कविता : भूकम्प, पहाड र हामी

~देश सुब्बा~Desh Subba

भूकम्पको पहरा भत्केर
छोप्यो सुन्दर गाउँ
खेल्दै गरेका जीवनका रहर
चेप्यो ढुङ्गा र माटोले
उडायो दीवा सपना
आफ्नै आँसुको कोशीले

हे भूकम्प !
तिमीले पुर्यौ साना नानीहरु
दूध पिलाउदै गरेका न्यानो आमाहरु
यो बज्र किन मेरै आँगनमा

दौडिँदैछन् मानिसहरु
बचेका खोज्दै माटोमुनि आफन्त
माटोमा हराएका लाशहरु
आधा टाउको उठाएका लाशहरु
दु:खको यस आँधीबेरीमा
उडदैछ ऐतिहासिक महल र देवलका टाउकाहरु
भाँसिन्दैछन् ‘शिशमहल’
यो कालो बज्रले अझ कति सास छिन्नेछ

प्रकृतिको निरङ्कुश प्रहारले
किन कुटिरहेको छ निर्दोष मासु
कि पार्टी पापको सजाय हो ?
कि भ्रष्टचारीको मृत्युदण्ड ?

संसारको सुन्दर उद्यानमा
किन घस्रिँदैछ भयानक सरिसर्प र
डस्दैछ भोका आङ्ग

सेतो श्रीपेचको फेदबाट
किन पहाड हल्लिएर फुट्दैछ र
निस्किँदैछ नरसिँह
हिरण्यकशिपुको घडा भरिएर
निस्किने नरसिँह नङ्ग्राले
किन चिर्दैछ प्रल्हादको छाती
विपतको यो महाघडीमा
उठनुछ कर्मठ हातहरु
बाँधिनुछ फुटेका मनहरु
जोड्नुछ टुटेका पहाडहरु

विस्मयकारी सोचले बन्दैन छानो
छानोमुनिका हामी पनि जोडिँदैनौ
संसारले हात हल्लाइरहेको छ
सहयोगको हात बटुलेर कसरी उमार्ने जीवन
सोच्नुछ,
सोच्नुछ काला पहाडको मैदानमा
उडिहिँड्ने जीवनको गीत
हेर्दा हेर्दै मेरै घरले खोस्यो मेरो परिवार
हेर्दा हेर्दै भत्केर झर्यो मेरो इतिहास
धुजाधुजा भएको छ साँस्कृतिक धरोहर
इतिहासका पानाहरु खाली छन्
ऐतिहासिक शहरमा कालको धुलो उड्दैछ
महामारी फैलिने भूतले पन्छिदैछन् जीवन

यो महाविनाश कसरी हेरुँ
मतिर आउँदै गरेको नानी
माटोमा छिरेको कसरी हेरुँ

नासियो नासियो गाउँको सौन्दर्य नासियो
गाउँको हाँस्ने गाउने फूलहरु नासियो
संसारलाई हाँसेर हेर्ने हिमाल नासियो

अनियन्त्रणको महाप्रलयमा नियन्त्रण बटल्नुछ
अधैर्यको बाढीपहिरोमा धैर्यता सँगाल्नुछ
थाम्नुछ प्रलयको आकाश
माटो मन्थनको यस सृष्टिमा
मनु भएर जन्मिनुछ र तार्नुछ संसार
सानो संसार डुबिरहेको छ मन्थनमा
अझै मन्थनिनेछ केही काल
आउ हामी जीवनको डुङ्गामा चढेर
सजाएर भग्नावशेषहरु
सृष्टिको अनुपम बगैँचा बनाउन
तरौं यो महाकाल
भग्नावशेष रुँगेर चल्दैन जीवन
विपतलाई पुजा गरेर पनि चल्दैन डुङगा
हामी बचेकाहरु एउटै अगेना वरिपरि
गीत गाउदै जीवनको उज्यालो ताप्नुपर्छ
भूकम्पको चोक्टासँगै अँध्यारोलाई
पुर्नु पर्छ मानसिक चिहानमा

फूलको गीत गाउन सकेनौँ भने
सेतो हिमाल हेर्न सकेनौँ भने
अँध्यारोको फेदमा चुटिने छ सास
हामी त सासले ताजा भएको मान्छे
मृत्यु जितेर बचेको मान्छे
हिमाल र पहाडजस्तै काँध मिलाएर बाँच्न जान्नुपर्छ ।

(स्रोत : Pancha Vismrit’s Blog)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.