै परिछु ।
‘हाई गाइज !’ —सबैलाई भनेँ मैले ।
‘लौ हेर यो जहिले पनि ढिलो ’ रुसूले भनी।
‘काँ र मोरी । जाममा परेर…’ मैले भनेँ ।
नयाँ बानेश्वरसम्म पुग्नु थियो हामीलाई । त्यतै जाने माइक्रोबसमा चढ्यौँ ।
एलिनालाई गौतमको घर थाहा थियो । उसले भनेको ठाउँमा हामी माइक्रोबाट ओल्र्यौ । त्यहीबाट केही क्षण हामीलाई हिड्नु थियो ।
हिँड्दाहिँड्दै रुसूले सबैलाई चुईँगगम ख्वाई । सबै मरङमरङ चुईँगगम चपाउँदै हिँड्न थाल्यौ । रेजिनाले भनी —‘म त क्या एक्साइटेड छु । गौतम ‘गम्भीर’लाई भेट्ने । वाह !’
‘ओ… मि टू… मि टू…’ —मैले भनेँ ।
‘कति मीठो सिङ्गिङ्ग छ हगि गौतमको ?’ रेजिनाले फेरि भनी ।
हिँड्दाहिँड्दै रुक्मा टक्क अडी । ‘एई, हामीले भेट्दा गौतमलाई केही गिफ्ट पनि दिनुपथ्र्याे ।’
‘अँ, हो त नि !’ रेजिनाले भनी ।
‘भो भैहाल्यो अब ’ मैले भनेँ ।
यस्तैमा एउटा संयोग— हामी नजिकै एउटा घरको फोहोर बटुलेर ल्याउने रिक्सा आइपुग्यो । अर्काे संयोग— त्यस रिक्साको फोहरको थुप्रोमा प्लास्टिकका विभिन्न पोकाहरू थिए र त्यसैमाथि फूलका बुकेहरू थिए दुईवटा । फोहोर माथि भएपनि ती ताजा र सुन्दर थिए ।
ती देख्नासाथ अचानक ममा एउटा विचार फु¥यो— ‘ए मोरीहरू ! त्यही फूल लैजाऔँ ।’
‘कुन ?’
मैले आँखाले इसारा गरी देखाएँ । मेरा साथीहरू पनि त्यो देखेर खुसी भए । हामीले रिक्सावालालाई ती फूलहरू हामीलाई दिन अनुरोध ग¥यौँ । रिक्सावालादाइले रिक्सा रोक्नुभयो ।
फोहर थुपारिएको थुप्रोबाट हामीले ती दुई बुकेहरू निकाल्याँै । अलि–अलि फोहर लागेको नेप्किनले पुछपाछ ग¥यौँ ।
एलिनाले हामीलाई गौतम ‘गम्भीर’को घर पु¥याउँदा हामी सबै प्रफुल्ल थियौँ । गौतम हाम्रै प्रतीक्षामा रहेछन् । बैठक कोठामा हाम्रो उनीसँग भेट भयो । टिभीमा देखेको भन्दा ‘ह्याण्डसम’ रहेछन् उनी । आफ्ना मन पर्ने गायकलाई साक्षात् अगाडि देखेर हामी सबै ‘नर्भस’ जस्तै भयौँ । र झटपट फूलका ती सुन्दर बुकेहरू उनको हातमा राखिदियौँ ।
उनीले मुसुक्क मुस्काएर ती बुकेहरू लिए । सुन्दर किशोरीहरूलाई प्रभावित पार्ने मनसायले होला, च्वाक्कः च्वाक्कः… म्वाईँ खाए ती बुकेहरूलाई । खै कुन्नि, उनको लागि त्यो म्वाईँको स्वाद कस्तो रहेको थियो !
हामी भने हाँसो रोक्दै एकअर्कालाई ट्वाल्ट्वाल्ती हेरेको हे¥यै भयौँ ।
(स्रोत : Nepalpati)